संसारको लोकप्रिय खेलहरूमध्ये एक हो फुटबल । अझ फुटबललाई त खेलहरूको राजा भनेर पनि चिनिन्छ । गाउँघरदेखि सहरबजार र संसारका ठूला रङ्गशालामा खेलिने यो खेलको सुरुवात १९ औँ शताब्दीमा ब्रिटेनमा भएको हो भन्ने भनाइ छ । बेला-बेलामा आफ्नो जादुमयी खेल प्रदर्शन गर्ने खेलाडीका कारण पनि फुटबलले लोकप्रियता कमाएको इतिहास साक्षी छ । ११ जनाको समुहमा खेलिने यो खेल आपसी सम्बन्ध, भाइचारा र मेलमिलाप को प्रतीक पनि हो ।

फुटबल जसले पनि आफ्नो जीवनको पूर्वार्द्धमा खेलेको नै हुन्छ । नखेले पनि बाहिर बसेर हेरेकै हुन्छ । जसले गर्दा हाम्रो मन यो खेलसँग जोडिएको हुन्छ । सानो हुँदा मोजाभित्र प्लास्टिक कोचेर बनाएको बल खुब खेलिन्थ्यो । त्यति बेला न टिम चाहिने न जुत्ता, जर्सी लगाउने त कुरै भएन । खेल्नका लागि घरको आँगन काफी हुन्थ्यो । दुईतिर ससाना ढुङा, इँटा राखेर पोल बनाइन्थ्यो अनि मस्तसँग खेलिन्थ्यो । जसले जित्छ उसको उफ्री उफ्री नारा घन्काइन्थ्यो, “किप्पर कस्तो? चुम्बकजस्तो , ब्याक्की कस्तो? खम्बाजस्तो ।” खेल्ने पोजिसन र फर्मेसन को त कुरै छाडौँ किप्परबाहेक सबै फर्वाड र जसले गोल हान्यो उही हिरो हुन्थ्यो । बल्ल बल्ल एउटा रेफ्री राखिन्थ्यो र हारियो भने पनि सबै दोष रेफ्रीमाथि थुपारिन्थ्यो । त्यस बेलाबाट फुटबलमा बसेको क्रेज अहिले चाडबाडका बेला गाँउघरमा हुने खसी कप होस् वा मौफसलको गोल्डकप, ए डिभिजन लिग  प्रत्यक्ष हेर्नेदेखि टेलिभिजनमा नै भए पनि हेरिने विभिन्न लिग र विश्वकप फुटबलले ठूलै फड्को मारेको छ ।

विश्वमा फुटबल नरुचाउने सायदै भेटिएलान् । पहेँलो र रातो कार्डको प्रयोग, मैदानभित्र खेलाडीले बेलाबखत एक अर्कामाथि गर्ने मुक्कामुक्की, खेलका दौरानमा देखिने आक्रोश, माफीयोग्य फल र साइडपुस तथा अनसाइड र अफसाइड ट्रयापका दौरानमा देखिने विवाद फुटबल खेलका सुन्दर पक्ष हुन् । म्याराडोनाले गरेको हाते गोल, जिदानले माटेराज्जमाथि गरेको हेडिङ्ग, स्वारेजको टोकाइ नै किन नहोस् । हरेक विवादले फुटबल खेलको ग्ल्यामरलाई बुढादेखि तन्नेरीसम्म पस्कन अहं भूमिका खेल्दै आएको छ । पहिला पहिला पेले, रोनाल्डो, रोनाल्डिनो, म्याराडोना, ब्याक्याम जस्ता खेलाडी निकै चर्चामा थिए त अहिले पछिल्लो पुस्तामा मेस्सी, क्रिस्च्यानो रोनाल्डो, नेयमार जस्ता खेलाडीको चर्चा बढी छ । टिम गेम भएको हुँदा सम्पूर्ण खेलाडी, टिम व्यवस्थापन र प्रशिक्षकको भूमिका भने रहने नै गर्छ ।

दिलीप अधिकारी

अन्ताराष्ट्रिय जगत्‌मा आफ्नो राष्ट्रमा बर्सैपिच्छे आयोजना गरिने लिग खेलजस्तै EPL, Laliga, Serie A, Bundesliga हरूको लोकप्रियता र फ्यानको क्रेज उत्ति नै छ । युरोकप, कोपा अमेरिका सँगसँगै चार वर्षको अन्तरालमा आउने विश्वकपको लोकप्रियता र फ्यानको त कुरै गरी नसक्नु छ । विश्वकप फुटबल एउटा यस्तो पर्व बनेको छ जसले विश्वभर एकैसाथ सबैको ध्यान केन्द्रित गर्ने  गर्छ । ३२ टिम मात्र खेलेपनि विश्वभरका फुटबल फ्‍यानलाई यसले तान्छ । यस बेला त फ्यानहरू आफ्नो आफ्नो मन पर्ने देशको जर्सी लगाउने, खेलाडीहरूको फोटो भित्तामा टाँस्ने मात्र नभएर ज्यानका विभिन्न ठाँउमा मन पर्ने खेलाडी वा टिमको ट्याटु बनाउँछन् । नेपालमा पनि यस्ता फ्यानको वर्चस्व नै छ । अझ यहाँ त कहिल्यै फुटबल नहेर्नेहरू पनि विश्वकपका बेला आफूलाई फुटबलको विज्ञसमेत भन्न भ्याई सामाजिक सञ्जालमा व्यक्त गर्न पनि  पछि पर्दैनन् ।

Hala Madrid, Forca Barca, GGMU, You will never walk alone जस्ता स्लोगान गाउँदै टिमको समर्थन गर्ने साथसाथै व्यक्तिगत  खेलाडी मन पराउने मेस्सी, रोनाल्डो, नेयमार भन्नेको जमात पनि धेरै छ ।  समर्थक हुनु सबैको आफ्नो व्यक्तिगत स्वतन्त्रता हो तर स्वतन्त्रताका नाममा एकअर्काको विरोध गर्ने, खेलाडीलाई गाली गलोज गर्ने र समर्थकबीच नै झगडा गर्नु चाहिँ ठिक होइन । आफ्नो मन पर्ने टिम हार्दा आफ्नो जीवनको हार नै हो जस्तो ठूलो रूपमा लिने गर्नु र आफ्नो जीवन नै समाप्त पार्नेसम्मको दुस्साहस गर्नु राम्रो भने होइन ।

फुटबल खेल क्षेत्रबाट विश्वमा चिनिएका धेरै देश छन् । आफ्नो देशलाई चिनाउन खेलाडीले गरेको मेहनत र प्रतिभाले उनीहरूलाई पनि लोकप्रिय बनाएको छ । अरू देशमा जस्तै राम्रा खेलाडीलाई खेल क्षेत्रबाट राम्रोसँग जिउने आधार बनाउन सकियो भने नेपालमा पनि फुटबलको विकास गर्न सकिन्छ । फुटबलमा आउने बजेट, रङ्गशाला निर्माण, घरेलु लिगको सञ्चालन, मैत्रीपूर्ण खेल, एकेडेमीको विकास तथा खेलाडीलाई उचित व्यवस्था र सम्मान गर्ने हो भने नेपालका क्रेजी फुटबल समर्थकहरू ब्राजिल, जर्मनी, अर्जेन्टिना, पोर्चुगल भन्न छाडेर नेपाल नेपाल भन्दै विश्वकपमा आफ्नो देशको झन्डा फरफराउने दिन नआउला भन्न सकिन्न ।

खेलक्षेत्रलाई युवा अलमलाउने क्षेत्रभन्दा पनि देश चिनाउने क्षेत्र ठानेर सिङ्गो देश र हामी सबै नागरिकले पनि आफ्ना छोराछोरी, भाइबहिनीलाई फुटबल खेलाडी बनाउन अग्रसर हुने हो भने नेपाली खेलकुद क्षेत्रले अन्ताराष्ट्रियस्तरमा आफ्नो बलियो उपस्थिति बनाउन सक्छ ।

फुटबल खेललाई मनोरञ्जनको स्रोतको रूपमा लिई एकअर्कालाई तथानाम गाली, खेलाडी र टिममाथि आक्रोश पोख्ने काम नगरौँ । टिमओर्क, एक आपसी मेलमिलाप र छिमेकी मुलुकसँगको आपसी सम्बन्धमा ठूलो भूमिका खेलेको फुटबललाई मनमुटाब, झैझगडा, आफ्नो प्रेसर बढाउने र जोसमा होस गुमाउने माध्यम नबनाऔँ । जीवन रमाइलो छ र फुटबलले यसलाई झन् रमाइलो बनाइदिएको छ । त्यसैले जीवनको महत्त्व बुझी रमाइलोसँग जिउने प्रयास गरौँ ।