अघिल्लो वर्ष असोजको पहिलो हप्ता होला जस्तो लाग्छ तर अङ्ग्रेजी वर्षले भन्दा सेप्टेम्बर नै हो यत्ति मलाई याद छ । त्यही दिन मैले उनलाई पहिलोपल्ट हेल्लो भनेको थिएँ अनि जवाफमा हाई आएको थियो, अल्छी नलाग्ने हाई । मैले फेरि सोधेँ के छ?…

गएको चैतदेखि कोरोनाले गर्दा देश पूरै बन्द थियो । कोरोनाको भाषामा भन्नुपर्दा लकडाउन । कोरोना र लकडाउन दुवै नयाँ शब्द थिए मेरा लागि । रुने को हो? भन्दा जवानीतिर वर्णविन्यास बिगारेर को`रोने भनेको भए छुट्टै कुरा । नभए यी शब्द सुनेको पहिलोपल्ट नै हो ।

कोरोनाले गर्दा आक्रान्त बनेको समाजमा लकडाउननमक चेपुवाले च्यापेको थियो । च्याप्नु पनि त थियो नै नभए कत्तिको आकालमै स्वर्गवासको कल्पना भन्दा अरू विकल्प थिएन ।

कोरोनासँगै पछि लागेको लकडाउनले कसैलाई बाहिर निस्कन दिएको थिएन । जो जहाँ थियो ऊ त्यहीँ खुसी मानेर बस्नुपर्छ भन्ने पाठ पढाउँदै थियो कोरोनाले । कति दुःखमा परे होलान् यो म भन्दिन तर म राम्रै ठाँउमा थिएँ ।

मोबाइल कम चलाउने म कोरोनाले गर्दा मोबाइल मेरो कुलतजस्तै बनेको थियो । अझ भर्चुअल क्लासले त महाकुलत । क्लास छ भनेर बस्दा बस्दै मैले गेम खेल्न सिक्दै थिए । एउटा गेम हार्दा म जति सोच्थेँ, एउटा क्लास बिग्रँदाको मलाई कुनै मतलब नै हुन्न थियो ।

अजित धिताल (चेतन)

मेरा साथीहरूले खोलेका ती नगण्य ग्रुपहरू । हरेक ग्रुपमा हरेक हुन्थे; कहिलेकाहीँ एक दुई जना थपिन्थे कि हट्थे । नत्र कुरा त्यही बोली त्यही विषय भिन्न होला भाव त्यही । अब त उमेरको कारणले गर्दा पनि होला एउटै भएको । ती थिए उमेरका कुरा, केटी अनि प्रेम ।

एक दिन कुरै कुरामा एउटाले भन्यो हाम्रा केटाहरू म्युचल फ्रेन्ड नभाको केटी झुक्केर नि भेटिन्न भन्या । अर्कोले सही थप्दै भन्यो सही हो । फेसबुकमा यो बिरलै हुन्छ । अझ होस्टेल बस्नेहरू यो विषयले अलि धेरै नै पीडित हुन्छन्, जस्तै हामी, अझ भनूँ म । मैले नि कति केटी हेरेको छु फेसबुकमा । कोही म्युचल फ्रेन्ड नभएको केटीको पनि आफू फ्रेन्ड बन्दासम्म एउटा भैसको हुन्छ, आफूले चिनेको मान्छे ।

लकडाउनले गर्दा बिहान उठ्यो मोबाइल चलायो, खायो, मोबाइल चलायो, मन लागे सुत्यो, फेरि खायो आदि थियो मेरो दिनचर्या । सोसल मिडियामा आउने अनेकन एडहरूले मेरो मन त्यतै त्यतै लान्थ्यो । अझ प्रेम र केटीका कुरा आए भने सायद उमेरले नि साथ दिएर होला, त्यसपछि त मन कता उड्थ्यो कता ।

एक दिन एउटा यस्तो नोटिफिकेसन आयो । जस्ले मन अझ चङ्गा भयो । कता उड्यो कता । त्यो थियो कुनै पनि म्युचल फ्रेन्ड नभएको कुनै केटीले गरेको रिक्वेस्ट एक्सेप्ट । अनि उसैलाई हतार नगरी पठाएको थिएँ हेल्लो । यो मेरो खुसीको कुरा मैले हरेक कुरा बताउने साथीलाई पनि भनिनँ किनभने उनीहरूले सिधै मेरो उडेको चङ्गा एक चुट्कीमा चेट गर्न सक्छन्  जस्तो लाग्यो । मतलब त्यो एक्सेप्टप्रति आफूलाई छुट्टै लोभ लाग्यो  पहिलो पल्ट म आफ्ना साथीहरूलाई थाहै नदिई लोभी भएँ , आफू आफैँमा लोभी ।

आफू आफैँमा रमाउँदै उसैलाई मेसेज गरेँ, उनले पनि सहजै रिप्लाई गरिन्, म झन् फुर्किएँ, म के भन्नू मेरो मन फुर्कियो । यही भन्न नमिल्ला तर पहिलोपल्ट आफूले जान्ने गरी विपरीत लिङ्गीप्रति मेरो मन चञ्चल भयो । के छ? के गर्दै छौ? खाना खयौ? बाबा माम्मी कता? जस्ता प्रश्नले हरेक दिन स्थान बनाए अनि यिनका उत्तरले साथै उत्तरको अन्तिममा आउने तिम्रो नि भन्नले । कैयौँ दिनसम्म पनि उनले मलाई केही सोधिनन् । मैले जे सोधेँ त्यस्को उत्तर दिन्थिन् अनि तिम्रो नि? भन्ने कहिल्यै छुटेन । मैले उनलाई जुन प्रश्न गर्थेँ त्यसका लागि चाहिने आफ्नो उत्तर पनि ठिक पारेर राखेको हुन्थेँ । उनले तिम्रो नि? भन्ने बित्तिकै फटाफट ती उत्तर पठाइहाल्थेँ । सायद एक हप्तापछि होला हामी बोल्न थालेको, मलाई उनी बोली रहुन्  जस्तो लाग्थ्यो तर उनले बिहानको मेसेजको रिप्लाई बेलुकामात्र गर्न थालिन् तर हेर्ने चाहिँ बिहानै हेर्थिन् । डेडिकेटेट्टब बाई…. गरेर एक दिन फेसबुकमा एउटा क्यापसन राखेँ । त्यो थियो :-

प्रेमको सिलसिलाले म प्रेमी भएँ तर प्रेमीको सिलसिलाले म पागल हुन चाहन्नँ ।

सन्दर्भ : seen but no reply.

बेलुका उनले आज पहिला मेसेज गरिन्, “मलाई भन्नुभएको हो?”

मैले झुटो उत्तर दिएँ “हैन ।”

भनिन् “मलाई त हो जस्तै लाग्यो” ।

“यत्तिकै लेखेको” मैले भनेँ ।

पहिलोपल्ट मैले मनले देख्दै नदेखी प्रेम गर्न लागेको मान्छेसँग झुट बोलेँ । यसपछि त्यत्ति धेरै गाह्रो भएन मलाई मेसेजको रिप्लाइ पाउन । यसपछि उनले नि नयाँ बाटो अपनाई होला ।

कहिलेकाहीँ सिधै भन्थी “म काममा छु अहिले मेसेज नगर्नू न”, के कामभन्दा कहिले के भन्थी कहिले के । पत्याउनै पऱ्यो, देखेको छैन ।

नपत्याए भनी हाल्थी “मेरो बिलिभ छैन हो ?”

म के बोल्न सक्थेँ र यसमा ? भन्थेँ, “म तिमीलाई बिलिभ गर्छु ।”

उनी मख्ख परेझैँ हसेको इमोजी पठाउँथिन् । उनी के सोच्ने गर्छिन् त्यो त म के जानूँ तर म एक हप्तामै उनीसँगै भएको सपना देख्थेँ । उनीसँग भेटेपछि मलाई फाइदा भने भएको थियो । बल्ल तल्ल लाग्न लागेको गेमको लत भने उनीसँगको च्याटले भने छुटाउँदै थियो ।

लकडाउन अनिश्चित कालीन थियो । बिस्तारै-बिस्तारै पसल अलि धेरै समय खुल्न लागेका थिए । बाबा,आमा आफ्नै सुरले बाहिर निस्कन लाग्नुभएको थियो । बिस्तारै खुल्दै थिए अफिसहरू । कुनै मतलबी कुरा थिएनन् ती मेरा लागि । आफ्नै सुरमा थिएँ म, आफ्नो सुरमा पनि के भन्नू उनको तालमा म कता उड्थेँ कता । हामीलाई त कलेज कहिले खुल्ने हो त्यसैको टेन्सन जस्तो हुन्थ्यो । कुरा त प्रेमका हुन्थे अनेकानेक । बेबी खाना खायौ भनेको सुन्दा हास्ने म अचेल त्यही वाक्यले दिउँसोको गफ सुरु गर्थेँ ।

हरेक दिन हाम्रो गफ हुन थाल्यो । कहिले उनले त कहिले मैले बिहानको गुड मर्निङ र बेलुकाको गुड नाइट भन्न थाल्यौँ । नेट, मोबाइल र साथी भएपछि दिन त कति चाँडै बित्दो रेछ । कहिले गफैले दिन कट्थ्यो त कहिले लुडो खेलेर । कहिले उनले मलाई केही कुराको च्यालेन्ज दिन्थिन् त कहिले मैले उनलाई च्यालेन्ज दिन्थेँ । समय न हो ऊ आफ्नै गतिमा हिडिरहन्थ्यो, हाम्रो दिन अनि रात कटाइरहन्थ्यो अनि हरेक दिनलाई नयाँ बनाउन कुनै कसर बाँकी राख्दैनथ्यो । यत्तिकै कैयौँ दिन र त्यति नै रात कटिसकेका थिए उनको र मेरो भेट भएको दिनदेखि । मेरो भर्चुअल प्रेम यसरी नै गाढा बन्दै थियो ।

धेरै पछिको एउटा रातमा उनले मलाई सोधिन्, “तिम्रो कोही केटी छ?”

मैले भने, “छैन ।”

“किन नभाएको त?”

“आफूलाई मिल्ने नभेटेर ।”

“अहिलेसम्म भेटेको छैन?”

“एउटी भटेको छु ।”

“कोहो नि?”

“भान्नु र?”

“प्लिज भन न ।”

“नभनूँ होला ।”

लाग्यो, मैले कुनै मौका गुमाउँदै छु । यो एउटा त्यस्तो मौका हो जुन मैले पछि पाउन्नँ तर मन दह्रो बनाएँ अनि भनेँ

“तिम्रो कोही केटा छ र?”

एउटाको उत्तर दिनुपर्ने के गर्नु मन न हो प्रश्न सोधेँ किनकि जे गरेँ राम्रैका लागि न गरेँ ।

“मेरो त त्यस्तो कोही छैन ।”उनले भनिन्

“जस्को कोही छैन म उसैको हुँ”

“कस्को?”

“तिम्रो”

“ओ ओ होर?”

“हो नि ।”

“मलाई हरेक कुरामा साथ दिन्छौ ?”

“दिन्छु ।”

“म पनि तिमीलाई हरेक कुरामा साथ दिन्छु” भनिन् र लभको चिह्न पठाइन् ।

म नि कम त कहाँ थिएँ र, उनले पठाइन् मात्र मैले भनिदिएँ – “आइ लभ यू ।”

“आइ लभ यू टु”

अब त मेरो खुसीले सीमा नाघेछ अनि कराएछु राम्रैसँग । थर्किएछ घर त्यो शान्त मध्य रातमा ।

ढोका बज्यो ढक ढक ………

बल्ल झस्याङ भए सुने “बाबू के भयो ?”

“केही भएको होइन भनेँ” तर मेरो बोलीको के विश्वास गर्नुहुन्थ्यो र मेरी आमा । जसरी नि ढोका खोल्न लगाउनुभयो । आमा र दादा हुनुहुँदो रहेछ ।

“के भयो किन कराएको ?” आमा ले भान्नुभयो ।

“केही होइन त्यस्तो ।”

पब्जीमा चिकेन पड्काको जस्तो छ? दाइले पछाडिबाट भन्यो ।

“आफूले होला नि खुब, नत्र यति राति उठ्ने मान्छे हो र” मैले दाइलाई उत्तर फर्काएँ ।

“म त केही भयो कि भनेर हेर्न आको, नकाराई सुत्नू डर लागेको भए दाइको मा जाऊ ।” आमाले करुणामय भावमा भन्नुभयो ।

“होइन म यतै सुत्छु ।”

आमा आफ्नो तिर लाग्नुभयो, दाइ मलाई चिकन म्यान भनेर जिस्क्याउँदै आफ्नो कोठातिर लाग्यो ।

ढोका लगाएँ, एक सासमै बेडमा पुगेर मोबाइल हेरेँ ।

तिमी कता हराएको म त सुतेँ भन्दै “गुड नाइट” लेखेर उनले गफ बन्द गरिन् रातको एक बजे । मैले नि पठाएँ

“गुड मर्निङ ।”

बिस्तारै लकडाउन खुकुलो हुँदै गयो । बन्द भएको कलेज खुल्ने तरखरमा थियो । उनको त कलेज लाग्न थालिसकेको थियो । मेरो भने भर्चुअल क्लास चलिरहेको थियो । अब म दिउँसोभरि उनलाई सम्झने अनि चार कतिबेला बज्छ भनेर हेर्ने थालेको थिएँ । उनको कलेज दिउँसोको थियो । बिहान नौ बजे उनी अफ हुन्थिन् प्रायः जसो । केही हप्तापछि मेरो नि कलेज सुरु भयो ।

पढाइका कारण हाम्रो भर्चुअल प्रेममा बाधा पऱ्यो । लकडाउनको जस्तो अनेक कुरा गर्ने समय हुन छोड्यो । बल्लतल्ल आउने शनिबारमा पनि कहिले म कता जाने कहिले उनी कता जाने चलिरह्यो । मेरो मनमा प्रेम पातलो भएको थिएन तर गफगाफ एकदमै पातलो । उनको मनमा मेरा लागि कस्तो प्रेम थियो त्यो उसकै मन जानोस् ।

भर्चुअल प्रेम नमान्ने मेरो मन अहिले भर्चुअल प्रेममै बाँधिएको थियो । यो प्रेमले कस्तो आवस्था सिर्जना गर्ला भनेर मेरो मन अनगिन्ती स्थानमा घुम्थ्यो अनि मेरो मस्तिष्क खाली खैमा पुगेर मनलाई रोक्ने गर्थ्यो । जे होस् अहिले लाग्न थालेको छ प्रेम म यस्तोलाई गर्छु भनेर हुने कुरा हैन रे छ । साथीहरूका अगाडि जिरो फिगरको गफ गर्ने म अहिले वान क्लास फिगरमा रोकिएको छु । अग्लि केटी इज लभ भन्ने म अहिले ४.७ फिटको उचाइँमा रोकिएको छु । यो प्रेम भन्ने शब्द सुनेर म आफैँ अचम्ममा पर्न थालेको छु । कसैले प्रेम कसरी हुन्छ भन्दा आफ्नै प्रेम कथा सुनाउँदा नपत्याउलान् भन्ने लाग्छ । सायद भर्चुअल प्रेम भएर होला ।

“उनले र मैले फोटो र भावनाकै आधारमा प्रेम गरेका छौँ” भन्दा पत्याउन गारो हुन्छ हामीले अहिलेसम्म भिडियो कलसमेत गरेको छैन ।

मैले मेरा साथीसँग गफिँदा एक दिन भनेको थिए, “फोटो हेरेर केटी हेर्न जानु ठिक हो तर फोटो हेरर मात्र उसैलाई बिहे गर्छु भन्नु गलत हो .”  कुन प्रसङ्गमा यो भने याद छैन ।

यसकै आधारमा एक दिन भनेँ, “म तिमीलाई भेट्न चाहन्छु ।”

हाम्रो प्रेम त्यति लङडिस्ट्यान्स्को थिएन त्यही बसमा एक घन्टा लाग्ने दूरि थियो हाम्रो । उनले सुरुमा सजिलै हुन्न भनिन् । मैले कर गरेँ हुन्न नै भनिन् । बाह्रको परीक्षा जेठमा हुन्छ भनेर सरकारले तोकिसकेको थियो । हामी दुवैको सब्जेट फरक-फरक थियो । परीक्षाको तयारीले गर्दा बोलचाल कम गर्नुपर्ने बाध्याता थियो । भेटौँ भन्दा हुन्न भनेपछि आफैँ कमजोर हुँदै म उनीबाट टाढा हुन खोजेँ ।

एक दिन उनले आफैँ मेसेज गरिन्, “मेरो प्रिएक्जाम सकिन्छ अनि भेटुम् न है ।”

मेरो नि प्रिएक्जाम थियो वैशाखमै । दुवैको सल्लाहअनुसार वैशाख अन्तिममा भेट गर्ने भयौँ । भेट गर्ने कुराले म खुसी त भएसँगै दुःखी पनि । दुःखी केमा भने कस्तो कपडा लाएर भेट्न जने, कस्तो फेसन मन पर्ने हो, कति खर्च लाग्ने हो, देखेपछि मलाई मन पराउने हो कि हैन? आदि इत्यादि । फेसबुकमा इडिट गरेर हालेको फोटोमा जस्तै सुन्दर छु र म? यो मेरो सबैभन्दा ठुलो चिन्ता थियो । एक दिन त यस्तो सोच पनि आयो । उनलाई नि त यस्तै चिन्ता होला नि । फोटामा चिल्ला देखिने ती गालामा न पिम्पलको छन् कि, ठुलो देखिने ती आँखा न चिम्सा छन् कि, लकडाउनले मोटो भएँ न फर्सी जस्तो देखेर मन नपराउने हो कि । मेरो सुन्दरता मन नपर्ने हो कि ? भनेर उनले नि सोच्छिन् होला नि !

कसरी भेट्न जने भन्ने मेरो आफ्नै चिन्तामा कोरोनाको दोस्रो लहरले केही सहयोग गऱ्यो या मेरो अवसरमा बाधा गऱ्यो । लकडाउनले हाम्रो मिलनलाई केही पर सार्दियो । लकडाउनले गर्दा गफगाफ बाक्लो हुन थाल्यो । यत्तिकैमा एकदिन एउटा क्याप्सन फेसबुकमा राखेँ :

वैशाख अन्तिममा भेटुम भन्थी,

लकडाउनले आनन्द भयो ।

सायद रिसाएर होला, आज बोलेकी छैन ऊ । त्यही भएर त यत्ति लेख्न भ्याएँ  नि । यो पढेर फेरि झन् रिसाउँछ्यौ होला, त्यसैले यही भन्छु, “सरी” ।