घडी हेर्छु । उफ्….. जाबो १:३० भएको रहेछ ।

२०७८/०१/२८ को १:३० ।

कस्तो समय के ? बित्नै नमान्ने । थुप्रै किताब पढेर नि भ्याएँ । धेरै साथीहरूसँग फोनमा कुरा पनि गरियो ।‌ आफ्नै मोबाइलमा भएका अनेकन फोटोहरू कैयौँपटक हेरेर अघाएँ पनि । नारायण गोपालदेखि अरिजित सिंहको कतिवटा गीत सुनेर क्षणिक रमाइयो पनि, तर पनि घडी हेर्दा जाबो १:३० मात्रै !

आखिर मैले गर्न चाहेको यही त थियो नि हैन र ?

सधैँ सधैँ अफिस र घर गर्दागर्दै उकुसमुकुस भएको जिन्दगीबाट मैले यही त चाहेकी थिएँ, हैन र ?

सधैँ सधैँ ममीको ‘यो गर्, त्यो गर्’ सुन्दासुन्दै एकछिन आरामले एकान्तमा बस्न पाए हुन्थ्यो जस्ता ख्यालहरू पनि कैयौंपटक मनमा आएकै त हुन्, हैन र ?

बस्, आफूसँग मात्रै थोरै समय बिताउन पाए हुन्थ्यो, कसैको टोकटाक नभए चाहेजतिको समय एक्लो मेरो मात्रै होस् भन्ने पापी विचार पनि नआएको त पक्कै हैन ।

ज्योति मिश्र

‘ह्या ! यस्तो नि के जिन्दगी’वाला फिल नि आएकै हुन् मनमा; कैयौँपटक आएका छन् । कसैले मेरो सामान चलाउँदा केलाई छोएको भनी जङ्गिएको पनि कम्ति कहाँ हो र ?

अनि किन मन न्यास्रो मान्दैछ त ? बुझ्नै नसकेको कुरा यही हाे । मानिसको जाति पनि अचम्मको छ भन्या । चाहेका कुरा अचानक पूरा भए पनि त्यो स्वीकार्न गाह्रो हुन्छ । मानाैँ त्यसले पनि पूर्वसूचना दिएर आउनुपर्ने जस्तो । बिनासूचनाको पाहुनाझैँ आए भने अस्वीकार्य हुन्छन् ।

हो, यस्तै हुँदैछ सायद मसँग पनि । अलिकमात्रै कोभिडको लक्षण देखा पर्दा टेस्ट गराउन गएको, पोजिटिभ निस्कियो । मानौँ चाहेका कुराहरू नचाहेर पनि पूरा भयो । अब नचाहेर पूरा भयो भन्नेबित्तिकै खुसी दिने त कुरै भएन । मेरा लागि पनि पूर्ण रूपमा अस्वीकार्य थियो याे ।

चाहेजतिको त के, सारा समय, चाैबीसाैँ घण्टा एकान्तमै आफैँसँग बिताउन पाएकै हो ।

यो गर् र त्यो गर्, पनि छैन अहिले त । अफिस पनि जान परेको छैन् । आफ्नो सामान कसैले चलाउँदा नि चलाउन पाएको छैन । चलाउन त दूर, छुने हिम्मत नि गरेका छैनन् कसैले । यसरी सोच्दा सब चाहेकै कुरा त हुँदै छ नि है !

कसले भन्छ, सोचेको पूरा हुँदैन भनेर ? कुनै कुनै चाहना यसै पूरा भइदिन्छन् । अचानकै, अनायासै ।

म खुसी हुनुपर्ने हैन र ?

तर म पटक्कै खुसी छुइनँ । न त यो एकान्त नै मन परिरा’छ, न त शान्ति नै, न त नारायण गोपालको गीतले नै खासै खुसी दिँदैछन् न त अरिजित सिंहको गीतले तनाव ठिक पार्नमा सघाउँदैछ । झ्यालबाहिरको सुन्दरताले मानौँ मलाई गिज्याएर सक्छस् भने छोएर देखा भन्ने च्यालेन्ज गर्दैछन् । चराहरू मभन्दा धेरै स्वतन्त्र भएको महसुस गर्दैछु । महसुस गर्दैछु कि मातातीर्थ औँसीका दिनसमेत ममीलाई ढोग्न र अँगाल्न नपाउनुको पीडा के हुन्छ ? महसुस गर्दैछु कि भाइबहिनीसँग लड्नुको मज्जा के हुँदोरहेछ । साथै महसुस गर्दै छु, जिन्दगी पनि । यो जिन्दगी जुन म चाहन्थेँ केहीक्षणका लागि भए पनि आफ्ना लागि साथै महसुस हुँदैछ ।

वास्तविक जिन्दगी र जिन्दगीको असली परिभाषा त त्यही थियो, जसमा मैले कहिल्यै सन्तुष्टि देखाइनँ । तर जे हुन्छ राम्रैका लागि हुन्छ । हाम्रा अगाडि नभएका कुराको मात्रै हामीले महत्त्व थाहा पाउन सक्छौँ । आज मसँग समय नै समय छ, तर त्यो समय बिताउन सक्ने आधार छैन र पो बुझ्न पुगेकी छु – यी नै जीवनकाे आधारस्तम्भ हुन् ती सब जसबाट म भाग्न चाहन्थेँ । समय त त्यो नै राम्रो हो, थोरै भए पनि जुन आफ्ना लागि र आफूलाई माया गर्नेहरूका‌ लागि बिताइयोस् ।

म खुसी त पक्कै छुइनँ, यो व्यर्थको शान्तिले तर म निको भएपछि पक्कै खुसी हुनेछु । अबको हरेक व्यस्तताले, म खुसी हुनेछु । कसैले मेरो सामान चलाइदिँदा, म पक्कै खुसी हुनेछु । ममीले अह्राएको हरेक काम गर्दा, म खुसी हुनेछु । भाइबहिनीसँग लड्न पाउँदा, म खुसी हुनेछु ।

म खुसी हुनेछु, मैले चाहेको यो वातावरण फेरि आइदिँदा र यो सपना पनि पूरा हुँदा । म खुसी हुनेछु यो आइसोलेसनबाट निस्किँदा र फेरि पुरानै जिन्दगीमा नयाँ रङ्ग भर्न पाउँदा । कसले भन्छ कोभिडले कमजोर बनाउँछ ? ध्यानले सोच्नुहुन्छ भने यसले हामीलाई झन् बलियो बनाउँछ र सायद नयाँ मान्छे पनि ।