सरूभक्तको ‘पागल बस्ती’ उपन्यास पढेलगत्तै मनमा एकाएक हुरी चल्यो, प्रेम र अहंको । त्यसलाई शान्त पार्न एकतमासले हिँडेँ बेनिको बस चढेर नौडाडातर्फ । साथमा कोही थिएन, झोलामा सिर्फ एक प्रति पागल बस्ती र गोजामा अलिकति पैसाबाहेक । हेम्जा, सुइखेत हुँदै घट्टेखोलाको उकालो उकाल्दै “कुस्मा डिलक्स” गएर रोक्कियो, नौडाडाको अस्तव्यस्त चोकमा । झरेर एकनिमेषले चोकको वरिपरि हेर्दा पाएँ, लेखकले लेखेको चिया घर खाजा घरमा परिणत भएका रहेछन् । त्यै पनि जान्छु भनेर नजिकैको ‘लक्ष्मी खाजा घर’मा गएर साहुजीलाई एक कप चिया अह्राउँदै सोधेँ,

“साहुजी, यता कता पागल-बस्ती छ रे नि हो ?”

साहुजी बेतोडले हाँस्दै भन्दछन्, ” हैन तपाईँ त्यै सरूभक्तको पागल बस्ती पढिसिध्याएर खोज्दै आउनुभएको त हैन ?”

मलाई अचम्म लाग्यो, बुढाले कसरी थाहा पाए ?”खैर, त्यै पनि सोध्ने हिम्मत जुटाउँदै भनेँ, “कसरी थाहा पाउनुभयो ?”

साहुजी भन्दछन्, “तपाईँजस्ता पागल-बस्ती खोज्दै आउने त यहाँ कति आए-आए । कालक्रममा यस्तो सोधनी धेरैले गरे, बाबु तर वास्तविकतामा भने यता कतै पनि पागल बस्ती-सस्ती केही छैन!”

म रनभुल्लमा परेँ र मनमनै आफैँलाई प्रश्न गर्न थालेँ, “पागल बस्ती थियो झैँ गरी लेख्ने सरूभक्त पागल कि उपन्यासको भरमा नौडाँडा उक्लने म पागल ?” र अन्त्यमा उत्तरमा मैले आफूलाई नै पागल गरेँ र फर्किएँ ।

कुनै अतीतको धमिलो गर्भमा वास भएर एकाएक पतन भएजस्तो लाग्छ पागल बस्ती । त्यो बस्ती जुन कुनै समय वर्तमान थियो पछि एकाएक भूतकाल हुन् पुग्यो । कताकता त्यो पागल बस्तीलाई ओसोले अमिरिकाको अरेगनमा बसाएको ‘रजनिशपुरम्’ सँग तुलना गर्न पुग्छु म, जुन समाज कुनै समयमा घटित थियो । यी दुवै समाज भिन्नतावादी थिए, यस अर्थमा कि यी अन्य समाजभन्दा बिल्कुलै फरक थिए । आध्यात्मिकता र भौतिकताको बेजोड मिलनबिन्दु ।  ।

पागलपनको मापन के ?

“सबै भिन्नहरू पागल हुन्” भन्ने गलत मानसिकताले डेरा जमाइरहेको छ हाम्रो मगजमा । बस त्यति भिन्नताको आधारमा समाजले जो कोहीलाई पागल ठहऱ्याउँछ । उसलाई रातारात राँची पठाइन्छ । लेखकले यही पागल ठहऱ्याइप्रति व्यङ्ग्य गर्दछन् पुस्तकमा । पागल बस्ती कुनै पलायनवादी होइन, भिन्नतावादी समाज हो, भिन्न यस अर्थमा कि बाह्य विश्वले प्रेमत्वलाई अहंभन्दा सर्वोच्च स्थानमा राख्दछ तर यस बस्तीले भने अहंलाई प्रेमत्वको उपर राख्दछ । त्यो बस्तीले कतै प्रेममूर्तिजस्तो प्रेमिल सन्तान पनि जन्माउँछ, सँगै जमुनाजस्तो उपेक्षावान् सन्तान पनि र सबैभन्दा महत्त्वपूर्ण ‘बिन्दु’ जस्तो मातृत्वले भरिपूर्ण सन्तान पनि ।

सायद, अहंवाद सम्बन्धी नेपाली साहित्य जगत्मा यति गहन तवरबाट कलम चलाइएको यो पहिलोपटक हो । वस्तुत: मानव जीवनमा सदा नजरअन्दाज गरिने र नकारात्मक चस्माबाट हेरिने मूल्य-मान्यता हो, अहं । प्रेम र घृणाको आधार भनेकै आफूभित्रको अन्तस्करणमा रहेको अहं हो ।  अहंको सकारात्मक स्वरूप नै प्रेम हो र नकारात्मक स्वरूप घृणा । प्रमुख पात्र आदिगुरुको माध्यमबाट सरूभक्त लेख्छन्,- “सम्पूर्ण मानवीय भावना र विचारहरू अहं केन्द्रित छन् । मान्छे अहंयुक्त प्राणी हो, अहंमुक्त प्राणी होइन । यो नै वास्तवमा मानव जीवनको ‘परम सत्य’ हो, ‘तुच्छ र घृणित सत्य’ होइन जस्तो कि महापुरुषहरू भन्दछन् । यसर्थ, म अहंवादी हुने शिक्षा दिन्छु, अहङ्कारी हुने शिक्षा दिन्छु ……………अहं भावनालाई उपेक्षा नगर, स्वीकार गर, घृणा नगर, अध्ययन गर, दमन नगर, निरीक्षण गर, परीक्षण गर ।”

कुनै टेलिभिजनको अन्तरवार्तामा सरूभक्त भन्दछन्, “यदि तिमी कसैलाई साँच्चिकै प्रेम गर्छौ भने विवाह र सहवास त्यसको सर्त होइन । त्यसैले अर्को शब्दमा प्रेम त्याग पनि हो ।” प्रत्येक लेखकले आफ्नो कुनै न कुनै लेख अथवा पुस्तकमा आफ्नो अन्तरात्मादेखिको भडास पोखेको हुन्छ । सायद ‘पागल बस्ती’ सरूभक्तको त्यही नपोखिएका भडासहरूको पोखाइ हो ।

पागल बस्ती शोषित, पीडित, प्रताडित, अपमानित र उपेक्षितहरूको बस्ती हो । बस्ती छिर्दाताका “कुनै दिन प्रशान्तले मलाई ‘मार्था’ भनी सम्बोधन गर्ला” बाट सुरु भएको स्वर्णिम परिकल्पना अन्ततः आदिमाता कै औपचारिकतामा सकिन्छ । सायद, प्रशान्त र मार्थाको प्रेम समानान्तर रेखाझैँ थियो, जो कहिल्यै र कुनै पनि बिन्दुमा आई जोडिएनन् । उनीहरूले एक अर्कालाई प्रेम र उपेक्षा दुवै गरे, तर विपरीत समयमा । दुवैजनाको जीवनको विकासक्रम एकै छ तर विपरीत । मार्था अहंयुक्त हुँदै अन्ततः प्रेमयुक्तमा परिणत हुन्छिन् र प्रशान्त प्रेमयुक्त हुँदै अन्त्यमा अहंयुक्त । प्रस्तुत उपन्यास पढिसकेपछि अझै पनि मेरो मथिङ्गलले उत्तर दिन सकिरहेको छैन, ” प्रेमको समाप्ति अहङ्कारमा हुन सक्छ या अहङ्कारको समाप्ति प्रेममा ?”