प्रेमको लुकेको पेट (underbelly ) खोतल्ने केही जमर्को गरेको थिएँ केही समययता । केही बन्धुहरूले प्रेमको विरुद्ध किन जेहाद छेड्नुपऱ्यो भनेर पनि प्रतिक्रिया दिए । यो कुनै जेहाद हैन, केवल प्रेमको वैज्ञानिक तथ्यहरू उजागर गर्न प्रयास गरेको मात्रै हो । प्रेम गर्नुस्, धोका पाउनुस् वा दिनुस्, यसका बारे कहाली मच्चाउनुस् – तपाईँको व्यक्तिगत समस्या हो । मैले एकबाजि पहिले नै भनिसकेको छु कि प्रेम एउटा मामुली आवेग हो, यसलाई व्यापारीकरण गरिएको छ अनि आफ्नो नामका लागि कथित दार्शनिक कवि, यावत् पेसाकर्मीहरूले यसलाई ठुलो हौवामा परिणत गरेका छन् ।
अब विषयतिर जाऔँ । वैज्ञानिक दृष्टिले प्रेम (रोमान्टिक प्रेम) को तीन तह हुँदो रहेछ – यौन आवेग, आकर्षण र लगाब (Attachment ) । अब आध्यात्मिक तहमा पुग्छु यो प्रेममा भन्न खोज्नुहुन्छ भने मेरो केही भन्नु छैन । मानिस पनि एउटा जनावर हो र जनावरकै जैविक विकास सिद्धान्तबाट हामी अलग हुन सक्दैनौँ, जतिसुकै भगवान् वा अध्यात्म गुहारे पनि । यो प्रेम वा यो नाता त स्वर्गमै रचिएको हो भनेर बन्धनमा बाँधिने पनि देखेकै हौँ । त्यो स्वर्गीय बन्धन केही वर्षभन्दा नटिकेको पनि देखेकै छौँ । यो सबै आफ्नै मनको उपज हो ।
प्रेमको अतिरञ्जनलाई केलाउनेभन्दा पनि यो लेखमा मैले प्रेमको प्रभावमा वा विछोडको अवस्थामा कसलाई बढी पीडा हुने रहेछ भन्ने कुराको वैज्ञानिक तथ्य साथै व्यक्तिगत अनुभवहरू वर्णन गर्न गइरहेको छु । विशेष गरेर केटाकेटीबीचको असमान (Asymmetrical ) भोगाइको यहाँ चित्रण गर्नेछु । मलाई चिन्ने मेरा एकदमै थोरै मित्रहरूले मलाई नारीवादी दृष्टिकोण हाबी भएको भन्छन् तर म तथ्यमात्रै राख्छु ।
यौन कामना र आकर्षणको stage मा महिला र पुरुषको दृष्टिकोण निकै फरक छ । ‘पहिलो दृष्टिमै प्यार’ भन्ने तुक्का पक्कै सुन्नुभएकै होला । फाल्तु कुरा हो । हाम्रो जेनेटिक बनोटले गर्दा हामीलाई कुनै अर्को लिङ्गको व्यक्ति मन पर्ने सर्तहरू प्रस्टै छन् । हामीलाई यस्तो व्यक्ति मन पर्छ जसले कुशलतापूर्वक हाम्रो जीनलाई निरन्तरता दिन सकोस् । माफ गर्नुहोला यहाँ म अलिकति सौन्दर्य / कामुकताको Anatomical व्याख्या गर्नुपर्ने जरुरी देख्छु । तपाईँ पुरुष हुनुहुछ भने झट्टै हेर्दा यस्तो महिलाप्रति आकर्षित हुनुहुनेछ जसको स्तन पोटिला छन्, हिप चौडा छन् यस्तै यस्तै । किन यस्तो राम्रो लाग्नुपरेको ? ताकि तपाईँको सन्तान जन्मिन गाह्रो नहोस्, जन्मेपछि हुर्कन पनि गाह्रो नहोस् । पहिलो दृष्टिमै प्यार त हो तर दृष्टि पहिला त कहाँ जाँदो रहेछ विचार गर्नुस् अर्कोपल्ट कुनै सुन्दरी देख्नुभयो भने ।
पुरुषको दृष्टिमा आफ्नो वीर्य धारण गरेर जन्म दिन सक्ने र आफ्नो सन्तान हुर्काइदिन सक्ने गुण महिलामा भए एक किसिमले पुग्यो । अब महिलाहरूको सन्दर्भमा पनि त्यही कुरा लागु हुन्छ । आफ्नो साथी छान्दा मूलतः प्रजननको निरन्तरता नै सूक्ष्म चेतन मनमा हाबी हुन्छ । महिलाहरू भने पुरुषको दाँजोमा दूरदृष्टिबाट सञ्चालित हुन्छन् । महिलाहरूको पनि ‘प्रथम दृष्टि’ त त्यस्तै ठाउँमा पर्छ जसले उनीहरूलाई समस्यारहित गर्भवती बनाइदिन सकोस् तर उनीहरू त्यतिले मान्नेवाला छैनन् । पुरुषको लामो समयको साथको ग्यारेन्टी खोज्छन् ताकि सन्तानलाई साथै हुर्काउन भरपुर सहयोग होस् । बलिष्ठ हात पाखुरा र शरीरको साथै लामो साथको प्रतिबद्धता खोज्छन् पुरुषको तुलनामा धेरै बढी । किनभने सन्तान जन्माउने उनीहरू हुन् र हुर्काउने बाध्यता जीवविज्ञानको हिसाबले उनीहरूमा नै आउने भयो । यो वैज्ञानिक तथ्यलाई पुरुषवादी सोच नठान्नुहोला । कतिपय महिलाहरू लामो साथ दिने गुणलाई बढी ग्राह्यता दिन्छन्, गर्भवती गराइदिन सक्ने गुणभन्दा ज्यादा ।
अनि अनुहार ? पक्कै सोचिरहनुभएको होला कि अनुहारको सुन्दरताको त कुरै भएन यहाँ? एकदम हुन्छ । अन्वेषणले पत्ता लागेको छ कि हाम्रो अनुहार पनि हाम्रो हर्मोनको सिधा प्रभावमा पर्छ अर्थात् हाम्रो शरीरमा स्वस्थ हर्मोनको एउटा चिह्न नै सुन्दर अनुहार हो तर यो पनि नभुल्नुस् कि सुन्दरता एकदमै विषयगत हुन्छ । सामान्यतया पुरुषलाई स्त्रीजन्य अनुहार सुन्दर लाग्छ र त्यस्तै महिलालाई पुरुषजन्य । टिकटकमा एउटा महिलाले गाएको गीत भाइरल भएको सुनेथेँ । उनलाई मन पर्ने केटा भनेको अलिअलि दारी पालेको आदि आदि । एउटा सानो प्रमाण नि । राम्रो, नाक र समानुपातिक रूपले मिलेको अनुहार शरीरभित्र भएको कम्प्लेक्स हर्मोनको स्वस्थ्य स्थितिको सूचक हो ।
यो सबै हाम्रा मनोविज्ञानहरू जैविक विकासको यौनिक छनोट (sexual selection )को सिद्धान्तबाट प्रायोजित हुने रहेछ ।
हामी हाम्रो मूलबाटाबाट अलि भुलियौँ । अब त्यहाँ हामी किन महिला वर्गलाई प्रेमपीडा बढी हुँदो रहेछ त्यसमा जाँदै छौँ । एकछिनलाई वैज्ञानिक तथ्यलाई परै राखूँ र हामीले भोगेकै अनुभवको मात्रै कुरा गरूँ । प्रेमलाई हेर्ने दृष्टिकोण नै म फरक पाउँछु महिला र पुरुषमा । प्रायजसो पुरुषको प्रेमिकालाई गर्ने मायामा मोह (infatuation ) बढी हुन्छ । प्रेमसँगै वा प्रेमभन्दा ज्यादा यौनको भावना हाबी हुन्छ ।
प्रेम गर्ने तरिकासमेत फरक छ । पुरुषहरू स्पर्श, आलिङ्गन, चुम्बन र त्योभन्दा बढी अगाडि नै बढ्ने उद्देश्यमा रहन्छन् जहाँ महिलाहरूलाई केवल आफ्नो साथीसँगै बसिदिए वा अझ उनीहरूका बारेमा सोचिदिए पनि प्रेमको इच्छा जाहेर भएको मान्छन् । म यो भ्रममा छैन कि पुरुषलाई लामो साथको इच्छा हुँदैन र स्त्रीलाई शारीरिक कामनाको । मैले केवल एउटा tendency को कुरा गर्दै छु । सारांशमा पुरुषहरू शारीरिक योगमा र स्त्रीहरू ‘आत्मिक’ योगमा आशक्त रहन्छन् । यो दुवै गुण केवल एक उद्देश्यका लागि नै हो । आखिर संसारमा आफ्नो जीनलाई निरन्तरता दिने । यसकारण पुरुष स्त्रीको प्रेम आशक्तिमा कुन उच्चकोटीको र कुन निम्नकोटीको भन्न खोजेको होइन ।
यदि संसारमा हुने प्रजननका लागि अलग अलग लिङ्ग (male , female ) नचाहिने भएको भए भए कुनै पनि प्रेमसेम भन्ने आवेग प्रकृतिमा हुँदैन थियो । यो कुरा प्रायः सबैलाई थाहै छ कि पुरुषको X वा Y क्रोमोजोम र स्त्रीको X क्रोमोजोमको मिलनले एउटा भ्रूणको जीवन तय हुन्छ । प्रेम एउटा त्यस्तो सम्झौता (contract ) हो जसले परस्परको जीनलाई निरन्तरता दिन मद्दत गर्छ । यो क्रोमोजोमको मिलनका लागि भने दुई लिङ्गको सहयोग असमान छ र यो नै प्रेमप्रति हुने असमान प्रभावको कारण पनि हो ।
पुरुषको शुक्रकीट (sperm) र स्त्रीको डिम्ब (ovum ) संयोजन नै जीवनको सुरुवात हो तर यसका लागि महिलाले जीवनको महत्त्वपूर्ण अवस्थाको समय धेरै खर्च गर्छिन् । मान्छेको केसमा ९ महिना गर्भ धारण अनि त्यसपछि झन् लामो समय हुर्काउने । पुरुषले पनि यसमा सहयोग नगर्ने होइन तर जिम्मेवारीको रूपमा महिलाले नै अग्रगामी भूमिका खेल्छन् । त्यो अवधिको धेरै समय उनको हर्मोनले पनि उनलाई त्यस्तै गर्न मद्दत गर्छ । लामै समयसम्म उनी अर्को गर्भधारणका लागि तयार हुन्नन् ।
पुरुषको केसमा उसलाई यस्तो कुनै जैविक बाध्यता छैन । आफ्नो पार्टनर गर्भधारणका लागि तयार छैनन् भने पनि ऊ बाबु बन्न सक्छ अरूबाट । अफकोर्स, नैतिक रूपले यो ठीक छैन र सायद प्रकृतिले पनि मान्छेको खण्डमा यसलाई मूल चरित्र बनाएको देखिँदैन किनकि मानिसको केसमा पुरुष स्त्रीको सङ्ख्याको अनुपात बराबर छ । यद्दपि पुरुषहरूको सन्तानोत्पदक क्षमता असीमितजस्तै भयो र त्यो जैविक चरित्र व्यवहारमा पनि देखिने भयो । मेरो यो भनाइलाई पुरुषको व्यभिचारीपनको प्रमाणपत्र नठान्नुहोला । मैले खालि जीनको अमर रहने स्वार्थको फोर्सले कसरी लोग्नेमान्छेको निष्ठामा प्रभाव पर्छ त्यो भन्दै छु ।
महिलाहरूको प्रजननप्रतिको लामो प्रतिबद्धताले गर्दा उनीमा पुरुषमा जस्तो ‘जे भए पनि अगाडि बढ’ (move on ) भन्ने मानसिकता सजिलोसँग हुँदैन । उनले प्रेममा पुरुषले भन्दा धेरै गुना बढी लगानी गरेकी हुन्छिन् । समयको, मनको, मान्नुहुन्छ भने आत्माको र एकपटक विश्वास गरेपछि उनी हरदम आफ्नो भन्दा उसकै स्वार्थलाई केन्द्र बनाएर सोच्छिन् । पुरुषको आत्मिक लगानी प्यारमा कमै हुन्छ र यो उसको जैविक र जेनेटिक गुण हो । हाम्रो सामाजिक विकासले गर्दा यो परिवेशमा पुरुषको प्रेमिल गुण पनि परिवर्तन हुँदै छ कि ? यो भविष्यले देखाउने छ ।
प्रेममा धोका दिनमा को अगाडि छ भन्ने मेरो लेखको विषय होइन । खालि प्रेममाको बढी पीडामा हुन्छ भन्ने हो । आपसी समझदारीबाटै अन्त्य भएको प्रेमकहानीमा पनि मैले महिलाहरूलाई नै बढी घाइते भएको पाएको छु । थोरै अपवाद होला अनि तपाईँको व्यक्तिगत अनुभव फरक हुन सक्छ तर मैले केवल वैज्ञानिक तथ्यमा मात्रै कुराहरू राख्दै छु ।
प्रेममा धोखा पाएपछि महिलाहरूको हर्मोनको गडबडी पुरुषको भन्दा बढी मात्रामा हुने रहेछ । अघि भनेजस्तै महिलाहरूले जीवनमा कति सन्तान उत्पादन गर्न सक्छन् त्यो पुरुषको दाँजोमा एकदमै कम र निश्चित (limited) छ, जब कि पुरुषको सो क्षमता असीमितजस्तै छ । एउटा सम्बन्धमा असफल हुनु भनेको महिलाका लागि ठुलो जैविक (Biological) हानि हो जब कि पुरुषका लागि त्यति नहुन सक्छ । हो, अहिलेको आधुनिक समयमा धेरै सन्तान जन्माउने प्रक्रिया त्यसै पनि अप्राकृतिक रूपले रोकिन्छ किनभने हामीलाई दुई वा तीनभन्दा बढी त्यसै पनि जन्माउनु छैन तर यो कुरोलाई हाम्रो कोषमा रहेको जिनले आत्मसात् गर्दैन र हाम्रो जैविक र जेनेटिक व्यवहार बढी भन्दा बढी प्रजन गर्ने व्यवहारलाई नै उत्प्रेरित गर्छ । हाम्रो जिनमै भएको यो गुण (वा अवगुण) ले गर्दा नै विछोडमा महिलाहरूलाई ठूलो ‘घाटा’ भएको महसुस हुन्छ, चोट ठुलो पुग्छ र त्यसबाट बाहिर आउन मुस्किल पर्छ ।
अब हजुरहरू मान्नुहुन्छ कि यो जैविक / जेनेटिक भिन्नताले गर्दा प्रेमप्रतिको प्रतिबद्धता र प्रेम वियोगबाट हुने असर महिला र पुरुषलाई असमान हुने रहेछ । यसको अर्थ कुन बलियो लिङ्ग (sex ) हो भन्ने पनि हैन र कसलाई व्यभिचारको छुट छ भन्ने पनि हैन तर हामीले यो कुरा बुझेपछि सायद प्रेमप्रतिको धारणालाई वैज्ञानिक दृष्टिले हेर्न सक्छौँ र सायद महिलाहरूले वियोगको दुःख खेपिरहनुभएको छ भने यसलाई केही हल्का गर्न मद्दत पुग्छ कि?
म बारम्बार यो एउटा उदाहरण दिने गर्छु कि हामीलाई यो युगमा पनि गुलियो चिल्लो मीठो लाग्नुपर्ने कारण पनि हाम्रो जेनेटिक बनोट नै हो । बढी खाएर हुने रोग हाबी छ अचेल धेरै जसो विकसित देशमा तर हाम्रो जिन यती छिटै परिवर्तन हुनेवाला छैन । लाखौँ वर्षको प्रगतिशील परिवर्तनको उपज हो यो गुण । यद्दपि मानिस जाति बुद्धिमान् भएकाले यो रहस्य बुझेको छ र हामीहरू सकभर गुलियो चिल्लो कम खाने प्रयास गर्छौं ।
प्रेममा पनि यही सूत्र लगाउनुस् । तपाईँलाई भित्रैदेखि प्रेमको वैज्ञानिक धरातल थाहा भयो भने यसबाट हुन सक्ने हानिलाई पनि मत्थर गर्न मद्दत पुग्छ कि भन्ने मैले आशा लिएको छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।