जब बेजोडले पानी पर्छ, जब खोलामा बाढी आउँछ, जब गोठमा जनवारहरू चर्काे आवाजमा कराउँछन्, जब मान्छेको आँखामा डरको घुम्टो ओडिन्छ, तब मेरो आँखामा मोरङ जिल्लाको बक्राहा खोला नाच्दछ ।
मैले वसन्तलाई मेरो जिन्दगीबाट पन्ध्रवटा डिलपछाडि लगेँ भने त्यो दिनमा पुग्दछु । जहाँ मेरा आँखाले कहिल्यै नदेखेको दृश्य देख्यो, कानले चर्को आवाज सुन्यो, मुटुले डरको गति मापन गर्यो ।
मलाई जीवनको भेलले बगाइरहँदा, मोरङको इटहरामा केही वर्षलाई म अल्झिएको थिएँ ।
भदौ महिना आफ्नै गतिमा दौडिएको थियो । पानीले बर्खालाई नटेरी जोड जोडले परिहेको थियो । मलाई पानीसँग मतलब थिएन । उसको काम पर्ने हो पर्छ भन्ने लाग्दथ्यो । भदौ बिदा भएर गएपछिको असोज महिनाको प्रतीक्षा थियो । असोजमा दशैँ जो थियो । दशैँ मेरो १०/१२ वर्षे मस्तिष्कमा शिव ताण्डव नाचे झैँ नाच्नेक्रममा थियो । दशैँ एउटा चाडमात्र थिएन । सायद बाल्यवस्थामा दशैँ कसैको लागि चाडमात्र हुँदैन । दशैँ त शृङ्खलाबद्ध मासु हुन्छ, कपडा हुन्छ, पैसा हुन्छ र सबैभन्दा ठूलो कुरा एक महिना बिदा हुन्छ ।
सिमसिम पानीले धाद्रा गाउँमा आफ्नो हैकम जमाएको थियो । तीन दिनबाट पानी रोकिने कुनै छाटकाँट थिएन । पानीले बगेर आफ्नो धर्म निभाइरहेको थियो । हामीले छाता, घुम ओडेर कामको धर्म निभाइरहेका थियौँ । बारीमा घाँस भए पनि घाँस जोगाउने योजनामा सम्पूर्ण गाउँलेले आफ्नो गाईवस्तु बक्राहा खोलाको बगरमा पुर्याउँथे । केही दिनबाट खोलामा पानीको बहाव बढेकाले गाईवस्तु गोठमै थिए । सरौतोमा काटेको कुटी र भुसले गाईवस्तुलाई हाइसन्चो नै थियो ।
मध्यरातमा पानीले टिनको आवाज बढाइरहेको थियो । आवाज बढे पनि निन्द्राले आफ्नो धर्म छाडेको थिएन । बालुवाटारले पनि आफ्नो धर्म नभुलिदिए हुन्थ्यो ।
बिहानको सूर्यसँग मेरो दोस्ती खासै जम्दैन । त्योबेला पनि र योबेला पनि । तर त्यो दिन म सूर्यभन्दा पहिले उठेँ । खासमा म उठेको थिइनँ, मलाई उठाइएको थियो (टिकटकबाट) । ममिकी दिदी वा मेरी ठूलीममिको आवाजसँगै म उठेको थिएँ । माथि मौरीवारी बाँधबाट पसेको खोलाले डिपु, माझी गाउँ, धाद्रा हुँदै तलसम्मका गाउँमा पानीको जन्ती पठाएको थियो । जन्ती जाँदा बिहे घरलाई छाडेर जसरी जन्ती गाउँघर पस्छन् त्यसरी नै बक्राहाको पानी खोला छाडेर गाउँ पसेको थियो ।
बाढी आएको केही दिनदेखि नै थियो । खोलामा पुल थिएन । खोला तर्न नसकेर खोलापारि हसन्दह, अमरदहका व्यापारी बराल जेठाको घरमा थन्किएका थिए ।
बिहानै खोला गाउँमा पसेपछि गाउँलेको हारगुहार सुरू भइसकेको थियो । बिहानै कम्मरसम्म आएको पानीले भान्साकोठा, गोठमा डेरा जमाएको थियो । गाउँमा प्राय सबै सबै घर टाँडे थिए । तर कमल मामाको घर भने एकतले थियो । अरूको भान्सा, गोठ भिज्यो तर कमल मामाको भने भान्सा, गोठसँगै कपडाहरू भिजे ।
हामी टाँडमा नै बसिरहेका थियौँ । कच्चा घर भएकाले घरमा क्षति होला भन्ने डर ठूलोबा गोविन्द बरालको आँखामा प्रस्ट देखिन्थ्यो । भण्डार कोठामाथि नै भएकाले चिउरा दालमोठ भिजेका थिएनन् । तल्लो घरका पबी, लीला, सपना हामीसँग आए । बिहानको खाना चिउरा र दालमोठमा नै सीमित भयो ।
पानी बिस्तारै घट्दै थियो, खोलामा होइन घरमा । सर्पहरू विनाडर पानीको सतहमा निस्केका थिए । पानीमा स्वाट्टै पस्न पनि नसकिने अवस्था थियो । तापनि मान्छेहरू रमित हेर्न निस्केका थिए । थाहा छैन दुःखमा रमित हेर्नैपर्ने हामीलाई मात्र हो कि अरूलाई पनि हो ?
पानीले आँगन देखाउन थालेको थियो । पानी घट्दै थियो । कहाँ के क्षति भयो भनेर मान्छेहरू निस्कन थालेका थिए । धानबारीमा बालुवाले पिङ खेलेको थियो । कसैको पनि धानबारी उठेको थिएन । र त्यो धान त्यो वर्ष उठ्नै नसक्ने गरी लडेको थियो ।
खोलाको बाढी हेर्न मान्छेहरूको जमात लस्कर लागेर गइरहेको थियो । घर नजिकैको कल्र्भटमा पानीको रफ्तार ज्यादै भएकोले मैले खोला जाने आँट गरिसकेको थिइनँ । पानी नाघ्न सक्नेहरू गइरहेका थिए, फर्कनेहरूले, ‘बाढी त कत्रो छ, सिसौ सबै बगाएछ, ए ! खोलाले बाँध भत्काउन लाग्यो, मगर साइँलाको घर पुरै डुबायो ।’ भन्दै आउँथे । यो सुन्दा कतिखेर पुगौँजस्तो लाग्थ्यो । भौँडाबाट आएका रमेश, रविन, अर्जुन भने एकपटक खोला हेरेर फर्किसकेका थिए ।
मध्य दिउँसो इटहरा चोकतिरबाट छ जनाको टोली खोला हेर्न भनेर आयो । छ जनामा प्रमिला सुनुवार हाम्रै ब्याचकी थिइन् । अरू पाँच जनालाई म चिन्दिनँ थिएँ । तर स्कुलमा देखिरहेको अनुहार थियो, नाम भने थाहा थिएन ।
आँगनमा पानी थिएन । हामी कमल मामाको घरमा बसिरहेका थियौँ । कति क्षति भयो भनेर मान्छेहरू आफ्नो हिसाब निकाल्दै थिए । प्रमिला आएको देखेर पबी उठी किनकि पबी पनि हाम्रै ब्याचकी थिई । उनीहरू खोला हेर्न गएको जाऔँ भन्दै आए आँगनमा । कमल मामाले, “लु पर्दैन”, भनेपछि उनीहरू सरासर गए । हामी उनीहरूलाई हेरिरह्यौँ ।
कल्र्भटको पानीको रफ्तार घटेको थिएन । उनीहरुलाई ठूलोबाले भन्नुभयो, “नजाओ पानी ठूलो छ ।” उनीहरूले टेरेनन्, गए ।
होली माथिको कल्र्भट पनि नाघेर पानी बगेको थियो । हामी उनीहरूलाई हेर्दै थियौँ । उनीहरू बिस्तारै पानीतिर गए । छ जनाले एकअर्काको हात समाएका थिए । उनीहरू कल्र्भट कटे, तर कल्र्भट कट्नासाथ अगाडि हुने केटी चिप्लिई । त्यो पानीको भौडीमा छ जना नै पसे । माइजू कराउनुभयो, “बगायो” त्यहाँ बसिरहेका सबै उठे र होलीतिर गए । म ठूलोममीलाई पछ्याउँदै गएँ ।
त्यहाँ पौडी खेल्न सक्ने कोही थिएन । आँखा अगाडि भेलले उनीहरूलाई डुबाउँदै निकाल्दै थियो । हल्लाले मान्छेहरू जम्मा हुन थालेका थिए । ‘सीताराम सिग्देल’ (नाममा ढुक्क छैन) आइपुग्यो । ऊ पौडीमा प्रखर थियो । पानीले केटीहरूलाई दहको बीचमा घुमाइरहेको थियो । सीताराम दहमा पस्यो । सीताराम पछि सानो बगर छेउका पौडेल दाइ पनि पसे (उनको नाम बिर्से) । उनीहरू जति दहको बीचमा पुग्दै थिए । त्यतै नै केटीहरूलाई पानीले ठेल्दै लाँदै थियो ।
मेरो आँखाले उनीहरूलाई छुटाएको थिएनँ । तर उनीहरूको हातबाट एकजना साथी छुटी । भङ्गालोले उसलाई पुर्यो । प्रहरीलाई राम दाइले खबर गरेका रहेछन् । प्रहरी पनि आइपुग्यो । पाँच जनालाई दहबाट निकालेर सञ्जुको घर पछाडि राखे । उनीहरू डुबेकी साथीको नाम लिँदै चिच्याइरहेका थिए । दहबाट पानी होली हुँदै बग्ने भएकाले उसलाई (डुबेकी) प्रहरीले खोज्न सुरू गर्यो । (यहाँ प्रहरी छिटो आएन, खबर ढिलो पुगेर हो ।)
हामी केटाकेटी नै थियौँ । मान्छेको हुलसँगै हामी पछिपछि लाग्थ्यौँ ।
उसलाई भेटिएन । तल तलसम्म खोज्नेहरू अझै तलसम्म पुगे तर भेटिएन । “पानीले बचाउँछ पनि पानीले मार्छ पनि” नेपालनी आमै यसै भन्दै घरतिर फर्किन् । मान्छेहरू प्रहरीलाई ‘तैँ खोज्’ भनेजसरी फर्किन सुरू गरेका थिए । हामी केटाकेटीहरू प्रहरीको पछि कुद्थ्यौँ ।
– अब के भटिनु ?
– कहाँ पुर्यायो नि बिचरीलाई ।
– कस्की छोरी हो ?
– कालले बोलाएछ ।
– कतिजना थिए छोराछोरी ।
यस्तै कुरा गर्दै मान्छे फर्कदै थिए । म पनि फर्किएँ । मैले केही नभनी फर्किएँ । मलाई यति थाहा थियो, ऊ अब कहिल्यै फर्किन्न ।
साँझले आफ्नो बाटो पर्खिरहेको थियो । राधाकृष्ण मन्दिरको चौतारीमा उनीहरूका अभिभावक आइपुगेका थिए । गाउँका मान्छे चौतारीमा छरिएका थिए ।
पाँच जनालाई सञ्जुको घरबाट चौतारीमा ल्याइयो । उनीहरूका आमा नै थिए ती सबै सायद । मन्दिरबाट खोला जाने बाटो घुमाउरो थियो । चौतारीमा रुवाबासी चलेको थियो । त्यहाँको दृश्य मैले त्योबेला बुझेको थिइनँ । कहिलेकाहीँ त्यो दृश्य सम्झन्छु डराउँछु ।
दृश्य
बगेका छोराछोरीहरू सबैका आमाहरू आएका थिए । छोराछोरी आइपुगेका थिएनन् । आमाहरूलाई को हराएको हो भन्ने थाहा थिएन, तर एकजना चाहिँ हराएको भन्ने थाहा थियो । घुमाउरो बाटोमा उनीहरू लाइन लागेर चौतारीतिर आउँदै थिए । सुरूमा आफ्नी छोरी देख्ने आमा छोरीतिर बढेर अङ्गालिन्, यो क्रम पाँचजनासम्म चल्यो । कहिल्यै नर्फकिने एक आमाकी छोरी प्रहरीले तन्नामा पोको पारेर ल्यायो । हराउने छोरीकी आमा अरू आमा झैँ अगाडि बढ्न सकिनन् । उनी लडिन् । पाँचजना आइपुग्दा नै उनले ‘मेरी छोरी’ भन्दै चिच्याएकी थिइन् । सायद उनलाई त्यो बेला थाहा थियो, मेरी छोरी अब उभिएर आउँदिन । किनकि गाउँलेले भनिसकेका थिए, “छ जना आएका थिए, पाँचजना बचेका छन् । एउटी हराएकी छ । प्रहरीले तल बगरमा लास भेटेको हल्ला छ ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।