मेरो दिमागमा साहित्यिक छाप कहिलेदेखि पर्यो ? यसै भन्न सक्दिनँ । तर सानैदेखि साहित्यप्रति असाधारण लगाव भने थियो । बुबा सरकारी जागिरे भएकोले घरमा पत्रिका कहिलै टुट्दैनथ्यो । मुना, मधुपर्कजस्ता पत्रिकाको त म धेरै वर्षसम्म वार्षिक ग्राहकसमेत थिएँ । मुना पत्रिकामा मैले झन्डै आधा दर्जन हुलाकमार्फत् आफ्ना लेख रचना पनि पठाएँ । एक दुई पटक छापिएर पत्रिका हातमा पर्दा हदैसम्म उत्साहित भएको थिएँ । एकाध पटक कुनै प्रतिक्रिया नपाउँदा मन खल्लो पनि भएको थियो ।

मेरो साहित्यिक यात्रा बडो रोचक छ, कमसेकम मेरा लागि । सानोमा मलाई पेन्टिङ्ग र चित्रकलामा ठूलो शोख थियो । लिओनार्दो दा भिन्चीको जीवनी पढेपपछि उनीजस्तै महान् चित्रकार बन्ने संकल्प लिएको थिएँ । तर पछि खै किन हो मेरो चित्रकला मोह भङ्ग हुन पुग्यो । खास कुनै कारण छ जस्तो त लाग्दैन, तर पनि अहिले यस्तो लाग्छ, त्यसबेला कुनै ठोस कारण हुनैपर्छ जुन मेरो बालमस्तिष्कले स्मरणको रेखाभित्र कैद गर्न सकेन ।

बुबा सरकारी जागिरे भएकै कारणले गर्दा उहाँको सरुवा हुनेबित्तिकै नयाँ ठाउँमा पुग्नु पर्थ्यो । उहाँको जागिर सरुवाकै क्रममा विभिन्न ठाउँ घुम्न पाउँदा मैले विभिन्न भेषभूषा र जीवनशैली नजिकबाट नियाल्ने मौका पाएँ । त्यसैक्रममा मैले समाजका विभिन्न आयामहरू सूक्ष्म ढंगले बुझ्ने सुअवसर पाएँ । बुबाको ठम्याइ के थियो भने त्यही प्रक्रियाले म अझै समाजिक भएको छु ।

धेरै अघिदेखि म केही लेख्न चाहन्थेँ । समाजको व्यवस्था र बेथिति देखेर म आजित थिएँ । आफ्नो समाजको यथार्थ चित्रण गर्न म कुनै त्यस्तो कुरा लेख्न चाहन्थेँ, जुन धेरै नेपालीमाझ पुग्न सकोस् । केही नभए पनि मेरो लेखाइमार्फत् पाठकले अलिकति भए पनि आफ्नो समाजबारे मनन गर्न सकून् ।

सानोमा पढेका राजकुमार र राजकुमारीको लोककथाले निकै तानेको थियो । पछि अकबर र बिरबलका कथाहरूले पनि मन जितेको थियो । कयौं उपन्यास र पुस्तकहरू पढिसकेपछि एकदिन म पनि लेख्नसक्छु भन्ने विश्वास लागेर आयो । उपन्यास र कथाहरू मलाई सानैदेखि मनपर्ने विधा थियो । सानैदेखि कमिक्स बुक र अंग्रेजी उपन्यास पढेकोले ममा एउटा किताब लेख्ने आत्मविश्वास पहिलैदेखि कायम थियो । कयौंपटक किताब लेख्न नबसेको पनि होइन । रबरजस्तै सके जति तन्काएर एउटा बिन्दुसम्म पुर्याउँथेँ पनि, तर त्यस बिन्दुपश्चात् कथा कतै हराइजान्थ्यो । फेरि पनि हरेक पुस्तक पढ्दै जाँदा उसैगरी नयाँ विषयमा कलम चलाउन मन लागिहाल्थ्यो ।

मेरो शुरुवाती साहित्य लेखन कथाबाट सुरु भयो । उच्च शिक्षाको लागि क्याम्पस पढ्न काठमाडौं आएपछि अवसर पनि मिल्यो । ११-१२ पढ्दाताका बिहानको कलेज भएकाले दिनभरि फुर्सद हुन्थ्यो । दिउँसोपख केही काम नभएपछि नियमितजसो पुस्तकालय जान थालेँ । साहित्यका पुस्तकहरू छानीछानी पढ्न थालेँ । पछि त पुस्तकालय जाने लत नै बस्यो । त्यसबखत मैले अधिकांश चल्तीका र चर्चित नेपाली साहित्यिक पुस्तकहरू पढ्न भ्याएँ ।

त्यसै क्रममा मैले ससाना कथाहरू पनि लेख्न थालेँ । पुस्तकालय धाउन थालेपछि केही साहित्यकारहरूसँग पनि हिमचिम बढ्न थाल्यो । उनीहरूकै सम्पर्कमा केही पत्रपत्रिकामा कथा र लेख पठाउन थालेँ । कहिलेकाहीँ समाजको विकृति र विसङ्तिबारे पनि फाट्टफुट्ट लेख्न थालेँ । तिनै विषयका लेखहरू बढी पाठकका रोजाईमा पर्ने भएकाले पनि मलाई लेख्नुमा कुनै दिक्कत थिएन । ती लेखहरूमा केहीले अलिक चर्चा पाउँथ्यो, केही भने रद्दीको भाउमा पत्रिकासँगै हराएर जान्थे ।

मैले लेखेका केही कथा र लेखले राम्रो प्रतिक्रिया पाउन थालेपछि ममा पनि पुस्तक लेख्ने सोच विजारोपण हुनपुग्यो । पुस्तक लेख्नेबारे विचार मनमा आएदेखि नै साथीहरूलाई एउटा पुस्तक लेख्दैछु भन्दै नहिँडेको पनि होइन । तर धेरै पछिमात्र अबचाहिँ मैले पुस्तक लेख्नैपर्छ भन्ने अठोट लिई पाण्डुलिपि तयारमा लागेको हुँ । पुस्तक लेख्दैगर्दा कयौंपटक पाण्डुलिपि च्यात्दै पुनः श्रीगणेश गरेको सम्झन्छु ।

पुस्तकका केही अंश लेख्दै गर्दा पूरा रजनी बितेकोसमेत भेउ पाउन सकिनँ । केही ठाउँमा लेख्दै गर्दा आँसु टिल्पिलाउँदै पाण्डुलिपिको पन्नाहरूमा खसेको सम्झिँदा अहिले आनन्द महसुस हुन्छ । पुस्तक लेख्दैगर्दा त्यहाँ छुटेका हरेक पात्रहरूले धेरै दिनसम्म झक्झकाइरहन्थे । केहीलाई यथोचित न्याय दिलाउन सक्थेँ भने केहीलाई न्यायको कठघरामा पुर्याउन खोज्दाखोज्दै विलीन भएर जान्थे । हप्तादिन जति लेखेर पाण्डुलिपि बोकी केही निश्चित साथीहरूलाई देखाउन अक्सर क्याफे र चियपसलमा लैजान्थेँ ।

साथीहरू पनि पढेर उचित सल्लाह, सुझाव र टिकाटिप्पणी दिन्थे । जसले मेरो लेखनीमा निखारता आएको म विश्वास गर्छु । एकाध महिना लाएर पुस्तकको पहिलो पाण्डुलिपि तयार भयो । कयौंपटक पुनर्लेखन गरिसकेर कम्प्युटरमा टाइप गरेँ । त्यसैक्रममा साहित्यकार ईन्द्रकुमार श्रेष्ठ ’सरित’ र डा. धनप्रसाद सुवेदीबाट पनि धेरै सहयोग प्राप्त भयो ।

प्रकाशनको लागि केही प्रकाशन गृहसँग कुरा भयो । कुनैले भर्खर १९ लागेको ठिटो भनेर विश्वास गरेनन् भने केहीले अलिक समय पाण्डुलिपि पढ्नुपर्छ भन्दै लामो समयसम्म टारिरहे । यसैक्रममा एकदिन न्यू एरा बुक्सबाट पाण्डुलिपि हेरिसकेपछि फोन आयो । प्रकाशनका संयोजकले पाण्डुलिपि पढेर प्रभावित भएको र अविलम्ब पुस्तक प्रकाशन गर्न चाहेको कुरा व्यक्त गर्नुभयो । म हदैसम्म उत्साहित भएको थिएँ । अन्ततः दुई वर्षको मेहनतपश्चात् पुस्तकले स्वरुप पायो र नामाकरण भयो “मेटाफर“ । न्यू एरा बुक्सले सविनय प्राकाशन गरी बजारसम्म पुर्यायो ।

मेटाफर १५ वटा छोटा कथाहरू संग्रहित पुस्तक हो । सबै कथालाई समाजबाटै टिपेको हुँ । कथामा उन्न कति सफल भएँ, तपाईँहरूकै हातमा । मैले त्यस पुस्तकमा उही पुरानो कथा भन्ने भद्दा शैलीभन्दा माथि उठेर कथा भन्ने शैलीको निर्माण गरी नेपाली साहित्यमा एउटा नवीन प्रयोगको रुपमा प्रस्तुत गरेको छु । पुस्तकमार्फत् नेपालको सुदूरपश्चिममा विद्यमान समस्यलाई चित्रण गर्ने प्रयास गरेको छु । पुस्तक पढ्दै जाँदा अहिलेको युवाका समस्या र मनोविज्ञान थाहा पाइने, नेपाली समाज, संस्कृति, राजनीतिका विकृति, विसङ्गतिको चित्र झल्झली आउने, पुँजीवादी अर्थतन्त्र र उपभोक्तावादी संस्कृतिले पारेको दुष्प्रभाव देख्न पाइने अनि कथा भन्ने मौलिक शैली आदिले विशेषतायुक्त यस पुस्तकले पाठकलाई ज्ञानवर्द्धक हिसाबमा सँगै हिँडाउँछन् भन्ने मेरो लेखकीय विश्वास पनि छ ।

म यस कथा संग्रहलाई आवाजविहीनहरूको आवाज भन्न रुचाउँछु । यसमा समाजबाट अपहेलित महिलाको व्यथा, समाजमै रहेका तर नहेरिएका र वास्ता नगरिएका नागरिकका कथा छन् । सुदूरपश्चिमको परिवेशमा रहेर लेखिएका अधिकांश कथाहरूमा सकभर डोटेली संवाद र शब्दहरूको प्रयोगले कथाको परिवेशलाई थप जीवन्त बनाउने प्रयास गरेको छु । पुस्तकका धेरैभन्दा धेरै पात्रलाई मैले नूतन परिवेशमा सजाउन खोजेको छु । विभिन्न परिवेशबाट टिपेर ल्याई फुलबुट्टा भरेर हरेक पात्रलाई कथाको नौलो अभिभारा सुम्पेको एउटा सफल भनौं या असफल प्रयत्न गरेको छु । जसको मूल्यांकन पाठकले गर्ने नै छन् ।