नवाेदित लेखककाे उत्कृष्ट एक कृतिलाई प्रदान गर्नेगरी साहित्यपाेस्ट अनलाइन पत्रिकाले यसै वर्षदेखि स्थापना गरेका “साहित्यपाेस्ट उत्तम कृति पुरस्कार”काे उत्कृष्ट तीनमा परेकाे कृति रहर । रहर पढ्ने रहर मलाई पनि थियाे अघिबाटै, तर लकडाउन सुरू भएपछि मात्र समय जुर्याे । ।
रहर सुरेश बडालकाे कथासङ्ग्रह रहेछ । पुरस्कारकाे उपाधि हात पार्न चुके पनि यस कृति पुरस्कारकाे बलियो दाबेदार भएर नै नेपाल विद्या र मर्फिनसँगै उत्कृष्ट तीनमा पर्न सफल भएकाे हाे । अचम्मलाग्दाे चाहिँ के छ भने, खारिएका लेखक बडालकाे पुस्ताकाकारकाे रूपमा याे पहिलाे प्रकाशित कृति हाे ।
“रहर” ती तमाम कथाहरुको सङ्ग्रह हाे, जसले तपाईँलाई तपाईंको बालापनमा पुर्याइदिन्छ, अनि सम्झना गराउँछ आमाको न्यानो काख, बुवाको गालीमा पनि लुकेको त्यो आत्मीयता, हजुरबा र हजुरआमाको प्यारो माया अनि संसार बिर्साउने लाडप्यार, सँगै दिदीको झर्कोफर्कोमा लुकेको माया पनि । कहिल्यै म तिमीलाई माया गर्छु नभनेर पनि माया गरिरहने र हामीलाई प्रगतिपथमा हिँड्न सत्प्रेरणा र दिशानिर्देश गर्ने ती समस्त जनहरूको । किशोरवयका स्वैरकल्पनाहरु स्मरण गराउँछ, कहिले आनन्दानुभूति गराउँछ त कहिले बेस्सरी भित्रैदेखि निचोरी दिन्छ, सजिलै हाम्रो मनमष्तिस्कमा यसका चरित्रहरुले डेरा जमाउँछन् । किनभने यसका पात्रहरुले हाम्रै जीवन जिइरहेका र हाम्रै कथाहरु बताइरहेको अनुभव तपाईंले गर्नुहुनेछ ।
“रहर”मा विभिन्न शीर्षक दिएर सरल अनि सरस भाषामा बडो कलात्मक तरिकाले कथाहरु पस्कने सफल प्रयत्न लेखक सुरेश बडालले गर्नुभएको छ । यसका कथाहरु जीवन्त लाग्छन् । एकचोटि पढ्न बस्नुभयो भने नसकी उठ्न मनै लाग्दैन । बसिरहेको समाजको यथार्थ चित्रण, हाम्रो पारिवारिक संरचना अनि एउटा मध्यमवर्गीय परिवारका सङ्घर्ष र कथा, कमजोर आर्थिक अवस्थाको नमिठो अनुभवसँगै आफूभन्दा अगाडि आफ्नो सन्तानको खुसी र हासोलाई दिइएको प्राथमिकता यसमा समाहित विषयवस्तु रहेका छन् ।
कुनै पनि पुस्तक पढ्दा त्यतिबेला रमाइलो लाग्छ, जब तपाईंले त्यसका पात्रहरुमा आफूलाई भेट्याउनु हुन्छ । त्यसरी आफूले आफूलाई खोज्नलाई यस पुस्तकमा तपाईंले कुनै कसरत नै गर्नु पर्दैन । सहजै तपाईंले यसका पात्रहरुमा आफूलाई पाउनु हुनेछ । ती रुमानी अनि रङ्गिन दिनहरूमा तपाईं पुग्नुहुनेछ र कथाहरुसँगै तपाईं त्यसका पात्रको जीवन जिउनु हुनेछ । उनीहरुसँगकाे मिठो कल्पनामा तपाईं पुग्नुहुनेछ । सँगै हाँस्नु हुनेछ र ती पात्रहरुसँगै वेदनाको पोको मनभित्र गाठो पारेर रुनु हुनेछ ।
सुजता केसी
निर्दोष अनि अबोध बालापन, छट्याइँफट्याइँसँगै बाआमाको गोदाइको डर र त्यो डरले निम्त्याएको मानसिक विचलनका कुरा यसमा सङ्ग्रहित छन् । बालमनोविज्ञानलाई बडो सशक्त रूपमा प्रस्तुत गरिको छ । स्कुल पढ्दाका विभिन्न घटनाक्रम र शैशवकालका थरिथरिका रहरहरू अनि जिदहरू यसमा चित्रण गरिएका छन् । बालापनमै उनिएका मिठा एकतर्फी पिरतीका कथाहरु जुन मनभित्रको कुनै गुप्त कुनामा बनाइए र सजाइए तर कहिल्यै व्यक्त भने भएनन् । अव्यक्त सही तर ती कुराहरूको पनि गज्जबको कहानी उनिएको छ । गाउँको शान्त, सौम्य, निश्छल वातावरण र सौहार्दतासँगै पुरातनवादी सोचको वर्चस्व ।
हजुरआमाका सिकाइ, अर्ति उपदेशका कुरा । उहाँको अनुभव र अन्धविश्वासका कुरा, सानै बेलामा सुनेको भए तापनि ती कुराहरुले छोडेका अमिट छाप र मस्तिष्कमा ती कुराहरु गहिरो गरी बसेका र ती कुराहरुले धेरै पछिसम्म पनि पिछा नछोडेका कुरा यहाँ बडो कलात्मक तरिकाले प्रस्तुत गरिएकाे छ । बालापनमा लगाइने रोकटोक र प्रतिबन्धहरू, डर देखाएर रोक्न खोजिएका शैशवकालका दुस्साहसहरू अनि ती दुस्प्रयास र तथाकथित प्रतिबन्धलाई तोडिएको र कुनै हालतमा पनि ती कार्यहरू गर्नुपर्ने बालहठ र रहरका कुराले यस कथासङ्ग्रहलाई जीवन दिएको भान हुन्छ । ती प्रसङ्गले यस कथासङ्ग्रहलाई चलायमान बनाइएका छन् । लम्बेतान विवरण र व्याख्याले होइन घटना र सम्वादका माध्यमबाट पात्रहरू बनाइएका छन् ।
यो कथासङ्ग्रह सिकाइ हो । बच्चा बेला सुनाइने भूतप्रेतका कुराहरू र ती कुराले पार्ने मनोवैज्ञानिक असर बारे पनि यसमा चित्रण गरिएको छ । साथै सानै कुराले पनि गम्भीर दुर्घटना निम्त्याउन सक्छ है भन्ने कुराको चेत यसमा मर्मस्पर्शी तवरले विभिन्न घटना-परिघटनाको सहायताले प्रकट गरिएको छ । यसमा दिइएका घटाक्रमले पाठकलाई कहिले अन्त:स्करणमा बेस्मारी घोचिदिन्छन्, कहिले अनायसै स्वैरकल्पनामा पुर्याइदिन्छन्, कहिले यसै हसाइदिन्छन् त कहिले थाहै नपाई रुवाइदिन्छन् । आँखामा आँसु आउछन् र मानसपटलमा ती घटना फनफनी घुमिरहन्छन्, धेरै पछिसम्म ।
आमाबाबुले आफ्नो सन्तानको सफलता साक्षात्कार गरेको त हामीले देखेका र सुनेका सामान्य कुरा हुनसक्छन्, तर आमाको सफलताको साक्षात्कार गर्न हामी त्यति अभ्यस्त छैनौं, र त्यसतर्फ हामीले खास ध्यान दिएका पनि हुँदैनौँ । तर त्यसतर्फ पनि लेखकले ध्यान दिएको भान हुन्छ । कथाहरू पढ्दै जाँदा बाल्यकालबाट हामीलाई लेखकले टिनएजमा पुर्याउनुहुन्छ, टिनएजका आकर्षणका प्रसङ्गले कतै काउकुती लाइदिन्छन् अनि बोध गराउछन्, ‘हाम्रा मसिना शरीरमा बैँश नाम गरेको राक्षसको आत्मा पसेको कुरा’। मन त पराउँछु तर भन्न डराउछु भन्नेखालका प्रासंगिक घटनाक्रम पनि आउँछन् । त्यसरी बस्नु पर्दाका पिर र चिन्ताहरु प्रस्ट देखिन्छन् । किशोरावस्थाका अप्ठ्यारा अनि चुनौतीहरू, जीविकोपार्जनका लागि गर्नुपरेका सङ्घर्षका कथा पढ्दा साँच्ची जीवन कठिन छ भन्ने भान हुन्छ । संघर्षशील हुन उत्प्रेरणा मिल्छ । राजनीतिका कुरा पनि यस कथासङ्ग्रहमा समाविष्ट गरिएका छन्, राजनिति गरेर पनि नेता नहुनुको पीडा पढ्न सकिन्छ । राजनीति के हो ? भन्ने बारेमा पनि यसको सचित्र चित्रण गर्ने जमर्को लेखकले गर्नुभएको छ ।
माया, पिरती, मिलन, विछोडका कुराहरु, रुमानी प्रेमकथाहरूसँगै आउछन् धोका अनि स्वार्थका प्रसङ्गहरू । भर्खरै अङ्कुरण हुन लागेको प्रेमको दुखद अवसानको वियोगान्त कथा । कुनै पनि सम्बन्धलाई अगाडि बढाउनलाई बिनासर्त गरिएको प्रेमको आवश्यकता पर्ने तर जब प्रेमको विलय हुन्छ, त्यससँगै त्यो सम्बन्धलाई तिलाञ्जली दिनुपर्ने जिवनोपयोगी सिख । बच्चालाई लाग्ने चकलेट, पैसा र नयाँ लुगाको रहरजस्तै किशोरावस्थामा कसैको सुन्दरता र बैँशालु यौवन देखेरै जाग्ने रहरका कुराहरु यस कथासङ्ग्रहमा सङ्ग्रहित छन् ।
मेरो विचारमा यस पुस्तकमा समाविष्ट गरिएका कथाहरू यदि क्रमैसँग राखिएको भए अझ गज्जब हुने थियो । जस्तैः पहिला शैशवकालमा मात्र केन्द्रित कथाहरु, त्यसपछि टिनेजका कथाहरू । यस्तो हुँदा पाठकको लागि बोधगम्य हुने र कथाहरू जोड्न सजिलो हुने कुरा मैले महसुस गरेको छु । साथै यसमा बिम्बको प्रयोग त छ नै तर लेखकका अन्य लेखहरू पनि पढिसकेको हुँदा उहाँबाट अझ सशक्त बिम्बको प्रयोग हामी आशा गर्छौँ । त्यससँगै यसमा अहिलेको राजनीतिक सङ्कटका बारेमा जसरी बताइएको छ, त्यसमा निराशा र वैराग्य अलि बढी हाबी भएको हो कि भन्ने लाग्छ । त्यसको ठाउँमा केही आशा अनि नवीन उर्जा भरिदिएको भए यसले अझ जीवन्तता पाउने थियो । तद्यपि पनि यस कथासङ्ग्रहमा लेखकको कथा बुन्ने तरिका कला बडो लोभलाग्दो भने छ ।
यसरी विभिन्न कथालाई एउटा गज्जबको पुस्तकाकार दिन सफल हुनुभएको छ लेखक । यो एउटा पुस्तक आफैँमा सिकाइ हो, यसमा दिइएका घटनाक्रमले पुस्तक पढिसक्दासम्म पाठकलाई गतिलो पाठ सिकाउँछ । अहिलेको विद्यमान अवस्थामा देखिएको राजनीतिक सङ्कट, हाम्रो समाजम व्याप्त पुरातनवादी सोच, त्यसका विभिन्न आयामहरू र ती कुराहरूले कसैको जीवनमा कस्तोसम्म प्रभाव पार्न सक्छन् भन्ने बारेमा विभिन्न पात्र अनि कथाहरूद्वारा लेखकले पस्कने सफल प्रयास गर्नुभएको हामी अनुभव गर्न सक्छौँ । यस मानेमा पनि यो कथासङ्ग्रह विशेष छ । एउटै बसाइमा सकिने यो कथासङ्ग्रह पढेर त छिटो सकिन्छ तर यसको ह्याङओभर भने धेरै पछिसम्म रहिरहन्छ । यसको ह्याङओभरले पाठकलाई सितिमिति छोड्दैन । त्यसैले पढ्नैपर्ने पुस्तक हो ‘रहर’ । पढ्न रहर गर्ने र नगर्ने जोकोहीले पनि एकचोटि त ‘रहर’ पढ्नैपर्छ भन्ने मेरो ठम्याइ छ ।