साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पुरुषहरूको कमजोरी वासना हाे ?

महिलाहरू पनि आफ्नो केटा पासेसिभ भएको चाहन्छन् । बेलायतमा गरेको एक अध्ययनले यो देखाएको छ कि महिलाहरूले गर्ने यौनको उत्कृष्ट १० स्वप्नचित्रमा (फ्यान्टासी) बलात्कार पनि एक पर्छ ।

यो लेखको मुख्य कारण कसैलाई गाली गर्न या कसैलाई बचाउन लेखिएको होइन । केवल समाजका विशेष गरेर पुरुष मनोवृत्तिको उजागर गर्न खोजिएको मात्र हो । जसलाई समस्या परेको हुन्छ उही अघि सरेर बोल्नुपर्छ अनि बल्ल समस्याको वास्तविकता उजागर हुन्छ । आज महिलाहरू आफ्नो समस्या उठाउँदै मुखर हुँदैछन्, राम्रो कुरा हो । यसको बहस अझ सशक्त हुन जरुरी छ अनि पो समस्याको समाधान निक्लिन्छ ।

कम्युनिजमका महान् हस्ती कार्लमर्क्स र पाब्लो नेरुदाहरू जस्ता महान् व्यक्तित्वहरूलाई बलात्कारी भनेर औँला उठाइरहेका बेला हाम्रो कानुनले बलात्कार केलाई भन्छ यसमा विचार गरौँ ।

“१६ वर्षमुनिका अविवाहित, विधवा, अर्कैकी श्रमतीसँग मन्जुरीबिना या मन्जुरीमा भएको यौन सम्बन्ध अथवा जोर जबरजस्ती या डराइधम्काइ गरेर या प्रलोभन देखाएर १६ वर्षमाथिका महिलासँग मन्जुरीबिना यौन सम्बन्ध ।”

यो बलात्कारको व्याख्या मान्ने हो भने हाम्रो इतिहासका प्रायजसो पुरुषहरू बलात्कारी हुन्छन् । हुन त बलात्कारको व्याख्या समाज र समयअनुसार फरक हुँदै जान्छ । जसरी नेपालका बुद्धिजीवीहरू त्यसमा पनि विदेशबाट पढेर आएकाहरू समाजको वास्तविक यथार्थ जस्तै भ्रष्टाचार र वैदेशिक लगानीको दुरुप्रयोगबारे बोल्दैनन् त्यसैगरी प्रख्यात दार्शनिकहरू पनि यौनका मामलामा मौन बस्छन् । आफ्नो कमजोरी उजागर गर्न चाहन्नन् अनि झुटो बोल्न पनि भएन । कोही महान् पुरुष व्यक्तित्वहरू मुखर भएका पनि छन् । वि.पि. कोइराला, महात्मा गान्धी केही उत्कृष्ट उधाहरणहरू हुन् । उनीहरूले समाजमा खुले आम यसको चर्चा गरेका कारणले त्यति विवादमा पर्दैनन् तर यही समाजमा प्रसिद्ध पुरुषहरू छन् जो आफ्नो यौन कुण्ठा लुकाउन चाहन्छन् अनि जब कुण्ठा अरूबाट उजागर हुन्छ तब बदनाम हुन्छन् ।

डा. विनोद ढकाल

समाजमा पुरुषको मनोविज्ञान महिलाको भन्दा फरक छ । कारागारमा उपचार गर्न जादा बलात्कारको मुद्दामा जेल परेको केटा भन्दै थियो, “केटीहरूलाई जबरजस्ती गर्न पर्छ भनेर सोच्थेँ बलात्कार पो गरिएछ ।” यो भनाइले धेरै पुरुषहरूको भित्री मनोविज्ञान उजागर गर्छ जस्तो लाग्छ ।

महिलाहरू पनि आफ्नो केटा पासेसिभ भएको चाहन्छन् । बेलायतमा गरेको एक अध्ययनले यो देखाएको छ कि महिलाहरूले गर्ने यौनको उत्कृष्ट १० स्वप्नचित्रमा (फ्यान्टासी) बलात्कार पनि एक पर्छ । महिलाहरू प्रायः हाबी हुँदैनन् तसर्थ पुरुष हाबी भएको चाहन्छन् तर अध्ययनले यो पनि देखाएको छ कि पुरुषभन्दा महिला बढी यौन चाहना राख्ने हुन्छन् । एक मन पर्नेले आफ्नो अँगालोमा कसोस्, हल्का जबरजस्ती गरोस् । बुझ्नुपर्ने कुरा यो छ कि बलात्कारको जबरजस्ती र प्रेमको जबरजस्तीमा मसिनो धर्काको मात्र फरक छ । मसिनो धर्साको वारिपारि आधा आधा संसार छुटाइएको छ । बलात्कारको उत्कर्ष रूप हामीले सुन्दै भोग्दै आएका छौँ । बाटाको या भिडको फाइदा लिएर महिलाहरूको संवेदनशील अङ्गको फाइदा लिएर यौन कुण्ठा पुरा गर्ने नरपिचासहरू पनि लेखकका नजरमा नआएका होइनन् । बलात्कार गरेर कारागारको कोठरीमा पुगेका नरपिचासहरूको पनि संसारमा कमी छैन । मिलिन्जेल लिभिङ टुगेदर नमिलेपछि बलात्कार भन्ने पनि सुनेकै छौँ ।

सम्बन्धित पोस्टहरु

बलात्कार गर्नु आफैँमा नराम्रो त छँदै छ तर प्रायः बलात्कारीहरूको  महिलाको ज्यानै लिने अभिप्राय हुन्छ जस्तो लाग्दैन । बलात्कार गर्दा महिलाले गरेको प्रतिरोध वा आवाजको कारणले हत्या हुने गर्छ । दुवै जघन्य अपराध हुन् । अर्कातर्फ बलात्कारको आडमा पुरुषलाई फसाउने महिलाहरू पनि छन् । फसेका या प्रयोग भएका पुरुषहरूको नामावली पनि प्रशस्त छ । प्रायःलाई खाएकै विष लागेको छ । यो त प्रमाणित नै छ कि बलात्कारका निकै कम घटनाहरूमात्र बाहिर आएका छन् । पुरुषहरूको महत्त्वपूर्ण कमजोरी, वासनाको विषले गर्ने समस्याको समाधान कसरी खोज्न सकिन्छ खै ?

महिलाहरूको मात्र नभएर साना केटाकेटी र पुरुषहरूकै पनि बलात्कारको कुरा उठाउनुपर्ने समय भएको छ । घरभित्र अनि आफ्नै परिवारजन्य यौन घटनाको विरोधमा बोल्नुपर्ने स्थिति आएको छ । समलिङ्गी विषय पनि आउन पर्छ । आखिर अपराधलाई भर्त्सना सबैले गर्छन् अनि भिन्न चाहनाका कुरा पनि उठाउनुपर्ने हुन्छ ।

समाज भौतिकवादी भएर अध्यात्मबाट टाढा भइरहदा पुरुषहरूलाई (अनि महिलाहरूलाई पनि) कामातुर मन नियन्त्रण गर्न गाह्रो भइरहेको छ । लोग्ने बाहिर भएर घरमा मायाँका भोका महिलाहरू पनि प्रशस्त छन् । मन नियन्त्रण गर्न ठूलो तपस्या चाहिन्छ । प्रायःले नसक्ने कुरा हो । यौन त जति चाह्यो त्यति चाहना बढ्ने कुरा हो । शरीरको हर्मोनको कुरा हो । ‘पोजेटिभ फिडब्याक मेकानिजम‘ ग्रन्थीलाई सधै कुतकुताइरहन्छ ।

मनलाई नियन्त्रण गर्न त गाह्रो छँदैछ त्यसमाथि मानिसहरू नियन्त्रण गर्ने प्रयास पनि गर्न चाहन्नन् । योगद्वारा वैराग्यको (विषय वासना र संसारिक सम्बन्धमा मन नभएको अवस्था जो मानिसहरूलाई आफैँ पनि बेला-बेलामा आउने गर्छ) प्राप्ति र वैराग्यको निरन्तर अभ्यास गरेर यसको समाधान निकाल्न सकिन्छ तर कसले गर्ने ? आखिर अध्यात्मले पनि मनलाई समाल्न सजिलो छैन । मायाको खाँचो त हरकोहीलाई परिरहन्छ ।

व्यक्तिको वासना शान्त पार्न समाज यौनमा खुला हुनुपर्छ भन्ने धारणा आउन सक्छ । बाल्कन देशहरू, रसियाजस्ता देशहरूमा भएको यौन स्वतन्त्रताले यौनजन्य हिंसामा कम गराउन त सक्ला तर मानिस अधिकार जमाउन खोज्ने प्राणी हो । मेरो घर, मेरो सम्पत्ति, मेरा छोराछोरी अनि मेरी बुढी । मानिस आफू अर्काको सम्पत्ति लिन चाहे पनि आफ्नो अरूलाई दिन चाहँदैन । यौन पनि त्यस्तै हो ।

 

लेखक परिचय
चिकित्सक at धुलिखेल अस्पताल

पेशाले चिकित्सक डा. विनोद ढकाल साहित्यमा पनि कलम चलाउन रूचाउनु हुन्छ । उहाँ हाल धुलिखेल अस्पतालमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया
Loading...