यो छोटो आलेख लेखेर पोस्ट गर्नै पर्ने कारणको ब्याकयार्ड प्रसङ्ग यहाँ उल्लेख गर्न चाहन्छु ।

हुन त अहिले नेपाली साहित्य बजार नगरकोटीको ‘कल्प-ग्रन्थ’ले तात्तिएको अवस्था छ । तर यो प्रसङ्ग ‘कल्प-ग्रन्थ’सँग नभएर ‘मोक्षान्त: काठमाण्डु फिभर’सँग जोडिएको छ, जुन आश्चर्यानुभूति सबैसँग सेयर नगरी रहन सकिनँ म ।

नगरकोटीको ‘अक्षरगन्ज’, ‘ज्ञ’, ‘घाटमान्डु’हुँदै भर्खर म ‘मोक्षान्त: काठमाण्डु फिभर’सम्म आइपुगेको छु । त्यसो त मैले नगरकोटीलाई २०५९ सालतिरै पढेको हुँ । एसएलसी सकेर प्लस १२ पढ्ने तर्खरमा हुँदा साहित्यले पनि मलाई तान्न सुरु गर्दैथ्यो । त्यही बखत तत्कालीन नेराप्रप्रले त्रैमासिक प्रकाशन गर्ने ‘समकालीन साहित्य’ २०५८ को अन्तिमतिरको संस्करणमा कुमार नगरकोटीको ‘अन्धकार’ कथा पढेको थिएँ । उनको त्यो कथा लेखन शैलीले मेरो आलोकाँचो मथिङ्गलमा उथलपुथल जरुर ल्याएकै हो । हल्का प्रभावित पनि भएकै हुँ । जे होस्, गज्जब लाग्छ उनको लेखनी ।

लागौं अब एउटा अचम्मको नगरकोटीय अनुभूतितर्फ— (यो फगत संयोगमात्र पनि हुन सक्छ तर यसमा नगरकोटीय फ्लेवरको प्रगाढता र केही दिन अघिको मेरो सपनाका कारणले गर्दा यसलाई केवल संयोग मान्न सकिनँ । र, लेख्नै पर्ने ठानेर लेख्न बसेँ ।)

विजय सङ्ग्रौला

कुरो यही गत अप्रिल १ तारिखको हो । दिनको संयोग पनि अचम्मकै परेको — अप्रिल फूल ! दुई दिनदेखि ‘मोक्षान्त: काठमाण्डु फिभर’ पढ्दै थिएँ । अन्तिम कथा ‘खप्पर’ पढ्न बाँकी थियो । कथाको शीर्षकले नै पढिहालौं भन्दैथ्यो । खाना खाई सक्नासाथ एकछिनको विश्राममा पढिहाल्नुपर्यो भनेर पुस्तक हातमा लिएर ओछ्यानमा ढल्किएँ । सङ्ग्रहमा भएका प्राय: सबै कथा राम्रै लाग्दै थिए । अझ कथाका ब्याकयार्ड प्रसङ्गहरूले सुनमा सुगन्ध पनि थपिदिएका छन् । सबै कथा पढ्दा पहिले कथा अनि त्यसको ब्याकयार्ड प्रसङ्ग पढ्ने गर्दा रमाइलो अनुभव भइरहेथ्यो । (यस्तो प्रयोगका निम्ति पनि लेखकलाई साधु—साधु।) अन्तिम कथा पढ्ने बेलामा चाहिँ के मूड चलेर हो पहिला कथाको ब्याकयार्ड प्रसङ्ग नै पढ्न मन लागेर आयो । पहिला त्यतै लागेँ । प्रसङ्ग गजबको । मजा लाग्यो । तर अन्त्यमा लेखिएको रहेछ — ‘यो कथा पढ्नेहरू भन्छन्:

— खप्पर तान्त्रिक कथा हो । अरु सप्पै कथा पढ्नू, नगरकोटीको खप्परचाहिँ बिर्सेर पनि कहिल्यै नपढ्नू ।’

कौतुहलता जाग्यो मनमा । कस्तो भयङ्कर तान्त्रिक कथा होला त ! सिधै कथातिर हान्निएँ । कथा पढ्दै गएँ । ठीकठीकै लाग्यो । अन्त्यसम्म पुग्दा पनि त्यस्तो पढ्नै नहुने केही लागेन । कथामा रमाएँ । तर भित्र मनमा एउटा रिक्तता अनुभव गर्दै अन्तिम पानामा सही छाप र मिति दर्ज गरेर यसो आँखा चिम्लेको त फुसुक्क निदाइगइएछ… ।

स्वप्न प्रसङ्ग—

ब्यूँझदा सपना झलझली याद आयो रतीभर नबिराई । साँझको बेलामा घरबाहिर जाँदा अलि पर घर भएका मेरा एक जना काकाले डाकेर मलाई भलाकुसारी शैलीमा केही भनिरहेका थिए । ती कुराहरू मलाई स्पष्ट याद थियो । जस्तै—

काका : भतिज, यति नजिकै भएर पनि तिमीलाई धेरै दिनपछि देख्दै छु । गुफा पस्यौ कि कतै गएको थियौ ?

म : हैन काका ! तपाईँले नदेख्नुभा’को मात्र हो । म यहीँ छु ।

काका : (एक्कासि) अनि यति पढेका छौ, किन आफ्नो क्षमता देखाउन कन्जुस्याइँ गर्छौ ? एउटा सरकारी जागिर खाएको भए कति राम्रो हुन्थ्यो ! यता उता कति हल्लिन्छौ ? के गर्ने विचार छ अब ? …..

म आफ्ना विचार प्रकट गर्छु संक्षिप्तमा । केही आध्यात्मिक गफ दिन्छु र मेरा कुराको पक्ष दह्रो बनाउँछु । (कुराकानी अलि लामै छ । यहाँ राख्न उचित लागेन ।)

निकै बेर गफ हुन्छ । यतिकैमा काकाको फोनमा घण्टी बज्छ । त्यही आवाजले म झल्याँस्स ब्यूँझिन्छु । सपना सम्झेर एकछिन हाँस पनि उठ्छ । कुरो खतम !

अब विपना प्रसङ्ग—

साँझ दूध लिन अलि पर छिमेकीकोमा जानुपर्ने हुन्छ हाम्रो । आफ्नोमा गाईवस्तु नभएकाले गर्दा । सधैँ आमा जानुहुन्थ्यो, त्यो दिन म जानुपर्ने भयो । जग बोकेर त्यता लाग्दै थिएँ, बाटोमा मलाई देखेर छिमेकी काकाले डाक्नुभयो । म काका भएतिर छड्किएँ । पहिलो डायलग काकाको हुबहु सपनाको —

‘भतिज, यति नजिकै भएर पनि ………….’

म झसङ्ग भएर दिउँसोको सपना सम्झिन पुग्छु । यसो हेर्छु, त्यही सपनाको सेटिङ्ग छ वरिपरि । लुगाधरी सेम टु सेम सपनाको । कुरा पनि त्यही । अचम्ममा पर्दै म पनि सपनाकै हुबहु जवाफ दिन्छु । महाअचम्ममा त म त्यतीबेला परें जब दोस्रो डायलग त्यही सरकारी जागिरवाला एक्कासि आइलाग्यो काकाबाट । एकरती पनि दायाँ बायाँ नभई । तिनै कुरा जस्ताको तस्तै फेरि घट्दा कतै म सपना त देख्दै छैन ? भन्ने सोच्दै छु । मुखबाट सपनामै दिएको गफ अनवरत निस्किरहेछ । मैले कुरा चेन्ज गर्न नै पाइनँ, यदि गर्थेँ भने पनि । मानौँ, मेरो पकडमा थिएन त्यो पल । कुरा जस्ताको त्यस्तै तिनै नै भए ।

म आश्चर्यको भुमरीबाट निस्किन सकिरहेको थिइनँ । एक्कासि काकाको फोनमा घण्टी बज्यो । अब के हुन्छ ? हेर्नु थियो मलाई । किनकि सपना त मेरो यहाँ पुगेर टुटेको थियो ।

काकालाई फोनमा कसैले घरपछाडिको खेतमा भएको मकै सबै गाईले खाइसक्न लाग्यो भनेर सूचना दिएछ । झट्पट् फोन काटेर ‘सखाप पारेछ’ भन्दै काका गोलीको गतिमा खेततिर हान्निए । म त्यहीँ बसौं कि पछि पछि कुदौँ ! किंकर्तव्यविमूढको स्थितिमा थिएँ । काका त हस्याङ्फस्याङ् गर्दै टुप्लुक्क मेरै अगाडि आइपुगे ।

के भएछ काका ? भनेर सोध्नमात्र लागेको थिएँ, काका रिसले चुर हुँदै फोन गर्नेलाई गाली गर्न थाले । अनि पो झट्ट सम्झना भयो मलाई — आज त अप्रिल फूल !

मलाई हाँसो उठ्यो, काकालाई औडाहा भयो । यसै बीचमा मैले सपनाको र अहिले घटेको घटनाको कुरो सुनाएँ । ‘कहिलेकाहीँ यस्तै हुन्छ’ भन्ने छोटो प्रतिक्रिया दिएर काका घरतिर लागे ।

मेरो मनमा सोच आयो – फोन आएपछि पनि सपनाबाट नब्यूँझेको भए सायद काकाले यो दु:ख पाउने थिएनन् होला ! यतिबेला आएर पो म घोर आश्चर्यमा परेको थिएँ — के भएको यो ?

दूध लिन हिँड्को म बाटोको एक छेउमा उभिएर एकोहोरो टोलाउँदा आँखाको स्क्रीनअघि एउटा पाना अनायास पल्टियो— ‘यदाकदा मलाई के लाग्छ भने, यो कथामा त्यही कानो तान्त्रिकको जादू, टुनामुना छ । यो कथा पढ्नेहरू भन्छन्:

— खप्पर तान्त्रिक कथा हो । अरु सप्पै कथा पढ्नू, नगरकोटीको खप्परचाहिँ बिर्सेर पनि कहिल्यै नपढ्नू ।’

र, स्वप्न प्रवेश प्रसङ्ग —

त्यो दिनको घटनाले अबेर रातसम्म मलाई गहिरो सोचमा डुबायो । मैले फोनको नोट्समा मोटामोटी कुराहरू टाइप गरेँ र निदाएँ । बिहान उठ्दा अर्कै अनुभव भयो । अनेक गर्दा पनि सपना के देखेँ चनेर सम्झिन सकिनँ । यसरी निकै दिनहरू बिते । त्यस दिनदेखि आजको दिनसम्ममा मेरो सपनाको स्थिति, परिस्थिति नै बेग्लै भइगएको छ । सपनाका तानाबानाले निदाएपिच्छे घेर्ने म आजकल बिरलै सपना देख्छु । देखेका सपनाहरू कुनै न कुनै रूपमा यथार्थत: घटिरहेका हुन्छन् । सपनाको गहिराइ नै अर्कै भइगएको छ । यसले मलाई आफ्नो स्वप्न प्रवेशमा ठूलो मद्दत पुर्याइरहेको अनुभूति आजकल हुन थालेको छ । मेरो लागि नगरकोटीको खप्पर स्वप्न प्रवेश गर्ने तन्त्र सावित भएको छ । यो कथामा साँच्चै नै कानो तान्त्रिकको टुनामुना छ जस्तो लागेर आउँछ बेलाबेला । यो कथा ठूलो इन्द्रजालको सानो स्वरूप पो हो कि क्या हो !

पुनश्च:  फोनको नोट्समा त्यो दिनको घटना टिपेर बन्द गरेको १०७औं दिनमा जुलाई १६ (७/१६~१+६=७) को रातको अन्तिम प्रहरमा गाढा कालो अघोरी पहिरनमा मेरो स्वप्नमा प्रवेश गरी आफ्ना चुस्स तिलचामले दाह्री मुसार्दै जोगी स्वरूपमा नगरकोटीले ठाडो निर्देशनात्मक शैलीमा यो प्रसङ्ग सेयर नगरे घनघोर पाप लाग्ने उद्घोष गरेपछि पाप मोचन हेतु यति लेख्न बाध्य भएको हुँ ।

अस्तु ।