प्रिय साथी,

न्यानो माया र सुभेच्छा !

केही समयअगाडि मात्रै त हामीले धेरै पछिको रमाईलो भेट गरेका थियौँ । समयको कुरा न हो, कति चाडैँ कोल्टे फेर्दो रहेछ ।

हिजो मात्रै खबर पाएँ कि, तिमी अहिले हस्पिटलको एउटा बन्द कोठाभित्र पल्टिएर मृत्युसँगको लडाइँ लडिरहेका छौ ।

आज हप्ता दिन भएछ तिमी अस्पतालमा भर्ना भएको ।

सारा विश्वलाई नै आफूसामु घुँडा टेकाइरहेको यो कोरोनाले तिमीलाई पनि अछुतो रहन दिएनछ ।

म महसुस गर्न सक्छु, कति ऐठन भइरहेको होला तिमीलाई अहिले । मुखमा अक्सिजनको मास्क लगाएर कृतिम शास लिँदै रातदिन नभनी जीवन र मृत्युको दोसाँधमा परेर मृत्युसँगको लडाइँ लडिरहँदा ।

यतिका दिनसम्म एकै ठाउँमा पल्टिएर औषधिले भरिएका ती सुईले बारम्बार घोचिरहँदा कति धेरै दुखाइरहेछ होला त्यो शरीरलाई । त्यहीमाथि भित्रभित्रै प्रत्येक अङ्ग–अङ्ग बिथोलेर कति पिरोलिरहेको होला यो भाइरसले तिमीलाई ।

 

जीवन खड्का

म विवश छु अहिले तिमीलाई केही धेरै भन्न र गर्न त सक्दिनँ म तर पनि हामी सबैले दुःख पर्दा सबैभन्दा पहिले सम्झिने त्यो अदृश्य भगवान्लाई साँची राखेर यही एउटा पत्र लेख्ने प्रण गर्दै छु ।

साथी अहिले छ नि, हामी सबैको जीवनमा पीडाको कालो बादल लागेको छ, जसले हाम्रा सुख र सुस्वास्थ्यका किरणहरूलाई छपक्कै छेकिदिएको छ । हामी सबैलाई ढलाउनेहेतुले चारैतिर बेजोडको हुरी चलाइरहेको छ यो भाइरसले तर तिमी कत्ति पनि नडराउँनू । कहीँ कतै निरुत्साहित नहुनू ।

मडारिएर लागेको यो कालो बादलले केही छिनका लागि सितला दिइरहेको छ भनेर ठान्नू । बेजोडले चलेको यो हुरीलाई मन्द–मन्द चलिरहेको बतासझैँ सम्झेर आनन्द लिइरहनू । बस्, केही समय थोरै अझै अठोटका साथ प्रतीक्षा गर । चकमन्न अँध्यारो पछि नै त झलमल्ल उज्यालो आउने हो ।

रातपछिको दिन, पानीपछिको घाम, रोदनपछिको हाँसो अनि जीवनपछिको मृत्यृ, यो त सृष्टिको नियम नै हो । यो हामीले स्वीकार गर्नैपर्ने यथार्थ हो । यो प्राकृतिक नियतिलाई हामीले हाम्रो बसमा राख्न सक्तैनौँ ।

तर पनि आखिरमा, बाँचुन्जेल बाँच्नकै लागि त हामी जीवनभर सङ्घर्ष गरिरहन्छौँ । समय–समयमा जीवनले खेलाइरहने विभिन्न खेल खेलिरहन्छौँ । कहिले जितिन्छ त कहिले हारिन्छ । आज यो रोगले पनि तिमीसँग त्यस्तै खेल खेलिरहेको छ, जहाँ तिम्रो जितको विकल्प छैन र म ढुक्क छु, तिमीले सजिलै यो खेल जित्नेछौँ ।

यसले केही समय त तिमीलाई थकाउँछ, गलाउँछ, लडाउँछ तर तिमीलाई जित्न भने पक्कै सक्तैन । हार्न लागेको खेल पनि जित्ने बाजिगर बन्नुपर्छ तिमी ।

हिजोमात्रै छिमेकी विराट् दाइको स–परिवार पनि अस्पतालबाट सन्चो भएर घर फर्किसक्नुभयो अनि मलाई हेर त, म पनि त अस्ति यही बिमारीले थला परको होइन र ? १२ दिन लामो आइसोलेसन बसाइँ पछि म अहिले सन्चो भएर बसेको छु ।

मलाई विश्वास छ, तिमी पनि चाँडै यो कोरोनाबाट मुक्त भएर घर फर्किनेछौ ।

व्यथाले पिरोलिएर कहिले काहीँ तिम्रो मनमा अनावस्यक ख्यालहरू पनि आउलान् तर तिमी त्यस्ता नकारात्मक भावनाहरूलाई आफ्नो मन मस्तिष्कमा कहीँ कतै ठाउँ नदिनू ल ।

दिक्क लाग्दा सामाजिक सञ्जल तिर पनि भुलिन खोज्छौ होला । मैले जस्तै तिमीले पनि सकारात्मकभन्दा मनोबल गिराउने नकारात्मक र भ्रामक समाचारहरू धेरै देख्छौ होला । यस्ता अफवाहबाट तिमी टाढै बस्नू ।

यो हामी सबैका लागि विडम्बनाको विषय हो कि, अहिले अनेकथरिका काण्ड ल्याएर न्युजमा भ्युज बटुल्दै ट्रेन्डिङ्गमा आएर डलरको खेती गर्ने प्रचलन हावी भइरहेको छ हाम्रो देशमा । यी भाइरल हुने होडबाजीमा लागेकाहरूको फन्डालाई कत्ति पनि विश्वास नगर्नू तिमी ।

तिम्रो शरीरको जतिसुकै ठाउँमा यो भाइरसले आक्रमण गरेर ठाउँ ओगटे पनि  मनको कुनै एउटा कुनामा आशाको दियो बालिरहनू । भोलि यही सानो आशाको झिल्काले नै तिम्रो जीवनमा उज्यालो रोशनी भर्नेछ ।

साथी, यत्ति कुरा तिमी कहिल्यै नभुल्नू कि डरभन्दा ठुलो कुनै रोग छैन अनि आत्मबलभन्दा ठुलो कुनै औषधि छैन । आफूभित्रको आत्मविश्वासको जरालाई यति बलियो बनाएर राख कि दुनियाँको कुनै पनि हुरीले तिमीलाई ढलाउन नसकोस् ।

मलाई थाहा छ, तिमी यति चाँडै हार स्वीकार गर्ने मान्छे पक्कै पनि होइनौ । तिम्रो जीवनयात्रामा कस्तो–कस्तो कठिनाइ आउँदा त कहिल्यै रत्तिभर पनि  नडगमगाईकन सारा दुनियाँसँग एक्लै लड्ने सामर्थ्य राखेर अगाडि बढेको मान्छे हौ तिमी ।

मैले यस्तो हिम्मतदार मान्छेसँग निहुँ खोजेर धेरै ठुलो भुल गरेछु भन्दै अब त त्यो भाइरसलाई पनि पछुतो भइसकेको होला । जीवनले विभिन्न मोडमा लिएका कति अफ्ठ्यारा– अफ्ठ्यारा परीक्षा त तिमीले सजिलै पास गऱ्यौ । अब त झन् के नै हुन्छ र तिमीलाई ? उल्टै तिमी त्यसलाई यस्तो गतिलो पाठ सिकाएर आऊ कि, अब उप्रान्त यसले कहिल्यै तिम्रो हिम्मतको परीक्षा लिने आँट नै नगरोस् ।

मलाई पूर्ण विश्वास छ, तिमीले देखेका ती कैयौँ सपना पूरा गर्नका लागि भए पनि तिमी चाँडै त्यो हँसिलो मुहार लिएर छिट्टै घर फर्किनेछौ । आफ्नै कमाइले एउटा घर बनाएर बा–आमालाई खुसीका साथ राख्ने तिम्रो त्यो बर्सौँदेखिको सुन्दर सपना पनि त चाँडै पूरा गर्नु छ ।

अनि बिर्सेको छैनौ होला नि तिमीले, यो दसैँमा पोखरा हुँदै मनाङ्ग–मुस्ताङ्गसम्मको टुर गर्ने हामीले गरेको त्यो बाचा । यस्ता धेरै बिचमै छोडिएका ती अपूरा सपना पूरा गर्नकै लागि मात्र भए पनि तिमी अझै धेरै बाँच्नुपर्छ । तिमी चाँडै निको भएर घर फर्क साथी अनि हामी सबै मिलेर तिम्रो जितको बिगुल फुक्तै विजयको उत्सव मनाउनुपर्छ ।

                                              उही तिम्रो आत्मीय मित्र

                                                          अज्ञात