अहिलेको अवस्था त्यो थिएन । पहिले हामी त्यो अवस्थामा थियौँ । म १०/१२ वर्षको हुँदाको कुरा गर्दै छु । २०४०/४२ सालतिरको कुरा हो । खोलामा पुल थिएन । खोलो ठूलो थियो । पूर्वकै ठाडो खोलामध्येको ठूलो खोलो हो । भर्खर पुल बन्ने हल्ला चल्दै थियो । हामी छिट्टै पुलबाट खोला तर्ने सपनामा थियौँ । ४० वर्ष अगाडिको कुरा । त्यतिबेलासम्म पनि गड्तिलको बाटो पहिलेजस्तो खुब नचलेपनि अलिअलि मान्छे हिँड्थे । त्योभन्दा पहिले त ताप्लेजुङ, तेह्रथुम, यता वारि धनकुटाका मानिसहरूको धरान आउनेजाने मूलबाटो त्यही थियो । त्यति मात्र होइन, त्योभन्दा पहिले इलामदेखि धनकुटा कैदी पेरुङ्गामा बोकेर ल्याउने बाटो पनि यही थियो, भन्नुहुन्थ्यो हजुरआमा । यो राणाको शासनकालतिरको कुरा हुनुपर्छ ।

धेरै लामो शिर भएको खोलो । चैतवैशाखको खडेरीमा पनि अङ्गालाभरिको पानी सुक्दैनथ्यो । बर्खाको भेलको त कुरै छाडौँ । कुनैबेला तमोर नदीलाई थुन्न खोज्थ्यो । खोज्ने मात्र होइन, उस्तै परे कुनैबेला त थुन्थ्यो पनि । खालो ठूलो बाढी आउँदा तमोर पनि एकैचोटी बढेर आए तमोर थुनिएर किनारका खेत सबै डुबाउँथ्यो । धान रोपेको खेत बेलुका हेर्दा लहलहाउँदो रोपो, कहिले त भोलिपल्ट बिहान उठेर हेर्दा सबै साँखे बगरमा परिणत भएको हुन्थ्यो । नावा खोलाको कुरा गर्दै छु म । असारसाउनको बाढीमा किनारका खेत त कति बगरमा परिणत हुन्थे हुन्थे । ठूला मान्छेले कुरा गरेको सुन्थेँ म । नावाखोलोमा साँच्चै बाढी आउने हो भने तमोरलाई पूरै रोक्छ । अहिले सम्झँदा त्यहीँमाथि पहिरो खसेर कथङ्कदाचित् तमोर नदी रोकिने हो भने नदी किनारका सबै गाउँ डुब्ने रहेछन् । हाम्रो गाउँ अनि हामी पनि डुब्न बेर रहेनछ ! धन्न हामीलाई त्यो दशा आइलागेन । यतापट्टि गएर सम्झ्यो भने कहालीलाग्दो टेन्सन हुन्छ । खोला गाडिएर पश्चिमपट्टि फर्केको थियो । त्यतैपट्टि थिए ठूला खेतका हरिया फाँट; गतिला गतिला थिए ती खेतका फाँट । बुवाआमाले जोड्नुभएका हामीले जाउलो खाने खेत पनि त्यतै थिए । दोभानबाट हामी खोला तरेर खेतीमा आवतजावत गर्थ्यौँ । छब्बीसे खेतको फाँट, दोभानबाट खोलो तर्नेबित्तिकै छब्बीसे टेकिन्थ्यो । हामी खेतीमा जाँदा कहिले दिनभरि खोलाको पानीमा पौडी खेल्थ्यौँ । कहिले दुवाली छेकेर माछा मारेर बस्थ्यौँ । मसिना खिजा माछा २/४ मुठी भेला पार्थ्यौँ । हामी बबुरालाई त्योभन्दा बढी के चाहियो । बेलुका घर ल्याएर रमाई रमाई पोली खान्थ्यौँ ।

वर्षमा २ पटक चैत र साउनमा हामी गाउँबाट ५/६ हल गोरु लिएर धान रोप्न हप्तादश दिनलाई बासबस्दै खोला जान्थ्यौँ । खेतमा सबैका आ–आफ्ना गोठ हुन्थे । उहीँ पकायो, खायो अनि सुत्यो; रोपाइँ सकेर गोरु लिएर फर्क्यो, गर्थ्यौँ । क्या रमाइलो हुन्थ्यो भाँडाकुँडा, सातुचामल, नुनभुटुन, तरकारीका पोका आ–आफ्ना झोलामा हुन्थे । हामी मेलो सकेपछि गोरु खोलेर खाना बनाउँथ्यौँ । सबै लागिमेली गरेर खाना बनाउँथ्यौँ । कोही पानी लिन तुम्लेट बोकेर तमोरतिर जान्थ्यौँ, कोही दाउरा खोज्न बगरतिर । कोही झासझोस मास्तिर पाखातिर लाग्थ्यौँ । कोही चुलाढुङ्गा खोजेर अगेनो जोड्थ्यौँ, आगो बाल्थ्यौँ । कहिले त हावाले आगो बल्न नदिने । खाना बनाएर खाइसक्दा निकै राति हुन्थ्यो । कुपी पनि हावाले बल्न नदिएपछि कहिले त निस्पट्ट अँध्यारामा खाना खुवाइ हुन्थ्यो । कुनैबेला थालमा पर्नुपर्ने हात भुईँतिर जोतिएर औँलाभरि माटो टाँसिएर आउँथ्यो, हात मुखमा । एकदिन हावाले कुपी एकैछिन पनि बल्न दिएन । एकापट्टि गोरु बाँधिएका हुन्थे, अर्कापट्टि खाना पकाउने, खाने ठाउँ । साँगुरो गरी अटेर बस्नुपर्ने । निकै अँध्यारो भइसकेको अवस्था थियो । खाँदाखाँदै आधा पेट भएपछि मेरो हातका औँलामा भातसँगै गिलोगिलो गरि मासुको चोक्टा पनि खेल्न थाल्यो । आलु र फर्सीका मुन्टाको तरकारी थियो । बरु घरबाट आलीभित्तो गर्न आउनेहरूले बिहान आउँदा एक ट्यामी मही ल्याइदिएका थिए । मासुको चोक्टासँग म पानीपानी भएँ ।

कसरी आयो मेरो भागमा मासुको चोक्टा ! थाल भुईँमा राखेर यसो टर्च लाइटको उज्यालोले हेरेको यति ठूलो भ्यागुतो पो पाकेर तन्किइरहेको रहेछ । भाग्यमानीको भागमा मासु पर्छ भन्दै सबै मेरो अनुहारमा हेरेर मरी-मरी हाँस्न थाले । मेरो काम गर्ने अलि कच्चा उमेर भएकाले म नै थिएँ मूल भान्से । मलाई काम नगरे पनि खाना पकाउँछ, कामको हेरचाह हुन्छ भनेर घरबाट जा भनेर बुवाआमाले पठाउनुभएको थियो । यसरी जानुमा मेरो रहर पनि थियो । दाँदेमाथि चढेर गोरुको पुच्छर निमोठ्दै दौडँदा निकै रमाइलो हुन्थ्यो । फेरि पकाएर पेट भर्न पानी पनि थिएन । दाउरा पनि थिएनन् । रात पनि निकै गइसकेको थियो । त्यत्तिकै सुत्नुको विकल्प थिएन । कत्ति दिनसम्म पनि खाना खाँदा म आफ्नो भागमा त्यही सेतो भुँडी पल्टाएर ढाडिएको भ्यागुतो देख्थेँ अनि पेटभरि भातै नखाई चुठ्न जान्थेँ । काका, दाइहरू आज पनि तेरो भागमा मासु परेछ कि क्याहो भनेर दिल्लगी गर्थे । त्यही पहिलेको दिङमिङले भुँडी बटारेर घाँटीसम्म आउँथ्यो । रोपाइँ सकेर घर नआई कुनै छाक खोलामा भातले मेरो भुँडी भरिएन ।

एकपल्ट खोलामा माछा खोज्दै जाँदा कुरभित्र हात हालेछु । केले टोक्यो केले ! हातको चोर औँला सुन्निएर खुट्टाको बूढी औँलाभन्दा ठूलो भयो; दुखाइ उस्तै । कत्ति दिन त्यस्तै हात लिएर हिँडेँ । पछि बुझेँ, त्यस्तो कुरभित्र हात हाल्न नहुने रहेछ । त्यतिबेला मैले माछाले टोक्यो होला भन्ठाने । सर्पले टोकेको पनि हुन सक्ने रहेछ । खोलामा ठाउँठाउँ ठूल्ठूला पानीका दह हुन्थे । हामी तिनमा ज्यान फालेर पौडी खेल्थ्यौँ । कहिले खेल्दाखेल्दै रात पर्थ्यो । जति खेले पनि मैले जीवनमा कहिल्यै पौडी खेल्न जानिनँ । गाउँको दाइसँग म रोपाइँ गर्न खोला गएको थिएँ । मैले जानमा जोड गरेपछि बुवाआमाले उनको साथ लाएर पठाउनुभएको थियो । खान्तेपिन्तेको झोला तिनै गाउँले दाइको काँधमा थियो । मेरो हातमा चाहिँ गोरु धपाउने लठ्ठी थियो । म गोरुका पछि-पछि थिएँ । हेर्दाहेर्दै गोरु खोलो तरेर पारि पुगे । मलाई ती गाउँले दाइले समाएर खोलो तार्ने भए । खोलो ठूला मान्छेको कम्मर–कम्मर थियो । उनले मलाई एउटा हातमा समाएका थिए । केटाकेटी मान्छे मेरो त काखीकाखी आयो पानी, केको खुट्टा भुईँमा टेकिनु ! मैले आफ्ना आफन्त कसैलाई पनि सम्झिन पाइनँ । अब गइएछ भन्ने मात्र भयो । तल्तिर नजिकै तमोरको भेल उर्लिरहेको थियो । त्यो टाढा थिएन । ती गाउँले दाइ दह्रा मान्छे थिए । मैले दुवै खुट्टा छोडेर पानी माथि तेर्सो परे पनि उनले समाएको मेरो हात छोडेनन् । बरु कसोकसो गर्दा उनले मलाई तानेर काखीमा च्याप्न भ्याए । त्यसपछि भने पार लाएँ । यो चानचुने कुरा थिएन, खोलो बढ्दै रहेछ । पारि पुगेर हामीले हेर्दाहेर्दै खोलो बढेर वारपार भयो । कति पस्यो नाकमुखबाट पानी । एकछिनमा पेट फुलेर सटका टाँक कसिन थाले । धन्न बच्न त बचियो । कथङ्कदाचित् त्यहाँबाट चिप्लेको भए म आज अर्कै संसारमा हुने थिएँ ।

म सम्झन्छु, आहा मेरा ती तीतामीठा बाल सुलभ दिनहरू । ती मेरा बाल्यकालका साथीहरू । मेरा जस्तै कलिला मनहरू जो बेला-बेला मलाई केही लेख्न उत्प्रेरित गरिरहन्छन् र आउँछन् तीसँग बितेका अतीतका घटना यी आँखाअघि झलझली अनि म लेख्न बस्छु । मेरा हातका मासी गल्छन् । मृत्युकै मुखमा पुगेर बाँचेको क्षण । नलेखौँ भन्दा पनि नलेखिरहन सक्दिनँ म । यस्ता धेरै घटना छन् जीवनको यात्रामा जो जीवनका अविस्मरणीय क्षणका रूपमा अन्तर्हृदयको कुनामा लुकिबसेका हुन् । म हरेक वर्ष बर्खा सुरु भएपछि सम्झिने गर्छु । बाढीपहिराले कत्ति मानिसहरूको ज्यान जान्छ । कतिको उठीबास हुन्छ । झरीले गलेर बारीका कान्ला भत्केर झरेको देख्दा कल्पन्छु कत्ति मानिसका मन हरेक वर्ष यसरी नै भत्केर जान्छन् । जीवनदेखि उक्किएर झर्छन् ! मनमा उसरी जान्छ पहिरो ।

एकरात त थुनिएर तमोरको पानी आइपुगेछ हामी सुतेको गोठसम्म । अलि बढेर आएको भए भुईँमा बाँधेका गोरु डुब्ने थिए । गोठ डुब्ने थियो अनि सँगै हामी पनि डुब्ने थियौँ । सायद बग्दैबग्दै छब्बीसेको पुछारबाट तमोरमा मिसिन्थ्यौँ । त्यसपछि त के हुन्थ्यो, थाहा छैन । धन्न बाँचियो ! रातभरि आरीले घोप्ट्याएजस्तो आकाशबाट पानी परिरहेपछि घरमा हुनेहरू पनि आधा मासु भएछन् । आज नराख्ने भयो खोलाले; मान्छे पनि, गोरु पनि । खेत त लग्यो पनि फेरि निस्केला कुनै दिन । खोलाले छोडेपछि बिराउँदा भैगो । मान्छे कहाँ पाउनु ! रातभरि गोठको खाँबो समाएर उज्यालो पारेथ्यौँ । मलाई लेख्न उत्तेजित पार्छन् ती रातहरूले । बचियो आजलाई भनेर नाङ्लाजत्रै छाती पार्थ्यौँ हामी । बिहान उज्यालो भएपछि हेर्न जान्थ्यौँ खोलोबाढी कत्रो आएछ भनेर । कहिले त चिताई नसक्नुको भेल उर्लेर आएको हुन्थ्यो । हामी वारिका वारि, पारिका पारि हुन्थ्यौँ । पछि त पुल बन्यो खोलामा, झोलुङ्गे पुल । कोक्राजस्तै मच्चिन्थ्यो हावामा । हामी हावाको तालमा खुट्टाले थप बल दिएर हल्लाउँथ्यौँ । चुइँचुइँ चुइँकिँदै हल्लिन्थ्यो पुल, कोक्राजस्तै । त्यस्तै हल्लिने भए पनि गतिलो बनेको थियो पुल । हावाले झोलुङ्गे पुल नहल्लाउने कुरै थिएन । पुल बनेपछि हामीलाई वारिपारि गर्न साह्रै काइदा भयो । बाटो हिँड्ने बटुवालाई पनि, खेतीमा आउजाउ गर्नेलाई पनि ।

धरान–धनकुटा र विर्तामोड–फिदिमहुँदै ताप्लेजुङ जाने गाडी बाटो खुलेपछि त गड्तिलको बाटो सुक्यो । मानिस उति हिँड्न छोडे । हामीले पनि टाढाको खेती छोड्यौँ । २०६० सालतिर त हामी सधैँका लागि पहाड छोडेर मधेस झर्‍यौँ । झरेकै १/२ वर्षमा पाक्न लागेको धान पनि उठाउनै नपाई खोलाले खेत बगायो । म हरेक वर्ष बर्खा लागेपछि ती दिन सम्झन्छु । कठै बाढीपहिराका कारण कत्तिको ज्यान जान्छ । कत्तिको बिचल्ली हुन्छ ! जसरी कुनैबेला हाम्रो बेहाल भयो । २०३६/३७ सालतिरको कुरा हो । दिउँसो चराउन लगेका हाम्रा वस्तुभाउ, भेडाबाख्रा सबै नजिकैको लखुवा खोलाले बगाएर गोठै रित्याइदिएको थियो । म त्यस्तै ७/८ वर्षको थिएँ हुँला । नजिकै तमोर नदी थियो । लखुवाले बगाएर तमोरमा मिसाएपछि चिनोफानो रहेन । हामीले हलगोरु पनि भन्न पाएनौँ । लैनो गाई पनि भन्न पाएनौँ । असार–साउनमा रातोदिन आरीले घोप्ट्याएजस्तो आकाशबाट पानी पर्न थालेपछि मलाई यी र यस्तै घटना सम्झी ल्याउँदा आजभोलि पनि आक्रान्त बनाउँछन् ।