साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

आफैँसँग अन्जान कविहरूः ट्रक साहित्यजस्तै सञ्जालमा छरपस्ट लक डाउन साहित्य

हरेक व्यक्तिहरु विशेष हुन्छन् । कलाकार हुन्छ । कोरानाका कारण देश विगत डेढ महिनाभन्दा लामो समयदेखि लक डाउनमा छ । मान्छेहरु घरघरमा थुनिएका छन् । अधिकांशको दैनिकी फेरिएको छ ।

ratna book ads

मानिसले परिवारका लागि समय पाएको छ । त्योभन्दा धेरै आफ्नो लागि पाएको छ । फुर्सदमा हाम्रो दिमाग बढी नै सिर्जनशील हुन्छ । सिर्जनशील हुन पाएको छ ।

यो फुर्सदको समयमा हामीमध्ये धेरैको समय कटाउने मेसो सञ्जाल बनेको छ । मान्छेमा लुप्त कला सञ्जालले प्रसारित गरिरहेको छ । साँच्चैभन्दा यो समय मान्छे आफैँमा हराइरहेको छ । आफैमा बिलाइरहेको छ । आफैँमा हराउन जान्नु भनेको आफूसम्म पुग्नुमा पहिलो पाइला चाल्नुजस्तो हो । मलाई लक डाउनले यस्तै सिकाएको छ ।

यो लक डाउन अवधिमा धेरैले खानाका विभिन्न परिकार बनाउन सिके । केहीमा यो लक डाउनले कवित्व जगाइदियो । काव्यिक बनाइदियो । सञ्जालमा नेपालमा हरिबहादुर र युट्युबमा भारतमा रामायण चर्चित भयो । यो सञ्जालहरुले लक डाउनका सुरुवाती दिनहरुमै बताई र देखाइसकेका लक्षणहरु हुन् ।

मान्छेहरुले के नै पो गरेनन् र ! सञ्जालमा सहज पहुँच हुनेहरुले सुरुवाती दिनहरुमा सञ्जालमा सजाएका खानाका परिकार देखिरहँदा एक न एक पटक त तपाईँ मुख पनि पक्का रसाएको हुनुपर्छ । कहिल्यै खाना नबनाएको मनुवाले पनि एक पटक त आफ्नै हातले ग्यास बालेको पक्का हुनुपर्छ ।

फेरि सिर्जनशीलताले भरिएका कविता शैलीका कविताभन्दा लामा लामा कमेन्ट पनि फेसबुकमा देख्नुभएकै र पढ्नुभएकै होला ! ती पढिरहँदा नचाहेरै पनि कहीँ न कहीँ त पक्का मुस्कुराउनु भएको छ । मान्छे दुःखी हुने भनेको त आफैँसँग भाग्दा पो रहेछ । आफूबाट आफैँसम्मको गन्तव्य तयार गर्ने मान्छे, यो विषय समयमा पनि मुस्कुराउँदो रहेछ । मुस्कुराउन बाध्य तुल्याउँदो रहेछ । यो लक डाउनले केही नभए पनि यति बुझाएको छ मलाई ।

गत वर्ष सरकारले ट्रक साहित्यमा प्रतिबन्ध लगायो । सञ्जाल साहित्यमा पनि नलाग्ला भन्न सकिने अवस्था रहेन । तर अहिलेको फुर्सदमा सञ्जाल चहारिरहँदा लाग्छ, ट्रक साहित्यको विरासत सञ्जाल साहित्यले थाम्ने छ । थामेको छ ।

मलाई के लाग्छ भने, संसारमा कुनै पनि वस्तु चिन्न वा जान्नका लागि बनेका होइनन् । बस, महसुस र भोग गर्नका लागि बनेका हुन । चाहे त्यो प्रेम होस् वा सिंहाशन । म यो सामग्री ती तमाम आफ्नैबाट अञ्जान कवि मनहरुका नाममा तयार पार्दैछु, जो आफूभित्र निहित रसलाई चिन्दैनन् । कविबाट अञ्जान छन् । तर उनीहरु आफूसँगै छन् । लाग्छ, आफूलाई चिन्ने बहानामा उनीहरु आफैँबाट टाढा कतै पुग्न चाहँदैनन् । तर, यी सञ्जालका साहित्यकारहरु हँस्यौलीमै, आक्रोशमै, विछोडमै, प्रेममै, सम्बन्धमै गहिरो कुरा लेखेर जान्छन् । जसको बारेमा एक पटक हैन पटक पटक सम्झेर मान्छे मुस्कुराउन बाध्य हुन्छ ।

म यहाँ त्यस्तो साहित्यको कुरा गर्दैछैन, जुन साहित्य सम्झेर लेखिन्छ । बरु म त्यो साहित्यको कुरा गर्दैछु, जुन मनको शान्तिको लागि लेखिन्छ । कतै आक्रोश त कतै ढाडस, कतै व्यग्ंय त कतै प्रेम, कतै निरासता त कतै उज्यालो देखाउने यस्ता साहित्य प्रायः रसिलो भाषामा लेखिएका छन् । जुन तपाईँ सामान्य पाठ पढेजस्तो पढ्नुहुन्छ भने केही नलाग्न सक्छ । बिघ्नै भए खित्का छोडेर रमाइलो मानी हाँस्नसम्म सक्नुहुन्छ । तर यदि त्यसलाई शाब्दिक अर्थमा मात्र नगई कुनै कविता ठानेर पढ्नुहुन्छ भने, तपाईँ पनि मजस्तै सञ्जाल साहित्यमा रमाउनु हुनेछ ।

सञ्जालका यी तमाम साहित्यभन्दा बिल्कुल फरक, तर पनि साहित्यमा जस्तै अनेकन् चेत बोकेका फगत स्टाटसले ट्रक साहित्यले जस्तै सञ्जाल साहित्यको नाम पाउँछन् वा पाउँदैनन् ? मलाई थाहा छैन । फेरि पनि सञ्जालमा भेटिने फगतमा लेखिएका शब्दहरु फगत स्टाटस मात्र भने होइनन् ।

प्रस्तुत केही सञ्जाल साहित्यका नमूनाहरु अब त तपाईले पनि पढिसक्नु भएकै होला । मलाई विश्वास छ, अहिलेसम्म यी फगत स्टाटसलाई अब तपाईँले शब्दमा मात्र सम्झिनु हुने छैन ।

प्रतिक्रिया
Loading...