“राम्रोसँग पढ्नू । ठूलो मान्छे बन्नू । ज्ञानी हुनू । भनेको मान्नू ।” यस्ता आशीर्वादहरू कहिलेकाहीँ सपना बनेर मनभित्रको मैदानमा कुदिरहन्छन् । यी आशीर्वाद दिनेहरू कोही यही संसारमा हुनुहुन्छ त केहीले संसारबाट बिदा लिइसक्नु भयो । लाग्छ, आशीर्वादले मान्छे ठूलो हुँदो हो त म पनि निकै ठूलो मान्छे बनिसकेको हुन्थेँ । आशीर्वाद सपना पूरा गर्नको लागि लगाइने एक भ्याक्सिन हो जसको अझै परीक्षण चलिरहेको छ ।

आशीर्वादले बढ्ने भनेको आशा मात्र हो । केही बन्नु नै छ भने त मेहेनत नै गर्नुपर्छ । पौराणिककालमा आशीर्वाद(वरदान)ले मान्छेको जिन्दगी बदल्थ्यो । तर अहिले त्यस्तो हुन्न । हुन्थ्यो भने म ती सबैलाई खुसी र सुखी जीवन प्राप्तिको  आशीर्वाद दिन्थेँ, जसले आफ्नो भोक र सोख पूरा गर्नको लागि जिन्दगीका असिम इच्छाहरूको बलिदान दिएका छन्, खाडीको गर्मीमा मिहेनत गरेर परिवारको मनमा हरियाली ल्याएका छन् ।

सानो छँदा ‘ठूला मान्छेको पाउ ढोग्नुपर्छ, नमस्कार गर्नुपर्छ’ भनेर सिकाइयो । संस्कृतिका नजरले हेर्दा यस्ता चलनहरू एक प्रकारका नियम नै हुन। तर सामान्य रूपले हेर्दा ठूलो मान्छे भन्नाले कस्तो मान्छे ?

आफूभन्दा ठूलो उमेर भएको मान्छे ठूलो मान्छे हो कि आफूभन्दा सफलता व्यक्ति ठूलो मान्छे हो ?

जनताको खुनपसिना चुसेर  उच्च तहमा नाङ्गो नाच देखाइरहेकाहरू ठूला मान्छे हुन् कि तिनीहरूका लागि सहरै ठप्प बनाउने विद्यार्थी नेताहरू ठूला हुन् ?

आखिर कसलाई ठूलो मान्छे मान्ने त ?

यो प्रश्नले मलाई बालापनमा मात्र हैन, अहिलेसम्म पनि सताइरहेको छ । कसैले जिन्दगीका केही सिँढीहरू पार गरेर उच्चतम विन्दुमा पुग्छ भने उसलाई ठूलो मान्छे भन्ने कि सफल ? कोही मभन्दा केही समय, केही वर्ष पहिले जन्मियो भने ठूलो मान्छे मान्ने ?

नेपालमा आफूभन्दा पहिला जन्मिएका पुरूषलाई दाजु भनिन्छ, भारतमा भाइ भनिन्छ अनि अङ्ग्रेजीमा ब्रोदर । तर कतै ठूलो मान्छेचाहिँ भनिँदैन । त्यसो भए यसकाे हलचाहिँ के हाे त ?

अहो ! कस्ताे आपत् ? उमेरले सानोठूलो छुट्याउने कि चढेका जिन्दगीका सिँढीहरू गनेर ? अथवा सानाे ठूलाेकाे मापन गर्ने यन्त्र के हाे ?

माधव काफ्ले

म घरको कान्छो छोरो । मेरा दाजु, काका, बुबाको आफ्नो उच्चतम बिन्दु छँदैछ । मनभित्र जे जस्ता प्रश्नहरूको थुप्रो भए पनि यी सबै पात्रलाई मैले ठूलो मान्छे मान्नुपर्छ । सबैको खुट्टा ढोग्नुपर्छ । सबैले आशीर्वाद दिन्छन् । आशीर्वाद तिनै हुन्, जो माथि नै उल्लेख गरिसकेको छु ।

जब काममा जान्छु, आफूभन्दा अघिल्लो तहमा भएका मान्छेहरूलाई ठूलो मान्नुपर्छ । साहु सबैभन्दा ठूलो मान्छे, अझ ।

उमेरकाे महत्त्व हुन्न त्यहाँ, पदले ठूलोसानो छुट्याउँछ ।

स्कुलका कुरा गरौँ, आफूभन्दा माथिको कक्षामा पढ्नेहरूलाई ठूला मान्छे मान्नुपर्थ्यो । आफ्नै कक्षामा पनि राम्रो नम्बर ल्याउने अनि धेरै पुरस्कार पाउनेहरूलाई ठूला मान्छे थिए । राम्रा विद्यार्थी थिए । शिक्षकहरू आफैँमा ठूला मान्छे । उहाँहरूका अगाडि मेरो प्रश्न बकवासबाहेक अरू केही थिएन ।

एउटा कुरा त चटक्कै बिर्सेछु नि !

हामीले जातको आधारमा ठूलोसानो बनाएका छौँ । हाम्रो घरमा चाहिने औजारहरू बनाउने विरे दाइ हुनुहुन्छ । काकाको उमेरको हुनुहुन्छ उहाँ तर म दाजु नै भन्छु । उहाँ जहिले पनि हाम्रो घर आउनुहुन्छ । उहाँलाई चिया खाना दिनको लागि अलग्गै भाँडाकुँडा छन् । खाइसकेपछि भाँडा आफैँ धुनुहुन्छ । धाेइसकेकाे भाँडामा आमाले सुनपानी छर्किएपछि मात्र ती शुद्ध हुन्छन् । अर्का कपडा सिलाउने दाइ हुनुहुन्थ्यो, उहाँलाई पनि यस्तै व्यवहार गरिन्थ्यो ।

खाना खाएका भाँडा सुनपानीले चोख्याए पनि विरे दाइले बनाएका भाँडाकुँडा कहिल्यै चोख्याइएन । दर्जी दाइले सिलाएका कपडा कहिल्यै चोख्याइएन । म त सानै थिएँ । यस्ता कुराहरू देख्दा प्रश्नहरूको थुप्रोमा फेरि अर्को प्रश्न थपिन्थ्यो । बुबालाई सोध्थेँ, बुबा पनि यस्ता परम्परा मान्न विवश भएको देखेँ । यहाँ न तहले ठुलो बनायो न त उमेरले । बस जातले ठूलो बनायो ।

व्रतबन्ध नगरुन्जेल त मैले छोएको समेत हजुरआमाले खानुहुन्नथ्यो । भन्नुहुन्थ्यो – तँ जुठो छस् ।

म अक्कबक्क पर्थेँ, अनि सोच्थेँ – “विरे दाइले व्रतबन्ध गरे भने चोखिन्छन् होला ?”

होइन रहेछ, बिहान चर्पी जाँदा लगाएका कपडा नफेर्दा म जुठो भएछु । विरे दाइलाई त व्रतबन्ध गर्ने अधिकार नै रहेनछ । व्रतबन्ध गरेपछि, बिहान नुहाउने अनि गायत्री मन्त्र जप गर्ने मेरो दैनिकी थियो । त्यसपछि म चोखो भएँ । तर विरे दाइलाई कसरी चोखो बनाउने ?

अर्को प्रश्नले मनमा जरो गाड्यो । जवाफको अझै ठेगाना पाएको थिइनँ ।

प्रश्नहरूको थुप्रोले गर्दा मलाई असहज महसुस हुन लाग्यो ।

उमेर बढ्दै गयो । सँगैका साथीहरू कोही विदेशिएका थिए त कोही पढाइको लागि गाउँभन्दा टाढा थिए । साथीभाइहरूसँग रमाउन मन लाग्थ्यो । तर साथीभाइ थिएनन् । यस्तैमा मेरो मित्रता सुरज दाइसँग भयो । जातपातको हिसाबले हेर्दा उनी मभन्दा सानो नै थिए । तर मित्रताकाे जात हुँदैन भन्ने मैले बुझिसकेकाे थिएँ ।

उनी मेरो दाजुसरहका भएर पनि असल मित्र बने । मित्रता बढ्दै  गयो । उनको बिहे भइसकेको थियो । प्रायः म उनको घरमा जाने गर्थेँ । सँगै गफ गर्थ्यौँ, चिया खाजा खान्थ्यौँ, टिभी हेर्थ्यौँ हामी ।

हाम्रो मित्रता बढ्दै जाँदा गाउका ठूला मान्छेले थाहा पाएछन् । उनी उमेरले, तहले अनि जातले गर्दा ठूला मान्छेमा दरिएका थिए ।

हाम्रो कूलपूजा भयो । म उपस्थित थिइनँ । पछि थाहा भयो, मेरो र सुरज दाइको मित्रताको बारेमा त्यहाँ छलफल भएको रहेछ। ती ठूला मान्छेले कूलबाट अलग्याउने सल्लाह दिएछन् । म चिन्तित थिइनँ । मलाई कुलसँग केकाे लेनदेन ?

हिँड्दै गर्दा एक दिन ती ठूला मान्छे बाटोमा भेटिए । सधैँ झैँ उनको पाउ ढोगेँ । अरुबेला आशीर्वाद दिन्थे, त्यस दिन दिएनन् । म अचम्ममा परेँ । सोध्न मन थियो । तर सोधिनँ ।

उनकाे ठाउँमा सुरज दाइका बुबालाई ढोगेको भए थुप्रै आशीर्वाद पाउथेँ होला सायद । तर मलाई आशीर्वादसँग पनि केकाे लेनदेन ?

मैले बुझेँ, ठूलो र सानो तह, उमेर, सफलता, जात केहीमा पनि थिएन । केवल सोचमा थियो ।

जे जस्तो भए पनि हामी समाजमा नै रहन्छौँ । परिवर्तनका आवाज नउठेका हैनन्, तर आफू ठूलो मान्छे बन्ने होडमा सोचहरू पनि परिवर्तन भइदिन्छन् । छ वर्षको उमेरदेखि म मलामी बनेर घाटमा जान लागेको थिएँ ।  यस्तो गर्नुमा अरू कुनै कारण थिएन । बस, मनभित्र आगो बनेर बसेका विभिन्न प्रश्नहरूको जवाफ खोज्नु थियो । हेर्नू थियो, ठूला मान्छेहरूलाई जलाउने दाउरा र आगो अलग्गै हुन्छ कि हुँदैन ? ठूला मान्छेहरूको खरानी हुन्छन् कि हुँदैन ?

हे ठूला मान्छेहरू हाे ! म तिम्रो पनि मलामी बनेर आउनेछु कुनै दिन । मैले लगेको एक चिरो दाउरा तिम्रो शैप्यामा स्वीकृत हुन्छ कि हुँदैन ? हेर्नेछु, तिमिलाई जलाउने आगो कस्तो हुन्छ ?

कि स्वयम् ईश्वर नै आएर तिमीलाई नजलाईकन लिएर जान्छन् ?