साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

छोटा कवितामा नवपुस्ताः आयतनमा मात्र छन् साना

Chovar Blues Mobile Size

चर्चित युवाकवि नवराज पराजुलीको कविता संग्रह सगरमाथाको गहिराईमा संग्रहित एउटा छोटो आयतनको ‘औँला’ र्शीषकको कविताबाट सुरु गरौँ–

तिमीले
मेरो हात समाएको दिनदेखि
मेरो यो मुटु
औँलामा धड्किन थालेको छ ।

नवराज पराजुली लामा आयतनका कविता र वाचनकला मार्फत् परिचित छन् । तर उनको यो जम्मा बाह्र शब्दको कविता पढिरहँदा लाग्छ– प्रेमको योभन्दा सुन्दर अभिव्यक्ति अर्काे के हुन सक्छ !

अर्का चर्चित युवा कवि महेश पौड्यालको २०७५ को अन्त्यमा प्रकाशित कविता संग्रह शून्य प्रहरको साक्षीमा संग्रहित सबै कविताहरु छोटा आयतनका छन् । पौड्यालकै पीडा र्शीषकको एउटा कविता हेरौँ–

भोक हुनु
अन्न पनि हुनु
तर भोक र अन्नको दूरी
धरती र आकाशको जस्तै हुनु
पीडाको एक महाकाव्य हो ।

लेख्नकै लागि त भोक र अन्नको संघर्षका र्सिजनाहरु अनगिन्ती लेखिए । लाखौँ शब्दमा उपन्यास र महाकाव्य पनि लेखिए । तर पौड्यालको प्रस्तुत कविताले ती सारा विशाल रचनाहरुको सार केही शब्दमै भनिदिएका छन् ।

sagarmani mobile size

महेश पौड्याललाई लामा आयतनका कवितासँग कुनै गुनासो छैन । तर छोटा आयतनका कविता अहिलेको व्यस्त समयमा पाठकमैत्रि भएको उनको तर्क छ । भन्छन्– “अहिले मान्छेलाई फुर्सद कम छ । लामा विषयमा अल्झिनु, घोत्लिनु समय छैन । एक झलकमै झड्का दिनसक्ने छोटा कविता पाठकको जिब्रोमा रहन्छन् भन्ने मलाई लाग्छ । मैले बस छोटा कविताको माध्यमबाट समयलाई पक्डिन खोजेको हुँ ।”

पछिल्लो समयलाई हेर्ने हो भने नवपुस्ताको कविता मोह लोभलाग्दो छ । नवपुस्तामा केही कवि छन्, जो माथि उल्लेख गरिएका दुई कविका कविताझैँ थोरै शब्दमै महाकाव्य भनेर जान्छन् । जसका कविताका संरचना आयतनका हिसाबले साना छन् । तर कविताको उचाइ भने के कति लामा कविताहरुले समेट्न नसक्ने गरिका छन् ।

कवि महेश पौड्यालले अहिले छोटा आयतनका कविताको नेतृत्व गरेका छन् भन्दा अनुचित पक्कै हुँदैनन् । उनकै नेतृत्वमा शक्तिशाली तर शालीन कविता लेख्ने नव पुस्ताका कविहरु धेरै छन् । तर यसलाई पौड्याल भने नेतृत्व भन्दा पनि सहयात्रा भन्न रुचाउछन् ।

कवि महेश पौड्यालकै सम्पादनमा गत वर्ष प्रकाशित ११ नवपुस्ताका कविहरु संग्रहित छोटा आयतनकै कविता संग्रह उज्यालाका मालीहरुमा अदीप अधिकारीको ‘रङ’ शीर्षकको कविता पनि हेरौँ–

रहरजस्ता छोराहरु आए
साथमा अनेकन खाने कुरा आए
खुसीजस्ता नातिनातिना पनि आए
र पनि दशैँ रातो रङ नबोकी आउन सकेन

उनको साथ छुटेदेखि आजसम्म
मेरो मुस्कान देखेको छैन दशैँले ।

यस कविताको भाव पक्ष कति सशक्त छ । एउटा भर्खरैमात्र कविताको बाटोमा हिँड्दै गरेको नवकविले यति सशक्त रुपमा शिल्पकैशलद्वारा अभिव्यक्ति दिनसक्नु भनेको चानचुने कुरा होइन ।

आज
मेरी अनपढ आमा पनि
ईश्वर भएकी छिन्

कसैको भाग्य लेखिरहेकी छिन्
मतपेटिकामा ।

देशको पछिल्लो चुनावताका कवि नवीन प्यासीले चुनाव शीर्षकमा लेखेको कविता हो यो । २०७५ मा प्रकाशित १७ कविका कविता संग्रहित कविता संग्रह अनुहारको भीडमा पनि यो कविता संग्रहित रहेको छ ।

चुनावको महत्व तथा हामीले चुनेका मान्छेहरुका बारेमा अनेकन लेख तथा आलेख लिखिएको समय थियो त्यो । तर मुख्य पत्रिकाहरुका मुख्य पेजमा छापिने लेखले भन्दा विसाल कुरा प्यासीले एउटा छोटो कविताको माध्यमबाट भनिदिए ।

नवपुस्ताको कवि निरज दाहाल छोटा र लामा, दुवै आयतनमा कविता लेख्छन् । उनको ‘देश’ शीर्षकको एउटा छोटो कविता हेरौँ–

वर्षाैँ तिमी एउटा मैनालाई
कैदमा राखेर माटो पढाऊ
अन्त्यमा,
ऊ स्वतन्त्र भएको दिन
रुखमा नै फर्कने छ ।

यस कविताकै आधारमा एक विसाल महाकाव्य तयार हुन सक्छ । यस कविताले देश बोलेको छ । तमाम विदेशमा आफूलाई कैद बनाइरहेका नेपालीहरुको अन्तरहृदयको कथा भनेको छ । यस्ता कविता पढेपछि छोटा कविताको उपमा दिनुमा आफैँलाई हिनताबोध हुनु स्वभाविक हो । शब्दमा थोरै भएर पनि कविताको विसालता व्यापक छ ।

‘फेरि अर्काे दुर्घटना’ शीर्षको कविता छ, दीपिका खतिवडाले सिर्जना गरेको ।

फेरि अर्काे बस दुर्घटना भयो रे !
सुन् त कान्छा
कतै दाजुको नाम त लिँदैन रेडियोले ?
भोलि सदरमुकाम पुगेर अखबार पनि लिएर आएस् है !

बगेर जाने बोलीको प्रमाण हुन् सक्दैन ।

खतिवडाले केही शब्दमै दुर्घटना र दुर्गमताको कथालाई कविता बनाइदिइन । त्यो पनि यतिका सशक्त ।

अर्काे युवाकवि रसिक राज पनि लामा र छोटा, दुवै संरचनाका कवितामा सशक्त छन् । उनको ‘अभाव’ शीर्षकको एक कविता छ ।

बेश्यालयको भित्तामा
एउटा कामुक पोष्टर
झुण्याइएको छ ।

निक्कैबेर भो
एउटा दूधे बालक
नियालिरहेछ उसैका स्तन ।

एउटा सामान्य व्यक्तिले रसिककै अभिव्यक्ति बोल्दा त्यो भद्दा सुनिन सक्थ्यो । अस्लिल लाग्न सक्थ्यो । तर रसिकले आफ्नो शिल्पको प्रयोगद्वारा केही शब्दमै आफ्नो अभिव्यक्तिलाई यतिको सशक्त तुल्याइदिए । कविताको माध्यमबाट । र बताइदिए अभावको सत्य कस्तो हुन्छ भन्ने कुरा ।

एक मुठी माटो हातमा लिएर निर्मलालाई सम्झेँ
अनायसै मुखबाट आवाज निस्कियो–
“हे ईश्वर ! किन यस्तो ?”

त्यही माटोबाट आदिम आवाज आयो–
“म पनि उत्तर पर्खिरहेछु ।”

यो अनिल खतिवडाको ‘अहिल्या’ शीर्षकाको कविता हो । निर्मला पन्तको न्यायका लागि कति आन्दोलन भए । कति प्रदर्शन भए । निर्मलालाई बिम्ब बनाएर कथा, कविता तथा विभिन्न भिडियोहरु पनि बनाए । अनिलले मिथकमा टेकेर कविता लेखे, जसले निर्मलाहरुको आवाज युग युगसम्म बोलिरहने छ ।

नवपुस्ताका चर्चित कवि मोहन संग्रामले ‘बरदान’ शीर्षकमा कविता लेखे, र हामीले मानिरहेको मिथकमाथि जम्मा चार लाइन कवितामार्फत् गम्भीर प्रश्न खडा गरिदिए–

कुनै दिन भगवान्ले
मलाई खुसी बनाए भने
म उनलाई
मान्छे बन्ने बरदान दिनेछु ।

नव पुस्ताकै अर्का कवि शरद ऋतुले ‘दृष्टि’ शीर्षकमा कविता कोरे । उनले कवितामात्र कोरेनन् आफ्नो दर्शन दिए–

हिँड्नुभन्दा अघि
यात्राको नक्सा आफ्नै हत्केलामा कोर्नू

अक्षरहरु त पैतालाहरुले लेख्दै जानेछन्
क्रमशः
देखिएको एक झलक दृश्य मात्रै बोकेर हिँड्यौ भने
अलिपरको घुम्ती कटेपछि
दोबाटो पनि भेटिन सक्छ

अक्सर मानिसहरु
दोबाटो पुगेपछि
गलत बाटो रोज्छन् ।

माथि उल्लेख गरिएका कवि तथा कविताहरु नवपुस्ताका सशक्त आवाजहरुका प्रतिनिधिमात्र हुन् । छोटा आयतनका कविताहरुमा नवपुस्ता यतिका सशक्त आवाज बोकेर आउनुले अब नेपाली कविताको संरचनामा बलियो हस्तक्षेप राख्ने भने पक्का छ ।

प्रतिक्रिया
Loading...