“ओए बाघको बच्चालाई के भनिन्छ ?” मैले कमललाई कोट्याउँदै सोधेको थिएँ । वर्ष २०६१ चैतको समय, कक्षा एकको वार्षिक परीक्षा । ठ्याक्कै कुन विषयको भन्ने त थाहा छैन तर यो एउटा प्रश्नचाहिँ प्रस्ट याद छ । उसले पनि नलेखी बसेको रहेछ । यत्तिकैमा एउटा विद्यार्थीको मामा आइपुग्नुभयो अनि हामीले लेखेको हेर्नुभयो । केही लेख्न छाडेका कुराहरू बताइदिनुभयो । ति प्रश्नहरूमा यो प्रश्न पनि थियो । हामीलाई डमरु लेख्न भनियो, हामी आज्ञाकारी भएर लेख्यौँ पनि । भर्खर क-ख सिकेर आगाडि बढ्ने उमेर । बाघले कुकुर खान्छ भन्ने मात्र थाहा थियो, उसको बच्चाको नाम थाहा हुने कुरा भएन । पढेको भए पनि याद थिएन । कान्छाहजुरबुबाको घरमा रहेको कुकुर बाघले खाएको थियो त्यसपछि मात्र बाघले कुकुर खाँदो रहेछ भन्ने थाहा पाएको थिएँ । राति घरबाहिर निस्किँदा भूतको डर लाग्थ्यो । पछि बाघले मान्छे पनि खान्छ भन्ने थाहा भएपछि बाघको डरले पनि मनमा डेरा जमाउन लाग्यो । परीक्षा सकियो, बाँकीका दिनहरू डन्डीबियो र गुच्चा खेल्दै बिते पत्तै भएन ।
रिजल्टको दिनमा सबै अभिभावक विद्यालयको प्राङ्गणमा जम्मा भए साथमा विद्यार्थी पनि । औपचारिक रूपमा हाम्रो परीक्षाफल प्रकाशन गर्ने काम सुरु भयो । हामी कक्षा एकमा भएकाले सुरुमा हाम्रै नाम आयो । मेरो नाम पनि आयो म सेकेन्ड भएछु अनि कमल थर्ड भएछ । मलाई कमललाई भन्दा अलिक लामो कापी मिल्यो, म यसैमा खुसी भएँ तर दुःखी पनि भएँ । किनकि फर्स्ट हुनेवाली कक्षाको मात्र नभएर विद्यालयभरि नै फर्स्ट भएकी रहिछ, त्यसैले उसलाई धेरै कापीहरू दिए । अबिर पनि धेरै लगाइदिए । हामीलाई त अलिकति निधारमा टीका मात्रै लगाइदिएका थिए । आफू सेकेन्ड भएको खुसीले केहीक्षणलाई त्यो रिस शान्त बनाइदियो । स्कुलबाट घर जानेबेलासम्म कमललाई कापी देखाएर जिस्काइरहेँ । साँच्चै अरूसँग तौलिन कति सजिलो है । वरिपरिकाले गाली गरेर सम्झाउन खोजे पनि केटाकेटीको जिद्दी न हो म, म किन सुन्थेँ र ? घर पुगेपछि चाहिँ मलाई फर्स्ट हुनेवालीसँग तुलना गरियो, “देखिस्, तैले पुरस्कार पाउँदा भन्दा उसले पाउने बेलामा धेरैले ताली बजाए, अबिर पनि मुखभरि लगाइदिए अनि कापी पनि तीनचारवटा दिए ।”
मलाई यो कुराले चसक्क घोच्यो । जिन्दगीमा हरेक कुराहरू अरूसँग तुलना नगरी कहिले चल्या थियो र ? खासमा अघिसम्म म एक जनाभन्दा राम्रो भन्ठानेर खुसी भइरहेको थिएँ, अहिले मभन्दा राम्रो अरू कोही छ भन्ने बुझ्दा घमन्ड टुट्यो । घमन्ड टुटेपछि मन त दुखिहाल्छ नि ! मेरो पनि मन दुख्यो अनि मनमनै सोचेँ, “अब म पनि फर्स्ट हुन्छु अनि धेरै अबिर लगाएर धेरै पुरस्कार ल्याउँछु ।”
कैयौँ सपनाहरू देखेर मात्र छाडिएका हुन्छन् । यो सोच पनि एक वर्ष त हराएर गयो । २०६३ साल असार अन्तिमतिर म पुनः भगवती प्रा.वि.मा भर्ना भए । मेरो रोल नम्बर १८ भयो । बर्खे बिदा सकिएर भर्खर स्कुल सुरु भएको थियो । बर्खे बिदा हुनुअघि पहिलो त्रैमासिक परीक्षा लिएको परीक्षाफल चाहिँ प्रकाशन भएको रहेनछ । म स्कुल गएको पहिलो दिन हरेक विषयको प्राप्ताङ्क बताइदिने काम सुरु भयो । म त अचम्म परेँ, जुन विषयमा पनि रोल.नं. १७ पुगेर सकिन्थो, मेरो त नम्बर नै नआउने । कलिलो दिमागमा के ख्याल आउँथ्यो र ?
परीक्षा दिएकाको मात्र नम्बर भनिँदै थियो । मलाई मेरो रोल.नं. लास्टमा भएर नभनिएको भन्ने लाग्यो अनि सोचेँ अब रोल.नं. एक बनाउँछु । घर पुगेर हजुरबालाई सोधेँ, “हजुरबुबा रोल.नं. एक बनाउन के गर्नुपर्छ ?” अलिकति अचम्मित हुँदै भन्नुभयो, “जाँच राम्ररी दिएर प्रथम भइस् भने आफैँ बनाइदिन्छन् ।” प्रथम हुने कुरा त बुझेँ तर जाँच दिने भनेको के हो ? त्यतिबेला बुझ्न सकिनँ । रोल.नं. एक बन्ने सोच सेलायो ।
वर्ष २०६४, महेन्द्र आदर्श उ.मा.वि । पहिलो दिन मलाई राम्ररी याद छ किनकि पहिलोपल्ट डटपेनले लेख्न पाइन्छ भनेर नयाँ पेन लिएर गएको थिएँ । मजस्तै अरूले पनि पेन ल्याएका रहेछन् तर हाम्रो सपनामा पाक्न लागेको धानलाई हावाले ढलाएझैँ तब भयो जब नवीन सरले सबैको पेन जम्मा गरिदिनुभयो । यो त घटना भयो । त्यो दिन हामी सबैलाई एकै कक्षामा राखेर रोल.नं. बताइयो; सागर काफ्ले रोल.नं. १२ । मन अमिलो भयो । माथिको स्कुलमा म सेकेन्ड भएको थिएँ । त्यसैले यसपालि मेरो रोल.नं. दुई त हुन्छ भन्ने लागेको थियो तर सेकेन्ड भएर पनि रोल.नं. २ भएन । म सेकेन्ड भएर पनि रोल.नं. १२ भयो भन्दै बुबासामु दुखेसो पोखेँ । सबैको प्राप्ताङ्क दाँजेर मात्र रोल.नं. बाँडिएको रहेछ । तीनमा भन्दा त “छ” नं. अघि नै रहेछ भनेर मन बुझाउने बाटो भेटियो । अझ यहाँ त १०० जति विद्यार्थी थिए । एक जना अङ्कल जो त्यहीँ पढ्थे, उनले भने, “आज त सेक्सन बाँडेका छैनन्, सेक्सन बाँडेपछि त अझ आधा हुन्छ ।” म अलिअलि मख्ख परेँ । बाह्रको आधा “छ” यति कम त मेरो कहिले थिएन । दुई कक्षामा पनि सातसम्म मात्र पुगेको थिएँ । मेरो रोल.नं. फेरि एक बनाउने लालच पलायो । यो पटक हजुरबुबा बिरामी भएर थला पर्नुभएको थियो । मैले हजुरआमालाई सोधेँ, “आमा फर्स्ट हुन के गर्नुपर्छ ?” “जाँच राम्ररी दिनुपर्छ ।” “यो जाँच भनेको के हो त ? ” यो पटक म प्रस्ट जान्न चाहन्थेँ, त्यसैले झ्याप्पै सोधिहालेँ । ” परीक्षा भनेर दिन्छौ त, त्यही त हो” ,आमाले भन्नुभयो । मान्छेले प्रश्नको उत्तर पाउँदा औधी खुसी हुन्छ । म पनि त मान्छे नै हुँ तर म डबल खुसी भएको थिएँ । एउटा त जाँच भनेको जान्न पाएँ, अर्को रोल नम्बर “एक” हुने तरिका थाहा पाएँ ।
त्यो सानो सपनाले मनमा अलग्गै हलचल ल्यायो । त्रैमासिक, अर्धवार्षिक परीक्षा हुँदै दिनहरू बित्दै थिए । वार्षिक परीक्षा आयो अनि सकियो ।
“आज त रिजल्टको दिन, दहीमा मह मिसाएको छ, राम्रो हुन्छ भन्छन् खाएर जानू” ,हजुरआमाको बोली थियो । म आज अलमल्मै थिएँ । त्यस स्कुलमा, त्यति धेरै विद्यार्थीको माझमा म के हुने होला भन्ने कौतुहलताले सताइरहेको थियो । हामी गाउँका चारपाँच जना एकैचोटि जम्मा भएर जाने सल्लाह थियो । म फटाफट खाना खाएर अलिकति दही खाएँ अनि तयार भएँ परीक्षाको रिजल्ट सुन्न जानका लागि । सल्लाहबमोजिम सबै जम्मा भएपछि हामी रिजल्टका कुरा गर्दै स्कुलतिर लाग्यौँ । स्कुल पुग्दा त म तीनछक परेँ । रिजल्टको दिन भनेर त्यहाँ कुनै कार्यक्रम देखिन्थेन । खासमा रिजल्ट चाँहि सबै कक्षाको ढोकामा चिप्काइदिने चलन रहेछ । अझै चिप्काउन सुरु भएको थिएन । मनमा के के सोचेर आएको, को फर्स्ट र सेकेन्ड भए हेरेर मात्र फर्किनुपर्ने भो भनेर मन खिन्न भयो । पुरस्कार लिने बेला सबैका सामुन्ने नाम लिएर उद्घोष गरेजस्तो किन लाग्थो र ? तैपनि मन खिन्न भएर के नै पो हुन्थो र । समय भयो परिचरले धमाधम रिजल्ट लेखेको पेपर कक्षाकोठाको ढोकाहरूमा चिप्काउन थाले । एकैछिनमा हाम्रो पालो पनि आयो । चिप्काएपछि हामी भिड गरेर हर्न थाल्यौँ । ठुलाठुला अक्षरमा कक्षा: चार “बि” लेखिएको थियो अनि क्रमैसँग प्रथम, द्वितीय, तृतीय,उत्तिर्ण हुने अनि अनुत्तीर्ण हुने भनेर लेखिएको थियो । म अलिक पछाडि थिएँ । साथीहरू पास भइएछ भनेर खुसी हुन थाले । म पनि आफ्नो रोल नम्बर खोज्न थाले उत्तीर्णको लिस्टमा तर भेटिनँ । म झस्किएँ अनि एकचोटि पेपर गहिरिएर नियाल्न लागेँ, बल्ल मेरो रोल नम्बर भेटियो ।
लेखिएको थियो – प्रथम स्थान: सागर काफ्ले, रोल नम्बर १ र योसँगै मेरो कक्षा पाँचमा गएर बल्ल रोल नम्बर “एक” हुने भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।