सुसाइरहेकी थिई इन्द्रावती । माझीका छाउराहरूको मुखबाट निस्केका अश्लिल शब्दका बथानले कान नै फुटाउलाझैँ हुँदै थियो । जोगिटारबाट तल्तिर इन्द्रावतीकै किनारमा मनका किनारलाई पुऱ्याउन यी पाइलाहरू लम्किरहेका थिए । मसँग एकसरो लुगा , दुईसरो श्वास र तीनसरो प्रेमबाहेक अरू केही थिएन । चाहिएको पनि केही थिएन । माझीका बथानले माछाका हुललाई झुलमा अड्काएर मारिरहेका थिए । मेरा आँखाले ती दृष्यलाई मार्न खोजिरहेको थियो । म टुक्क्रुक्क बसेँ । बगरको एउटा ढुङ्गामा अनि सुसाउँदै बगिरहेकी इन्द्रावतीलाई नियालिरहेँ ।

बगरको ढुङ्गामा बसिरहेको निकैबेर भइसकेको थियो । अलि परबाट एकजना हजुरबुबा उमेरका मान्छे मतिरै आइरहेका थिए । आकाशको चिल खोलीको माछी पनि मतिरै आउन लागेझैँ लागिरहेको थियो मलाई । पर देखिएको मान्छे मेरै अगाडि आइपुगे । कुर्ती सुरुवाल , इस्टकोट भिरेका ती मान्छेले बेजोड तरिकाले बोले , “बाबू ! ” मैले हतारिँदै उत्तर दिएँ, “हजुर” ।

उनले त्यसपछि केही बोलेनन् ।  उनका पाइला बोले । हिँडेको आवाज मेरो कानले निल्यो । मेरा आँखाले उनी हिडेको दृष्यलाई निलिरह्यो । सारौँटाको स्वर , पारिपट्टि देखिएको भैँसी बाँध्ने खोर , अनि म प्रकृतिको चोर आफ्नै गतिमा आफ्नै तालमा रमाइरहेका थियौँ । निकैबेर त्यहाँ अडिएपछि म पश्चिमतर्फ लम्किएँ ।

निश्चल आचार्य

हैट् ! सपना देखेछु । ब्युँझिएँ । मनमा शङ्का र प्रश्न उम्रिन थाले । ती बुढा मान्छेले मलाई किन बोलाए होलान् ? खाटमा झोक्राउँदै सोचिरहेको थिए म । मुख धोएँ, फ्रेस भएँ अनि आएर खाटैमा बसेँ । आमाले पानी लेकोइदिनुभयो, पिएँ । केही बेरमा चिया लेकोइदिनुभयो, त्यो पनि पिएँ तर प्रश्नको उत्तर पिउन सकिनँ । कण्ठस्थ गर्नुपर्ने निकै पाना थिए, त्यसैले छोडिदिएँ ती सपनीका पाना ।

गठ्ठाघरको बसस्टपमा गाडी कुरेर बसिरहेको थिएँ म । पाँच-छ मिनेट नै भएछ कि क्या हो ! त्यहाँ उभिएका सबै मान्छे गौशाला चावहिलकै गाडी कुरिरहेझैँ लागिरहेको थियो मलाई । मेरो पोसाक दौरा सुरुवाल , निलो कोट, झिल्के टोपी अनि खैरो छालाको जुत्ता कसैले देख्दा नि जन्ती नै जान लागेकोजस्तै तर स्कुलको ब्यागले अलि अलि प्रस्ट पार्न सक्थ्यो , पढ्न पो हो कि ! गाडी आयो , म चढेँ मसँगै अरू टन्नै मान्छे चढे । अरूको अनुहारलाई याद गरिनँ तर मसँगै चढेका मैले सपनीमा देखिएजस्तै एक बूढो मान्छे उस्तै पोसाकमा चढे । गाडीमा भिड थियो ।

खलासी दाजैको “काका पछाडि जानुस् , काकी पछाडि जानुस् , दाइ पछाडि जानुस् , दिदी पछाडि जानुस्” चिच्याहटले गाडीमा कोलाहल थियो । कसैको मुखले “कहाँ छ यहाँ ठाउँ”, कसैले मुखले “तैँ आएर बस् न साला !” जस्ता रिसालु शब्द झारिरहेका थिए गाडीभित्रै ।

ती ढोकाछेउ उभिरहेका बुढा मान्छेले मलाई बाबू भनेझैँ लाग्यो, मैले लागेझैँको भरमा हजुर भनिदिएँ । उनले केही बोलनन् । म खिन्न भएँ । गौशाला चोकमा गाडी रोकियो । मेरो रोकिएको पाइला अगाडि बढ्यो । विद्यालय पुगेर केही साथीहरूलाई सुनाएँ । उनीहरू कुरा सुनेर छक्क परे अनि भने ,”सपना त बिपनामै आएछ त ।” लगभग चार बज्न लागेको थियो; अन्तिम कक्षाले विश्राम लियो अनि सोच सञ्चालन हुन थाल्यो । पाइलाले गति सुरु गऱ्यो । जयबागेश्वरी चोकमा गाडी प्रतीक्षामा थिएँ म । मसँगै कालोपुल जेभिएर कलेजका केही केटाकेटीहरू पनि थिए । श्वास बिदा हुँदै फर्किँदै , फर्किँदै बिदा हुँदै भइरहेको थियो ।

अचानक मनले सोच कता पुऱ्याएको हो कुन्नि !

“श्वास बिदा भयो भने के होला है ? ” प्रश्न पनि कस्तो हैट् ! मुटु नै दुख्यो प्रश्न सम्झेर । मयूर यतायात आइपुग्यो । मेरो दाहिने पैताला गाडीको भऱ्याङमा पुगेको मात्र के थियो, पछाडिबाट केटीको आवाज “निश्चल !”

मेरो कानमा ठोक्कियो । म पछाडि फर्कन सकिनँ । पछाडि त फर्केँ तर गाडी कुदिसकेपछि । अब त झन् नरमाइलो लाग्यो । कसले बोलाएको होला भन्ने प्रश्नले मन दुख्यो । प्रश्नले कोट्याएर घाउ नै बनाउला जस्तो भइसकेको थियो मेरो सोचमा । गठ्ठाघर चोकबाट घर लम्किसकेपछि कोठामा पुगेर खाटमा डङ्रङ्ग पछारिएँ ।

दिन बित्दै गए, रात बित्दै गए । औँसीले पूर्णिमा जन्मायो । पूर्णिमाले औँसी । दुवै सुत्केरी हुने क्रम चलिरहको थियो । औँसी सुत्केरी भएको तेस्रो दिन अर्थात् शुक्ल तृतीया । म घर फर्कदै थिएँ । जयबागेश्वरी चोक जहाँ म र जेभिएर कलेजका म जत्रै केटाकेटीहरू झुम्मिन्थे गाडीको प्रतीक्षामा । दस बाह्रजना केटाकेटीहरूमा पाँचसात जना केटीहरू नै हुन्थे । उमेर नै यस्तै भएर होला केटाभन्दा केटीमै आँखा जाने । त्यो दिन प्रधानमन्त्री भारत भ्रमणलाई एयरपोर्ट जाने क्रममा थिए । क्रममा मात्रै थिए बाटोमा उनी चढेको गाडी कुद्न निकै समय बाँकि नै थियो होला । उनी निस्कने लगभग एक घण्टा जति अघि नै रोकिसकिन्छ सर्वसाधारण र तिनका वाहनलाई । रोकेको केही बेर मात्र भएको हल्ला चलिरहेको थियो जयबागेश्वरी चोकमा ।

त्यो दिन गाडी आइपुगेन । म दौरासुरुवाल पोसाकमा हातमा अडिएको घडी हेर्दै फोक्सोमा अडिएको श्वास तान्दै फाल्दै गरिरहेको थिए । थाहा छैन मलाई कसले समात्यो मेरो पछाडिबाट च्याप्प  चिसो हातले तातो हातलाई । त्यहीबेला जीउका सबै रौँहरू जागे । भागेको होस फुत्त आइपुग्यो । म झसङ्ग भए । “निश्चल ! गाडी आएन हिँड्दै जाऊँ आऊ” पछाडि जेभिएर कलेजकी म जत्रै प्रायः सधैँ देखिरहने अनुहारमध्ये एक अनुहार थियो त्यो । खै कसरी चिनी उसले मलाई ! अनि कसरी थाहा पाई कुन्नि मेरो नाम ! एक छिन म अलमलिए । आत्तिएकै तालमा हस् जाऊँ भनिदिएँ । त्यो चिसो हात मेरो तातो हातमा बसिरह्यो । गौशाला चोकमा पुगेका थियौँ हामी । मैले हात तानेँ; उसले मपट्टि हेरी । अनि मुसुक्क दुई गालाका डिम्पल देखाउँदै बोली , “के भयो ?”  म अक्क न बक्क परेँ . के भनूँ ? मनमा डर, मुटुमा तातोपन दिमागले सोच्नै सकेन, घाँटीले आवाज हुर्याउनै चाहेन । निःशब्द !

रोडैरोड होइन, गौशालाबाट पशुपतितिर जाने ओरालो लाग्यौँ हामी । पिङ्गलास्थान निस्कियौँ अनि तिलगङ्गा र एयरपोर्टको बिचमा बसेका रुखहरूको फेदमा गएर थचक्क बस्यौँ । मेरो मुखले श्वासबाहेक अरू केही फालेको थिएन । उसको मुखले भने फाल्दै थिए अनेकौँ घटना जो उसको जीवनमा घटेका थिए अरे । यो घटना अब उसले कसलाई सुनाउँदी हो ?  म आफैँलाई प्रश्न गरिरहेको थिएँ । अचानक उसले बोली,” तिमीलाई जयबागेश्वरी चोकमा देखेको लगभग १ महिना हुनलाग्यो , तिम्रो पूरा रिसर्च गरिसकेँ मैले , मपट्टि फर्केर खिस्स दाँत देखाई  । मेरो पनि मुटु फुक्क फुलेर आयो, नाक झन् कत्रो ! । फेरि सुरु गरी “कहिले बोलुम् र झ्याप्प अँगालोमा बाधूँजस्तो भ’को थियो बल्ल मलाई आज मौका मिल्यो ।”

पछाडि फर्केकी मात्र के थिई, सुँक्कसुँक्क पो गर्न थालिछ । यति धेरै अफ्ठ्यारो आजसम्म कहिल्यै लागेको थिएन मलाई  । खै कताबाट कस्ले पठाइदियो ज्ञान , मैले उसको टाउको च्याप्प समाएँ अनि मेरो छातीमा अडाएँ । उसका आँसुले सुरुवाल भिजिरहेको थियो ।  सुरुवाल सँगसँगै मुटुपनि भिजिसकेछ । मजस्तो बोलिरहने, कराइरहने मान्छेको बोली त्यो समय खै कुनचैँले चोरेछ कि लुटेछ कुन्नि?  मेरो बोली फुटेन  । खाली छ रोड; पेटीमा हिँडिरहेका छन् लस्करै मान्छेहरू, मुटुमा कुदिरहेका छन् लस्करै माया अनि चेतनामा कुदिरहेका छन् लस्करै डरहरू ।

उसका कथा मेरा कानले निलिरहे तर उसका कानले मेरा कुनै कथा निल्न पाएनन् । उसका आँखाले आँसु झारिरहे; उसका आँसुले मेरो मुटुमा मायाको बिउ रोपियो । हामी कोटेश्वरसम्म हिँड्दै आइपुग्यौँ । मेरो हात उसको हातमाथि उसको हात मेरो हातमाथि । उसले मेरो मोबाइलमा उसको नम्बर सेभ गरिदिई, आफ्नोमा पनि गरी । ऊ कौशल्टार बस्दी रहिछ । म गठ्ठाघर । कोटेश्वरबाट सँगै एउटै गाडी चढ्यौँ । ऊ ओर्लने बेला मैले बोलेँ ,” रिया ! बाई !!! “

उसले मैले थाम्नै नसक्ने मुस्कानसहित उत्तर दिई , “बाई निश्चल !” उसको मुस्कानले आजसम्म कहिले नधड्किएको धड्कन धड्काइदियो । मैले धड्किएको धड्कन हेरिरहेँ ।

घर पुग्दा छ बजेर पचपन्न मिनेट गइसकेछ । मनले डरलाई उचालिसकेको थियो । आमाले मायालु स्वरले “किन ढिला आइस्?” भनेर सोध्नुभयो । मैले नि मायालु स्वरमै प्रधानमन्त्रीले गर्दा गाडी थिएन अनि ढिला भयो भनिदिएँ । त्यो रात मेरो हातमा मोबाइल टाँस्सिइरह्यो र मुटुमा ऊ टाँस्सिइरही । मोबाइलको स्क्रिनमा तप तप चुहिइरहेको थियो पसिना , अनि तप तप चुहिइरहेको थियो डर; लाग्थ्यो चुहिएरै सकियोस् । त्यो रातको अन्धकार पहिलोपल्ट प्रिय लाग्यो मलाई जुन अन्धकारले उजेलीतर्फ लग्दैछ भन्ने विश्वास थियो मलाई । रातको अन्धकार कहिले नसकियोस् लागिरह्यो मलाई । दुई बजेर सोह्र मिनेट गएछ ।

उसले लेखी , “दुई बजिसकेछ अब त सुत्नुपर्छ , ल सुतौँ है ।” मैले नि यताबाट हुन्छ लेखेर मुसुक्क मुस्कुराएको इस्माइली पठाइदिएँ । उताबाट हस् गुडनाइट टेक केयर बाई मायासहित मुटुको चिह्न पनि आयो । मुटुको चिह्नसँग मेरो के सम्बन्ध जोडिएको थियो कुन्नि? मोबाइलको मुटु देख्नासाथ आफ्नै मुटु पड्केलाझैँ भयो ।

मैले नि लेखिदिएँ , “गुडनाइट , बाई माया !” ऊ अफ भई, मेरो मोबाइल पनि अफ भयो । दुई बजे कुरा सकेर अफ भइसकेको थियो मोबाइल, आँखा भने चार बजे अफ भयो । म चार बजे निदाएछु । उठ्नुपर्ने छ बजे नै थियो । आमाले ढोका हान्नुभयो ” ए साने उठ् ! ” मेरो निद्रालाई मैले एक रात बलात्कार गरेछु । मलाई पश्चात्ताप भयो जब आँखामा पानी हाल्दा आँखा भतभती पोल्यो ।

बलात्कारपछि बलात्कारीभन्दा बलात्कृत नारी समाजमा हिँड्न डराउँछिन्, समाजको डरले । मभन्दा मेरा आँखा डराइरहे आमाको अगाडि पर्न । आँखाले रगत छादेझैँ राता भएका थिए ठ्याक्कै अस्ति राजुको औँलाले केशवको आँखामा घोच्ता राता भएझैँ । मोबाइलमा मेसेन्जरको घण्टी बज्यो , पूजा कोठामा देउताको । कानमा दुइटा घण्टी एकैचोटी पस्यो । बुबाले देउता पुकार्न बजाउनुभएको घण्टी अनि मोबाइलले मन पुकार्न बजाएको घण्टी ।

मुटुले आफैँ मोबाइल समायो अनि आफ्नै आँखाले हेऱ्यो । पूरा शरीरलाई नै सौताझैँ व्यवहार गर्दै थियो मुटु । बिचरा म दोधारमा; न मुटुको हुनु न अरूको । लेखेकी रैछे ,” गुड मर्निङ्ग ! ” मुटु मुस्काइरहेको थियो । मैले लेखेँ , ” गुडमर्निङ्ग , चिया खायौ ? ” मुस्काएको इमोजीसहित गयो मेसेज । ऊ केही लेक्तै थिई । टाइपिङ् भनेर देखाउँदै थियो स्क्रिनमा । ममीले बोलाउनुभयो; म कुदेँ । निकैबेरपछि मोबाइल हातमा पऱ्यो । हत्तपत्त मेसेन्जर उघारेँ । ” म खाँदिनँ , पिउँछु ”  । हाँसेको र लजाएको इमोजी मेसेजसँगै टाँसिएर आएका रहेछन् । ” नोट बनाउनु छ , पछि कुरा गरौँला , अहिले लेख्न गएँ , बाई ! ” लेखेर पठाई  । मैले तुरुन्तै लेखेँ , ” हस् बाई ! ” अनि पठाइदिएँ ।

“सुन त”

“भन त”

“नाइन् फिफ्टिन मा कौशल्टार चोक है !”

“ए हस्”  इस्माइली इमोजीसहित पठाइदिएँ मेसेज अनि इस्माइल गर्दै खाटमा पछारिएँ । हातमा वेदको गुटिका अडिएको छ, आँखाहरू लजाइरहेका छन्; उसका मेसेज पढेर होला । गुटिका हेर्दा त कहिल्यै लजाएको पत्तै छैन । पक्कै लजाएको आँखालाई छोप्न गुटिका हातमा बोकिरहेको थिएँ मैले । मनले मलाई कहिले ऊसँग रेस्टुरेन्टको कुर्सीमा लगेर राख्थ्यो कहिले गोदावरीमा, कहिले कहाँ कहिले कहाँ ।

“खाना खान आइजो साने !”

“हस् आएँ”

खाना खाएँ । लुगा भिरेँ  । अनि निस्किएँ । ममीलाई कौशल्टार जानु छ भन्न पनि सकिनँ  । सायद आँखा डराएझैँ यी बोली पनि डराए  । म निस्केँ घरको मुल ढोकाबाट अनि रोकिएँ कौशल्टार चोकको दक्षिणतर्फको पुलमुनि बसस्टपमा । शरीरको आँखा भन्दा मुटुको आँखा कुदे , उसको शरिर होइन मुटु खोज्न । शरीरको आँखाले पनि खोज्ने प्रयास गऱ्यो । न शरीरको आँखाले भेट्यो न मुटुको । यी औलाहरू कति चाँडो कुदेका मोबाइलको मुटुमा पसेर उसको मोबाइलको मुटुलाई खोज्न, लेखिरहेका थिए अनेकौँ अन्जान शब्दहरू । जो लेख्दा म निःशब्द हुन्छु ।

कुरेको पन्ध्र मिनेट हुन लागेछ तर लागिरहेको थियो एक घण्टै भयो कि! अनि लागी पनि रहेको थियो , मलाई झुक्काएको त होइन उसले? तर जब उसको मुस्कान पुलमा देखियो तब म पनि मुस्कानको खोजीमा तम्सिएँ तर उसैले लेकोइदिई माना माना मुस्कान । ” सरी निश्चल ! ढिला भयो ” मुसुक्क माकिई ।  उसको मुस्कानले मेरो सारा रिसालु शब्दहरूमा पूर्णविराम लगायो अनि उसको हातमाथि मेरो हात र उसको साथमाथि मेरो साथ ।

हाम्रो भेट भएको मात्र दोस्रो दिन भएको थियो । कुरा सुरु भएको २४ घण्टा पूरा भएको पनि थिएन तर माया यस्तो गाढा कसरी बस्यो ? म आफैँ जान्दिनँ न ऊ नै जान्दछे । यस्तो गाढा त पूजा गर्दा केमिकलवाला अबिर पनि लागेको थिएन औँलामा । ………?!

गाडीको कोचाकोचमा ऊ र म छेउछेउमा उभिइरहेका थियौँ । गाडी भिड नै रहिरह्यो अनि ऊ मेरो छेवैमा रहिरही । गाडी जयबागेश्वरी चोकमा रोकियो, सरी रोक्न लगाएँ; रोक्यो । कोटको गोजीबाट ५०को नोट दिदैँ बोलेँ , “कौशल्टारबाट २ जना , दुवैको कार्ड छ ।”

हामी ओर्लियौँ । ३० रुपैयाँ फिर्ता दियो । कोटको खल्तिमै छिराएँ । घडी हेरेँ । दस बजेर सात मिनेट गएछ, कक्षा सुरु भइसक्यो । पहिलो कक्षा गणितको छ  । म गणितमा कमजोर छु तर उसको माया र मेरो माया उसको मुटु र मेरो मुटु जोड्न म अब्बल छु, तगडा छु  ।

“बाई  ! आइ विल मेसेज यु बेलुका , आभ्टर कलेज ।”

“बाई ! हस् सि यु !”

बाटो काटेँ, स्कुल छिरेँ र कक्षामा पसेँ ।

गणित  पढाइ भइरहेको छ तर मेरो मन भने उसको मनसँग योग गरिरहेको छ अनि योगफल निकालिरहेको छ । योगफल कैयौँ निस्के । म कक्षामा कैयौँ दिन बेहोसिएँ । गाडीको कोचाकोचमा कैयौँ दिन हामी कोचियौँ । फेसबुकको भित्तामा उसका कैयौँ फोटा टाँसिए अनि मैले ती फोटालाई चुमिरहेँ  । कैयौँ मेरा फोटा टाँसिए, थाहा छैन उसले चुमी कि चुमिन । कैयौँ पाना भरिए मेसेन्जरका, अनेकौँ कुरा लेख्दालेक्तै !

साढेएक भएछ । म ब्युँझिएँ । मोबाइल छेउको सिरानीमै थियो । हातले समाएँ अनि ब्युँझाएँ । औँलाहरू चलाख छन्, वाइफाइ अन् गर्दै मेसेन्जरमा थिचिहालेँ अनि लेख्न थालेँ उसको र मेरो मेसेन्जरको पानामा । ” म ब्युँझिएँ रातको अन्धकारमा, मसँगै ब्युँझने अरू कोही छैन मबाहेक । तिमी मेरी हौ आशा छ तिमी ब्युँझन्छौ ”   ।

तर ब्युँझीँ, भोलिबिहान; अनि पठाई हाँसेको र मुटुको एक-एक ओटा चिह्न । मैले उही फर्काइदिएँ । लभ रियाक्ट गरी मोरीले ।

दोस्रो कक्षा; वेद पढाइ हुँदै थियो । मेरो ब्यागमाथि थचक्क बसेको वेदको गुटिका मलाई हेर्दै हासिरहेको थियो । मलाई वेद पढ्न परेर रिस उठिरहेको थियो । अघिल्लो रात पनि म साढे दुईसम्म निदाएको थिइनँ, लागिरहेको थियो त्यो रात मैले आँखालाई मात्र होइन जोसलाई पनि बलात्कार गरेछु ।

वेदको पुस्तकले के देखायो कुन्नि ! मेरा आँखा चिम्लनुपर्ने बाध्यतामा पुगेछ । पढ्दापढ्दै पढाइ हुँदाहुँदै म निदाएछु । पेनको बिर्को टाउकोमा बजारिएपछि झसङ्ग भएँ । ” वेद पढ्दा निदाउने हो केटा ? “

मैले सुनिरहेँ । केही बोलिनँ । बोल्नलाई आँट थिएन मसँग । गुरुका ती शब्दले म लज्जित छु । ती प्रसङ्ग लेख्न पनि आँट आएको छैन । प्रसङ्ग फेरेँ  माफ गर्नुहोला ।

साढे तीनमै कक्षा सकियो । अन्तिम घण्टी भएन । गुठीमा नानाथरी गफ लडाउँदै ४ बजेसम्म बसेँ ।

“डियर ! बसस्टप , आइ एम् हियर”

“आई एम् कमिङ्ग डियर !”

म तुरुन्तै जयबागेश्वरी चोक पुगेँ । ऊ त्यहीँ थिई मेरै प्रतीक्षामा । मेरो हात समाती । अनि बोली, “ह्वाई लेट ?”

“एम् आई ?” मैले दङ्ग पर्दै सोधेँ । ऊ बोलिन मलाई हेरी खिस्स हाँसी ।

“डेटिङ् कहिले लाने ?” मलाई हेर्दै सोधी ।

झट्ट उत्तर दिएँ, “भोलि”

“साँच्ची ?”

“यस्, आउट ड्रेसमा आऊ कलेज । म पनि आउटमै आउँछु । अनि छिरुम्ला आभ्टर स्कुल कुनै रेस्टुराँ !”

ऊ मलाई हेर्दै मख्ख पर्दै खिस्स हाँसी सँगै मस्किई पनि; मुटु थाम्नै सकिनँ मैले । पाएको भए त्यहीँ अँगालोमा बाँधेर म्वाई खान्थेँ तर खै उसको मुस्कान खान पनि सकिरहेको थिइनँ म ।

समाजको अनि स्कुलको डरले । म ड्रेसमै थिएँ । ऊ पनि ।

कालो बुट्टेदार कुर्ती, खैरो लङ् कोट, चुमुक्क परेको जिन्स अनि फिँजारिएको कपाल; कस्ती राम्री देखिएकी ! जयबागेश्वरी चोकमा ऊ मलाई कुरिरहेकी थिई । म हतार हतार गुठीमा लुगा फेरेर कुदेको थिएँ । सेतो टिसर्ट निलो जिन्स अनि लेदरको ज्याकेट टाउकामा कालो क्याप । खै म कस्तो देखिएको थिएँ, उसैलाई थाहा होला ।

ट्याम्पु चढ्यौँ । पुरानो बानेश्वरमा ट्याम्पु रोकियो, हामी ओर्लियौँ अनि छिऱ्यौँ रेस्टुरेन्ट । मलाई थाहा थिएन रेस्टुरेन्टका अपरिचित परिकारहरू तर ऊ जान्ने रै’छे । म साग पातमात्र खाने, ऊ अलिअलि मासु पनि भक्षण गर्दी रै’छे । म नाम जान्दिनँ ,हामी पसेको रेस्टुरेन्टको । अङ्ग्रेजी नाम थियो त्यो पनि अजिबको । याद भएन माफ गर्नुहोला ।

पिजा ,मःम, बरगर आदि इत्यादि खानेकुरा अनि एउटा बाटाजस्तोमा तरल पदार्थ, नाम जान्दिनँ पिएका र खाएका थियौँ हामीले । सोधेकी थिई ,”कति माया गर्छौ ?” मुसुक्क मुस्काउँदै भनेको थिएँ उसको आँखामा मेरो आँखा बिसाउँदै , “माया पनि नाप्न सकिन्छ र ?”

खिस्स हास्तै बोलेकी थिई , “सकिने भएको भए कति गर्थ्यौ होला ?”

म एकछिन अक्मक्किएको थिएँ अनि लजाउँदै बोलेको थिएँ , “असङ्ख्य , अन्काउन्टेबल !”

उसको हात हत्तपत्त मेरो हातमाथि आएर बसेको थियो । उसका आँखा मेरो आँखालाई हेर्दै रसिला बनेका थिए र मेरा आँखा उसको आँखालाई हेर्दै ।

सवा छ हुन लागेको थियो । हामी टाँस्सिदै रेस्टुरेन्टबाट बाहिरियौँ अनि नयाँ बानेश्वरसम्म हिँड्दै आयौँ । माइक्रोमा चढेपछि पो भन्छे,”ला फोन छैन त!”

“सिट् ! ब्यागमा हेर त ।” माइक्रो कुद्न लागिरहेको थियो । कुदिसकेको थिएन । ब्यागमै रहेछ । लामो सास फेरी,  मैले नि फेरेँ । ढुक्क भइयो; माइक्रो पनि कुद्यो ।

“डेटिङ लगेको हो तिमीले कि खाजा खुवाउन ?” मेरो अनुहार हेर्दै बोली , खितखित…. हाँस्तै । माइक्रो तीनकुने कट्न लागेको थियो । म पनि हाँसे केही बोलिनँ । दुवैजनाको भाडा उसैले तिरी, मैले नतिर पनि भनिनँ अनि तिर पनि । ऊ झरी कौशल्टार चोकमा र म गठ्ठाघर चोकमा झरेँ  ।

म झर्नेबित्तिकै रिसाएको बादलले पानी झाऱ्यो;  म भिजेँ आकाशको पानीले । आकाशले मलाई कहिल्यै भिजाएको थिएन, मसँग कहिल्यै रिसाएको थिएन । खै आज आकाश किन रिसायो ? मैले अरूलाई नै अँगाले भनेर पो हो कि !

चोकदेखि घरको यात्रा अलि कठिन भयो । रुझ्दै भिज्दै तिहारमा लड्दै पड्दै आएको भनेर देउसी खेलेकोजस्तै तर लडिसकेको चाहिँ थिइनँ म । बादलले त केही कुरा भनिरहेको पो रहेछ । ममी त बादलभन्दा बढी रिसाउनुभएको रहेछ । मोबाइलमा १५ पटकभन्दा बढी कल आएको रहेछ । मोबाइल साइलेन्टमा थियो न मैले थाहा पाएँ  , न याद नै गरेँ । ममीको खुब गाली खाएँ, पचाउन सकिनँ । त्यो रातपनि साढे एकसम्म आँखा चिसा र राता भइरहे । रियालाई पनि केही कुरा भनेको थिएँ । डरले समाएछ कि क्या हो  मलाई नसमाऊ पो भन्छे ।

छोड्दिनुस् ती दिनका कुरा । हाम्रा यस्ता दिन कैयौँ गए । तीनसय पैँस्ठ्ठी दिन पनि गयो । दिन , घण्टा , मिनेट , सेकेन्ड , पला अनेक तरिकाले अनेक स्थानमा बिते ।

प्रिय कथा !

म लगभग अन्तिम अन्तिम अनुच्छेद लेक्तैछु । …….शब्दहरू तिता होलान् । तिमी शान्त बसिदेऊ  । अनि पढिरहू ।  म लेखिरहन्छु सकिएपछि सकियो भनुँला ।

एकाबिहानै यी आँखाहरू खुले । जोस् खुल्यो तर होस् खुलेनछ । कानमा हेडफोन भिरेँ, सेतो टिसर्ट, सेतो सुरुवाल नेपाली प्रडक्टको अनि बजाएँ ” लेट हर गो ” अङ्ग्रेजी गीत अनि निस्केँ सानोठिमी आर्मी ब्यारेकसम्म कुद्न  । हातमा रेड्मी नोट नाइन , कानमा डिजिगमको के एट् हेडफोन अनि मनमा खै कुन्नि के के कुरा ।

सात बजे घर पसेँ, मोबाइल खोलेँ । मोबाइल भित्र पसेँ । आज गुडमर्निङ् थिएन । गुडबाई थियो ।…………….

उसको अन्तिम मेसेज थियो ,”गुडबाई !”

मेरो अन्तिम मेसेज थियो ,”ह्वाई ? “

म स्कुल हिँडेँ । गौशाला चावहिलको गाडीको अन्तिम सिटमा अडिएको थिएँ म । म निश्चल, नचली बसिरहेको थिएँ तर मन चलिरहेको थियो । सिनामङ्गलमा गाडी रोकियो । एक जना बुढा मान्छे मलाई एकोहोरो हेरिरहेका थिए । म झ्याल सिटमा थिएँ  । बुढा मान्छे सिनामङ्गलको बसस्टपमा; मैले नि उनलाई हेरिरहे, उनले मलाई हेरिरहे खै किन हो? थाहा छैन ।

गाडी सिनामङ्गलबाट अगाडि बढ्यो तर म ……? एकोहोरो केही सोचिरहेको थिएँ । अचानक फ्ल्यास ब्याक भयो । गाडी गौशालामा रोकियो, म ओर्लिएँ । अनि हिँड्दै लागेँ विद्याश्रमतिर । अघि देखिएको बूढो मान्छे , सपनीको बूढो मान्छे अनि रियालाई भेट्नु ताका गाडीमा देखेको बूढो मान्छे । मलाई बूढो मान्छेले किन घेरिरहेका छन् ? खै पत्ता लाउन सकिन । एउटा कुरा बोध भयो । त्यो दिन सपनीमा देखेको बूढो मान्छेले मेरो उत्तर दिएका थिएनन् अनि गाडीको बूढो मान्छेले पनि । सायद मैले त्यो दिन रियाको उत्तर दिनुहुँदैनथ्यो । जुन दिन गाडी नपाएर हामी जयबागेश्वरी चोकमा बसेर प्रधानमन्त्रीको खुब आलोचना गरिरहेका थियौँ, त्यो दिन मैले उसको उत्तर दिनु गल्ती रहेछ  ।

म गलत रहेछु । मेरा शब्द गलत रहेछन् ।

निःशब्द !