“सिद्धार्थ” उपन्यास नोवल पुरस्कार विजेता जर्मन लेखक हर्मन हेसे ( सन् १८७७–१९६२) द्वारा  लेखिएको आध्यात्मिक उपन्यास हो । हेसे पहिलो विश्व युद्धताका भारत भ्रमणमा आएका थिए । करिब ६ वर्ष लामो भारत बसाइका क्रममा सङ्गठित हिन्दू-बौद्ध धर्मको पारस्पारिक अध्ययनबाट लेखिएको यो उत्कृष्ट कृति हो । लेखकले मूलतः व्यक्तिभित्रको अध्यात्मवाद र आत्मानुभूतिको यात्रामा आइपर्ने सम्भावित घटनाहरूलाई ज्यादै मिहिन ढङ्गले लिपिबद्ध गरेका छन् ।  आफूभित्रको  ज्ञानको भोकलाई अरू कसैले पनि पूरा गर्न सक्तैनन् र कुनै पनि ज्ञान सजिलै प्राप्त गर्न नसकिने र त्यसका लागि ठूलो मूल्य चुकाउन सक्नुपर्दछ । भौतिक रूपले छुन  नसकिने अनि शब्दले व्याख्या गर्न नसकिने कुरा नै सत्य हो ।  ज्ञान भनेको व्यक्ति स्वयंले  जीवन जिउँदै जाँदा महसुस गर्ने एक  स्वतन्त्र अनुभव हो  भन्ने कुरा सिद्धार्थ उपन्यासमा पाउन सकिन्छ ।

कथाको प्लट

हिन्दू धर्म, संस्कार र परम्परा अनुसार सिद्धार्थको जीवनयापन भइरहेको हुन्छ । आफ्नो बाबुको आज्ञा पालन गर्नु, बिहान बेलुकाको नित्य कर्म गर्नु र परम मित्र गोविन्दसँग मिलेर पवित्र शब्द ओम् (ॐ) को साधाना गर्नु उनको दैनिकी हो । सिद्धार्थभित्र ज्ञानको तृष्णा, संसारप्रति वैराग्यता छ र आफ्नो अस्तित्वसम्बन्धी हजारौँ प्रश्नहरू छन् जुन परम्परागत हिन्दू शास्त्रका कथित ज्ञानले  पूरा गर्न सक्तैन ।

एक साझ गाँउको बाटो भएर श्रमन (सन्यासी)हरू गइरहेका हुन्छन् । उनीहरूको जीवनशैली, संसारप्रतिको दृष्टिकोण र भौतिक सम्पत्तिप्रतिको वैराग्यले सिदार्थलाई प्रभाव पार्छ र उनी त्यहीबखत श्रमन बन्ने सङ्कल्प गर्छन्  । भोलिपल्टको सूर्योदय हुनुपूर्व सिद्धार्थ र गोविन्द गाउँ छोडी श्रमनहरूको समूहको खोजीमा  निस्किसकेका हुन्छन् । साँझ पर्ने बेलासम्ममा  श्रमनहरूको समूहलाई उनीहरूले भेट्टाउँछन्, उनीहरूलाई  आफ्नो समूहमा स्वीकार गर्छन् र   श्रमनले पालना गर्नुपर्ने नियम अनुशासनहरू सिकाउँछन् । श्रमनहरूसँग बस्दै गर्दा सिद्धार्थले आफूमा धेरै प्रयोगहरू गरेर आफूलाई भौतिक संसारको माया मोह, पीडा र दुःख बाट टाढा पुऱ्याएका हुन्छन् । यति छोटो समयमा सिद्धार्थमा आएको परिवर्तनले सबै खुसी हुन्छन् र भविष्यमा चाँडै नै  सिद्धार्थ महाज्ञानी बन्ने र निर्वाण पाउने उनका गुरुहरू बताउँछन् । सिद्धार्थलाई श्रमन जीवनको नियमित साधना, दिनचर्याले पनि आफ्नो तृष्णा नमेटिने देखेपछि उनीहरू एकदिन सन्यासीहरूको समूहलाई छोडेर गौतम बुद्धलाई भेट्न बौद्ध शिविरको खोजीमा निस्कन्छन् ।

बौद्ध शिविरमा पुगेपछि उनीहरूले सयौँको सङ्ख्यामा रहेका चिवरधारी भिक्षुहरू जो हरेक बिहान भिक्षाटनका लागि भिक्षापात्र बोकेर गाँउ गाँउ डुलेका देख्छन् । त्यही भिडमा भगवान् बुद्ध पनि हुन्छन् जस्लाई सिद्धार्थले टाढैबाट सजिलै चिन्छन् । बुद्धको शालीनता, सरल जीवनशैली र उनको ज्ञानको प्रभावले गोविन्द बौद्ध भिक्षु बन्छन् । सिद्धार्थलाई तथागतसँगको संवादले पनि आर्कषण गर्न सक्तैन किनकि उनी वास्तविक ज्ञान, मुक्त्ति जीवन भोगाइबाट लिन चाहन्छन् । उनी वास्तविक ज्ञानका लागि आफू भौतिक संसारमा जाने र त्यसलाई भोगेर  नै मुक्त्ति लिने उद्देश्यले उनी सहर पस्छन् ।

प्रदीप देवकाेटा

सहरमा उनको भेट परमसुन्दरी कमलासँग हुन्छ जो वेश्यालय चलाएर बसेकी हुन्छिन् । सिद्धार्थ कमलाबाट भौतिक सुख र संसारिक माया गर्ने तरिका सिक्न चाहन्छन् किनकि आजसम्म उनी स्त्री सुखबाट वञ्चित थिए । कमलाको सहायताले  उनले  सहरकै धनी कामास्वामीको घरमा जागिर पनि पाउँछन् ।  उनको विद्वत्ताले व्यापारमा धेरै नाफा कमाउँछन् र सिद्धार्थ चाँडै नै धनी बन्न पुग्छन् । समयसँगै उनी धनी बन्दै जाँदा आफूभित्रको सन्यासीपनलाई पनि बिर्सिएर वेश्यावृत्ति, मदिरा सेवन र जुवामा लिप्त हुन्छन् । यसरी भौतिक सुख सुविधामा रमाएको दुई दशकपछि  मात्र उनलाई आफ्नो जीवनको लक्ष्य र आफ्नो यात्राको बोध हुन्छ । जति धेरै धन सम्पत्ति र सुखसुविधा आर्जन गरेपनि उनीभित्रको त्यो भोक, संसारप्रतिको वितृष्णा अझै भित्र कतै बाँकी रहेको हुन्छ र एक रात उनी सुटुक्क सहर र कमलालाई पनि छोडेर जङ्गलतिर लाग्छन्  ।

सहरमा आफूले भोगेको जीवनशैली र लक्ष्यबाट च्युत हुनुपर्दाको हीनताले उनलाई भित्रभित्रै जलाउँछ । उनले आफ्नो बाँकी जीवन त्यही नदीमा विसर्जन गर्न चाहन्छन् तर केहीबेरमा उनी बेहोस भएर ढल्छन् । होसमा आउँदा सिद्धार्थ बौद्ध भिक्षु बनेका गोविन्दका साथमा हुन्छन् । सिद्धार्थले गोविन्दलाई चिनिहाल्छन् तर गोविन्दले सिद्धार्थलाई चिन्न सक्तैनन् किनकि उनको शरीरमा खानदानी पोसाक हुन्छ, शरीरबाट हरहर अत्तरको वासना आइरहेको हुन्छ । यस्तो धनी सम्पन्नशाली व्यक्ति सिद्धार्थ हुन सक्छन् भन्ने गोविन्दलाई लागेको हुँदैन।   गोविन्दसँगको कुराकानीपछि सिद्धार्थ नदी किनारमा रहेको एउटा माझी वासुदेवको कुटिमा शरण लिएर बस्छन्  ।

 वासुदेव र सिद्धार्थ उमेर र विचारमा परिपक्व छन् । धेरै कुराहरू आपसी संवादबिना नै पनि बुझ्ने गर्छन् । वासुदेवले सिद्धार्थलाई खेतको काम गर्न, नाउ चलाउन र नदीको सङ्गीत सुन्न सिकाउँछन् । नदीसँग संवाद गर्न र त्यसको भावनालाई बुझ्न सिदार्थ चाँडै सफल हुन्छन् । एक दिन गौतम बुद्धलाई भेट्न सहरबाट धेरै मानिसहरू बौद्ध शिविरतिर आएका हुन्छन् । त्यस भिडमा कमला र उनको ११ बर्से छोरा पनि हुन्छ । बाटामा हिँड्ने क्रममा कमलाको सर्पले डसेर मृत्यु हुन्छ र त्यहीपछि सिद्धार्थलाई पनि कमलाको छोरा आफ्नै छोरा भएको थाहा हुन्छ ।

त्यो सानो कुटिमा अब वासुदेव, सिद्धार्थ र उनको छोरा दुःख सुख गरेर बस्तछन् तर सिद्धार्थको छोरो ति दुई सन्यासी माझीहरूको जीवनशैलीमा रमाउन सक्तैन किनकि ऊ सहरमा जन्मे हुर्केकाले यस्ता यावात् दुःखसँग जुझ्न सक्तैन । एक दिन घरमा जम्मा भएको अलिकति पैसा चोरेर ऊ सहर पस्छ । सिद्धार्थ छोरालाई सहरसम्म खोज्न जान्छन् तर अन्तमा निराश भएर फर्कन्छन् ।

सिद्धार्थ र वासुदेवको दिनचर्या सधैँ जसरी नै बित्न थाल्छ तर सिद्धार्थको मनमा पुत्रसँगको बिछोडले सताइरहेको हुन्छ । उनले जसरी ध्यान र मुक्तिको खोजीमा आफू घर छोडेर आएको सम्झिए, आफ्ना आमा बाबुलाई सम्झिए त्यसपछि उनको छोरा पनि आफूलाई छोडेर जानुलाई स्वाभाविक ठाने । वासुदेवसँगको सङ्गतमा उनले नदीको ध्वनि, अभिव्यक्ति   बुझ्न थाले । आफ्ना मनका भावनाहरूलाई बुझे । एक दिन वासुदेव पनि सिद्धार्थलाई कुटिमा छोडेर सधैँका लागि जङ्गलतिर लागे ।

केही दिनपछि गोविन्द घुम्दै सहरमा पुगे जहाँ उनले सहरभन्दा केही पर नदी किनारमा एकजना माझी बस्छन् जो सिध्द छन् भन्ने कुरा सुनेर गोविन्द त्यो माझीलाई भेट्न जान्छन् । माझीसँगको कुराकानीमा गोविन्दले ती सिद्ध पुरुष सिद्धार्थ नै हुन् भन्ने चिन्छन् । सिद्धार्थसँग फेरि  भेट भएकामा उनी धेरै खुसी हुन्छन् र त्यो रात त्यही कुटिमा बिताउँछन् । कुराकानीको अन्तमा सिद्धार्थले बुद्धत्व पाइसकेको कुरा थाहा हुन्छ र अन्तमा  सिद्धार्थले भनेझैँ  गोविन्दले सिद्धार्थको निधारमा चुम्बन गर्छन्  र उनले पनि बुद्धत्व प्राप्त गर्छन् ।

सङ्क्षेमा पुस्तकानुभूति

 प्राचीन कपिलवस्तु राज्यको एउटा सानो गाँउको हिन्दू परिवारमा हुर्किँदै गरेका युवा सिद्धार्थको आध्यात्मिक जीवनको यात्रामा भोग्नु परेको  विभिन्न उतारचढावहरू र त्यसबाट सिर्जित परिस्थितिहरू यस उपन्यासमा पाउन सकिन्छ । यस उपन्यासको घटनाक्रमहरू शाक्यमुनि गौतम बुद्धको समान्नतर समयमा रचिएकोले उपन्यास पढिरहँदा पाठक स्वयंलाई बुद्धकै सुरुवाती जीवनको वास्तविक सङ्घर्षका घटनाहरू नै पढेको अनुभूति हुन्छ । उपन्यासको शीर्षक “सिद्धार्थ”बाटै पनि हामी अनुमान लगाउन सक्छौँ कि लेखकले पाठकलाई  बुद्धकै जीवनी नजिकबाट नियाल्ने छुट दिएका छन् ।

 बुद्धले ज्ञान प्राप्त गर्दाको तीन महत्त्वपूर्ण अवस्थाहरू घर परिवार र सुख सुविधाको त्याग गर्नु, ज्ञानको खोजीमा भौतारिँदा गरिएको साधना र त्यसपछि प्राप्त मोक्षलाई यस उपन्यासमा प्रमुख पात्र “सिद्धार्थ ” मार्फत समेटिएको छ । मानिस भौतिक जीवनमा बाँधिए पनि, संसारिक माया मोहमा  फसे पनि यदि  ज्ञानको भोक ऊभित्र छ भने जसरी पनि मुक्ति पाउनेछ  । जसरी कमला पेशा र परिस्थितिले वेश्या भए पनि उनको आखिरी लक्ष्य बुद्धलाई भेट्ने, ज्ञान प्राप्त गर्ने थियो , त्यो केही हदसम्म पूरा भयो । वेश्या भनेर समाजले तल्लोस्तरमा राखे पनि उनको मनमा भगवान सधैँ उच्च स्थानमा रहिरहनुभयो, यो नै ज्ञानको उच्चतम बिन्दु हो ।

धर्म शास्त्रमा लेखिएका र विद्वान्हरूले भनेका कुरा सबै सत्य नहुन पनि सक्छ । सबै प्रश्नहरूको उत्तर पनि सबैसँग नहुन सक्छ । स्वयं भगवान् बुद्ध नै सामुन्ने आउँदा पनि सिद्धार्थले उहाँबाट ज्ञान लिन इन्कार गर्नाले अरूले दिएको  विचार, प्रवचन, ध्यान र साधना बाट वास्तविक ज्ञान प्राप्त गर्न सकिँदैन भन्ने कुरा बुझाउँछ । संसारका कुनै पनि गुरुले  ध्यान र बुद्धत्व सिकाउन सक्तैनन् । त्यो त आफूभित्र स्वयं घट्नुपर्छ ।

सत्यलाई सीमित शब्दबाट व्याख्या गर्न सकिँदैन किनकि सत्य असीमित छ । जसरी बुद्धले दुःख, सङ्धर्ष, त्याग र तपस्याबाट बुद्धत्व प्राप्त गरे त्यसैगरी अर्को व्यक्तिले सुख र सरल तरिकाबाट  गुरुले सिकाएकै भरमा ज्ञान प्राप्त गर्न सक्तैन । हरेक मानिस  बुद्ध बन्न सक्छन् र त्यो गुण  हामीभित्रै छ तर फरक यतिमात्र हो कि  हामी सबैकुराहरू  बाहिरी संसारमा खोजिरहेका हुन्छौँ ।

अन्तमा हाम्रो जीवन नदी जस्तै सरल, निश्चल  र साङ्गीतिक हुनुपर्दछ ।  संसारमा दुःख छ, त्यसको कारण छ, त्यस दुःखबाट मुक्त्ति पाउन सकिन्छ र मुक्त्तिको उपाय हामीभित्रै छ । यही नै जीवनको अन्तिम सत्य हो ।