(हुन त लेख्नलाई कुनै  भाषा या साहित्य नै पढ्न पर्छ भन्ने  मलाई लाग्दैन। यसै पनि म प्राविधिक क्षेत्रमा डुबेको मान्छे, ‘इन्जिनियरिङ्ग गरिरहेको मान्छेलाई किन लेख्छस् ?’, ‘तँ यो क्षेत्रको मान्छे नै हैनस् ?’, भन्नेहरू त कति छन् कति । तर पनि विगत केही वर्षदेखि लेख्दै आएको छु । मलाई प्रविधि र साहित्यलाई इन्टरलिङ्क गरेर नयाँ आयामको विकास गर्नु छ, ताकि मान्छेहरूलाई लागोस् साहित्य नै जीवनको आधार हो । म  आफ्नो प्राविधिक क्षेत्रलाई साहित्यसँग परिचित गराउन चाहन्छु । एउटा नयाँ संसारको खोज गर्नु छ ।

मैले सुरु गर्न लागेको यो ‘दी पर्पल होराइजन’ एउटा विशुद्ध कथाको सिरिज हो । यसमा जीवनका रङ्गहरू परिवर्तन भएर कुनै एक क्षितिजमा ठोक्किएर रङ्गिन देखिएका मेरा अनुभवहरूमा केही फिक्सन जोडेर कथाको स्वरूप दिन खोजेको छु । हुन त के कतिसम्म लेख्न सकुँला, त्यो म जान्दिनँ तर मलाई यहाँबाट केही पक्कै सिक्नु छ ।सिक्ने कुरामा विश्वस्त छु ।) – विनायक पन्त

=============================

…. बाहिर झमझम पानी दर्किरहेको छ। टेबलमा भर्खरै राखेको कफIको कपबाट निरन्तर बाफ उडिरहेको छ। कफीको बाफलाई साथ दिन एसट्रेमा अड्किरहेको चुरोटको ठुटोले सकभर कोसिस गरिरहेको छ। छेउको मोबाइलमा  निरन्तर गीतहरू बजिरहेछन्। मलाई लेख्ने हुटहुटीले सताइरहेको छ। लेख्ने कोसिस नगरेको पनि हैन तर के लेख्ने? कुन विषयमा लेख्न सुरु गर्ने? मेरो मस्तिष्कले ठम्याउन सकेको छैन।

एसट्रेको चुरोट झिकेर एक पफ तान्छु। तातो कफीको एक सुर्कोले घाँटीलाई गरम बनाइदिन्छु। घडी हेर्छु, साँझको ७:१२ भएको छ। बाहिर किचनमा कुकरको सिटी बज्दैछ। म कुर्सीमा थचक्क बस्छु। कलम समात्छु, कापीमा लेख्ने जमर्को गर्छु तर लेख्न सक्दिनँ। “साँच्ची! लेख्न कति कठिन छ?” म प्रश्न गर्छु।

मेरो मानसपटलमा एकाएक हिजोका घटनाहरू नाच्न सुरु गर्छन्। म एकछिन रनभुल्लमा पर्छु। “त्यसैलाई लेखेर मन बुझाइदिऊँ कि क्यारे?” मेरो मनले प्रश्न गर्छ।”भो नलेख्।” मनको कुनै अर्को कुनामा उत्तर गुन्जिरहन्छ।
मैले लेख्नमा भन्दा बढी समय आफैँमा प्रश्नोत्तर गरेर बिताइरहेको छु।म पुनः छट्पटिन्छु। लामो श्वास तान्छु फेरि झ्यालबाट बाहिरतिर हेर्छु। पानी परिरहेकै छ । अँ, बरु अगिभन्दा अझै अँध्यारो देख्छु। गाडीहरू कुदेको आवाज भने पटक्कै आएको छैन। “ए! लकडाउन छ क्यारे।” मैले गाडीको आवाज नसुन्नुको जवाफ भेट्टाउँछु। धन्न केही भए पनि सम्झिएँ। म मख्ख पर्छु। अझै लेख्न बसेको बेला लेख्न पाएको भए कति मख्ख पर्थेँ होला? म यही सोचिबस्छु।

ठ्याक्कै एक वर्ष पहिले सुरु भएको थियो कोरोना। करिब ९ महिनासम्म अस्तव्यस्त भएको माहोललाई चिरेर बिचको केही महिनामा अरू क्षेत्रले जस्तै स्कुल कलेजले पनि  पुनः आफ्नो कार्यलाई निरन्तरता दिए। क्लासहरू सुरु भए। पढ्न खोज्नेले पढे। कतिले दिन काटे, काल पर्खिए। अघिल्लो साल रोकिएको परीक्षा दिनेहरूले एकाध महिना फेसबुक, ट्विटरमा रोइलो नमच्चाएका पनि होइनन्। अहिले फेरि लकडाउन भएको छ। कतिपयलाई यो लकडाउनले ढाडस  पक्कै दिएको छ कति भने फेरि पनि नयाँ नयाँ परिकारहरू पकाएर खानु भन्दापनि  सोसियल मिडियामा अप्लोड गर्ने होडबाजीमा होलान्। कति फेसबुक र टिकटकमा आफ्ना नयाँ नयाँ अवतारलाई अनावरण गर्ने तयारीमा जुटिरहेका होलान् अनि कतिलाई सरकार र सिस्टमको कुरा काट्ने एउटा अर्को बाहाना जुरेको होला। खैर सबैका आफ्ना आफ्नै सुर्ता होलान् , सपना होलान्। म जस्तै कतिपयलाई  लेख्नु छ होला। मलाई पनि लेख्नु छ तर किन लेख्न सकिराखेको छैन? म आफूलाई नै थाहा छैन। के अब मैले पनि सरकारलाई गाली गर्नु? तिनै गालीहरूलाई कुनै सेतो पानामा साभार गर्नु? के यसरी मेरो धित मर्ला?

यति कुरा सोच्दा सोच्दा मेरो मथिङ्गल फुट्ला जस्तो भैसक्यो। के के सोच्छ; आफैँलाई के के भन्छ; तर पनि यो सो कल्ड राइटरले लेख्न सकिरहेको छैन। सोच्छु, “सायद मेरो लेखाइमा पनि लकडाउन भयो।” कस्तो गज्जब उत्तर!  म हाँस्छु – “हा!…हा!…हा!…।”

अगाडि हेर्छु एसट्रेमा चुरोटको चारपाँचवटा फिल्टरमात्रै देखिन्छन्। कपको आकारमा आकार मिलाउँदै आफ्नो आयतन कायम गरेको कफी सेलाईवरी बफाउन छाडिसकेको छ। अगि सल्किरहेको चुरोटको आयु पनि सक्किसकेछ। धुवाँ आइरहेको छैन। सोचेँ, मेरो आयु पनि सक्किँदै छ चुरोट जस्तै र अहिले म उडिरहेछु चुरोटको धुवाँजस्तै गरी। कपको कफीको जस्तो यो धुवाँको आयतन कति छ म बुझ्न सक्दिनँ। उडेर कहाँ पुग्ला? कहाँ गएर अस्तित्वहीन होला? त्यो पनि थाहा छैन तर मलाई उड्नु छ तर नक्कली  प्वाँख पलाएर उडेको छिचिमिरा जसरी पछारिनु छैन। मलाई केवल उडिरहनु छ; उडिरहनु छ।

अँ  मोबाइलमा गीत अगिजस्तै गरी बजिरहेकै छ। मोबाइलले भने आफ्नो धर्म निभाइरहेको छ तर  म किन आफ्नो धर्म निभाउन सक्दिनँ ?
“ए! साँच्चै मेरो धर्म पो बरु के हो ?”
-“लेख्नु?” उत्तरपनी प्रश्नै बनेर आइदिन्छ।
तर पनि म किन लेख्न सक्दिनँ?
के म आफ्नो धर्मबाट च्युत भएँ? सकिएँ?
दिमागले सोचिरहेछ। प्रश्नहरू भने एकआपसमा ठोक्किरहेका छन्।

मलाई यी प्रश्नहरूको उत्तर खोज्नु पक्कै छैन। खोजे पनि सायदसम्म भेटाउन सक्दिनँ बरु मलाई आफ्नो बारे लेख्न मन छ। म के हुँ? को हुँ? चिनाउनु छ। अँ मैले अरूबाट अक्सर यस्ताखाले प्रश्नहरू भने फेस गरिरहेको हुन्छु,- “लेखेर के पाइस्?/ के पाउँछस्?” तर उत्तर आजसम्म दिन सकेको छैन। किनकि मैले पाएको के नै पो छ र? तर म यस्तै प्रश्नको उत्तरहरूका लागि भने केही वर्षदेखि दौडिरहेको छु। “दौडिएर कहाँ पुग्छस्?” यो त झन् सोध्दै नसोध्नुस्। किनकि मलाई गन्तव्य कहाँ हो भन्नेसम्म थाहा छैन तर नदौडी फेला पर्दैन भन्नेचाहिँ थाहा छ र जुन दिन मैले पहिलो प्रश्नको उत्तर फेला पार्छु सायद त्यो दिन भने तपाईँहरूले मेरो गन्तव्य पनि आफैँ थाहा पाउनुहुनेछ।

म त क्षणभरमै गहिरो सोचमा मग्न भएछु तर त्यति गहिराइमा चुर्लुम्म डुब्न पनि नसकुँला। बाहिर फेरि गड्याङ्ग-गुडुङ्ग हुन सुरु भयो। झ्यालबाट बिजुली चम्कँदाको उज्यालो प्रकाश बेलाबेला आइरहेको छ। बाहिरको सडक अझै सुनसान छ। अँ बरु कतै ओत लागेका कुकुरहरू भुकिरहेको  बिरल आवाज सुनिइरहेको छ। त्यतिकैमा बाहिरबाट गेट खुलेको आवाज आउँछ। गेट खुल्ने बित्तिकै खोरबाट कुकुर भुक्न थाल्छ….भौँ!..भौँ!….भौँ!…….!

यो कथित राइटरले कोठाभित्रै बसेर बाहिरको सब कुरा थाहा पाइरहेको छ। थाहा नपाएका कति कुराहरूलाई यस्तै होला भनेर अनुमान नलगाएको हैन, लगाइरहेछ तर पनि लेख्न सकिराखेको छैन। यस्तैमा मेरो मुखबाट  आवाज निस्कन्छ- “मुला ! सो कल्ड राइटर !..”

बजिरहेको मोबाइल एक्कासी रोकिन्छ। कोठामा केही पलको सन्नाटा छाउँछ। एकैछिनमा मेरो कानले फोनको घण्टी बजेको चाल पाउँछ। हेर्छु, आमाको फोन आइरहेछ…….