Chovar Blues Mobile Size

वर्षायाम, जताततै हरियाली छ । निथ्रुक्क भिजेको सहर अनि एउटा रहर, चुरोट सल्काएँ । “ए भाइ ए तुम्हारा घर नही पार्क हे ” एउटी महिला कराइन् । फ्यात्त चुरोट डस्टबिनमा फ्याकेँ । चुपचाप उठेर पर बेन्चमा गएर बसेँ । पार्कभित्र अनेकौँ किसिमका मान्छे अवस्थित थिए अझै प्रेमजोडीहरूले पार्कलाई रोमाञ्चित बनाइरहेका थिए । आखिर म एक्लो!
यी सबै कुराको मलाई न मूल्य थियो न मान्यता।

ब्यागमा गुम्सिएर बसेको पुस्तक निकालेँ, पटक्कै पढ्न मन लागेन । मोबाइल निकालेँ , फेसबुक खोलेको बोल्नेकोही भेटिएन । पार्कमा कसैसँग बोलूँ भने मलाई सुन्ने पोको छ र?

मन शान्त बनाउन पार्क गएको झन् उथलपुथल पो हुन लाग्यो।

त्यही उथलपुथलका बिचमा मनमा अर्को रहर जाग्यो, चिया । पार्कअगाडिपट्टि चिया अड्डा थियो , लागेँ हतार हतार उतैतिर।

पार्कनजिक क्याफे छ तर त्यो क्याफेको क्यापचिनोभन्दा अड्डाकै चियाले मलाई मोहित पारेको छ ।
छ रुपैयाँको एक कटिङ्ग चाय, आहा !

माधव काफ्ले (मुम्बई)

निद्रा हराएकाहरूलाई निद्रा आउँछ , उथलपुथल भएकालाई शान्ति दिन्छ अलग्गै विशेषता छ त्यो अड्डाको चियामा।

एक बुज्रुग बिहारी काका बिस वर्षदेखि त्यहाँ चियाको अड्डा बनाएर बसेका छन् । ग्राहकहरू फेरिए , सहरको रूपरङ्ग फेरियो तर उनको चियाको खासियत उही छ ।

हिरो बन्ने सपना लिएर बाउको बाकसबाट दशहजार निकालेर मुम्बई आएका रे उनी, सपना पूरा नहुने देखेपछि चिया बेच्न सुरु गरेछन् । सुरु सुरुमा सबैले भैया भन्दै गाली गर्दा उनको मन विचलित हुन्थ्यो रे तर अहिले कसैले भैया भन्दा उनलाई आफ्नै दाजुभाइको सम्झना आउँछ।

मराठीहरूको बाहुल्यता रहेको मुम्बईमा बाहिरबाट आउनेहरूले आफ्नो ठाउँमा पाइला जमाउन निकै मेहनत गर्नुपर्छ । मराठी बोल्न नजान्नेलाई त यहाँ मान्छे नै मान्दैनकोही । अहिले उनी मराठी बुझ्छन् अनि बोल्छन् पनि । “कित्ना नोकरी करेगा बेटा , आपना कुछ धन्दा कर फाइदेमे रहेगा । कुछ जरुरत हो तो मेरेको बोल्ना ।” कहिलेकाहीँ सहानुभूति दिन्थे । उनी कहाँको म कहाँको तर पनि शब्द अनि भावनाले हामीलाई जोडेको थियो । मुम्बई आएदेखि अझै घर गएका छैनन् रे । यतै बिहारी केटीसँग बिहे गरेर घरजम गरेका रहेछन् । “बाआमा त छन् कि छैनन्, दाजुभाइलाई मेरो के वास्ता र? त्यसैले जान मन लाग्दैन घर ।” उनी भन्थे।

साँझ पर्न लागेको थियो,  त्यहाँबाट रुम जानको लागि अगाडि बढेँ । एक तु हि हे जो अपना लगता है बाँकी हो आए खाए गए । उनका यी आत्मीय शब्दहरूले गर्दा मेरो लागि पूरै मुम्बई नै आत्मीय छ।

हप्तामा छ दिनको डिउटी , एक दिनको छुट्टी । त्यो छुट्टी पनि त्यही अड्डामै बित्छ।

कहिले समय बिताउन गाह्रो हुन्छ त कहिले कसरी बित्छ पत्तै हुँदैन।

डिसेम्बर अन्तिमतिर विश्वलाई प्रभावित पारेको कोरोना भाइरसको चर्चा सुरु भयो।कसैले यति सोचेका थिएनन् । मेड इन चाइना आज छ भोलि छैन भन्दै भाइरसलाई गिज्याएको देख्दा मलाई अचम्म लाग्थ्यो।

बिस्तारै  कोरोनाले भारतलाई छुन लाग्यो । जन्मिँदै अछुतो भएर जन्मिएको  कोरोनाले न इन्डियन भन्यो न चाइनिज, विश्वलाई नै रुवाएर गयो।

यदि हाम्रो परापूर्व कालमा कोरोना उत्पन्न भएको हुन्थ्यो भने सायद कोरोना लागेको मान्छेलाई दलितको दर्जा दिइन्थ्यो होला अनि उसको साखा सन्तान नै जन्मिँदा दलित भएर जन्मिन्थे होला तर यस्तो भएन ।

यो एक्काइसौँ शताब्दी हो , यहाँ जातपात छुवाछुत अन्धविश्वास हो, म पनि विश्वास गर्दिनँ तर पनि कोरोना लागेका बिरामीहरूको आत्मबल कम हुने किसिमका कार्य भइरहे । अस्पतालमा काम गर्ने डाक्टर , नर्सहरूमाथि पनि नराम्रो व्यवहार भैरह्यो । हामी एकाइसौँ शताब्दीमा आफूलाई ज्ञानी, बुद्दिमानी र विवेकशील प्राणी मान्छौँ । के काम यस्तो विवेकको जसले हाम्रै ज्यान बचाउन आफ्नो ज्यान दाउमा लगाएर लागिपरेका स्वास्थ्यकर्मीको इज्जत गर्न जान्दैन?
लकडाउन एउटा उपयुक्त उपायको रूपमा दुनियाँमाझ उत्पन्न हुन पुग्यो । करिब तिन महिनाको घर बसाइ भयो । बाहिर निस्किने वातावरण त थिएन नै , कसरी पुग्नु चिया अड्डामा? घरभित्र नै कैदी बनेर बस्दाका ती क्षणहरू जिन्दगीभरिका लागि अविस्मरणीय क्षण साबित भए। कति डरले त कति परिवारको करले घर फर्किन बाध्य भए, म भने बसिरहेँ आफ्नै मायानगरीमा।

करिब तिनमहिनाको लकडाउनले बिन्दास आफ्नो जीवन जिउनेहरूलाई पनि पीडाको मार्ग देखाइदियो । मलाई त आफन्ती चाहिँदैन भन्नेहरूका लागि तिनै आफन्ती प्यारा भए । कहिल्यै नाम पनि याद नहुनेहरू दैनिक सम्पर्कमा आए अनि बिर्सिएकाहरूले पनि सम्झिए । बिर्सिएर पनि फेरि सम्झिने भन्ने बित्तिकै ऊ पनि छे । ऊ, उसका लागि एउटा उपन्यास नै लेख्दा पनि कम पर्छ सायद । त्यसैले अहिले आफ्नै सपनाको आकाशमा उडिरहेकी उसलाई मेरा शब्दरूपी मैदानमा उतार्न चाहिनँ । उतार्नेछु त्यस दिन, जुन दिन त्यस्ता शब्द भेटिनेछन् जसले उसको बयान गर्न सकुन् । जुन दिन मनभित्र बारुद बनेर बसेका उसका यादहरू शब्दको रूपमा फुट्नेछन् र पानाहरू भर्नेछन् ।

तीन महिना बल्ल बल्ल बित्यो ।

बिस्तारै लकडाउन खुल्दै थियो तर कोरोनाको त्रास यथावत थियो ।

भर्खर पुनः उदाउँदै गरेका पसल, होटल, अन्य व्यापार व्यवसायहरूले चहलपहल राम्रै पाउँदै थिए । चिया अड्डा चालु भयो होला कि नाइँ?

मलाई यही प्रश्नले सताइरह्यो । काम पुनः सुचारु भएकाले त्यहाँ पुग्ने फुर्सद नपाउने भएँ । पहिलेभन्दा फरक माहोल सृजना भैसकेको थियो । स्टाफहरू पहिलाजस्तो भरिभराउ थिएनन् जसकारण छुट्टी आकाशको फलजस्तै हुन पुग्यो।
मेरो वार्षिक बजेटको हिसाबकिताब बिग्रिन पुगेकोले डिउटी बाहेक अरू केही सोच्ने फुर्सद नै भएन तर पनि अड्डाको चियाले बोलाएजस्तो आभास भैरहेको थियो । कतै केही पुगेन कि जस्तो लाग्थ्यो ।

एकदिन कामबाट छिट्टै निस्किएर च्या अड्डाको बाटातिर मोडिएँ । बाटामा पहिलाजस्तो भिडभाड थिएन । कुनै गलत काम गरेर मुख नै देखाउन नभएपछि मुख छोपेर हिडेका हुन् कि भन्ने आभास दिने चहलपहलले दुनियाँको हालको यथार्थ झल्काइरहेको थियो । गल्ली र हाइवे छिचोल्दै अड्डामा पुगेँ । न त कुनै राजनितिक छलफल गर्ने जमात थियो न त कुनै मन शान्त बनाउन आएको बटुवा; अड्डा बन्द थियो ।

एताउता सोधेपछि थाहा भयो लकडाउन खुले पनि अड्डा बन्द नै रहेछ।

काकाको घर नै पुगे। घरमा पनि ठुलै ताल्चा झुन्ड्याइएको थियो । म एताउता गरिरहेको देखेर एउटि अधबैँसे आइमाईले भनिन्, किसको? चायवालेको ढुँडरहे हो?

लकडाउन हुवा तभी वो गाउँ चलागया । अचम्मित परेँ ।

घर जादिनँ भन्ने मान्छे!

मोबाइल निकालेँर फोन नम्बरको लिस्टमा काकालाई खोजेँ, भेटिए । करिब तिनचार घण्टी गएपछि उठाए, “हलो।
ह काका मे माधव, आपके घरमे आयाथा बन्द हे अड्डा भि बन्द हे ।”

यति भन्न नपाउँदै उनले सबै बृतान्त सुनाए।

लकडाउनले गर्दा यहाँ समस्या हुन लागेपछि सपरिवार लिएर घर गएछन् । सानैमा भागेर मुम्बई आएक कारण गाउमा कसैले चिनेनछन् । आफू सानो हुँदाको फोटो देखाएपछि बल्ल सबैले चिनेछन् । उनले सोचेभन्दा बेग्लै रहेछ उनको गाउँ अनि घर।

धेरैपछि भेट हुँदा आफ्ना भाइहरूबाट पाएको मायाले मुम्बई फर्किन दिएन रे । बाबुआमा बिते पनि दाजुभाइले उनको नाममा जग्गा जमिन छुट्याएर राखेका रहेछन् । त्यो उनको बाबुको अन्तिम इच्छा रहेछ । यस्तै यस्तै धेरै कुराहरू सुनाए ।

अब गाउमै खेती किसानी गरेर जीविकोपार्जन गर्ने निर्णय गरिसकेछन् । आपना ख्याल राखना बाबु भन्दै फोन काटे ।
मन उदास भयो । मुम्बईमा फेरि एक्लिएँजस्तो आभास भयो । सुख दुःख साट्ने काका नभएपछि मनका कुरा मनमै दबाएर राख्नुपर्ने भयो । आखिर जिन्दगी न हो । कहिले कोसँग भेट हुन्छ त कहिले कोही पराइ बनिदिन्छन् । आफूलाई जो राम्रो लाग्छ उहीँ नै आफूबाट टाढा भइदिन्छन् । भनेजस्तो सधैँ कहाँ हुन्छ र !

उनी टाढा गए पनि उनको हातको मिठो चिया अनि उनका रसिला गफ र आत्मीय सम्बन्ध सधैँ मुटुमा गाँठो बनेर बसिरहेको छ ।

झलझली अड्डाको झझल्को आइरहन्छ। त्यसपश्चात् अहिलेसम्म अड्डाको चियाको स्वाद कुनै चियामा भेट्न सकेको छैन ।