बिहान झिसमिसेमा आँखा खुल्नुभन्दा अगाडि सपनामा हो कि बिपनामा थाहा नहुने गरी रेडियोमा बजेको धुनजस्तो त खासमा करेसाबारीमा पाकेका खोर्सानीका बियाँ खान आएका रुप्पीको र हिजो बेलुका खोलेको भाँडामा हाल्दा पोखिएको सितासिती खान आएका भँगेराको पो रहेछ भन्दै छ्याङ्ग ब्युँझिन मलाई गाउँ जान मन लागेको छ ।
ब्युँझिइसकेपछि पनि तल्लापट्टिको झ्यालका हावा मात्र छिर्ने मसिना प्वालबाट सुइराजस्ता घामका किरणहरू छिरेर सिधै म र परको भित्तासम्म पुगेको हेर्न र तिनमा अझ भरखर चुलोमा बालेको खोयाको धुँवा आउँदै, गुडुल्की मार्दै, जाँदै गर्दा सुतिसुती आफ्ना हातले तिनको बाटो छेक्दै, छोड्दै फेरि छेक्दै, छोड्दै गर्न मलाई गाउँ जान मन लागेको छ ।
अझ कसैले उठ् नभनुन्जेलसम्म उत्तानो परेर आफूमाथिका लामा, छोटा, कोर्खे, सिधा, ताछेका, नताछेका, काला जम्मै दलिनहरू वरदेखि परसम्म र फेरि परदेखि वरसम्म गन्न; निदालका प्रत्येक चेपमा घुसारेका तोस्रो, फेर्नकालागि राखिएको कोदालीको बिँड, खै कसका नाममा हो पातमा बेरेर चढाएको बिगौती, कप्टेराको मुठो, मकैका झुत्ता सुकाउने कालो प्लास्टिकको डोरी र सबैभन्दा वल्ला छेउका विनाखुकुरीको दाप, त्यसमा भएको चकमक हेरेर सुतिरहन मलाई गाउँ जान मन लागेको छ ।
धातुको हो कि माटाको चिन्न नसकिने भुँडुल्काजस्तो सानो हिले भाँडाबाट परारै साल फाटेको सानीको ढाकाको दौरा चोपेर माली गाईको गोबरले मझेरीदेखि लिप्दै जाँदै गर्दा भुईँमा परेका आमाका पाइलाका ताजा छापमा एकैपटक मेरी आमा, गौमाता र पृथ्वी माता सम्झिएर कसैले पनि नदेख्ने गरी ती विष्णुपादुकासरहका छापलाई ढोग्न मलाई गाउँ जान मन लागेको छ र आँटमुनिको सानो खोपाबाट झिकेको रातो माटाले पोताराको जस्तै रातो रङ्ग दियो घरको वरिपरि, व्रतबन्ध गरेकाले र नगरेकाले भात खाने ठाउँ छुट्याउने सानो खोल्सीजस्तो सिमानामा, अगेनाको डिलमा र दैलाको ठेलामा हेर्न र त्यस बेलाको माटाको गन्ध सुँघ्न मलाई गाउँ जान मन लागेको छ ।
आङ तान्दै मूल दैलाबाट बाहिर निस्किनेबित्तिकै हिजो ब्याडे गह्रो साउँदा तिल्केको पुच्छरबाट टाँसिएको र नसुकेको हिलाको बुट्टा भएको कमेज लगाएर आँगनको पल्लो कुनामा भर्खरै अर्जापेको सिरुपातेले आजका लागि जुवा, हरिस र सैला ठोकठाक गर्दै मिलाउँदै गरेका बुचे कट्टुमा सजिएका साक्षात् विष्णुको दर्शन गर्न मलाई गाउँ जान मन लागेको छ ।
अलिकति बिट फर्किएको तामे अम्खोराबाट हरहर गङ्गे भन्दै साझी पानीले घामतिर हेर्दै मुख धोएपछि देब्रे हातले हिजाका बासी रोटी र दाहिने हातले पल्लाघरे काकाले बुनिदिएको मालिङ्गाको काम्रो खुस्किन लागेको डोको बोकेर सल्लाघारीका खोल्सामा सप्रिएर पलाएको सालिम्बो चोर्न मेरै उमेरका साथीसँग सुसेल्दै ओह्रालो झर्न मलाई गाउँ जान मन लागेको छ ।
एक्ले पीपलनेरको द्यौरालीमा ढुङ्गो चढाउन निकै माथिदेखि बाटाछेउका छरिता ढुङ्गा हातमा लिएर नजिक पुग्नेबित्तिकै मनमनै “लौ है द्यौराली ! मेरो प्रेमको रख्खे गर” भन्दै अस्तिनै घाँस काट्दा एकै मिनेट देखेकी नक्कलीको मिठो अनुहार सम्झिएर त्यत्रा साथीहरूको भीडमा एक्लै खुसी हुन मलाई गाउँ जान मन लागेको छ ।
फर्किँदा मूलबाटाछेउको हजुरबुबाभन्दा पुरानो चिप्ली ढुङ्गो- जसमा बर्सेनी बर्खामा पलाएको र प्रत्येक हिउँदमा सुकेको लेउले मलाई हजुरबुबाको फुलेको दाह्री सम्झाइदिन्छ हो, त्यसै ढुङ्गामा एक निम्ठो सालिम्बो बिसाएर पारी गाउँका गोठबाट निस्किएको धुँवा कति समयमा र कसरी हल्लिँदै हल्लिँदै माथिको बादलमा ठोक्किन पुग्छ भनेर हेर्न मलाई गाउँ जान मन लागेको छ ।
घर आउनासाथ सुन्तलाको फेदमा डोको बिसाएर, बलेसीको दलिनामा हँसिया घुसारेपछि पूर्वी आँगनको तुलसी मोठ पूजा गरेर त्यहीँ राखिएको पञ्चपालाको अघिनैको घामजस्तो रातो टीको लगाएर बाहिरैबाट “भात पस्किदिनू है, भोकले जानै आँटे” भन्दै बाहिरतिरका भएभरका फलफूल वा अन्य खानेकुरा खाँदै भित्र पस्दा दिदीले झर्के थालमा पस्किएर दिएको भात, लेकाली जिम्बुमा झानेको दाल, हेर्दै मुखभरि रस आउने अचार, अमिल्चो अमिल्चो एक गिलास मोही खाएर बुबाआमा गएको मेलामा बुर्कुसी मार्दै कुद्न मलाई गाउँ जान मन लागेको छ ।
कैँदले धाराका आजसम्म नदेखिएका नागबाट जोगिन पहिले अलिकति मूलतिर पानी अचाउँदै अघिको मोहीभन्दा चिसो पानी खाएर अलिक ओभानो आलीमा एकछिन उभिएर चार हल गोरुले एकैपटक हिल्याएको, हली दाइ दाँदेबाट ओर्लिएपछि पनि परसम्म गोरु कुदेको, साँधे गह्रामा घुमले छोपेर राखेका खाजाका डाला, गह्रैपिच्छेको कामको चटारो र मान्छेपिच्छेको हतारो हेर्न मलाई गाउँ जान मन लागेको छ ।
खले गह्राका बीचमा जमरातुल्य बिउको मुठाको जैविक मूर्ति बनाई त्यसको वरिपरि बिउकै गोलाकार घेरो लगाएर भए जति रोपाहारहरूलाई आमाले सुब्बेफाब्बेको आशीर्वचन दिँदा हिलाम्य शक्तिरूपिणी साक्षात् भगवतीहरूको ओठको मायावी मुस्कान र अनुहारमा आदिम कालदेखि बोकेर ल्याएको नारी जातिको पुस्तौनी सम्पत्ति हेर्न मलाई गाउँ जान मन लागेको छ । अनि त्यहाँबाट आ-आफ्नो मेलो समाउन जाँदा उत्ताउला बाउसेको हिलो छ्यापाइबाट बच्न कोही तर्किँदै, कोही रिसाउँदै र कोही मनमनै खुसी हुँदै भागेको हेर्न मलाई गाउँ जान मन लागेको छ ।
कामकै सिलसिलामा कसैलाई चोटपटक लाग्दा वा सामान्य बिरामी हुँदा कोही मैला जुहारीकोटको भित्री गोजीबाट काँचो कागजमा पोको पारेको सालधूप खोज्दै गरेको, कोही सिमेभूमे लागेको हटाउने मन्त्रले फु फु गर्दै गरेको, कोही फलानो झारको मुन्टाले चट्टै पार्छ भन्दै खोज्न हिँडेको र कोही यस्तैखाले बिरामीको सफल उपचारको विगतको अनुभव सुनाउँदै गरेको सुन्न र हेर्न मलाई गाउँ जान मन लागेको छ ।
जब खाजा खाने बेला हुन्छ … के लेख्नु खै ! भलै हिला न मैला हात हुन्, भलै चिसो आलीमा बसेका हुन् वा बस्ने ठाउँ नभएर उभिएकै हुन्, भलै टोपीको भित्रपट्टि वा भोर्लाको पातमा राखेका हुन् वा भलै देब्रे हातले नै किन नखाऊन् एक पित्को आफ्ना इष्टदेवलाई नअर्पी कोही खाँदैनन् र आँखाभरि यो दृश्य साँच्न मलाई गाउँ जान मन लागेको छ । गोरुलाई नदिई हलीदाइ म खान्न भन्ने, केटाकेटीलाई नदिई काकी म खान्न भन्ने, खेतालाहरूलाई नदिई बुबा म खान्न भन्ने, बुबाले नखाई आमा म खान्न भन्ने ! यही सुन्न र हेर्न मलाई गाउँ जान मन लागेको छ ।
गोरु फुकाएर सङ्लो मूल कुलामा ल्याएपछि दुवै हात चोपल्दै अँजुलीभरी पानी छ्यापेर दिनभरि जोत्दा लागेको गोरुको शरीरको हिलो पखालेपछि तिनीहरूकै पछिपछि र तिनीहरूकै एकनासे गतिमा उत्तिसघारीका झ्याउँकिरीको ऱ्याइँऱ्याइँ सुन्दै गौँडैगौँडा उकालो लागेर झमक्क साँझमा घर पुग्दा बहिनीले बालेको नौसुते बत्तीले भ्याएसम्म दिएको उज्यालो हेर्न, अगेनामा भरखरै जोरेको आगो बल्दै गरेको हेर्न, त्यही बेला माथ्ला घरमा बजेको शङ्खघण्टको आवाज सुन्न मलाई गाउँ जान मन लागेको छ ।
मैले भात खाएको निकै बेरपछि आफू उँघ्न उँघ्न लागेका बेलामा तलको बिरौटे खेतबाट आएका खेतालालाई “ल नलढी जाओ है, भोलिको मेलाचाहिँ यस्तो अबेरसम्म नपार्ने गरी बिहान बरु चाँडो आउनू” भन्ने सुनेपछि ल दाइ पनि घर आइपुग्नुभयो भन्ने ढुक्क हुन्छ अनि म बहिनीजसरी नै निदाउन मूल खाँबोनेरको भित्ताको ओछ्यानमा बिहान उठेदेखि नपट्याइको सिरकभित्र पसेर फुस्स निदाएको अनुभव गर्न मलाई गाउँ जान मन लागेको छ ।
मनभरि अनेक सपना बोकेर सहरमा निदाउन होइन, मस्त निदाएर आँखा खुल्दा गाउँमा ब्युँझिन मलाई गाउँ जान मन लागेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।