उठान

भाषाको विकास र उन्नयनका लागि छलफल, बहस र विमर्श आवश्यक मानिन्छ तर बहसका नाममा नेपाली भाषालाई सधैँ विवादित बनाइएको छ । मूलतः ह्रस्व-दीर्घ, पदयोग र पदवियोगलगायत समग्र वर्णविन्यासका सन्दर्भमा नेपाली भाषाविद्हरूबीच मतैक्य हुन नसक्ता नेपाली भाषा लेखनमा अन्योल सिर्जना भइरहन्छ । सबै विवादित विषयलाई पन्छाएर पदयोग र पदवियोगसम्बन्धी सामान्य नियमलाई यस लेखमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

सामान्य नियम

१. विभक्ति जोडेर लेखिन्छ ।

–          ले, लाई, बाट, द्वारा, देखि, को, का, की, मा जस्ता विभक्ति अघिल्ला शब्दसँग जोडेर लेखिन्छ ।

उहाहरणका लागि : आमाले बिस्कुन सुकाउनुभयो । देशलाई माया गरौँ । प्रधानमन्त्रीबाट संविधानको उल्लङ्‍घन भएको आरोप लगाइएको छ । देशमा रोजगारीका प्रशस्त अवसर प्राप्त हुनुपर्छ ।

–          ध्यान दिनुपर्ने : लागि, निम्ति, निमित्त शब्दभन्दा अगाडि आउने शब्दमा विभक्ति लागिसक्ने हुनाले यिनलाई पदवियोग गरेर लेखिन्छ । लागि/निम्तिभन्दा अगाडि षष्ठी विभक्ति (को-का-की-रो-रा-री-नो-ना-नी) लागिसकेको हुन्छ ।

उदाहरणका लागि : मेरा लागि । देशका निम्ति । आफ्ना लागि ।

 (थप : लागि/निम्ति/निमित्त अन्य शब्दसँग नजोडिने भएकाले कतिपय भाषाविद्हरूले यिनलाई विभक्ति मान्न नसकिने तर्कसमेत गर्दछन् ।)

२. क्रियापदसम्बन्धी पदयोग र पदवियोग

क.     कालका अपूर्ण पक्ष र पूर्ण पक्षभन्दा पछाडि लाग्ने क्रियापद पदवियोग गरिन्छ ।

जस्तै : जानुभएको छ । गरेको छ । जाँदै छ । गर्दै छ । हुँदै छ । गर्दै हुनेछ । भएको छ । देखिएको छ । गरेको छैन । भएको छैन । आउनुभएको छैन । जाँदै थियो । भएको थियो । छोराले पढ्दै छ । सूर्य अस्ताउँदै छ । हवाइजहाज उड्दै थियो । हामी भोलि आउँदै हुनेछौँ ।

ख.     एउटै कार्य जनाउने अथवा संयुक्त क्रियापद पदयोग हुन्छन् ।

उदाहरणका लागि : खाइसक्यो । गइसक्यो । लेखिसकेछ । भइसकेछ । गर्नुभयो । जानुभयो । गर्नुपर्छ । पढ्नुपर्छ । लेखिहालिसकेछ । गरिदिनुहोस् । खाइदिनुहोस् । आइदिनुहोस् । गर्नुहोस् । दिनुहोस् । आइहाल्नुहोस् । लेखिदिनुहोस् । गरिदिइहाल्नुपर्छ । आदि ।

 तर फरक कार्य जनाउने भएमा पदवियोग गर्ने । जस्तै : खाना खाई जानुहोस् । (खाई = खाएर) ।

ग.       गर्नुपर्छ/जानुपर्छ/खानुपर्छ जस्ता संयुक्त क्रियापदलाई अकरण बनाउँदा निम्नअनुसारका दुवै रूप प्रयोगमा
छन् :

गर्नुपर्दैन/गर्नु पर्दैन । जानुपर्दैन/जानु पर्दैन । खानुपर्दैन/खानु पर्दैन ।

घ.      नामिक क्रियासँग आउने नाम अलग्गै डिकामा लेख्नुपर्छ ।

जस्तै : मन पर्नु, भर पर्नु, हाम फाल्नु, चित्त दुखाउनु, मुटु पोल्नु आदि ।

३. नामयोगी (सँग, सित, भन्दा, तिर, तर्फ, मुनि, खेर, भित्र, बाहिर, बाहेक, झैँ, अनुसार, बित्तिकै, भरि, नेर, निर, समक्ष, सामु, सम्बन्धी, बमोजिम, बारे, पछि, समेत, सहित, लगायत, मार्फत आदि) सामान्यतः नाम वा सर्वनामसँग जोडेर लेखिन्छ ।

उदाहरणका लागि : तिमीसँग गोप्य कुरा गर्नु छ । संविधानअनुसार शासन सञ्‍चालन गरियोस् । देशमा भ्रष्टाचारबाहेक अरू केही छ भन्ने लाग्छ ? घरबाहिर । आमासित । मभित्र । पढेपछि उत्तीर्ण भइन्छ । हामीझैँ हर्षले बाँच्ने को होला र संसारमा ! ऊजस्तै बन्न नखोज, तिमी तिमी नै बन । ..सम्माननीय सभामुखमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

ध्यान दिनुपर्ने : नामयोगीभन्दा अगाडि विभक्ति लागिसकेको भए अथवा नामयोगी नै प्रयोग भइसकेका खण्डमा पछिल्लो नामयोगी पदवियोग गरी लेखिन्छ ।

जस्तै : घरभन्दा माथि/बाहिर । जङ्‍गलको छेउ । कार्यालयबाट भित्र । प्रधानमन्त्रीका अनुसार । हामीले झैँ दुःख कसले भोगेको होला र !

४. अकरण जनाउने वा निषेधात्मक “न” पदयोग हुन्छ ।

जस्तै : गर्नुहोस् । गरेछ । सक्दैथ्यौँ । गएछौ । गर्दैनथ्यो ।

५. विभाजकका रूपमा भूमिका खेल्न आउने “न” पदवियोग गर्नुपर्छ ।

जस्तै : निल्नु न ओकल्नु । न दिन न रात । न साँझ न बिहान । न राम न सीता । तातो न छारो ।

६. निपातका रूपमा आउने “न” पदवियोग गर्नुपर्छ ।

जस्तै : तिमी मेरो जीवनमा आऊ  । ध्यान दिएर पढ  । नरिसाऊ  बाबु ।

७. संयोजक (र, तर, पनि, तथापि, यद्यपि, त्यसैले, साथै, कि आदि) पदवियोग गरेर लेखिन्छ ।

उदाहरणका लागि :  भ्रष्टाचारीहरू देश  जनताका शत्रु हुन् । धन आर्जन गर तर भ्रष्टाचार नगर । म पनि भाषिक शुद्धीकरण अभियानमा संलग्न छु । तिमी कवि हौ कि सङ्‍गीतकार ? बोली रुखो भए पनि उनको मन स्वच्छ छ ।

८. निपात (त, न, पो, नै, ए, र, है, क्यारे आदि) पदवियोग गरेर लेखिन्छ ।

उदाहरणका लागि : म  जान्नँ, तिमी नै जाऊ । ए, सरकार  ढलेछ है । ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्‍क्षा पूरा नहोला  ?

निपातका रूपमा आउने “नै” अघिल्लो शब्दसँग सन्धि भएमा एउटै डिकामा लेख्‍नुपर्छ । जस्तै : छोरो नै आयो = छोरै आयो । बाटामा नै भेटौँला = बाटामै भेटौँला/बाटैमा भेटौँला ।

९. संयुक्त क्रियापदका बीचमा निपात आएमा पदवियोग गर्नुपर्छ ।

जस्तै : पढ्नु नै पर्छ । तिमी आइ पो सक्यौ ? भ्रष्टाचार अन्त्य हुनु  पर्ने हो ।

१०. संयुक्त क्रियामा आउने कृदन्त अंशलाई पदवियोग गरी लेखिन्छ ।

जस्तै : जानु छ । गर्नु छ । जान सक्छ । खेल्न सक्छ । आउन सक्छ । गर्नु थियो । हुन सक्छन् । खान हुन्छ । जान हुन्छ । हिँड्न सक्थ्यो । खाए हुन्थ्यो । देखाए होलान् । हेरेको हेर्‍यै । सुनेको सुन्यै । खान आऊ (खानका लागि आऊ) ।

११. अव्ययका रूपमा प्रयोग हुने निम्न शब्दहरू आफूमा पदयोग हुन्छन् ।

जस्तै : तापनि, तैपनि, किनभने, वरिपरि, वरपर आदि ।

१२. विस्मयादिबोधक अव्ययहरू पदवियोग गर्नुपर्छ ।

जस्तै : ला ! भुल भएछ । हे दैव ! धत् मूर्ख ! स्याबास् छोरी !

१३. उपसर्ग (उप, आ, सह, गैर, बे, स, परा, वि आदि) पदयोग गर्नुपर्छ ।

जस्तै : उपसचिव, सहसचिव, गैरकानुनी, गैरआवासीय नेपाली, बेकाम, बेकार, पराकाष्ठा आदि ।

१४. द्वित्वका माध्यमबाट बन्ने शब्दहरूको पदयोग र पदवियोग

क.     आंशिक तथा आपरिवर्तित द्वित्वका माध्यमबाट बनेका शब्द पदयोग गर्नुपर्छ ।

–          आफ्नो+आफ्नो = आ-आफ्नो (आआफ्नो)

–          साना+साना = स-साना (ससाना)

–          झगडा+झगडा = झैँ-झगडा (झैँझगडा)

–          सुन+सुन = सुनैसुन

–          हात+हात = हातपात

–          पालो+पालो ‍= पालैपालो

–          पैँचो+पैँचो = ऐँचोपैँचो । आदि ।

ख.     अनुकरण जनाउने द्वित्व शब्द पदयोग गरेर लेख्नुपर्छ ।

जस्तै : फनफन, घ्वाँरघ्वाँर, प्यारप्यार, खुरुखुरु, धुरुधुरु, लहलह, कलकल, छमछम आदि ।

ग.       सार्थक द्वित्वबाट बनेका शब्द पदवियोग गर्नुपर्छ ।

आऊ आऊ । जाऊ जाऊ । ऊ त आउँछ आउँछ । भन भन । छिटो छिटो गर । गाउँ गाउँ नडुल । ठाउँ ठाउँ । कुन कुन । के के । जुन जुन । जति जति । जहाँ जहाँ । आदि ।

१५. कोटिकर जनाउने शब्दहरू पदवियोग गर्नुपर्छ ।

एक जना, दश थरी, तीन माना, चार पाथी, एक भारी (घाँस) आदि ।

१६. समस्त शब्द (समासबाट बन्ने शब्द)

क.     सामान्यतः समस्त शब्द पदयोग गर्ने ।

–          राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री, गृहमन्त्री, शिक्षामन्त्री, प्रधानाध्यापक, विश्‍वविद्यालय, प्रजातन्त्र, दाजुभाइ, आमाबुवा, भाइबुहारी, पूजाकोठा, देशनिकाला, जेठीसासू, घरज्वाइँ, भान्जादाइ (भान्दाइ), भान्जीबुहारी, सानीआमा (सानिमा), दिदीबहिनी, केटाकेटी, छोराछोरी आदि ।

 (अपवादका रूपमा : प्रधान न्यायाधीश)

ख.     पदयोग गरेर लेखिने चर्चित सङ्‍गठन/संस्थाहरू : गाउँपालिका, नगरपालिका, महानगरपालिका, उपमहानगरपालिका तर गाउँ कार्यपालिका र नगर कार्यपालिका यसरी लेखिन्छन् ।

ग.       दुईभन्दा बढी शब्द मिलेर बन्ने समस्त शब्द पदवियोग गर्ने ।

–          नेपाल प्रज्ञा प्रतिष्ठान, लोक सेवा आयोग, राष्ट्रिय अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय ट्रमा सेन्टर, स्थानीय न्यायिक समिति, जिल्ला समन्वय समिति, राष्ट्रिय समाचार समिति, केन्द्रीय तथ्याङ्‍क विभाग, नगर विकास कोष, रेलवे स्टेसन आदि ।

१७. विशेषण विशेष्ययुक्त शब्दलाई सामान्यतया पदवियोग गरी लेखिन्छ ।

जस्तै : सुन्दर बालक, सेतो परेवा, कालो टोपी, सानी बहिनी, सानो भाइ, ठुली आमा आदि ।

ध्यान दिनुपर्ने : दुई शब्द मिली एकार्थी भई लामो समयदेखि प्रचलनमा रहेका समस्त शब्द र विकार भएका शब्दलाई पदयोग गरेर लेखिन्छ । जस्तै : शुभकामना, प्रधानमन्त्री, कालीमाटी, माल्दाइ, भान्दाइ, सान्दाइ, ठुल्यामा आदि ।

१८. व्यक्तिका नाम

–          नाम र थर छुट्टाछुट्टै लेखिन्छन् । जस्तै : फुर्वा शेर्पा । राजेन्द्र महतो । हरि प्रधान ।

–          एउटै व्यक्तिका एकभन्दा धेरै थर छन् भने पनि छुट्टाछुट्टै लेख्ने । जस्तै : विमला राई पौड्याल । उदया शर्मा पौडेल ।

कतिपयले स्वेच्छिक थरलाई कोष्ठकमा समेत लेख्दछन् । जस्तै : पार्वती रावल (थापा) ।

–          नामका पछाडि आउने बहादुर, प्रसाद, कुमार, कुमारी, देवी आदि शब्दलाई सामान्यतः पदयोग गर्ने ।
जस्तै : हरिबहादुर । गङ्‍गाप्रसाद । लक्ष्मीदेवी । हिमकुमारी । मनोजकुमार ।

–          उल्लिखित शब्दहरू नै थर भएका खण्डमा पदवियोग गर्ने । जस्तै : डा. राजेन्द्र प्रसाद । राम कुमार ।
मैया देवी । प्रमिला कुमारी । (यहाँ प्रयोग भएका प्रसाद, कुमार, देवी  कुमारी थर हुन् ।)

–          व्यक्तिगत नाम लेख्‍न व्यक्ति स्वतन्त्र हुनुपर्छ भन्ने मान्यताका साथ कतिपयले प्रसाद, बहादुर आदिलाई पदवियोग गरेर पनि लेख्दछन् । जस्तै : मृगेन्द्र कुमार सिंह यादव, गोपी बहादुर सार्की आछामी (राष्ट्रिय सभा सदस्य) ।

१९. अन्य महत्त्वपूर्ण जानकारी

–          कुनै सङ्‍ख्याभन्दा पछाडि आउने विभक्ति वा नामयोगी पदवियोग गर्ने ।

जस्तै : २०७२ सालको भूकम्पका कारण ढलेको धरहरा वि.सं. २०७८ मा पुनः उठ्यो ।

३ ले भाग जाने सङ्‍ख्याहरू कति होलान् ? मेरी छोरी कक्षा १२ मा पढ्छिन् ।

–          अन्य भाषा वा लिपिसँग विभक्ति वा नामयोगी वियोग गर्ने ।

जस्तै : Google मा सूचना पाइन्छ तर ज्ञान पाइँदैन । America ले आतङ्‍कवादविरुद्ध कडा कदम चाल्ने घोषणा गरेको छ । Corona Virus बाट जोगिऔँ । (यी प्रतिनिधि उदाहरण हुन् । यिनलाई देवनागरीमा नै लेख्‍न सकिन्छ ।)

–          बहुवचनका रूपमा आउने “हरू” जोड्ने । जस्तै : चराहरू, रुखहरू, देशहरू, उनीहरूको, बच्चाहरूको, केटाहरूलाई आदि ।

–          चिठी-पत्रमा अधिकतर प्रयोग हुने पदहरू यसरी लेख्नुपर्छ : गरिदिनुहुन । पठाइदिनुहुन ।
मगाइदिनुहुन । आदि ।

बैठान

यस लेखका माध्यमबाट पदयोग र पदवियोगसम्बन्धी अन्योललाई केही हदसम्म भए पनि  न्यूनीकरण पार्न सहयोग पुग्ला भन्ने आशा गर्न सकिन्छ । प्रस्तुत लेखमा त्रुटि भेट्नुभएमा सुधारका लागि अवसर दिनुहुन अनुरोध छ ।