साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

आँखी भौँको फुली

सामान्य कुर्तामा बसमा यात्रा गर्दा सङ्घर्षशील पश्चिमी सभ्यताका दासहरू मेरो आँखि भौँछेउको फुलीमा धीत मरुन्जेल घुर्थे । कोही आँखाबाटै प्रश्न गर्थे भने कोही साथीहरू पछाडि पछाडि 'अचेल गाँजा खान्छे' भन्दै कुरा काट्थे।

अनायासै रहर, सजावट र  शृङ्गारको, अझ भनौं सौन्दर्यको अभिलाषा ! ऐनामा आफूलाई खोज्दै गर्दा आफ्नो मुहारलाई के लगाउँदा, कति लगाउँदा  अनि कसरी लगाउँदा आनन्द लाग्छ ? सौन्दर्य झल्किन्छ ? अनि कति प्रेमपूर्ण हुन्छ ? यी सबैभन्दा पनि महत्त्वपूर्ण कुरा मेराे लागि अर्कै थियो – म कसरी सजिऊँ ?

ज्योत्स्ना सिम्खडा

मानिसको शरीर न हो, अनायासै कहिले जोडसँग अमिलो, पिरो खान मन लागेजस्तै मलाई आँखी भौँछेउ फुली लगाउने इच्छा भयो । पश्चिमी मुलुकका मानिसहरूमा यस्तै आँखी भौँछेउ फुली लगाउने चलन आएर पनि हराएको दशकौँ भइसक्यो । तापनि पूर्वीय सभ्यतामा हुर्किएकी मलाई यो शैलीसँग गहीरो प्रेम भयो ।

रहर, प्रेम र त्यो प्रेम गहिरो आकांक्षामा बदलिँदै गर्दा मलाई ट्याटुहाउस पुग्न बेर लागेन । अत्यन्त्य रोमान्चित हुँदै मैले आँखी भौँछेउमा छेडेपछि म ऐनामा आफूलाई आँखी भौँछेउ लगाएको फुलीमा सजिएको रहर मेट्ने गरी हेरेँ । मैले माया गरेका चिजहरू जस्तै मेरो फूलबारी, मेरो सजावट, आफ्नै तलबले किनेको ग्याजेटहरू जस्तै यो मेरो अर्को प्रेम थियो ।

रहरले गाउँ, परिवेश, वर्ग केही पनि भन्दैन । बन्देजको पर्वाह त फिटिक्कै गर्दैन । तर बटुवाहरूको लागि म एउटा प्रश्नचिन्ह बनेको थिएँ । मानौँ, म कतै अन्य ग्रहबाट भर्खरै झरेकी छु । किनकि मैले मध्यम वर्गीय घरको सामान्य

भेषभुषामा एउटा नौलो गहना लगाउने दुष्प्रयास गरेँ । मलाई थाहा छैन, म उच्च वर्गीय भएको भए यही सानो कुराले कस्तो रूप लिने थियो ? तर सामान्य भेष र सामान्य दैनिकीमा मैले एउटा तथाकथित पश्चिमी पहिरन थपेको थिएँ । जसले गर्दा म धेरै बाहिर ननिस्किऊँ, अलि फेन्सी बनौँ, अथवा जीवनशैली अलि असामान्य जिऔँ, यस किसिमकाे मानसिकता वृद्धि हुँदै गयो ममा । जुन मानसिकता यही वर्गीय समाजबाट उत्पन्न भएको रोग थियो ।

यहाँ धेरै हाँस्नु, आफ्नो सजावट र स्तरको पर्वाह नगर्नु, सरल जीवन जिउनु, बुढापाकाहरूलाई सम्मान, प्रेम र उनीहरुसँग समय बिताउनु जस्ता व्यवहारलाई तल्लो वर्गीय, बेरोजगारी र लाजमर्दो कुरा मानिन्छ । तर म यस्तै मानसिकतामा हुर्कँदै गरेकाहरूप्रति खेद प्रकट गर्दछु । किनकि, उनीहरू धर्तीबाट टाढा छन्, जीवनका भोगाइहरूको सिङ्गो किताबबाट बन्चित छन् ।

सामान्य कुर्तामा बसमा यात्रा गर्दा सङ्घर्षशील पश्चिमी सभ्यताका दासहरू मेरो आँखि भौँछेउको फुलीमा धीत मरुन्जेल घुर्थे । कोही आँखाबाटै प्रश्न गर्थे भने कोही साथीहरू पछाडि पछाडि ‘अचेल गाँजा खान्छे’ भन्दै कुरा काट्थे।

म बुढापाकाहरूका लागि वितृष्णा, अधबैँसेहरूका लागि कुसंस्कृत, जवानहरूका लागि रहर, भर्खरका सोह्र वर्षे ठेट्नाहरूका लागि गजेडी बनेकी थिएँ । अनि यी सबै उपनाम केवल मेरो आँखी भौँछेउको फुलीको आवरणको फल थियो । मानौँ, मेरो सम्पूर्ण अस्तित्वको प्राण केवल टल्किरहेको आँखी भौँछेउको फुलीमा समेटिएको छ ।

धेरै दिन लुक्न सकेन मेरो फुली बुबाको नजरबाट । विकट हिमालको काखमा सरलता र निर्दोषपनमै जीवन कटेको बुबाको आँखामा घृणा थिएन, केवल प्रश्न थियो, “विचित्र छ राजधानी सहर” । र, सहरी संस्कृतिप्रतिको गाँउले उद्गार झल्किन्थ्यो । यो केवल एउटा गहना हो भन्ने उत्तरले उहाँको प्रश्न शान्त हुँदै भएन ।

मेरो जिन्दगीको पूरा एक वर्ष मैले आफ्नो छवि गुमाएको छु । आफ्नो अस्तित्वलाई त्यही आँखी भौँछेउको फुलीमा समर्पण गरेको छु । रङ्गमञ्चमा नाटकको एउटा भूमिकाको लागि एक दिन मैले आँखी भौँछेउको फुली निकालेँ । मलाई देख्नेबित्तिकै एक जना साथीले भने, ‘तिमी त सुध्रिएछौ’ । म झल्यास्स भएँ। मित्रको अनुहारमा मैले कालो समाजको त्यही चोर औंला देखेँ, त्यही पर्खाल देखेँ, जुन मानवताभन्दा अग्लो छ । जहाँ संवेदनशीलताका लासहरूको इँटा बनाइएको छ । जहाँ शताब्दियौँदेखि पितृसत्ताको झन्डा फहरिंदै आएको छ । र, घुम्टो र छाउपडीभित्र रोदनहरू थुनिएका छन् ।

रङ्गमञ्चको लामो लामो पर्दा बाहिर विचित्र रुप छन्, विचित्र जीवनशैली छन् । तर रङ्गमञ्चमा सबैले एउटा चरित्रको पुत्लाहरू आफ्नो आफ्नो भूमिका निर्वाह गरेजस्तै यो आँखी भौँछेउको फुली शारीरिक कारणवश निकालेपछि समाजमा मैले पुनः एक सुशील र सभ्य केटीको पुत्लावरण गरेकी छु। यससँगै मैले कैयौँ उपनामहरूलाई तिलाञ्जली दिई उच्छृङ्खलबाट सुवासिनी बन्न पुगेकी छु ।

प्रतिक्रिया
Loading...