हेर्दाहेर्दै एक वर्ष पो भैसकेछ । कोरोना भाइरसको महामारीले गर्दा धेरैजसो समय घरभित्रै बस्नु पर्दा साल, महिना, गते, बार भुल्ने त हामीलाई बानी नै परिसक्यो । तर यो एक वर्ष साहित्यपोस्ट संचालनको पनि पूरा भैसकेछ ।

अनगिन्ती अनलाइन पत्रिकाहरुको भीडमा आफ्नो अलग्गै पहिचान बोकेर आएको साहित्यपोस्ट सम्पूर्ण साहित्यप्रेमी पाठकहरुको मनमा बस्न सफल भएको छ । सम्पूर्ण रुपले साहित्यमा समर्पित भएर कठिन समय र परिस्थितिमा आउनु र आउनासाथ आफ्नो बेग्लै स्थान बनाउन सक्नु चानचुने कुरा हैन । सुरुवाती दिनदेखि नै म कुनै न कुनै रुपमा यससँग आबद्ध रहेको छु ।

सुरेश बडाल

साहित्यपोस्टसँगको नाता भावनात्मक छ । युवा हुनु, त्यसमाथि साहित्यको समाजभित्र नयाँ हुनु । यस्तो अवस्थामा आफूले लेखेका कुराहरुलाई पाठकहरुसम्म पुर्याउन कति अप्ठेरो हुन्छ होला । साहित्यवृत्तमा आफ्नो विश्वसनीयता पुष्टि गर्नु कति चुनौतीपूर्ण हुन्छ होला । यो कुराहरु मैले राम्रै अनुभूत गरेको छु । साहित्यमा केही गर्छु भनेर लागिपरेको अवस्थामा एकाधबाहेक मूलधारका भनिने अधिकांश पत्रिकाहरुमा एउटा सानो रचना पनि प्रकाशित गराउन हम्मे हम्मे परेको बेलामा मेरा लागि साहित्यपोस्ट एउटा दरिलो प्लेटफर्म बनेर आएको थियो । मैले आफ्नो जीवनकै पहिलो शृंखलाबद्ध स्तम्भका रुपमा ‘चिया अड्डा’ यसै पत्रिकामा लेख्न पाएँ । केही फुटकर कथा र निबन्धहरु यतै लेख्न पाएँ ।

एउटा नवलेखकको आँखाबाट हेर्दा साहित्यपोस्टमा आफ्नोपन छ । शुक्रबारका दिन पुरै नयाँ तथा युवा लेखकलाई ठाउँ दिने साहित्यपोस्ट नै एक्लो पत्रिका हो । देशको आर्थिक अवस्था जर्जर भएको अवस्था, कैयौं पत्रिकाहरु बन्द भएको अवस्था, साहित्यको बजारसमेत साँघुरिएको अवस्थामा समेत आफूलाई बलियो राखेको साहित्यपोस्ट साँच्चै साहित्यको असली प्रेमी रहेछ । भनिन्छ नि सङ्कटको बेलामा साथ नछोड्ने नै असली प्रेमी हो । रोगले थलिएको बेलामा, ऋण लागेको बेलामा, बेरोजगार भएको अवस्थामा छोडेर जानेहरु कदापि प्रेमी हुन सक्दैनन् । यसर्थ देश, दुनियाँ नै रोगाएको बेला, साहित्यको बजार नै लगभग प्रतिरक्षामा पुगेको अवस्थामा आफ्नो हातपाउ नै समर्पित गरेर यसलाई थाम्न खोज्ने सम्पादक अश्विनी दाइलगायत सम्पूर्ण टिम नै मलाई त साहित्यको असली प्रेमीजस्ता लाग्दछन् ।

यसबीचमा म साहित्यपोस्टको एउटा इमान्दार पाठकको भूमिकामा पनि रहें । युवापुस्ताप्रतिको विशेष सद्भाव त देखिएकै हो । जसका कारण धेरै प्रतिभाशाली युवालेखकहरु उदाउँदै गरेका छन् । यसबाहेक विश्वसाहित्यलाई नेपाली पाठकहरुका बीचमा ल्याउन अनुवादका शृंखलाहरु पनि तारिफयोग्य छन् । गजल अनि कविताका लागि पोस्टरकविता, हस्तलेखन जस्ता प्रयोगात्मक कुराहरुले पनि सिर्जनशीलता अभिवृद्धी गरेको छ । विश्वभर छरिएर रहेका नेपाली भाषाप्रेमीहरुका लेखरचना तथा साहित्यिक गतिविधिहरुका बारेमा सूचना दिने काम पनि प्रशंसनीय छ । आफ्नो प्रथम कृतिसहित नेपाली साहित्यमा दह्रिलो उपस्थिति जनाउने लेखकलाई प्रदान गरिने पुरस्कारको समेत सुरुवात गर्ने काम साहित्यपोस्टले गरेको देख्दा औधि खुसी लागेको छ । यस्तो गर्विलो कामको सकारात्मक प्रभाव साहित्य र पठन संस्कृतिमा पक्कै देखिने छ ।

आज स्थापनाको एक वर्ष मनाउँदै गर्दा त हामीसँग यति धेरै उपलब्धीहरु छन् भने यी वर्षहरुको सिलसिला बढ्दै जाँदा कुनैबेला यस्तो आउने छ नेपाली साहित्यको एउटा स्वर्णिम कालखण्डका रुपमा भविष्यले साहित्यपोस्टको समयलाई सम्झिनेछ ।

आगामी दिनमा पनि साहित्यपोस्टले अरु धेरै रचनात्मक क्रियाकलापहरु गरोस् । सम्पूर्ण साहित्यप्रेमीहरुको साझा मञ्च बनोस् । अनुसन्धानमूलक लेखहरुले पनि ठाउँ पाउन् । नयाँ र पुराना, स्थापित र सङ्घर्षरत लेखक साहित्यकारहरु बीचमा रहेको दूरी हटाउने अग्रसरताका साथै विभिन्न गुट र समूहमा आबद्ध रहेर एकअर्कालाई निषेध गर्ने खराब संस्कृतिलाई हटाउने काम पनि साहित्यपोस्टले लेओस् भन्ने कामना गर्दछु ।

संसारमा व्याप्त महामारी छिट्टै हटेर जाओस् र हामी फेरि आफ्ना मौलिक कथाहरु, काव्यहरु संसारलाई पढाउन सकौं । नेपाली साहित्यलाई नेपालको सिमानाभित्र मात्र हैन, संसारभर र नेपालीभाषी मात्र हैन अन्यसम्म पनि पुर्याउने काममा साहित्यपोस्ट अगाडि बढोस् भन्ने शुभकामना दिन चाहन्छु ।

(बडाल साहित्यपाेस्ट उत्तम कृति पुरस्कारका लागि उत्कृष्ट तीनमा पर्न सफल हालकाे बहुचर्चित कथासङ्ग्रह रहरका लेखक हुन् ।)