मान्छे चेतनशील भएर मात्र के गर्नु ? गुट्खा बनाउने उही, अनि क्यान्सरको विज्ञापन बजाएर भलाद्मीको पगरी भिर्ने पनि उही । भगवान् र सैतान एउटै शरीरमा प्रकट भएपछि सबैभन्दा बढी घातक हुँदो रहेछ । जीवनको कुरा गरेर, दर्शनको कुरा गरेर, क्रान्ति, परिवर्तन र समानताको नारा सुनाएर छिर्के हान्नेले धमिराको काम गर्छन् । भित्रभित्रै समाज खोक्रो बनाउने खेल खेल्छन् । एउटा अन्तरवार्ता हेरेको थिएँ । बडा गजब कुरा आयो – आजको पुस्ता बौद्धिक त भयो विवेकशील भएन । तर उहाँ स्वयं पनि कुन नाउमा हिँड्नुहुन्छ भन्न मुस्किल छ ।
यतिबेला जोडतोडले जातीयता कराइरहेको छ । ठ्याक्कै तुलनात्मक रूपमा भन्नुपर्दा यतिबेला खेतबारीमा कराइरहेको भ्यागुताजस्तै । तर कहाँ ? फेसबुकमा । ट्विटरमा । केही खबर पोर्टलहरूमा । तर हाम्रो मन मस्तिष्कमा नि ? जातीयता बहस गर्ने कुरा हैन भन्दा “के हो त ?” भन्नेहरू अगाडि आउँछन् । त्यस बिषयमा मैले बोल्दा अर्कोथरीलाई समस्या पर्नसक्छ । खैर जेहोस्, विचारको स्वतन्त्रता छ । र, मैले पस्कने खुराक भलै बासमती नहोला, तर बहसजस्तो बासी पक्कै हुने छैन । हामी जुन कुरा बहसमा ल्याउँछौँ, त्यसको समर्थनमा एकथरी र विरोधमा अर्कोथरी हुन्छन् । जब जब जातीयता बहसमा आउँछ, एकथरीलाई सही लाग्छ, र उनीहरूको घरमा कोचिङ हुन्छ । संस्कारको माला झन् मजबुत बन्छ । पर्खाल किन आवश्यक ? भनेर अफिम पिलाइन्छ । त्यो अफिमले काम पनि गर्छ । सम्झँदा हो जस्तो पनि लाग्छ । धर्म, संस्कार निभाउन किन अटेर गर्ने ? तर वास्तविकता त त्यो हैन । वास्तवमा धर्म भनेको हाम्रो कर्म हो । हामीले आज गर्ने कर्म भोलिको संस्कार हो । जस्तो हिजो सती जानु धर्म थियो । आजको संस्कारले त्यसलाई अपराध भन्छ । बालविवाह धर्म थियो । आज अपराध हो ।
एकाथरी बहस गर्ने पक्षमा छन् । मैले बहस गर्नुहुन्न भनिरहँदा मलाई जातविरोधी षड्यन्त्र गर्यो भनेर जाहेरी दिन पनि सक्लान्, तर विचार र विभेदमा धेरै फरक छ । मैले विभेद गर्ने भनेकै छैन । यो बिषय बहसमा नल्याई ‘अन द स्पोट’ फैसला गर्नुपर्छ । यदि तपाईंलाई जातकै आधारमा कसैले अपमान गर्छ भने तुरुन्तै रियाक्ट गर्नुस् । ननसेन्स कुरा गर्नेहरूको सेन्समा प्रहार होस्, त्यो कदम चाल्नुस् । मलाई अचम्म के लाग्छ भने, हामी नेपालीको स्वभाव चाँडै रियाक्ट गर्नेछ । फलानोले त चोर्छ रे ! भन्यो कसैले भने ‘तँ मलाई चोर भन्ने’ भन्दै उफ्रन्छौँ । कसैले भनिहाल्दैमा आफू चोर भइहाल्ने हो र ? हैन । तर पनि हामी रियाक्ट गर्छौं भने विभेदमा बहस किन गर्छौँ ? प्रतिकार किन गर्दैनौँ ? रियाक्ट गर्ने ठाउँमा बहस गरेर काउकुती लगाउने काम बन्द गरौँ । प्रतिकार गरौँ । प्रतिरोध गरौँ ।
अर्काथरी हामी यस्ता छौँ, कोटाको बिषयमा सन्जालमा हल्लाखल्ला गर्छौँ । कोटा उनीहरूमाथि हाम्रो पुर्खाले गरेको ज्यादतीको क्षतिपूर्ति मात्र हो । जुन सही मानेमा पहिले नै कम छ । हामी गल्ती गरेर सरी भन्छौँ नि, ठ्याक्कै त्यही अवस्था हो कोटा भनेको । यसलाई विभिन्न बाहानामा जोडेर विभेदको बहस नगरौँ । बरू कसरी हुन्छ, शक्तिसङ्घर्ष कहिले कसैले गर्नै नपरोस् भनेर आरन चलाऊँ । त्यो आरनको धारले झिकेको तरवारले क्रुटी काटेर नष्ट पारिदियोस् ।
मान्छेहरू ‘म यो जात, तँ उ जात’ भन्छन्, तर मलाई त मेरो बदलिँदो जात गज्जब लाग्छ । म एकसाथ एउटै जीवनमा ब्राह्मण, क्षत्री, वैश्य, शूद्र बाँचिरहेको छु । कास, सबैले यही कर्मठ जातको बर्को ओढेर संस्कारको खोस्टा मिल्काइदिन्थ्यो त कति सुन्दर हुन्थ्यो होला हाम्रो बगैँचा ! कति मनोरम दृश्य हुने थियो त्यो । Make yourself strong enough and fight against when there is wrong. Do not debate. गल्ती गर्नेलाई सिधै दे भेट ।
टिकटकमा एउटा भिडियो आयो । टिकटकमा लाखौं भिडियो आउँछन्, तर सुरुवात एउटाबाट गर्न चाहन्छु । बाउछोरीको मीठो प्रस्तुती हेरेको थिएँ । म ३० वर्षको भएँ, तर मेरो घरमा अझै पनि म सानै छु । बच्चै छु । त्यहाँ पनि त्यही हो । र, ती तमाम गलत सोच भएकाहरूको घरमा पनि त्यही हो । एउटा बुबाले आफ्नी छोरीसँग टिकटक बनाउने क्रममा छोरीलाई क्लकवाइज घुमाउँछन् । र, त्यो मुभमेन्टमा हात थोरै गलत ठाउँमा पुग्छ । गुड टच र ब्याड टच पढेकाहरूले बुद्धि जुठेल्नामा राखेर प्रतिक्रिया दिएका छन् । रोस्टर हुन क्यार भन्ने त भइहाले । तर जब कहीँ साँच्चीकै गलत हुन्छ, तब चुँ पनि गर्दैनन् ती । गु टेकेर अत्तर छर्ने काम गरेजस्तो लाग्दो रहेछ । भ्रम पनि कति पाल्न सकेका हो ? if you had guts on your bump than roast on …. रोस्ट गर के भन्नू र खै ! तिमीहरूको फुर्ती देखेका छौँ हामीले । दम छ भने सिस्टमलाई रोस्ट गर । दम छ भने दबेका आवाज उठाऊ । दम छ भने गलत नजरले हेर्नेलाई गलत भन । All men are same भन्न shameless नबन । अथवा girls are characterless भन्न तिमी पशु नबन ।
एउटी चेलीले बलात्कारको विषयमा बडो गम्भीर कुरा बोल्दै टिकटक बनाइन् – ‘महोदय ! केटी नाङ्गै हिँडे पनि बलात्कार गर्ने अधिकार कसैलाई छैन ।’ त्यसपछि अर्की स्टार आइन् । म त धर्तीभन्दा बाहिरका सोच भएकालाई स्टार नै भन्छु । उनले भनिन्, “पहिले तिमी नाङ्गै हिँडेर देखाउ ।” थुक्क तिम्रा सोच । के बोल्न हुने वा के नहुने पनि जान्दैनौ भने तिमीहरूको बौद्धिकता चितामा राखेर आगो लहाइदिए हुन्छ । एकातिर एउटी नारी दुर्गाको प्रतिनिधित्व गर्छे, अर्कातिर केही यसरी किचकन्डी भएर निस्कन्छन् । मलाई थाहा छ, अब उनीहरूको एउटा जमात मविरुद्ध ओर्लनेछ । तर देवी हो, ओर्लनै छ भने आलोचनाविरुद्ध हैन, अत्याचार र ज्यादतीविरुद्ध उर्लिएर देखाउ । लड्नुपर्छ । भिड्नुपर्छ । मविरुद्ध उर्लियौ भने पनि म डराउनेवाला छैन । म भाइरल हुने बाटोमा हैन, सत्य बोल्ने बाटोमा निस्किएको छु । भाइरल तिमीलाई शुभकामना ।
कतिपयले त भ्रम पालेका छन् । मिलियन भ्यूज आयो भने त मैले विश्व सुन्दरीको ट्याग पाउँछु । मलाई फलो गर्नेहरूको लाइन बानेश्वरबाट थानकोटमात्र हैन चितवन, हेटौँडासम्म रहनेछ । अनि भ्रमलाई सिद्ध गर्न टीसटको टाँकबाट सुरु हुन्छ यात्रा । दुइटा टाँक खोल्दैमा के बिग्रन्छ र ? तिमीहरू सही छौ, साँच्चै केही बिग्रदैन । जसको पहिले नै सबै कुरा बिग्रेको छ, अब अरू के बाँकी रहन्छ र ?
निखिल दाइको एउटा कुरा आयो । त्यसमा म सहमती जनाउँदिनँ, तर मेरो विमति पनि छैन । टिकटकमा हिट हुनुको कुनै काम छैन रे ! हो यसमा हिट वा फ्लप भन्ने कुरा छैन । भाइरल हुनुलाई हिट हुनु भन्न मिल्दैन । त्यसै पनि स्टारडमलाई मुतको न्यानोसँग जोडिन्छ । अझ टिकटकमा भाइरल कन्टेन्टलाई त त्यति पनि छैन । यहाँ न्यानोपन छैन । फोहोरको डङ्गुरमा न्यानो हुने भनेको त्यहाँ आगो लगाए पछि मात्र हो । भाइरलको चक्करमा नराम्रो कन्टेन्टको बाढी आयो भन्दैमा टिकटक ब्यान्ड गर्ने भनेर सोचिहाल्नु हुँदैन । टिकटकबाट धेरै राम्रा कुरा पनि आएका छन् । १५ सेकेन्डमा जिन्दगी सुनाउनेहरू पनि छन् । कलाकौशल देखाउने पनि छन् । सय राम्रो बीचको एउटा नराम्रो पनि प्रष्ट देखिन्छ, तर यहाँ सय नराम्रा छन् । राम्रो स्तरीय त पाउनै मुस्किल भइसक्यो । केही प्रतीभा भएकाहरू टिकटकबाट आज म्युजिक भिडियो र फिल्ममा समेत प्रवेश भइसकेको अवस्थामा धेरै सङ्ख्या त दलदलमै फसेको देखिन्छ ।
टिकटकमा अश्लील भिडियोहरू आउन थालेका छन् । तर अश्लील केलाई भन्ने ? अपशब्द बोलेको कुरालाई अश्लील भन्ने हो कि छोटा पहिरनलाई ? मेरो नजरमा यी दुबै जायज छन्, र जायज कुरा अश्लील हुनै सक्दैनन् । अक्सर हाम्रो सोच नाजायज हुने गर्छ । तर सत्य के हो भने, आजभोलि टिकटक हेर्न पनि एक्लै बस्नुपर्ने वा कानमा हेडफोन लगाउनुपर्ने बाध्यता छ । नाजायज सोचको उपज नै अश्लील खुराक हो । यो खुराक पस्कनेमा के महिला के पुरुष ? कोही पनि अछुतो रहन सकेका छैनन् ।
आमाले बच्चालाई दूध खुवाउनु सामान्य कुरा हो, तर आफ्नो छाती सन्जालमा देखाउनु पक्कै पनि अश्लील हो । आमाको नामको गाली गर्दै हिँड्नेले आमा शीर्षकमा कविता लेख्दैन र ? त्यस्तै हो । यहाँ हुन्छ अरू केही र देखिन्छ बेग्लै । नग्नतालाई अश्लील मानेर कमेन्ट गर्नेहरू प्रसस्त छन् । मेनुस्ट्रेसन म्याटर्स भनेर लेख्नेहरू आफैँ मन्दिर जादैनन् । भान्सा पस्दैनन् । त्यही भएर आजभोलि सामाजिक सञ्जालमा देखिएका कुराहरू परिवारसहित पढ्न र हेर्न नमिल्ने भइसकेका छन् । सामाजिक सञ्जाल माकुराको जालो झैँ भएको छ । जञ्जाल बनेको यस्ता सन्जालहरू हाम्रो मानसिकताको प्रशोधन नभएसम्म बन्द गरिनुपर्छ । नत्र भविष्यमा यसले गहिरो खाडलमा जाक्नेछ । बेलैमा ध्यान जाओस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।