नेपालीमा एउटा उखान खुब प्रचलित छ, “बाबुआमाको माया छोरा छोरीमाथि छोराछोरीको माया ढुङ्गामुढामाथि” । मलाई पनि बाबुआमाको चिन्ता नभएको त कहाँ हो र ! तर पनि परिवारको एक्लो छोरो भएपछि आफ्ना इच्छाहरू पनि मारेर परिवारका लागि त्याग गर्नुपर्छ । कोभिड १९ को पहिलो लहरमा भएको झन्डै ६ महिनाको बन्दाबन्दीमा खासै केही काम गर्न नसकेकाले दोस्रो लहरमा काठमाडौँदेखिको धेरै टाढा रहेको पश्चिम पहाडको खिवाङ गाँउ जाने कुनै योजना थिएन । छिमेकी मित्रराष्ट्रमा कोभिडको दोस्रो लहरले भयानक अवस्था सिर्जना गरिरहेको अवस्थामा  नेपालमा पनि सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थाल्दा २ दिन घर जाने समय दिँदै वैशाख १६ गते बाट निषेधाज्ञा घोषणा गर्ने निर्णय गऱ्यो ।

काठमाडौँमा धेरै आफन्तहरू हुँदा पनि एक्लै बसिरहने एकान्तप्रेमी मलाई परिवार र आफन्तहरूले एकलकाटे भनिरहन्थे । हर जमघटमा ममाथि सबैले यही उपनाम दिन्थे तर मलाई राम्रोसँग थाह थियो म एकलकाटे होइन मेरो मनमौजी जीवन हो । परिवारदेखि टाढा बसेकाहरूलाई कहिले घर जाने दिन आउला भन्ने हुन्छ । आफ्नो प्यारा बाआमा र छिमेकीसँग समय बिताउन पाउने र आफ्नै बारीमा फलेका अर्गानिक सागसब्जी उपयोग गर्न पाउने हुदाँ घर जानेबेला मेरो मन चञ्चल हुन्छ । घर जाने सोचेदेखि नै मन फुरुङ्ग हुन्छ । पुस्तक लभर हुनुका नाताले ५/७ वटा पुस्तक पनि प्याक गरेँ । गाउँघरमा मोबाइल नेटवर्कबाट राम्रो इन्टरनेट नचल्ने र वाइफाइ नामको जन्तुको खोजी गर्न २/३ घण्टाको यात्रा गरेर पालिकाको कार्यलय पुग्नुपर्ने भएकाले उपलब्ध भएसम्मका अडियोबुक र किन्डलमा केही अङ्ग्रेजी किताब पनि सङ्कलन गरे ।

विश्वास ढकाल

बिहान ७ बजे जमलबाट बस छुटने तालिका भएकाले बिहान सखारै उठेर तयार भएर घरबेटी काकासँग बिदा भएर घरतर्फ प्रस्थान गरे । मनमैजुबाट जमल जाँदा गणेश मन्दिर पार हुँदै गर्दा मनमनै भगवान्सँग प्रार्थना गरेको थिएँ सिटको साइडमा राम्री, रसिली केटी परोस्  यात्रा रमाइलो हुन्छ भनेर ।  हुन पनि २५ मिनेटको हवाइ यात्रा भए पो एकछिनमै सकिन्थ्यो । बसको यात्रा पऱ्यो नत्र कसरी पार गर्नु ? काठमाडौँका रोडहरूमा बिहानैदेखि गाडीको चाप बढिरहेको थियो । राजधानी छोड्नेको लर्को लामो थियो र साथको पोका पुन्तराहरू देख्ता मान्छेहरू अब काठमाडौँ नफर्कने गरी सहर छोड्न लागेकोजस्तो भान हुन्थ्यो । बसको टिकट चेक गरेर यात्राका लागि पानी र खाजा किन्न निस्किएँ । त्यतिबेलासम्म सिट पार्टनर आइपुगेको थिएन । फर्कँदा सिटमा थिइन् भरिलो यौवनले भरिएकी एक सुन्दरी युवती ।

बसले जमल, सुन्धारा, त्रिपुरेश्वर हुँदै कलङ्कीतिरको यात्रा तय गऱ्यो । साइडमा एक सुन्दरी । गर्मी मौसममा खुलेको उनको यौवनले मनमा कुतकुति लगाइरहेको थियो । घरी बोल्न सुरु गरूँझै लाग्दै थियो तर के बोल्ने ? कुरा कहाँबाट सुरु गर्ने ?  एक अपरिचित सुन्दरी साथमा हुँदा गरुडको अगाडि परेको साँपजस्तै भएँ म । बसले थानकोटको ओरालो लागेपछि मनमा अनेक तर्कनाहरू खेल्न थाले । बसको एलसिडीमा बजेको प्रेम प्रकाश मल्लको ‘माछापुछ्रे फेवातालमा पैडी खेल्दो रछ पोखरा त साँच्चिकैको पोखरा नै रैछ’ भन्ने गीतले मलाई पोखरा पुऱ्याइसकेको थियो । पोखरादेखि बेनी हुँदै खिवाङसम्मका यात्राका मनोरम प्राकृतिक वातावरण र माछापुच्छ्रे र धौलागिरि हिमाल र गाउँले परिवेशले मेरो मन उक्त पहाडी परिवेशमा रम्न थालिसकेको थियो । धौलागिरि हिमालबाट बहने चिसो हावाले मेरा शरीरभरि स्पर्श गरिरहेको भान भैरहेको थियो ।

गाउँमा विचरण गरिरहँदा एक्कासि मेरो नजर तीनै युवतीको हातमा रहेको पुस्तकमा गएर अड्कियो । मेरो छातीको गति तेजले धडकिन थाल्यो । लाग्यो मेरो छातीको धड्कन उनै किसोरीले सुनिरहेकी छिन् । म भिजेको मुसाझैँ लुत्रुक्क भए । उनको हातमा थियो स्यान्डी लिनको “वन नाइट इन लन्डन” ।  म अचम्मित भएँ मसँग भएको पुस्तक यो केटीको हातमा कसरी आयो ? हत्तपत्त मैले मेरो झोला चेक गरे मेरो पुस्तक त मसँग नै छ । लामो स्वास फेरेँ र भगवान्लाई धन्यवाद दिए । मेरो पुस्तक उनको हातमा देख्ता एकछिन त लागेको थियो बेसरी झपारूँ फेरि त्यहीबेला मेरो चेत खुल्यो उसले मेरो ब्यागबाट कसरी पुस्तक निकाल्न सक्छे ?  ऊ आफैँले किनेकी हुन सक्छे नि यही विचारले म ब्याग खोल्न बाध्य भएको थिएँ । ब्यागमा त्यही पुस्तक देखेपश्चात् आफैँ लाजले रातोपिरो भएँ ।  भगवान्लाई फेरि धन्यवाद दिएँ आफूलाई एकछिन रोक्न सकेकोमा नत्र अप्रिय अवस्था आउन सक्थ्यो ।

पुस्तककै माध्यमबाट हाम्रो कुराकानीको सुरु भयो । उनी स्यान्डी लिनको विषयमा कुरा गर्न थालिन् । कस्तो संयोग मैले पनि यही पुस्तक बोकेर हिँडेको छु । उनीसँग भएको पुस्तक र लिनको अरू पुस्तकहरू हार्वर फल्स, द नेक्स्ट टु मी, फरइभर अस लगायतका पुस्तक पढिसकेको थिएँ तर यो पुस्तकले मेरो मन लुट्न सफल भएकाले अक्सर यात्रामा यो पुस्तक छुट्दैन ।  मलाई यो पुस्तकलाई वन नाइट इन लन्डन भन्दा पनि सेक्स विथ स्ट्रेन्जर भन्ने टाइटल उपयुक्त लाग्छ । नेपाली यौन कथा पुस्तकहरू जुन मलाई सपनले स्कुलका अन्तिम दिनहरूमा पढाएको थियो हो त्यस्तै लाग्छ । मन फ्रेस गर्ने उत्तम पुस्तक हो मेरो नजरमा यो पुस्तक । एक अपरिचित व्यक्तिसँगको सम्बन्धले प्रमुख पात्रको जीवनमा परिवर्तन भएको देख्न पाइन्छ । पुस्तकमा देखिने प्रेम, धोका र रोमान्सले गर्दा नै स्यान्डी युवाहरूको ढुकढुकी बन्न सफल भएझैँ मलाई लाग्छ । लामो समयसम्म जाम हुदाँ करिब ५ घण्टाको काठमाडौँ पोखराको यात्रा आज ९ घण्टाभन्दा बढी लागिसकेको थियो तर पनि यौवनले उन्मत्त युवती र उनीसँगको पुस्तक वार्ताले यात्रा खुब आनन्ददायक भएको थियो ।

मलाई लाग्ने गर्थ्यो म खुब पढ्नमा इच्छुक छु र पढिरहेको हुन्छु तर त्यो मेरो भ्रममात्र रहेछ । उक्त युवतीसँग पुस्तकवार्ता हुँदै जाँदा स्यान्डी लिन हुँदै मार्खेजको वन हन्ड्रेड इयर अफ सोलिट्युड, हर्मन हेजको सिद्धार्थको कुरा गर्दा उनी आध्यात्मिक बनिसकेकी थिइन् । उनीसँगको संवादले मैले बिल्कुल थोरै पुस्तक पढेँझैँ लाग्न थाल्यो । मेरो अहम्ताको ताल फुटाउन उनी सफल भइन् । मालिका केशरीको सुवर्णलताको कुरा गर्दा उनी डोल्पाका गाँउगाँउमा पुगेर त्यहाँका बस्तीहरू र बासिन्दाहरूसँग भलाकुसारी गर्न थालिसकेकी थिइन् । सुवर्णलता मलाई पनि छुन सफल भएको पुस्तक भएको नाताले यो पुस्तकमा हामी बढी नै गफियौ । परिवारको खुसीका लागि सत्य र निष्ठाका साथ काम गरिरहेका अनुका बाबुको कारुणिक अन्त्यले हर कोहीको मन अमिलो हुन्छ । बालिका उमेरमा नै यौन शोषणको चपेटामा परेकी अनुले दमिनी चौरको कथा भनिरहँदा कस्को पो आँसु नझर्ला र ? बस्तुतः हाम्रो समाजमा यौन र यससम्बन्धी कुराहरू वञ्चित प्रायः छ । आफ्ना बालबालिकाहरूलाई यससम्बन्धी ज्ञान दिन सकेमा मायाको बहानामा हुने यौन शोषणमा पक्कै पनि कम हुन्थ्यो कि भन्ने लाग्छ । कुनै पत्रिकामा मैले पढेथेँ अब आफ्ना केटाकेटीलाई अङ्कल ह्वाई ब्याड टच भनेर भन्न सिकाउनुपर्छ । राम्रो विद्यालय पढाएरमात्र हुँदैन सबै व्यवहारिक कुराहरू सिकाउनुपर्छ तब महिला सशक्तीकरण हुन्छ भन्ने कुरामा हामी सहमत भयौँ । उनीसँगको उक्त पुस्तक वार्ताले मलाई फेरि पनि यो यात्रा उपलब्धिमूलक भएको आभास दिलायो ।

उनी चर्चित ब्राजिलियन लेखक पाउलो कोइलोको इलाभेन मिनेट्सको कुरा गर्दा आफैँले जिब्रो टोकेको थिएँ । पढेकोमध्ये मलाई पटक-पटक २४० भोल्टको करेन्ट लगाउन सफल पुस्तकका बारेमा उनले खुलेर उक्त वेश्या पात्रको चर्चा गरिरहँदा मैले उक्त पुस्तक पढ्दै गर्दा आफ्नो मन बुझाउन नसकी पटक-पटक गरेको हस्थमैथुन सम्झिँदै लजाएँ । अक्सर सेक्सको कुरा सुन्दा तथा पढ्दा मेरो शरीरको तापक्रम बढ्छ, नशा बढेर आउँछ र शरीरमा नयाँ रक्त सञ्चार हुन्छ । विश्वेश्वरप्रसाद कोइरालाले भनेझैँ यात्रामा बसको अन्तिम सिटलाई नै ओछ्यान बनाएर उनीसँग रासलीला  गरिरहेको कल्पना गरिरहेको थिएँ तर पहिलो भेटमा नै यौन क्रीडाको आशा गर्नु मेरा लागि आकाशको फल आँखा तरी मर भनेजस्तै थियो । घरी-घरी त लाग्थ्यो चेतन भगतको हाफ गर्ल फेन्डजस्तै रखौटी बनाएर राखूँ ।

बसका अन्य सिटका यात्रीहरू पहिलो लहरका कोरोना भाइरसलाई चाइनिज मालको संज्ञा दिँदै “मेड इन चाइना आज छ भोलि छैन” भन्दै हाँसिरहेका थिए । फेरि भारतमा पारेको असरले कमजोर स्वास्थ्य प्रणाली भएको नेपालमा बेलायती म्युटेन्टले विनाश गर्ने भन्दै गम्भीर भैरहेका पनि थिए तर मलाई उनीहरूको कुराले कुनै प्रभाव पारेन । कोरोना सङ्क्रमणको डरका कारण माक्स लगाएकी उनको अनुहारलाई खाजा खाने समयमा मलेखुमा खाजा खाँदै गर्दा हेरेर चित्त बुझाउनुपऱ्यो । अझ रमाइलो कुरा त युवतीसँगको कुराकानी र युवतीको खुलेको यौवनले विकास भएको प्यास मेटाउन जिन्दगीमा पहिलोपटक यात्राका बिच बाटोमा लामो समय शौचालय बस्नुपऱ्यो ।

यात्राका क्रममा गोविन्दबहादुर मल्ल गोठालेको पल्लो घरका झ्याल, पारिजात, विश्वेश्वरप्रसाद कोइराला र नयाँ पुस्ताका लेखकहरू बुद्धिसागर र सुबिन भट्टराईका कृतिहरू, किशोर नेपालको सहरको कथा, नारायण वाग्लेको पल्पसा क्याफे सम्मको छलफल भयो । राधा पौडेलको खलङ्गामा हमलाको कुरा गरिरहँदा जनयुद्धको नाममा भएको मानव हत्याको विषयमा उनको र मेरो बिचमा फरक धारणा देखिँदा एकछिन खरो बहस पनि भयो । मैले माओसेतुङको रिभोलुसन इज नट अ डिनर पार्टी भन्ने भनाइको साहरा लिएर आफू पहाडमा जन्मे हुर्केको र उक्त युद्धबाट धेरै कष्ट सहनु परे तापनि ग्रामीण आम नागरिकमा चेतनाको स्तर विकास गर्न सकारात्मक प्रभाव पारेको कुरा व्यक्त गरेँ । फेरि त्यही द्वन्द्व लेखकहरूका लागि खुराख भएको तथ्यलाई उक्त युद्धको कथामा आधारित पल्पसा क्याफे, खलङ्गामा हमला जस्ता कृतिले प्राप्त गरेको मदन पुरस्कार र छापामारको छोरा, सिपाहीको डायरी लगायतका दर्जनै कृतिहरूको ख्यातीले द्वन्द्वलाई बहुआयामिक तवरबाट हेरिनुपर्ने धारणमा उनी अन्ततोगत्वा सहमत भएकी थिइन् ।

उनी ताल चोकमा झरिन् म अगाडि बढेँ । आजको यात्रा विल्कुल फरक र रमाइलो भएको हुदाँ यात्रा चाँडो सकिएको आभास भयो । अक्सर आफ्ना मान्छेहरूसँग यात्रा गर्दा समय बितेको पत्तै हुँदैन आज मलाई पनि त्यही भएको थियो । उनी मेरो आफ्नो त थिइनन् तर उनीसँगको यात्राले मलाई उच्च आनन्द प्रदान गरेको थियो । लागिरहेको थियो उनीसँगको यात्रा कहिले नटुङ्गियोस तर समयलाई रोक्न सकिने कुरा पनि त भएन । उनीसँग अझै बढी पुस्तकवार्ता गर्न मन लागिरहेको थियो । उनी झरिसकेपछि पो सम्झेँ यति लामो छलफल गरेको मान्छेको बारेमा केही सोध्न नै बिसेछु । धेरै कुरा भयो तर परिचय नै भएन । लाग्यो “वन नाइट इन लन्डन”मा जस्तै भयो धेरै कुरा भयो तर चिनजान भएन । उनीहरू लन्डनमा थिए, यौन आनन्द लिए । हामी नेपालमा थियौँ पुस्तकयात्रा भयो । संयोग मिल्दो छ । उनी गएपछि मलाई उनको खुब याद आयो, न त उनको नाम ठेगाना याद छ न हुलिया । यत्तिकैमा सकियो हाम्रो पुस्तकयात्रा ।