देश विगत ५२ दिनदेखि लक डाउनमा छ । लक डाउनका कारण सबै आफ्नै घरमा, कोठामा थुनिएका छन् । कोरोना संक्रमणको अवस्था झन् झन् बिकराल बन्दै गइरहेकै छ । तर यो विशम परिस्तितिमा पनि नेपाली साहित्य निदाइहालेको भने छैन ।
देशका चलेका लेखक तथा साहित्यकारहरूका लक डाउनसँग जोडिएको अनुभव, दृष्टिकोण तथा उनीहरूले गरिरहेका काम र पढिरहका पुस्तकको बारेमा सर्वत्र चर्चा भइरहेको छ । विभिन्न अनलाइन प्याटफममार्फत् उनीहरू पाठक तथा अन्य लेखकहरूसँग जोडिइरहेका पनि छन् । समग्रमा भन्नुपर्दा, अधिकांश देशका चलेका लेखकहरूले यस विश्व कोरोनाले आक्रान्त बनिरहेको समयमा त्यस्तो कुनै विशेष लेखनमा काम गरिरहन नसकेको बताउँदै आएका छन् । तर तिनै चलेका लेखकहरूलाई सुनेर, हेरेर अघि बढिरहेको नेपाली साहित्यको काँध, नवपुस्ताचाहिँ लक डाउन के गरेर बिताइरहेको छ त ?
देश लक डाउनले आक्रान्त बनिरहेका बेला नवपुस्ताका उदयमान साहित्यकारहरू के गर्दै छन् ? उनीहरू लक डाउनलाई कसरी उपलब्धिमूलक बनाइरहेका छन् ? उनीहरूका आवाज पनि अनेक छन् । आज हामी यस स्तम्भमा नवपुस्ताका प्रतिनिधि पात्रहरूका कुरा सुन्छौँ ।
सुरेस बादलः
“पाउलो कोएल्होको उपन्यास हिप्पीको नेपाली अनुवाद गर्दैछु”
लकडाउन बसाई काठमाडौँमै भयो । लकडाउनमा एकान्तवास मिल्नेछ, र धेरै सिर्जनात्मक काम गर्न सकिन्छ भन्ने लोभले नै नुवाकोटमा भएका परिवारले आइज भन्दाभन्दै पनि घर गइनँ । डेरामै धुम्धुम्ती बसेको छु भन्दा हुन्छ ।
कोरोना संसारकै लागि शुभसमाचार रहेन । म पहिलो पुस्तकको विमोचन चैतमा गर्ने तयारीमा थिएँ । तर कोरोना महामारी र लक डाउनका कारण विमोचन अनिश्चित बनिदियो । फाइनप्रिन्ट बुक्सले प्रकाशनको जिम्मा लिएको मेरो आत्मपरक आख्यानको पुस्ताकाकार अब लकडाउन खुलेपछि नै आउँछ होला ।
एउटा काम प्रतिकुल समयका कारण अल्झियो भन्दैमा केही नगरी बस्नु भएन । फाइनप्रिन्टबाटै प्रकाशित हुने पाउलो कोएल्होको उपन्या ‘हिप्पी’को नेपाली अनुवाद गर्दैछु । अन्तिम चरणमा छु । जुन लक डाउनको उपलब्धिमध्ये सबैभन्दा महत्वपूर्ण रह्यो ।
लेखनको कुरा गर्दा पहिलो किताब बजारयात्रा अनिश्चित भए तापनि दोस्रो किताबको पनि लकडाउनको सदुपयोग गर्दै आफैँले सम्पादन सकाएको छु । यो पुस्तक उपन्यास रहने छ । साथै फुटकर लेखहरू पनि लेखेँ, जुन आफ्नै ब्लगहरूमा प्रकाशित गरेँ ।
सामाजिक सञ्जालमा जल्दाबल्दा विषयहरूउपर आफ्ना विचारहरू पनि निरन्तर लेखिरहेको छु । सञ्जालमा लेख्दा सक्दो चोटिलो र रमाइलो शैलीको प्रयोग र विकास गरिरहेको छु । नयाँ नयाँ पाठक, साथीहरू र फलोअर्सहरूसम्म पुग्न यो लकडाउन र सामाजिक सञ्जाल सहायकसिद्ध भएका छन् । यीबाहेक धेरै चलचित्र र सिरिजहरू पनि हेर्न भ्याएँ, जसले लेखन र अनुवादको बीचमा आउने पट्यार र आलस्यता चिर्न मद्दत गरे ।
पठनको कुरा गर्ने हो भने तुलनात्मक रूपमा कम पढियो । केवल भारतीय लेखक अमितभा बागचीको “हाफ द नाइट इज गन” भन्ने उपन्यास र नेपालीमा शिवानीसिंह थारूको “काठमाडौँमा एकदिन” गरेर दुई पुस्तकमात्र पढ्न सकेँ । अँ, आफ्ना केही कविताहरूको भिडियो बनाउनुलाई पनि यही लक डाउनको उपलब्धि मान्नु पर्ला !
साहित्यपछिको मेरो रूचि खाने कुरामा छ । त्यसैले लकडाउनमा युट्युब हेरेर केही नयाँ परिकार बनाउन सिकेँ । अब यति गरेपछि लकडाउन पछि घुम्न, डुल्न पाइन्छ भन्ने छ ।
सुदर्शन पौडेलः
“हामीले बाँचेको समय लकडाउनबाट छिट्टै बाहिर निस्किनेछ, म आशावादी छु ।”
म कोरोनाको विशमतामा आफ्नो लक डाउन अनुभव र यस बिल्कुल खालि समयको उपलब्धि लेख्दै छु । यसर्थ ममा खुसी र दुःख मिश्रित संवेगहरू चलायमान छन् ।
२२ वर्षीय प्यालेस्टिनी लेखक मोन्नद युनस, जसले २ वर्षअघि आत्महत्या गरे, उनको कथा जान्ने रहरमा मैले उनको बारेमा खोजी गरिरहेको थिएँ । केही दिनअघि प्यालेस्टिनी लेखक तथा अनुवादक नाइम अल खातिबसँगको सम्पर्कमा पुगेँ । गाजा क्षेत्रमा बसिरहेका उनी र अन्य प्यालेस्टिनीहरू इजरायल र इजिप्टबीच वर्षैँदेखि लक डाउनमा बस्न बाध्य छन् । “यसरी बाँच्नुपर्दा कस्तो महसुस हुन्छ ?” भन्ने मेरो प्रश्नमा उनले उत्तर थियो– “एउटै अवस्थामा बाँचिरहँदा वर्तमान कहिल्यै असामान्य लाग्दैन । मानिस परिस्थितिसँग अभ्यस्त हुनपुग्छ, र वर्तमानको सही मुल्याङ्कन भविष्यमा मात्र गर्न सकिन्छ ।”
अहिले उनै खातिबलाई सम्झिरहेको छु । ५० दिनसम्म आइपुग्दा घर नै सडक, घर नै खेलमैदान, घर नै कलेज, घर नै क्याफे र घर नै पुस्तकालय बनेको सत्यसँग अभ्यस्त भैसकेको छु । र लकडाउनले घर शब्दको वास्तविक महत्व बुझाएको छ ।
अस्ति औषधि किन्न एक महिनापछि बाहिर निस्किएँ । सडकको दुवै साइडमा उम्रिएको दुवो, हरिया पातहरूले सजिएका रुख, कतैकतै घाम ताप्दै बसिरहेका गाइहरू; आँखा यी सब दृश्य कैद गर्दै डुलिरहेका थिए । सडकमा हिँड्न पाउनु पनि कुनै विशेषाधिकार भएको देखेर आश्चर्य र रमाइलो एकैपटक लाग्यो ।
अतिआवश्यक कामबाहेक बाहिर निक्लिने कुरो छैन । घरै बसेर म केही पुस्तकहरू पढिरहेको छु, र सिनेमाहरू हेरिरहेको छु । पुस्तकका पात्रहरू निष्फिर्की डुलिरहेका छन्, म उनीहरूकै काल्पनिक संसारको अवलोकनमा चित्त बुझाउन बाध्य छु । दिमागमा लेख्नको लागि विभिन्न परिवेश र पात्रहरू घुमिरहेका छन्, तर औँलाहरूले लेख्न भने नसकिरहेको अवस्था छ ।
म आफूलाई यो समयमा विचलित हुन नदिन जीवनशैलीमा केही परिवर्तनहरू गरिरहेको छु । पहिले भेटेर कुराकानी हुने साथीभाइसँग फेसबुक–ट्विटरबाट सम्पर्क कायम गरिरहेको छु । समाचारबाट सक्दो भागिरहेको छु । दैनिक व्यायाम र ध्यानमा आफूलाई खर्चिरहेको छु । भेटेर हुने पुस्तक छलफल जुमबाट गरिरहेको छु । माध्यम र प्रकृया परिवर्तन गरेर सकेसम्म लकडाउन अघिकै जिन्दगी बाँच्ने प्रयास गरिरहेको छु ।
हामीमाझ कोरोनाको सन्त्रास जतिसक्दो छिटो सकियोस् । लकडाउनले मारमा परेका गरिब र असाहयलाई सरकारी र अन्य संयन्त्रबाट उचित सहयोग पुगोस् । स्वास्थ्यकर्मीहरूले यो समयमा गरिहेको मेहनतले सोचेजस्तो प्रतिफल लिएर आवोस् । अन्य उपाय ननिस्किदाँसम्म हामीसबै घरघरमै बसौँ, र यहाँबाट बाहिर निस्कदाँ मानवजातिले भोगेको यो समयको मुल्याङ्कन गरोस् ।
हामीले बाँचेको समय लकडाउनबाट छिट्टै बाहिर निस्किनेछ । म आशावादी छु ।
संस्कृति रिजालः
“अध्ययन आफैँमा एक धारिलो बौद्धिक हतियार रहेछ”
ग्रिष्म ऋृतुको समय छ । तर मौसम छिनछिनमा बदलिरहन्छ । घाम, कालो बादल, वर्षाबीच प्रतिस्पर्धा भइरहन्छ । ममा पनि दिल र दिमागको प्रतिस्पर्धा भइरहन्छ ।
प्रकृतिले मेरो दिल र दिमागलाई एउटै लयमा कब्जा गरिरहन्छ । प्रकृतिलाई मौसमले बदलिदिन्छ, मलाई पात्रले । लकडाउन घरमै थुनेको पनि लामो समय बितिसक्यो । योबेला बद्लिरहने प्रकृति र मलाई बदल्दिने पुस्तक मेरो निकटका साथी भएका छन् । साहित्य अध्ययनमा रुचि राख्ने भएकाले यो फुर्सदको समय कला तथा साहित्यका पुस्तकहरू र राजनैतिक परिवेशका पुस्तकहरू अध्ययन गरिरहेकी छु । कलेज बन्द छ, कलेजका पुस्तक पनि ।
भर्खरै पढिसकेको पुस्तक कर्नाली ब्लुजको कथा, परिवेश र पात्रलाई बारम्बार स्मरण गर्छु । कर्नाली ब्लुजलाई सन्तानको आँखाबाट अभिभावकको संघर्ष प्रष्टाउने पुस्तकको रुपमा पाएँ । सुदूर तराईको कथादेखि सुदुर पहाडको कथा पढ्दा कथाको परिवेश र भावले सँगै हिँडाइरह्यो ।
मैले अहिले अध्ययन गरिरहेको अर्काे पुस्तक लोकतन्त्र र आजको माक्र्सवाद पनि हो । समाजशास्त्री चैतन्य मिश्रको राजनितिक चिन्तनमा लेखिएको उक्त पुस्तक पढिरहँदा मलाई देशको वर्तमान परिस्थितिले झक्झक्याएको छ ।
लक डाउनको फुर्सदिलो समयमा घरको सामान्य कामपछिको समय अध्ययन र लेखनमै बितिरहेको छ । कहिलेकहीँ लेख तथा बुक रिभ्यु लेख्ने गरेकी थिएँ, अहिले भने लेख्न प्रयास नै नगरेका डायरी, कथा, कविता लेखनमा पहिलोपटक प्रयास गरिरहेकी छु । यसर्थ कोरोनाले विश्वसामु अनेकन चुनौति राखिदिएको यो समय मेरो लागि भने लेखन र पठनमा अवसर बनिरहेको छ ।
मैले लकडाउनको सुरुमै पढेको पुस्तक विमान विद्रोह पनि हो । विमान विद्रोह एउटा राजनीतिक अपहरणको बयान हो । जसले नेपालको राजनैतिक दलको र लोकतन्त्रको उदयलाई जोडेको छ । लेखक दुर्गा सुवेदीको व्यक्तिगत भोगाइ समेटिएको यस पुस्तक नेपालको राजनितिक इतिहाससँग जोडिएको छ । लकडाउनकै समयमा मैले न्याय, बेलायततिर बरालिँदा, अनुहारको भीडलगायतका पुस्तक पनि अध्ययन गरँे । प्रायः पुस्तकका घटना, कथा, परिवेशले उही परिवेश, कथा, घटनामा बाँधिरहेझैं लाग्यो । लेखक तानासर्माले लेखेको पुस्तक बेलायततिर बरालिँदामा लेखकका बेलायत यात्राका तितामिठा अनुभुतीहरू छन् ।
प्रकृति र पुस्तकसँग निकट भएर समय बिताइरहन मलाई कति पनि झन्झट लागेको छैन । अध्ययनले अझै नयाँ नयाँ साहित्यिक पुस्तक पढ्ने उत्सुकता जगाएको छ । मैले शब्दका भावमा डुबेर विश्व अवलोकन गरिरहेझैं लाग्छ ।
लक डाउनमा घरभित्रै बसे पनि परिवारबीच रमाइलोसँग समय बिताइरहेको छु । परिवारसँग धेरै नजिक भएको महसुस गरिरहेकी छु । सँगै पढिरहेका साथी यतिबेला मागको नियम पढ्छन, म पात्रको जीवनको नियम पढ्छु । पढ्न मन लागेका अन्य पुस्तक ल्याएर पढ्न नपाए पनि आफूसँग भएका पुस्तकका शब्द–शब्दलाई महसुस गरेर पढिरहेकी छु । यतिबेला प्राकृतिक वातावरणले परिवर्तन नगरेको मेरो मष्तिकलाई पुस्तकका पात्रको भूमिकाले छिनछिनमा परिवर्तन गरिरहन्छन् । त्यसैले, अध्ययन आफैंमा एक धारिलो बौद्धिक हतियार रहेछ ।
नवीन प्यासीः
आख्यानमा रहर जागेको छ, केही लामा छोटा कथाहरू लेखिरहेको छु
लक डाउन सामान्य नै बितिरहेछ । घरभित्रै बन्दी भएर बसिएको छ । पढ्ने काम पुरानै तरिकाले चलिरहेको छ । केही कथा संग्रह, उपन्यास पढेँ । तर विशेष गरेरचाहिँ सिनेमा हेरिरहेको छु । विभिन्न विधाका सिनेमाहरू खुब इन्जोय गरिरहेको छु । संसार र जीवनलाई चिह्याउने अनेक आँखिझ्यालहरू सिनेमामा भेट्दा मलाई मजा आउँछ । आफूभन्दा फरक भूगोल, फरक समय, फरक परिवेश र फरक भाषासँग बाँचिरहेका मानिसहरूको जीवनप्रतिको दृष्टिकोण र बुझाइले हैरान बनाइरहेछ ।
भर्खरै कुर्दिश सिनेमा ’टर्टल्स क्यान फ्लाइ’ हेरेँ । पछिल्लो समय युद्धसँग सम्बन्धित सिनेमा अलि बढी हेरिरहेको छु । युद्ध आफैँमा भयनक दर्शन लाग्छ मलाई । युद्ध जीवनको समाप्ति पनि हो, र सुरुवात पनि हो । युद्धले जीवनको भीख पनि माग्छ, र बदलामा जीवन पनि माग्छ । आफैँमा विरोधाभाष लाग्छ मलाई युद्ध ।
“टर्टल्स क्यान फ्लाई’ कुर्दिश वार सिनेमा हो, बेहमान घोबदीको । यो सद्दाम हुसेनको शोषणको समयको कथा हो (इराक अमेरोका युद्ध) । साना तीन जना पात्र छन् । एक १३–१४ वर्षीय बालक, जसको दुवै हात गुमेको छ । अर्की उसकी बहिनी छे, ११ वर्ष जतिको । उनीहरूको परिवार बिस्फोटमा परेर मरेका हुन्छन् । र यी दाजु बहिनी भाग्दै जाँदा बाटोमा अर्को ६ वर्ष जतिको नाबालक फेला पर्छ । शरणार्थी शिविरमा रहेका यिनीहरूमध्ये बहिनी ६ वर्षीय बच्चालाई छाडेर जानुपर्ने अडानमा हुन्छ । तर दाजु मान्दैन । यो बीचमा भोक, अभाव र सानी बच्चीले बारबार छाड्न खोजिरहेको सानो बच्चाको निर्दोषपनले साह्रै नमज्जाले किचिरह्यो । यी केटाकेटीहरूले बाँच्नका लागि गरेको संघर्ष र त्यसबीचमा छचल्किने मानवताले बेस्सरी किच्यो । तीनचार दिनसम्म रनथनिएँ ।
युद्धको बीचमा केटाकेटीले भोगेको दुःख र त्यही दुःखबीचबाट चिहाउने संसार र जीवनले नराम्रोसँग बिथोल्छ । यस्तै अरू सिनेमाले पनि खुब बिथोल्यो । हामी मानवीयता देखाउन मात्र चाहन्छाँै कि साँच्चिकै देखाउँछौ भन्ने कुरा युद्ध सिनेमाले देखाउँछ कि झैँ लाग्छ ।
लेखनको कुरा गर्दा, मैले लेख्ने कविता हो । त्यो लेखिरहेछु । केही छोटा र केही लामा कविताहरू लेखिसकाएँ । आख्यानमा पनि रहर जागेको छ पछिल्लो समय । केही छोटा लामा कथाहरू लेखिरहेको छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।