कन्फेसन

जीवन हिउँदको घाम जत्तिकै सुकिलो छ ।
लेट्स चियर्स !

कैफियत ः

हजुरआमा र बाघ

उतिखेर हजुरआमा बूढी हुनुभएको थिएन । उहाँका औँलाहरू त्योबेला कपास जत्तिकै नरम हुनुपर्छ । ती नरम औँलाहरूले एउटा हावाभन्दा पातलो र सानो शरीरलाई डोर्याउँदै थिए । एकलासको बाटो थियो त्यो । वरिपरि अग्ला र घना रूखहरू थिएनन् । सिरु पो हुन् कि या अरू केही, बाक्ला झाडीहरू थिए । कुनै किशोरीले गलामा पहिरिएकी रङमिल्दो सुन्दर सलको छेउ हावामा लहरिए झैँ त्यो हावाभन्दा पातलो र सानो शरीर हजुरआमासितै लहरिँदै गइरहेको थियो । झाडीहरूको बीचबीचबाट बाटो हिँडेको थियो र प्रत्येक दश पाइलामा मोडिनु पथ्र्यो । अलिबेरमा एउटा मोडबाट मोडिनेबित्तिकै अगाडि एउटा अजङ्गको बाघ देखियो ।

हजुरआमा र म जताबाट आएका थियौँ उतैतिर बेतोडले दौडन थाल्यौँ । कैयौँ वर्षसम्म हामी दौडिरह्यौँ । दौडदादौडदै बिस्तारै हाम्रा हातहरू छुटे र हामी एक–अर्कालाई देख्न नसक्ने भयौँ । दौडदा–दौडदै हजुरआमालाई नदीले बगाएछ र कुन्नि कुन घाटमा लगेर छोडिदिएछ एक्लै । तर हजुरआमाको स्मृति भने आफैँसित बगाएर लगेछ ।

शरद ऋतु

मैले हजुरआमाको आङभरि कपास फुलेको याम, त्यो एकलासको बाटो, यात्रा र अत्यासहरूबारे कैयन् वर्षपछि हजुरआमासित सोधेँ तर उहाँको स्मृति त नदीले बगाएर कुन्नि कुन बिरानो देशमा पुर्याइसकेको थियो । हजुरआमाले त्यसबारे केही भन्न सक्नु भएन । मैले परिवारका अरू सदस्यहरूसित पनि जिज्ञासा राखेँ तर उहाँहरूलाई त यसको छनकसम्म पनि थिएन । उहाँहरूले सायद त्यसलाई मेरो कल्पना या सपना त्यस्तै केही ठान्नु भयो । तर सपना या कल्पनाको प्रदेशबाट उडिआएको पानीफोका हुन्थ्यो त मेरो स्मृतिमा त्यो दृश्य आजपर्यन्त बसिरहने थिएन ।

परमहंस योगानन्दको आत्मकथा पढेपछि मेरो मनमा पूर्वजन्म या पूर्नजन्मको धारणा गहिरो गरी बसेको थियो र सायद यो पनि कुनै अघिल्लो जन्मको छायाचित्र त थिएन भनी बेलाबेला सोच्दथेँ ।

यसरी मैले मेरो जीवनको एउटा प्राचीन स्मृति यथार्थको पटाङ्गिनीमा छोप्नै नसकिने गरी हराएको थिएँ ।

दिदीजस्तै गीतहरू

मनमोहक गोधूलि साँझ हुन्थ्यो । प्रेमको एउटा पृथ्वी अट्ने स्वप्निल आँगन हुन्थ्यो । दिदीजस्तै गीतहरू हुन्थे, गीतहरू जस्तै दिदी हुन्थिन् । मलाई बुइ बोकेर आँगन वरिपरि डुल्थिन् । म सुरम्य फूलहरू बोकेर आकाशै–आकाश दौडन्थेँ । गीतहरू पर फाँटमा मधुर कोलाहलहरू कुल्चँदै दौडेका बालकहरूका नाङ्गा गोडाहरू झैँ कतै दौडिरहन्थे∕गुन्जिरहन्थे ।

मखमली माया दिउँला हो…परेलीमा आई बस न…..
माया… गोदावरी फूल फुल्यो तिमीलाई देख्दा यो मेरो मन भुल्यो…..

गीतहरूको उड्ने गलैँचामा बसेर उड्दै–उड्दै म फेरि कहाँ–कहाँ पुगेँ । बजारमा बुबाले पसल खोल्नुभएको थियो । पसलबाट फर्कँदा बुबा ‘मुना’, ‘सुनकेस्रा’ या ‘गरिमा’ बोकेर फर्कनुहुन्थ्यो । मेरो लागि ‘मुना’को विशेष आर्कषणचाहिँ मध्यपृष्ठतिर छापिने चित्रकथा हुन्थ्यो । म चार वर्ष पूरापूर पुग्दा नपुग्दै मस्तिष्कले अक्षरहरू राम्रैसित उधिन्न सक्थेँ । लीलबहादुर क्षेत्रीको उपन्यास ‘बसाइँ’ चित्रकथामा रूपान्तरण भएर आएको थियो । रिकुटेले झुमालाई मेलामा बोलाउँथ्यो । झुमाभन्दा अघि म पुगिसकेको हुन्थेँ । फेरि गीतको एउटा धर्को कताबाट लहरिँदै आइपुग्थ्यो ।

डाँडैमा मेला लागेछ…. कान्छीले बोलाइराखेछ …….

पञ्चायतका हिमायतीहरू विरुद्ध उनिएको गीति लहरी ‘ठूली’का मन भरङ्ग बनाउने गीतहरू, मोदनाथ प्रश्रितका गीतिनाटक ‘आमाको काखमा’का पंक्तिहरू या बुबाले भाका हालेर सुनाउनुहुने ‘देवासुर सङ्ग्राम’ र माधव घिमिरेको ‘गौरी’का अध्यायहरू….. सबै गीतहरू स्मृतिको मझेरीभरि लुकाछुपी गरिरहन्छन् ।

गीतहरूको उड्ने गलैँचा मसित अझै पनि छ, दिदी पनि छिन् ।

स्मृतिका ती गीतहरू पनि कहीँ हराएका छैनन् । मेरी प्रेमिकाहरू पनि कहीँ हराएका छैनन् । मसित पनि छैनन् ।

मिस्रीको पहाड

बालापन मिस्रीको पहाड हो । बालापनका यादहरू गुलियोहरू हुन् । ती गुलियोहरूमा कतै अराजक कमिलाका गोलाहरू पनि भेटिन्थे । ती कमिलाहरूले चिलेका स्मृतिका अवशेषहरूमा म यदाकदा ठोक्किन पुग्छु । रगत आए जस्तो हुन्छ तर रगत गुलियो हुँदैन ।

चितवन बसाइँ सरेपछि हामी राजमार्ग छेउमै बस्न थाल्यौँ । हाम्रो पसल हाइस्कुल र क्याम्पसको आडमै थियो । म त्यही आडकै स्कुलमा कक्षा दुईमा भर्ना भएर पढ्न थालको थिएँ । हाम्रो हाइस्कुल अगाडि थियो क्याम्पस । क्याम्पस छिरेका कैयौं निरीह झोलाहरूमा उत्तेजित खुकुरीहरू देखेर म अल्मलिन्थेँ । कहिले ती खुकुरीहरू मूर्ख हावाका हातहरूमा पुग्थे र वातावरणमा भयको नमीठो चित्र कोर्थे ।

हाम्रो आवास र पसल एउटै थलोमा थियो । त्यहाँ बसेबापत भाडा तिनुपथ्र्यो । भाडा लिने साहु दिन पुग्नेबित्तिकै आइपुग्थ्यो तर बुबाको हातमा भाडा तिर्न पुग्ने पैसा अझै परिसकेको हुँदैनथ्यो । कतिपय अवस्थामा हामीले घरमा भएका अलि दाम आउने खालका भाँडाकुँडा बेचेर काम चलायौँ । बेच्ने कुरा केही बाँकी नरहेपछि भने हामी साहु भाडा लिन आउने दिन सुटुक्क बाबु–छोरा पसलको ढोका ढप्काएर साइकलमा कता–कता सयर गर्न निस्कन्थ्यौँ । हजुरआमा कुनै कुनामा घर रुँगेर बसिरहनु हुन्थ्यो ।

क्याम्पसको प्राङ्गणमा एउटा सालिक भर्खरै उभिएको थियो । त्यो सालिकमा भएको मानिस ०४६ सालको आन्दोलनमा बाहिर तरकारी किन्न जाँदा गोली खाएर मरेका थिए भनेर सुनेका थियौँ । सालिक उद्घाटन गर्न एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल आए । ठूलो भीडमा हामी केही फुच्चेहरू पनि मिसिएका थियौँ । कसोकसो ती नेताले मसित पनि हात मिलाए । म मखलेल भएँ । हात मिलाएपछि म पछिसम्म पनि उनले मलाई चिनेका छन् भनेर मनमनै मख्ख परिरहन्थेँ ।

उनी अगाडि उभिएर भाषण गर्न थाले । हामीलाई उनको भाषणको केही मतलब थिएन । हामी सहपाठीहरू भीडको पछिल्तिर कतै सियाँलमा बसेर अनेर अड्कलबाजी गरिरहेका थियौँ । कुराकै सिलसिलामा एउटा कुरा मेरो पसलतिर गयो र त्यो कुराले मलाई पसलमा गएर केही गुलियोहरू ल्याएर साथीहरूलाई बाँढ्न विवश गरायो । म पसल अगाडिसम्म त पुगेँ तर पसलमा बुबा बसिरहनु भएको थियो । उतिखेर नचाहिँदो फुर्मास नगर्ने भन्ने नैतिक नियम हाम्रो परिवारमा कडाइका साथ लागु हुन्थ्यो । साथीहरूलाई गुलियो बाँड्न त मैले मागेर पाउने कुरै थिएन । त्यत्तिकै फर्केँ र अलि पर पुगेपछि एउटा उरन्ठ्यौलो जुक्ति र त्यसको साधन पनि जुटाएर म साथीहरू भए ठाउँ गएँ । पोल्टाबाट झिकेर गुलियो मिस्री भन्दै मैले सबैलाई एक–एक टुक्रो दिएँ । खासमा त्यो मिस्री नभएर मिस्री जस्तो देखिने ढुङ्गाका टुक्रा थिए ।

बुबाले सानैदेखि हामीलाई पढाउन जोड दिनुभएको थियो । स्कुलका पाठ्यपुस्तक मात्रै नभएर हामीले अन्य बालपत्रिका र किताबहरू पनि अध्ययन गर्न पाउथ्यौँ । ‘ज्ञानगुन’ सानोमा हामीले सबैभन्दा धेरैपटक सुनेको महान् मन्त्र थियो । एकपटक कक्षा तीनको आन्तरिक परीक्षामा ‘मेरो सेरोफेरो’ विषयमा नेपालको राजधानीको नाम लेख्नुपर्ने प्रश्न आयो । आफू जन्मिएकै ठाउँ भए पनि मैले त्यतिखेरसम्म काठमाडौँको नाम उति सुनेको रहेनछु । प्रायः नेपालसित जोडिएर आएको भारत सुनिरहेको हुन्थेँ । हो न हो, मलाई लाग्यो नेपालको राजधानी भारत नै हो । परीक्षा सकेर आएपछि बुबाले प्रश्नपत्र हेर्दै प्रत्येक प्रश्नको उत्तर सोधिखोजी गर्नुहुन्थ्यो । मेरो उत्तर सुनेपछि बुबाले धेरैबेरसम्म चित्त दुखाएर गाली गरिरहनु भयो । बाटोमा हिँडेका आकाशे रङका सर्टहरू र नीला रङका पाइन्ट∕फर्कहरू धिमा गतिमा हामीतिर ट्वालट्वाल्ती हेर्दै बढिरहेका थिए । सरमले मेरो शिर गर्धनभित्रै खुम्चिएको थियो ।

त्यो मिश्रीको पहाड आज पनि मैले स्मृतिमा बोकेर हिँडिरहेकै छु । यसो कहिलेकाहीँ आफूलाई चाखी हेर्छु । कतै अमिलो पाउँछु, कतै पिरो, कतै तीतो, कतै टर्रो । सायद समयको घर्षणले पग्लिएर सकिए होलान् । आह ! मेरा गुलियोहरू मबाट हराएछन् ।

खाल्डोमा पुरेपछि किताबहरू

अनि एक दिन हामीले रहरलाग्दा, उज्याला अक्षरहरूले भरिएका किताबहरू खाल्डो खनेर पुर्यौँ । खाल्डोमा पुरिएपछि ती किताबहरूले मसित थुप्रै नमिठा गुनासाहरू गरे । कत्तिपटक आँसु लुकाउँदै रोए । तिनीहरू माटोमुनि पिडाले चिच्याइरहे ।

गोर्कीको उपन्यास ‘आमा’को पात्र पाभेल भ्लासोभले पनि किताबहरू खाल्डोमा पुरेको थियो । हामीले त पाभेल भ्लासोभलाई नै खाल्डोमा पुरिदियौँ ।

गाउँको चोक पर्ने ठाउँमा एउटा सार्वजनिक धारो थियो । धारोमा बिहान र बेलुका निश्चित समयमा मात्रै पानी आउँथ्यो । त्यही धारोमा एक दिन हल्लीखल्ली मच्चियो । गाउँकै कसैको सुन हराएको थियो । तिनका अनुसार तिनी बिहान धारामा नुहाउन आएका थिए । घर पुग्दा उनीसित सुन पुगेको थिएन । ती मान्छे पछि धारोमा पानी भर्न बुबा जानुभएको थियो । तिनीहरूले मुखै फोरेर हामीमाथि आरोप लगाउन त सकेनन् तर गाइँगुइँ–गाइँगुइँ चलिरह्यो । बुबा अलिअलि झोक्की स्वभावको मान्छे, आफूले नखाएको विष लाग्ने अवस्था देखिएपछि पुलिस बोलाएर घर खानतलासी गराऊ भन्ने निक्र्यौलमा पुग्नुभयो । घरमा सुन त हुने कुरै भएन तर सुनौला किताबहरू चाहिँ थिए । ती किताबहरू तत्कालीन अवस्थामा पुलिसले भेट्टाएको खण्डमा अर्को आपत आइलाग्थ्यो । देशमा सङ्कटकाल थियो ।

अँ, अनि हामीले एकबिहान झिसमिसेमै घर पछाडि खाल्डो खनेर किताबहरू पुर्यौँ । किताबहरू पुरेपछि प्रत्येक रात ती किताबहरू खाल्डो उधिनेर मेरो सपनामा आउँथे । कहिले माक्र्स बूढा बूढो दाह्री सुम्सुम्याउँदै लट्ठी टेकेर आउँथे र मलाई झपार्थे, तिनका पछिल्तिर अर्का बूढा दाह्रीवाल एङ्गेल्स मलाई घुरेर हेरिरहेका हुन्थे । कहिले विद्यार्थी माओत्सेतुङ लेफ्ट–राइट गर्दै आइपुग्थे र किताबहरूको उत्खनन् गर्ने उर्दी दिन्थे । कहिले मिखाइल शोलोखोभ छिटोछिटो चुरोट तान्दै धूवाँ मतिर फालिरहेका हुन्थे ।

केही दिनपछि पूर्वउल्लेखित चोरीको मिथ्या आरोप सामसुम भएपछि दिदी र मैले किताबहरू खाल्डोबाट निकाल्यौँ । पुर्दा हतारमा सावधानी नअपनाई पुरेका हुनाले कागजहरू सडिसकेका थिए । तै पनि धुकधुकीसम्म बाँकी रहेका घाइते किताबहरू हामीले निकाल्यौँ र हाम्रै आँगनमा घामको अस्पतालमा भर्ना गरायौँ ।

यसरी माटोमुनि मेरा केही थान अक्षरहरू लोप भए । ती हराएका अक्षरहरूको अभाव अझै खड्किरहन्छन् ।