म एक हुँ, म अनेक हुँ

 

परमहंस योगानन्दको ‘योगीको आत्मकथा’ पढेपछि म झन् ‘जीवनजगत्‌’ र ‘अध्यात्म’ प्रति जिज्ञासु भए । जिज्ञासु यस अर्थमा कि ‘प्रेमको समजोड’लाई लिएर । ‘जीवन’ र ‘जगत्‌’को घोलनमा बाँचेको ‘म’ को भाष्य बुझ्न प्रेरित गर्न यो पुस्तक निकै हदसम्म माध्यम हुन सक्छ । मैले कसरी बुझ्दैछु ‘म’लाई म स्वयंलाई था’छैन तर ‘के महसुस’ गर्दैछु भन्ने कुरा पक्कै थाहा छ । जुन अव्यक्त छ । ‘महसुस’ भएरै थाहा हुन आएका ‘चेतना’का झिल्का भने ‘मन’, ‘हृदय’, ‘आत्मा’, ‘परआत्मा’ अर्थात् जुनै शाब्दिक अर्थको लेपन लगाए पनि त्यहाँ छ, भित्र कतै । चेतनाभित्र ‘म’ भन्ने मान्छे छ र प्रत्येक मान्छेसँग हुने ‘चेतना’ एक छ चेतनाले निर्माण गर्ने ‘म’ भने अनेक छ । मैले यो लेख आफ्ना बुझाइहरूको विस्तार मात्र गर्न खोजेको हुँ ।  निहित ‘चेतना’ लाई घुलाएर तपाईँहरूसमक्ष ‘सर्बत’ बनाई पेस गरेको छु । ‘घटघट’ पिउनुभो भने अवश्य ‘मन’ शीतल हुनेछ अर्थात् ‘बोध’को चिसोपन ।

०००

 

म योगी हुँ । सबै योगी हुन् । अर्थात् अएक-अनेकको योग । प्रत्येक जीवनजगत्‌का ‘कण’सँगको समजोड ।

 

त्यसैले— ‘म छु’

 

त्यसैले— ‘म हुँ’

 

त्यसैले—  ‘म सबैसँग जोडिएको छु, ब्रह्माण्डसँग जोडिएको छु । प्रकृतिसँग जोडिएको छु’

 

मलाई जोडिनु छ—  ‘सबैसँग’

 

मलाई छुटिनु पनि छ— ‘सबैसँग’

 

म त्यहाँ पुग्नेछु जस्ता मेरा द्रष्टा छन्, सोच छ, आचार छ, विहार छ र व्यवहार छ ।

 

म त्यहाँ पुग्ने छैन जहाँ मेरा विचारका द्रष्टा छैनन्, चेतनाको विस्तार छैन अर्थात् ‘म’ हुनुको बोध नै छैन ।

 

यतिबेला कोरोनाले मलाई ‘म’ बुझ्न समय दिएको छ । ‘म’ बुझ्न कहाँ सजिलो छ र? न सजिलै ‘म’ बुझिनेछ । ‘म’ भन्दा खतरनाक त ‘तँ-तेरो’ को बाह्‍य संसार माकुराको जालोजस्तै झेलिएको छ । त्यहाँ तमाम ‘म’ अल्झिएका छन् ।

 

‘तँ-तेरो’ को जालामा पर्नुअघि म के हुँ? आफैँलाई मथ्नु छ तर सजिलो छैन?

सन्ताेष पाैडेल

 

म के होइन? आफ्नै हृदयलाई पाटपुट पार्नु छ, निचोर्नु छ र बचेको ‘म’ नियाल्नु छ ।

 

त्यसैले फुर्सदको सदुपयोग गर्दै परमहंसको ‘आत्मकथा’ पढ्दै गर्दा कैयौँ दिन उसै झोक्राइरहेँ आफ्नै मनसँग र चेतनासँग ।

 

अर्थात् म के हुँ? म के होइन?  मन के हो? विचार के हो? र मानवीय संवेदना के हुन्?

 

मैले आफ्नै ‘मस्तिष्क’ बुझेको छु? अनि मष्तिष्कले चलाउने मानव संरचना नि?

 

आफ्नै ‘भावना’ कति बुझेको छु? अनि अर्को मान्छेको? कि ‘भावना’को  शब्द विस्तार मात्र जानेको हुँ ?

 

‘जीवनका अनेक आयाम मथ्न समय प्रशस्तै छ’ तर अदृश्य भाइरसको त्रासमा बाँच्नुको बाध्यता । झन् ‘अनिश्‍चितता’को डर उस्तै ।

 

यस्तो अवस्थामा मसँग डरैडरको पोको छ । त्रासमा आफैँलाई मान्छेले कति बुझ्ला? आफैँलाई कति मथ्ला?

 

‘भविष्यको डर छ’, भित्र कतै ।

 

‘कैयौँ कुरा गुम्ने डर छ’, यतैकतै  ।

 

तर एउटा पृथक् डर छ, ‘यतिबेला हुनुको’ अर्थात् ‘अस्तित्वको’ ।

०००

 

‘म हुनु’ र ‘नहुनु’ को अर्थ ब्रह्माण्डमा होला/नहोला तर ‘म’ छु यतिबेला मान्छेको स्वरूपमा ।

 

‘मान्छे हुँ’ भन्दैमा म ‘मान्छे’ बनेर बाँचेको छु र? कठोर प्रश्‍न छ ।

 

‘म छु’ भनिरहँदा जीवनका अनेक आयामलाई बुझ्ने, छिम्कने, निफन्ने र संवेदनाको फरक छुट्याउने गरेको छु?  स्वयंप्रति गतिलो ‘थप्पड’ छ ।

 

बुझ पचाउँदै गुनगुनाउँछु—

ऋषिमुनिहरू हज्जारौँवर्ष पैले जीवनजगत्‌का अनेक रहस्यमय गर्भ उत्खनन गर्थे । उनीहरू कुटिमा बस्थे । कुटि जङ्गलछेउ हुन्थ्यो । नजिकै खोला बहन्थ्यो ।  सादा जीवन, सादा आहारविहार, उच्च विचार र उच्च  विमर्श । ऋषि अर्थात् ज्ञानको विशालता । जीवन जिउने कलाको उत्कृष्टता ।

 

तर एक्काईसौँ शताब्दीमा मान्छे ‘भोग्यवाद’को दास बनिरहँदा ऊ जीवनजगत्‌को मामुली जालामा फटफटाएर बाँच्दै छ । न फुत्कन सक्छ न उम्किन ।  पासामा परेको मुसाझैँ बनेको छ मान्छे यो समय ।

 

यो त्यै पासामा परेको ‘मान्छे’को गन्थन न हो ।

०००

 

(क)

 

‘शब्दहरू केवल खोल हुन्’, परमहंस भन्नुहुन्छ तर शब्दले बोक्ने अर्थ,  बुन्ने भावना र प्रसारित गर्ने संवेदना त शब्दभित्रका गुदी होलान् नि ! जीवनजगत्‌को, मान्छेले गर्ने ‘बोध’को, ‘म’को, ‘अहम्’को, आत्माको एवं विचारको ।

 

त्यसैले मान्छेको चेतना अहम् सिद्धान्तकै ‘अहङ्कार’ले भरिएको सिङ्गो ‘म’ पो हो कि । अर्थात् मान्छेका ‘गुण-अवुण’ । एकअर्काको अन्तःसम्बन्धको भाष्य ।

 

कहिलेकाहीँ ‘अर्को’ लाई ‘बोध’ नगर्नु, प्राकृत तत्त्वलाई बुझ्ने चेष्टा नगर्नू, ‘देख्नु’ पनि पढ्नु हो भन्ने कुरा नबुझ्नू, आफैँभित्र अर्कालाई नदेख्नू अनि आँखाले होइन मनले समाज हेर्न नजान्नू, हृदयले देश र दुनियाँ ननियाल्नू, संस्कारको पद्धति व्यवहारले चलाउन र गोडाले पुर्‍याउन नखोज्नू, ‘खुसी’ मुहारले होइन वस्तुले प्रसारित गर्नू, मीठो वचनले प्रह्लादिद नगर्नू, सबैथोकको साक्षी नहुनू र ‘साक्षी’ नै जीवन हुनुको बोध हो भनेर नबुझ्नू ।

 

(ख)

 

‘मान्छे’ बनेर तिमी बाँच्नुपर्छ ।

 

तिमी भनेको को? चक्षु घुमाऊ ।

 

किनकि ‘तिमी’ मान्छे बन्न सकेका छैनौ । अभिनय राम्रै गर्छौ तर तथाकथित ।

 

धेरैजसो समय त तिमी ‘अमान्छे’ छौ । तिमी अर्को मान्छेलाई स्वीकार गर्दैनौ । तिम्रो हृदयमा जमेको अस्वीकृतिहरूको पोकापुन्तुरा खोल्यौ भने त्यहाँ घृणैघृणा छ, असन्तुष्टि छ, आवेग छ, रिसद्वेष छ र अहङ्कार छ ।

 

तसर्थ जातको नाममा ‘मान्छे’ को हत्या गर्नू, छोइछुतो गर्नू, बलात्कार गर्नू, हिंसा गर्नू, ऊचनीचको व्यवहार गर्नू, पढेगुनेको टोपलिनू र ज्ञानी-अज्ञानी छुट्याउनू ।

तँ तँ र म म गरिबस्नू ।

 

(ग)

 

प्रकृति पूर्ण छ र व्यापक छ । त्यसैले प्रकृतिले कसैलाई विभेद गर्दैन, दया पनि गर्दैन, प्रेम पनि गर्दैन । प्रकृति तटस्थ छ, आफ्नै लयमा चलायमान छ र परिवर्तनशील छ ।

 

त्यसैले यहाँ हरेक चिजका लागि मौसम छ र आकाशमुन्तिर हरेक उद्देश्यका लागि समय तर मान्छे मात्र हो, जो न पूर्ण छ न अपूर्ण, ऊ आधा छ र हरेकदिन छचल्किन्छ ऊ अधकल्चो ।

 

ऊ स्वयं अस्तित्वको एक पूर्ण अंश हो तर जीवन ‘फक्राउने’ मौसम छैन र भन्छ, रुन्छ र घिट्घिटाउँछ ।

 

ऊ स्वयं प्रकृतिको एक उद्देश्य हो तर बेलाबखत उद्देश्यहीन बाँच्छ, बाटो भुल्छ, जीवनको लयमै झुक्किन्छ र कैयौँपटक अलमलमा पर्छ ।

उसलाई त्यो ‘वस्तु’ चाहिएको छ जुन उसका लागि हुँदै होइन । जुन ‘वस्तु’ उसको हो त्यसलाई ऊ बेवास्ता गर्छ ।

 

समय तिम्रो हो । समय जीवन हो, बाँच; खुलेर, मिलेर सबैसँग । के समय तिमी हैन?

 

आकाश पनि तिम्रै हो । तिमी स्वयं आकाश हौ । अनन्तः फैलावट । विस्तार गर आफैँलाई तर ऊ खुम्चिन्छ भित्रभित्रै ।

 

अफसोस त यो छ कि ‘म’ को अहंभित्र गुम्सिएर बाँचेको मनुवा ‘म’ बाट उम्कनै सक्दैन । उम्किहाले बाह्य दुनियाँ नियाल्ने फुर्सदै हुँदैन । त्यसैले ऊ प्रकृतिसँग हातेमालो गर्ने ‘म’ हैन भन्छ । भौतिक दुनियाँमै रुमलिन्छ । धेरै समय चिन्तन गर्दैन चिन्ता मात्र गर्छ । मन्थनभन्दा बढी गन्थन गर्छ । प्रकृतिको सापेक्ष संसारमा निरपेक्ष मूल्यको खोजी गर्छ । आफ्नो अस्तित्वको मूल्य बुझ्दैन, बस्तुको मूल्य तोक्छ अनि, ‘खुसी’ खोज्छ ।

 

वास्तवमै मान्छे पूर्ण हो तर ‘अपूर्ण’ को भावना बोकेरै जीवन सकाउँछ ।

 

(घ)

 

ए मनुवा !

 

‘बास्ना’ महसुस गर्ने हो, नाक डुलाउँदै रागको पिछा गर्ने हैन न कि हावामा खोज्ने । मान्छेको ‘जीवनपद्धति’ यस्तै छ ।

 

बुझ्दैन— ‘सुगन्ध फूलहरूसँगै बिलाउनेछ ।’

 

‘सुगन्धको अस्तित्व फूलमा छ न कि हावामा ।’

 

‘तिम्रो अस्तित्व प्रकृतिमा छ । स्वयंभित्र छ न कि भौतिक दुनियाँमा वा वस्तुमा ।’

 

‘केही स्थायी छैन यहाँ’, केवल भ्रमबाहेक ।

 

अनि भौँतारिरहन्छ—  ‘आफ्नै पाशविक इच्छाको दास बनी’, ठान्छ इच्छाकै प्राप्ति खुसी हो । त्यसैको तरङ्गमा बहनु जीवन हो ।

 

हो, पक्कै पाशविक भित्री इच्छामाथिको विजय कठिन छ । त्यसैले त मायावी जालामा ‘सबै’ अल्झिएका छन् । कहिल्यै उम्कन नसक्ने गरी ।

 

के मान्छे ‘मायावी’ जालाबाट फुत्कन सक्दैन होला त?

 

(ङ)

 

यो वैश्य युग हो ।

 

त्यसैले, सबै ठान्छन्— ‘पैसाले व्यक्तिलाई ‘मान्छे’ बनाउँछ’, अर्थात् सबथोक ‘पैसा’ हो ।

 

‘मानप्रतिष्ठा, पद, ओहोदाले ‘मान्छे’लाई ऊँचो बनाउँछ’, अर्थात् ऊचनीचको वर्गीय भाव खुट्याउँछ  ।

 

मान्छे यै कुरा बुझ्दैन र यही भूल गर्छ । मान्छे— ‘निहित गुणको ‘बोध’ले निर्माण हुने हो न कि भौतिक वस्तुले’

 

तर सबै मान्छे ‘कुइजम’ अर्थात् ‘सम्मोहनको दास’ हुने भएकाले ऊ यसबाट कहिल्यै उम्कन सक्दैन । जुन दिन उसले ‘सम्मोहन’ को बास्ना बिर्सेर जीवन बाँच्न जान्नेछ, त्यही दिन ऊ आफैँ ‘बास्ना’ भई मगमगाउनेछ ।

 

अब तपाईँ नै भन्नोस् ! जीवनको ‘बास्ना’ कहाँ छ?