मानव एक सामाजिक प्राणी हो । ऊ समाजमै जन्मिन्छ अनि समाजमै हुर्किन्छ । समाजकै सांस्कृतिक, सामाजिक मूल्य र मान्यता अँगाल्दै हुर्किन्छ । समाजले जस्तो शिक्षा दिन्छ उसले पनि त्यही ग्रहण गरी जीवनमा अगाडि बढ्छ । हाम्रो समाजले परम्परागत लैङ्गिक भिन्नताका नाममा स्त्री र पुरुषबीच एउटा पर्खाल खडा गरिदिएको छ । उनीहरूलाई जैविक विविधताको आधारमा मात्र नभई परम्परागत रूपमा लैङ्गिक भूमिकासमेत निर्धारण गरिदिएको छ । स्त्री र पुरुषले के गर्ने, के नगर्ने, कसरी बोल्ने र कस्तो व्यवहार गर्ने भनेर छुट्याइदिएको छ ।
वास्तवमा उनीहरू सबै मानव नै हुन् । स्त्री होस् या पुरुष, उनीहरूका आफ्नै किसिमका स्वतन्त्र भावना, इच्छा, आकाङ्क्षा, अभिरुचि र संवेग हुन्छन् तर हाम्रो समाजले के व्यक्त गर्ने र के नगर्ने भनेर छुट्याइदिएको छ । हाम्रो समाजमा जीवनको प्रारम्भिक अवस्थादेखि नै महिलाहरूलाई लजालु, नम्र, शान्त, सुन्दर र सुशील हुन सिकाइन्छ भने पुरुषहरूलाई साहसी, सक्षम, निर्भीक, आत्मविश्वासी र तार्किक हुन सिकाइन्छ । पुरुष र महिलाबीचको जैविक र शारीरिक भिन्नताअनुसार समाजले उनीहरूका बारेमा पुरुषत्व र स्त्रीत्वका बारेमा बहस चलाउँछ । पुरुषको पुरुषत्व र स्त्रीको स्त्रीत्व नै लिङ्ग हो भनेर परम्परागत लैङ्गिक भूमिका निर्धारण गरेको पाइन्छ । हाम्रो समाजमा पुरुषलाई सबल, सुरक्षित, निर्णायक, श्रेष्ठ, साहसी, आत्मनिर्भर, बुद्धिमान्, तार्किक र कुशल नेताका रूपमा लिइन्छ भने महिलालाई भावुक, अबला, तर्कहीन, सहनशील, परावलम्बी, सन्तान उत्पादक र पालनपोषणमा निहित तथा पराधीनमा रहने र राखिने प्राणीका रूपमा लिएको पाइन्छ । केटाहरूलाई बाल्यकालदेखि नै आत्मनिर्भर हुनुपर्छ भनेर सिकाइन्छ किनकि ठूलो भएर घर चलाउने हो, पूरै घरको जिम्मेवारी उठाउनुपर्छ र कसैको मद्दत लिनुहुँदैन, आत्मनिर्भर र सक्षम बन्नुपर्छ, परावलम्बी होइन भनेर सिकाइन्छ । जब उनीहरू ठुला हुन्छन् तब उनीहरू अरूसँग सहयोग माग्न हिच्किचाउँछन् । विशेषगरी एउटै समाजमा जब मानसिक स्वास्थ्यको कुरा आउँछ तब उनीहरू सहयोग माग्न गाह्रो मान्छन् किनकि उनीहरूलाई यस्तो लाग्छ कि समाजमा समान संस्कार र वातावरणमा जन्मेहुर्केका केही व्यक्तिहरूले उनीहरूको मजाक उडाउँछन् र उनीहरूलाई आधा मान्छेको संज्ञा दिन्छन् । स्वाभाविक रूपमा महिलाको तुलनामा पुरुषहरू भावुक नभएर कठोर देखिन्छन् तर उनीहरू हृदयशून्य त हुँदैनन् । उनीहरूको पनि हृदय हुन्छ, मन दुख्छ अनि हृदय पग्लिन्छ तर सामाजिक लोकलाजका कारणले उनीहरू तत्काल व्यक्त गर्न असमर्थ हुन्छन् । आफ्ना पीडालाई दबाएर बाहिर कृत्रिम हाँसो हाँस्न विवश हुन्छन् । वास्तवमा पुरुषहरू पनि सुखमा दिल खोलेर हाँस्न र दुःखमा दिल खोलेर रुन चाहन्छन् तर समाजले उनीहरूको मर्म र भावनालाई बुझ्न सक्दैन । उनीहरूलाई पनि अन्य महिला या पुरुषको सहयोगको आवश्यकता नपर्ने होइन, उनीहरू आफैँमा पूर्ण र सक्षम नहुन सक्छन् । एकअर्काको सहयोगको आवश्यकता उनीहरूलाई पनि हुन्छ । मानवीय संवेदनाका दृष्टिले पुरुषलाई पनि स्वतन्त्र रूपमा रुन मन हुन्छ, निजी भावना, दुःखसुख र अनुभूतिहरू एकअर्कासँग साटासाट गर्न मन हुन्छ किनकि उनीहरू पनि मानव प्राणी नै हुन् तर विडम्बना ! यो छ कि समाज तगारो बनिदिन्छ ।
कुनै पनि पुरुष वा महिला लैङ्गिक रूपमा वा शारीरिक बनोटका दृष्टिले जन्मजात पुरुष र स्त्रीको रूपमा जन्मे तापनि उनीहरूमा मानसिक रूपमा समाज र परिवारले नै पुरुषत्व र स्त्रीत्वको लैङ्गिक विभेद सिर्जना गरिदिन्छ । उनीहरू जन्मेपछि घर, परिवार र समाजले जस्तो शिक्षा दिएर हुर्काउँछ, भविष्यमा त्यसैअनुसार उनीहरूको बानीव्यवहार निर्धारण हुन्छ । दोष व्यक्ति, महिला र पुरुषको होइन, समाजको हो । भनिन्छ नि, काँचो माटालाई जस्तो आकार दियो त्यस्तै बन्छ । त्यै भएर पुरुष होस् या महिला, उनीहरू जन्मिँदा काँचो माटाजस्तै हुन्छन् । गर्भैदेखि मभित्र पुरुषत्व र मभित्र स्त्रीत्व छ र ममा यस्तो खालको स्वभाव हुनुपर्छ भन्ने कुरा थाहा पाएर उनीहरू जन्मिँदैनन् । जब बच्चाले धर्तीमा पहिलोपटक खुट्टा टेक्छ, आँखा खोल्छ, त्यसै दिनदेखि उसलाई उसको भूमिकाका बारेमा सिकाइन्छ, सामाजिकीकरणको सुरुवात हुन्छ । महिला र पुरुषबीचको फरक भूमिका समाजले निर्धारण गरिदिन्छ । यस्तो लैङ्गिक भिन्नता समाजले निर्माण गरेको हो जसलाई हामी सामाजिक निर्माणवाद पनि भन्न सक्छौँ । पितृसत्तात्मक समाजमा पुरुषलाई कठोर र बलियो मान्छेका रूपमा लिइन्छ । यदि उसले कुनै क्षेत्रमा प्रयास गर्छ भने ऊ सफल हुनैपर्छ । उसलाई असफल हुने अनुमति छैन किनकि पुरुषहरू असफल हुनु भनेको उनीहरूको मर्दाङ्गीपन वा पुंसत्व असफल भएको मानिन्छ । परम्परागत लैङ्गिक भूमिकालाई आत्मसात् गर्ने महिलालाई असल केटी र जसले यस्तो भूमिकालाई बेवास्ता गर्दै चुनौती दिन्छन् तिनीहरूलाई खराब केटीको संज्ञा दिइन्छ । ठिक त्यसैगरी महिलालाई मात्र नभएर पुरुषलाई पनि असल केटा र खराब केटाको संज्ञा दिइएको हुन सक्छ किनभने हाम्रो समाजले पुरुषलाई रुनु हुँदैन, केटालाई रोएको सुहाउँदैन, केटा मान्छे कायर नभएर निर्भीक र साहसी हुनुपर्छ भनेर सिकाउँछ ।
यस विषयमा मेरा आफ्नै निजी भोगाइ र अनुभूति रहेका छन् । मैले बाल्यकालदेखि आजसम्म आफ्नो घर, परिवार र समाजमा यस्तै परम्परागत लैङ्गिक भूमिकालाई निरन्तरता दिएको देखेकी, भोगेकी र सुनेकी छु । गाउँघरमा मात्र नभएर सहरमा पनि यस्तो परम्परागत लैङ्गिक विभेद र भूमिका निर्धारण गरिएको पाइन्छ । मैले पनि आफ्नै सामु प्रत्यक्ष देखेँ र सुनेँ । एकदिन नजिकैको पसलमा तरकारी किन्न जाँदा पसले आन्टीको ४ वर्षको सानो छोरो निरन्तर रोइरहेको थियो । अनि आन्टीले ऊ किन रोएको हो, के चाहिएर रोएको हो भनेर नसोधी सिधै “छोरो मान्छे भएर पनि रुन्छन् ?” भन्नुभयो । त्यो देखेसुनेर सहरमा पनि अझै त्यस्तो भन्दा रैछन् भनेर म अचम्मित भएँ । “यसरी बच्चालाई मानसिक असर पर्छ, यस्तो भन्नु हुन्न” भनेर मैले आन्टीलाई सम्झाउन पनि खोजेँ । त्यसपछि आन्टीले अबदेखि यस्तो भन्दिनँ भने पनि नानीदेखि लागेको बानीजस्तै यस्तो संस्कारलाई सहजै कहाँ बदल्न सकिन्छ र भनेजस्तो अन्जानमै त्यही वाक्यांश फ्याट्टै बोलिने रहेछ भन्ने कुरा उक्त घटनाबाट थाहा पाएँ । त्यसैगरी यस विषयमा मैले आफ्ना केही केटा साथीहरूलाई सोध्दा ‘रुन मन हुन्छ तर अरूको अगाडि खुलेर रुन सक्दिनँ, रोए पनि लुकेर रुन्छु । आफ्ना मनमा दमित र कुण्ठित भावनालाई घर, परिवार, इष्टमित्र र समाजसमक्ष सुनाउन खोज्दा केटा मान्छे भएर पनि केटीजस्तो भावुक र कमजोर भई रुने भन्दै उसको खिल्ली उडाइन्छ । यो समाजले मलाई के भन्ला भन्ने डरले पनि आफ्ना भावनाहरूलाई मनमै दबाएर कसैले नदेख्ने गरी कोठा थुनेर डाको छोडेर रुन्छु’ भन्नेजस्ता समान प्रतिक्रिया पाएँ ।
यदि कोही पुरुष रोयो भने “केटा मान्छे भएर पनि रुन्छस् ? केटा भएर रुन लाज लाग्दैन ? केटी होस् र तँ ?” भनेर समाजले प्रश्न गर्छ र केटी जसरी रुनुहन्न, केटा होस्, केटाको जस्तो व्यवहार गर् भनिन्छ किनकि रुनुलाई कमजोरीको रूपमा लिइन्छ, जसका कारण उनीहरू आफ्नो दुःख, पीडा, भावना बाहिर प्रकट गरी अन्य पुरुष वा महिलाहरूसँग बाँड्न सक्दैनन् । उनीहरूलाई प्रेरित गर्न वा रुँदा चुप गराउनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यस्ता शब्दको प्रयोग गरिन्छ र उनीहरू बच्चा भएकाले सहजै स्वीकार गर्छन् । यसरी उनीहरू विश्वास गर्न थाल्छन् कि म एक केटा हुँ र मैले रुनुहुन्न, म कमजोर छैन, रुने काम त केटीको हो अथवा स्त्रीको हो भन्ने भावनाको विकास हुन्छ । यसरी पुरुषले आफ्ना पीडाजन्य भावनाहरू सामाजिक लोकलाजका कारण अथवा आफू कमजोर देखिने त्रासका कारण बाहिर नल्याएर लुकाएर वा दबाएर राख्छन् । यस्ता सामान्य कारणले गर्दा उनीहरू खुलेर रुन नसकी आफ्ना भावनाहरू मनमै दबाउन थाल्छन् जुन एकदमै नकारात्मक परिणाम र मानसिक हिंसाको रूपमा बाहिर निस्किन्छ । समाजमा यस्ता विविध सामाजिक समस्याहरू निम्तिएको पाइन्छ जस्तै- रिस, आक्रोशका कारण व्यक्ति आक्रामक र हिंसात्मक रूपमा प्रस्तुत हुनु आदि सबै पुरुषत्वसँग सम्बन्धित छन् । समाजको दृष्टिमा माया, स्नेह, हेरचाह, भावुकता आदि बाहिर प्रकट गर्नु पुरुषलाई सुहाउँदैन वा शोभा दिँदैन भनेर भनिन्छ । यी सब काम महिलाको हो भनेर ख्यालठट्टाका रूपमा समेत जानी नजानी भन्ने गरिन्छ, जसको अनुसरण बालबालिकाहरू हुर्किँदै जाँदा आत्मसात् गदर्छन् र त्यसै अनुरूप सामाजिक व्यवहार गर्छन् । पुरुषहरूलाई उनीहरूको शक्ति र सामर्थ्यको आधारमा तौलिन्छौँ हामी । यसमा उनीहरूको गल्ती छैन, छ त केवल सामाजिक संरचना, सांस्कृतिक मूल्यमान्यता र सामाजिक तथा पारिवारिक परिवेश र त्यस वरपरको वातावरणको । उनीहरू हुर्किँदा नै उनीहरूलाई महिलाभन्दा बलिया छौ र महिलाहरू कमजोर हुन्छन् भनेर सिकाइन्छ । पितृसत्ताले महिलालाई अध्ययनको क्षेत्रदेखि अन्य आर्थिक, राजनीतिक क्षेत्रमा कमजोर भएको ठान्दछ । वास्तवमा पितृसत्तात्मक विचारधारा महिलाका लागि मात्र नभएर पुरुषका लागि समेत हानिकारक र खतरनाक छ । यो अङ्ग्रेजी शब्द “टक्सिक मस्कुल्यानिटि”को धारणाभित्र पर्दछ । यसलाई नेपालीमा प्रदूषित पुरुषार्थपन, पुरुष दुराग्रह अथवा प्रदूषित मर्दाङ्गीपन पनि भन्न सकिन्छ । यसले हिंस्रक, आक्रामक र उदासीनताजस्ता पुरुषको लैङ्गिक भूमिकाका बारेमा सङ्कुचित दमनकारी विचारहरूको वर्णन गर्छ ।
पुरुषप्रधान समाजमा पुरुषहरूले महिलाबिना पनि आत्मनिर्णय लिन सक्छन् तर महिलाहरू पुरुषबिना आत्मनिर्णय लिन र आफ्नो बारेमा सोच्न सक्दैनन् भन्ने मान्यता पाइन्छ । यस्तो समाजले महिला भनेको पुरुषको आधा अङ्ग वा अर्धाङ्गिनी मात्र हो भन्ने ठान्दछ । पुरुषहरू कतै बाटामा अल्मलिए भने बाटो सोध्न अनिच्छुक हुन्छन् किनकि उनीहरूलाई बाटो सोध्नु भनेको आत्मकमजोरी देखाउनु हो तर पुरुषको तुलनामा महिलाहरू बाटो सोध्न हिचकिचाउँदैनन् र आफ्ना समूहका मिल्ने साथीहरूसँग आफ्ना भावना साटासाट गर्न सक्छन् । उनीहरूले खेल्ने खेल पनि भिन्न हुन्छ । बच्चैदेखि केटा मान्छेलाई बन्दुक, गाडी, फुटबल, क्रिकेट आदि खेल्न दिइन्छ भने महिलालाई डल, स्किपिङ, किचेन सेट आदि । केटाहरूलाई घरभन्दा बाहिर खेल्न छुट हुन्छ तर केटीहरूलाई घरभित्रै सीमित गरी बाहिर प्रतिबन्ध लगाइन्छ किनकि केटाहरू आत्मसुरक्षा गर्न सक्ने भएकाले बाहिर पनि उनीहरू सुरक्षित हुन्छन् तर केटीहरू आत्मरक्षाको अभावमा असुरक्षित हुन्छन् भन्ने मान्यता राखिन्छ । समाजले उनीहरूले लगाउने वस्त्रको रङ्ग, ढाँचा र किसिम पनि छुट्याइदिएको छ जस्तै- केटाका लागि निलो र केटीका लागि गुलाबी रङ्ग, कपडामा केटीका लागि गुन्यूचोली, फ्रक र कुर्था–सुरुवाल र केटाका लागि दौरा सुरुवाल, टोपी, सर्ट, पाइन्ट आदि । केटाहरू केटीको जसरी लजाउनु हुन्न र आफूलाई असुरक्षित महसुस गर्नु हुन्न भनेर भन्छ समाजले । मान्छे कस्तो हुनुपर्छ, कस्तो देखिनुपर्छ, कसरी व्यवहार गर्नुपर्छ भनेर समाजले विविध मूल्यमान्यता तय गरेको पाइन्छ । समाजमा भाषिक प्रयोगमा समेत लैङ्गिक विभेद देखिन्छ ।
केटीहरू अधिक रूपमा सहनशील हुने भएकाले आफ्ना भावनाहरू नियन्त्रण गर्न सक्षम हुन्छन् तर केटाहरू भने सक्दैनन् । त्यो उनीहरूको दबिएको भावना, संवेग एकाएक आक्रामक रूपमा प्रस्तुत हुन्छ जसका कारण मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पर्छ । परिणामस्वरूप उनीहरू डिप्रेसन, लागुपदार्थ दुर्व्यसन र आत्महत्याको बाटो रोज्न पुग्दछन् । साथै उनीहरू उत्तेजित र आक्रामक भएर बलात्कार, एसिड आक्रमणजस्ता आपत्तिजनक हिंसात्मक कार्यमा संलग्न हुन्छन् जसले गर्दा महिलालाई मात्र नभएर पुरुषलाई पनि नकारात्मक असर पर्ने गर्छ । हाम्रो समाजमा केही पुरुषहरू पनि छन् जसले आफ्नो भावना, संवेग, योग्यता र विशेषतालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रकट गर्न खोज्दा समाजले रोक लगाउँछ । केटाहरूमा टेस्टोस्टेरोनको उच्च मात्रा र न्युरोट्रान्समिटर सेरोटोनिनको कम मात्रा हुन्छ जसले आक्रामक उत्तेजना र आवेगलाई नियन्त्रण गर्छ । सामाजिक दबाबका कारण जब केटाहरूले आफ्नो सामान्य भावनालाई दबाएर राख्छन् तब उनीहरूले आफू को हुँ र के महसुस गर्छु भन्ने कुराको वास्तविकतासँग अपरिचित हुन्छन् । विशेषगरी केटाहरू मौन सङ्कटमा हुन्छन् । उनीहरू आफ्ना सकारात्मक भावनाहरू दबाउन बाध्य हुन्छन् । विशेषगरी यो समस्या किशोरावस्थामा बढी देखिन्छ । यो अवस्थामा किशोरकिशोरीका अभिभावकले उनीहरूलाई आफ्नो निगरानी र नियन्त्रणमा राख्न कडा प्रयत्न गर्नुपर्छ किनभने उनीहरूलाई बढी निगरानीमा राख्नुपर्छ । किशोरकिशोरीहरूले हरेक समस्याको समाधान आफ्ना अभिभावकमा खोज्दछन् । त्यसैले बलियो अभिभावकीय बन्धन भनेको धूमपानलगायतका लागुपदार्थ सेवनदेखि आत्महत्याजस्ता दुर्घटनाबाट सुरक्षित राख्ने महत्त्वपूर्ण कवच हो । हरेक अभिभावकले उनीहरूसँग कुराकानी गर्ने, उनीहरूका समस्या बुझ्ने गर्नुपर्छ । यसो नगर्दा कतिपय समस्या व्यक्त गर्न नसक्दा किशोरकिशोरीहरू डिप्रेसनको सिकार भएर आत्महत्या गर्नसमेत पुगेको पाइन्छ । त्यसैले उनीहरूलाई घर, परिवारमा अभिभावकको यथोचित माया, ममता र सहयोगका साथै मनोवैज्ञानिक परामर्शको पनि आवश्यकता पर्दछ । उनीहरूमा सकारात्मक सोच, स्वस्थ विचार र सामूहिक भावनाको विकास हुने वातावरण निर्माण गर्नुपर्छ । दमनले किशोरकिशोरीहरूका साथै वयस्कहरूमा पनि घृणा, विद्वेष र विद्रोह जगाउने भएकाले उनीहरूमा मानसिक दबाब पर्न जान्छ । त्यसैले उनीहरूलाई आफ्ना भावनाहरू स्वतन्त्र रूपमा अभिव्यक्त गर्ने अवसर दिनुपर्छ जसले गर्दा भविष्यमा यस्ता मनःसामाजिक समस्याको सिकार कसैले हुनु नपरोस् ।
वैयक्तिक भावनाहरू र निजानुभूति रोदनसँगै प्रस्तुत गर्नु कुनै कमजोरी नभई स्वाभाविक शक्ति हो । हामी सबै मानिस हौँ र सबैका आ–आफ्ना भावनाहरू हुन्छन् जुन सामान्य कुरा हो । जन्मिँदाको क्षणमा बच्चा रोएन भने चिन्तित हुँदै गालामा हानेर भए पनि रुवाएर खुसी हुने हाम्रो घर, परिवार अनि समाजले हुर्किँदै गर्दा केटा मान्छे भएर रुनु हुन्न र केटी मान्छे भएर धेरै हाँस्नु हुन्न भनेर सिकाउँछ । यदि कुनै पुरुष रोयो भने ऊ भावनाहरू नियन्त्रण गर्न नसक्ने कमजोर ठानिन्छ अनि लडेर चोट लाग्दा कोही केटा मान्छे होस् या सानो बच्चा उसलाई रोएको देखेर भनिन्छ ,“ केटा मान्छे भएर पनि रुन्छन् कहीँ ? केटी हो र तँ रुनलाई ? कति केटी जसरी रोइराख्या ? केटीजस्तो बन्न छोड् । केटा होस् तँ केटा । केटाको जस्तो व्यवहार गर् ।” आदि इत्यादि । अहो ! यो कस्तो अचम्म । हाँस्नु, रुनु, आफ्ना भावना अभिव्यक्त गर्नु हामी सम्पूर्ण मानवजातिको नैसर्गिक अधिकार हो । पुरुषहरूका लागि रुनु कुनै गलत काम वा अपराध होइन । वास्तवमा म त भन्छु कि पुरुषहरू पनि रुनुपर्छ र हाँस्नुपर्छ । उनीहरूले पनि आफ्ना भावनाहरू अभिव्यक्त गर्नुपर्छ । आफ्ना भावनात्मक संवेगहरू देखाउन चुक्नु हुँदैन ।
सारमा भन्दा कुनै पनि व्यक्तिले आफूले चाहेको कुरा छनोट गर्न सक्दछ र यो उसको नैसर्गिक अधिकार पनि हो । सामाजिक मूल्य मान्यताको नाममा उसलाई जबरजस्ती यस्तो बन्, यस्तो गर्, उस्तो गर् भनेर लाद्नु परम्परागत लैङ्गिक भूमिकाको बन्धनमा बाँध्नु हो । यसो गर्नु भनेको प्राकृतिक न्यायको सिद्घान्तको विपरीत कार्य हो र उसको नैसर्गिक अधिकारको हनन पनि हो । हरेक व्यक्तिलाई आफू ‘म’ कसरी भएँ वा भइनँ अनि म सन्तुष्ट छु वा छैन र मलाई आफ्नै लागि बाँच्नु आवश्यक छ वा छैन र म मेरै खुट्टामा उभिन कति आवश्यक छ भन्ने कुराको आत्मबोध हुनुपर्छ । अनि मात्र मानिसलाई आफ्नो निजत्व वा स्वत्वको बोध हुन्छ । अन्यथा समाजमा जरा गाडेको परम्परागत लैङ्गिक विभेद, भूमिका र प्रदूषित पुरुषार्थपन अथवा अङ्ग्रेजीमा भन्नु पर्दा टक्सिक मस्कुल्यानिटिले निम्त्याउने विविध सामाजिक तथा मानसिक समस्याको अन्त्य हुन सक्दैन । तसर्थ, शिक्षा र जनचेतनाका माध्यमबाट समाजमा यथाशक्य परिवर्तन ल्याउनका निम्ति पुरुषहरूलाई उनीहरूका भावना व्यक्त गर्ने अवसर दिनुपर्छ किनकि भावनाहरू अभिव्यक्त गर्दा उनीहरूलाई नम्र, भावुक, संवेदनशील र कमजोर भन्ने आरोपबाट उनीहरू मुक्त हुन सक्छन् र उनीहरूले पनि आफ्ना दमित तथा कुण्ठित भावना र चाहनाहरू व्यक्त गरेर समाजमा सम्मानजनक ढङ्गले बाँच्न पाउनुपर्छ । समाजमा सहयोग लिन र दिन डराउनु नपर्ने वातावरणका लागि सचेत र शिक्षित वर्ग क्रियाशील हुनुपर्छ । रुढीवादी चिन्तनले मात्र कसैको पनि पुरुषत्व मापन गर्न सकिँदैन । त्यसैले सबैका आ–आफ्ना स्वतन्त्र भावना र विचारको सम्मान हुने वातावरण समाजमा निर्माण गरी लैङ्गिक भूमिकाका कारण सिर्जना हुने लैङ्गिक विभेदको अन्त्य गर्नु वर्तमान शिक्षित, सचेत र सभ्य नागरिकको कर्तव्य हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।