“हे चित्राश्वको महाजनपदहरू हो ! यो कुण्डनीको महासभाले एक अबला स्त्रीको स्वतन्त्रतामाथि अनियन्त्रित बलको पासा चढाएको छ । मलाई मेरो अभिसार मधुराको शय्याबाट अपमानित गराई वेशवनिता(वेश्या)को रूपमा शारीरिक क्रीडा र तनरूपी आनन्द उठाउने चेष्टा गरेको छ । हे सम्माननिय पुरूषहरू हो ! मैले त सुनेको थिएँ, यो कुण्डनीको सभाले हरेक स्त्रीलाई देवीको रूपमा हेर्दै आइरहेको छ तर मलाई त यो राष्ट्रको महापदमा एक स्वतन्त्र एकाइ ठान्ने दलबाट नै अगम्याको उपमामा रक्तरञ्जित गराएर अर्धरात्रिमा यो राष्ट्रबाट देशनिकाला गर्ने दुष्प्रयास गरेको हो । यो उदण्डको दण्ड स्वरूप म महाराज चित्राश्वको महाजनसामु राजसेनापति कार्तिकेयको अनुयायी वैष्णव्य र मधुरामाथि मेरो मानहानी तथा चरित्रमा दागरोपण गरेको विषयमा यो उजुरी जाहेर गर्दछु ।”
यो कथा हो पल्लला महाराष्ट्रको अधीनमा आफ्नो गण उभ्याई स्वाभिमानसँग बाँचिरहेको राष्ट्र कुण्डनीको । हिजो मध्यरातमा राजगण मधुराको शय्याबाट वैष्णव्यले उनको अभिसारिका ससिराको अपमान गरे । शारीरिक सम्बन्ध जोड्ने चेष्टा उठाए । कुरो के थियो भने मधुरासँग ससिराले आफू मोक्ष यात्राका लागि जान लागेको कुरा गरेकी थिइन्, पहिलेदेखि नै । तर मधुराले उनलाई केही दिनका लागि रोकिन अनुरोध गरेका थिए । हे आदि र अनन्त पुरूषहरू हो ! मधुरा र ससिराले वैवाहिक सम्बन्ध पूर्व नै अवैवाहिक गठबन्धनको सम्बन्धलाई महाराज चित्राश्वको अनुमतिमा अगाडि बढाएका हुन् । यी दुवै स्त्री पुरूषहरूले राजपालका समक्ष गन्धर्वविवाहलाई अनुमोदन गरेका हुन् तर बिचमा आइपुगे राजसेनापति कार्तिकेयका अनुयायी वैष्णव्य । उनले ससिराको पहिलो झलक देख्नेबित्तिकै उनको यौवनमा दास बन्न पुगेका हुन् ।
अघिल्लो माघ शुक्ल पूर्णीमाका दिनमा वैष्णव्यले उनी(ससिरा)लाई प्रेमको अभिव्यक्ति गरेको खत पठाएका थिए, चिलौनी प्रान्त नगरीको अगम्या नैऋतिको हातमा । तर अगम्या नैऋति फर्केर आउँदा उनको हातमा ससिराले च्यातिपठाएको खत थियो । वैष्णव्यको प्रेममा ससिराको जाहेरी कस्तो थियो । त्यसका लागि यो च्याति पठाएको खत नै वैष्णव्यका लागि पर्याप्त भयो । यसैलाई वैष्णव्यले आफूलाई ससिराले अपमानित गराएको ठानी मनमा अपमानित हुनुको अग्निको सानो लप्कोलाई ज्वालामा परिणत गरे ।
त्यसैदिनदेखि उनको हेलमेल मधुरासँग बढ्यो । पछिल्लो समयमा उनी मधुरासँगै उनको कक्षमा पनि जान थाले । मधुराको मुखबाट ससिराको योवनाको प्रशंसा हुँदा वैष्णव्य खुब मज्जासँग सुनिरहेका हुन्थे । जब मधुराले ससिराको योवनाको प्रशंसा गर्न कुनै शब्द भेट्टाउदैन थिए त वैष्णव्यको प्रश्न त्यही पहिलेकै जस्तो हुन्थ्यो, “अनि देवीले भोजन ग्रहण गरेपश्चात् आज पनि स्नान गर्न त भुल्नु भएन ?”
यो अवस्थासम्म आइपुग्दा ससिरा मधुराको कक्षमा नै कैयौँ प्रहर समय व्यतीत गरिरहेकी हुन्थिन् । एक दिन ससिरा भोजन ग्रहण गरेपश्चात् स्नानका लागि स्नानकोठामा गएकी थिइन्, अर्धवस्त्रमा । यसैसमयमा वैष्णव्य मधुराको कक्षमा गुप्त तवरले पस्यो । ससिराले स्नानका लागि आफ्नो शरीरबाट उतारेको कञ्चुकी (स्तन अड्याउने भित्री वस्त्र )मा सम्भोगलाई स्पष्ट रूपले देख्न पुगे । अनि त्यस कञ्चुकी लिएर उनी त्यहाँबाट फर्किए ।
स्नान गरी फर्कदा राखेको ठाँउमा कञ्चुकी थिएन । उनले कक्षको चारैतिर हेरिन् तर कतैपनि भेटिनन् । जब उनले कक्षको बुर्जामा गएर बाहिरतिर चिहाइन् त वैष्णव्यले काखीमा आफ्नो कञ्चुकी च्यापीरहेको भेट्टाइन् । ऊ त्यतिखेर रैती दुनियाँतर्फ लाग्दै थियो । त्यतिबेलै ससिराले बुझेकी हुन्, वैष्णव्यले अझै पनि ममाथि कुदृष्टि राख्दै छ ।
समय जतिजति बढ्दै गयो, त्यतित्यति नै वैष्णव्यको धृणित व्यवहार पनि बढि नै रह्यो, ऊ कहिले ससिराको वस्त्रमा खेलिरहेको हुन्थ्यो त कहिले सुकाइरहेको वस्त्रमा हेरी टोलाइरहेको । आजकल त ऊ कमै मात्रामा वेश्यालय धाउथ्यो । राजसेनापति कार्तिकेयसँग पनि कमै मात्रामा उभिएको पाउन सकिन्थ्यो । भन्ने हो भने यसबखत उसले खुबै सङ्गीत मन पराउन थालेको थियो अझ शास्त्रीय नृत्यमा रमेकी नर्तकीको शारीरिक बनावट देख्दा त ऊभित्र केही अनौठो भाव उत्पन्न हुन्थ्यो । यी कुराहरूको ख्याल गरिरहेकी हुन्थिन् ससिरा, अनि उसको गिद्दे दृष्टिबाट बच्ने भरपुर उपाय पनि अपनाइरहेकी हुन्थिन् ।
एकदिन त उसले हद नै पार गऱ्यो । ससिरा स्नान गरेको हेर्दै हस्तमैथुन क्रीडामा रमिरहेको अवस्थामा ससिराको दासीले उसलाई फेला पारिन् र आज मानवताको पक्षमा उभिएका स्तम्भलाई चलायमान गर्ने अयोग्य व्यवहारको निर्णय नै हिजो राति वैष्णव्यले मधुरालाई गरेको अभद्र व्यवहार हो । जसले ससिराको इज्जतमा बेइज्जतीको मूल फुटाइदियो ।
वैष्णव्यलाई थाहा थियो ससिरा उनकै कक्षमा विश्राम लिन्छिन् भनेर ! विश्राम लिनुपूर्व नै वैष्णव्यले मधुरालाई सोमरसमा बेहोसीको आषधी मिसाएर पिलाइदिए । मधुरा आफ्नो कक्षमा आइ लम्पसार भएर सुते । ससिराले पनि यो विषयमा खासै ध्यान दिइनन् । केवल ध्यान दिनमा वैष्णव्य नै एकल ठहरिए । अर्धरात्रिसम्म वैष्णव्यले मधुराको हाल बुझिरह्यो । जब उसको दृष्टि मधुराबाट हटेर ससिरामा पुग्यो त स्वतः उसमा कामदेवको आह्वान भयो । श्वेत अर्धवस्त्रमा अर्धनग्न अवस्थामा सुतिरहेकी स्त्रीलाई देखेर उसले आफ्नो बदलालाई पनि भुल्यो ।
ससिराको गला काट्न ल्याएको खन्जर(राजकीय छुरा)लाई भुईँमा राखी ऊ ससिराको यौवनमाथि उत्रन चाह्यो । सन्नाटाको पहिलो चरणमा पल्लला राष्ट्रको उत्तरखण्डमा बलिरहेको चिराकको मधुरो किरण त्यहाँबाट स्पष्ट देखिन्थ्यो । जतिजति ऊ ससिराको निटक पहुँच्न थाल्यो, उतिउति नै उसले कामवासनालाई पनि थेग्न सकेन ।
अमूर्त मानवको केशरासीमा जङ्गको उधुम मच्चाउन उसले पहिलो खण्डमा नै ससिराको मुख आफ्नो बायाँ हातले छोपी उनीमाथि झम्टन थाल्यो ।
शून्यता…, महाशून्यता…, अनन्त शून्यतालाई वायुको तीव्र वेगले काट्दै अन्तमा रगतको आहालमा ल्याइ पछाऱ्यो।
“महामहिम ! म यो आदि शक्तिको प्रार्थनामा म यो राष्ट्रको दासी सत्यको पक्षमा असत्यको कुनै हद पार गर्ने छैन । ममा विश्वास गरियोस् “सभाको अग्रभागमा उभिएकी तिनै स्त्री ससिराले महाराज चित्राश्वको अगाडि भनिन् ।
चित्राश्वको मन्त्रीले आफ्नो वक्तव्यमा कुण्डनीले कुनै पनि स्त्रीलाई उनको इच्छाबेगर वेशवनिता वा नगरवधू नबनाएको विषयमा जोडदिँदै उनलाई देवीको संज्ञाद्वारा उनीमाथि कलात्मक प्रभावकारीता जमायो । मन्त्रीले भने,” तर देवी ! कुण्डनीले कुनै पनि स्त्रीलाई वेशवनिता, गणिका वा नगरवधूको रूपमा हेरेको छैन । महाराजको दरबारले आजसम्म पूर्वजको अमलमाथि अस्वीकृतिको सूचक दिएको छैन । देवी ! आफ्नो उजुरी भन्ने साहस जुटाउनुहोस् ” मन्त्रीले यति भनिसक्दामा त्यस सभामा मधुरा र वैष्णव्यलाई पनि उपस्थित गराइएको थियो ।
ससिराले साहस जुटाएर भन्न थालिन्,” महामहिम ! म जुन घटनालाई शब्दले उतार्न गइरहेकी छु, त्यस घटनाको साक्षी स्वयं यो धरती र पापी वैश्णव्यको अर्धकटित लिङ्ग हो । त्यस पापीले मेरो मुख बन्द गरी मेरो शरीरबाट कञ्चुकी र योनीवस्त्र उतार्न थाल्यो । ऊ पहिले नै वस्त्रहीन अवस्थामा थियो । मैले आफ्नो रक्षाको सहायताका लागि मधुरालाई बोलाउन सकिनँ । कारण, यो पापीले उनीमाथि पहिलेदेखि नै छल गरिसकेको रहेछ । जब आफ्नो रक्षाका लागि मैले एउटा बलिष्ठ पुरूषसँग वाहुपासा लडाउनुपऱ्यो तब मेरो नजर भुईँमा लडिरहेका खञ्जरमा पुग्यो । महामहिम ! मैले आफ्नो रक्षाका लागि पाप गरिसकेँ, मैले यस पापीको लिङ्गमा आफ्नो हात पुऱ्याए, जसको फल अहिले ऊ भोग्दै छ र म पनि । मधुराको होस खुलेपश्चात् यो कुराको ज्ञात उसलाई पनि भयो त त्यहाँ म नै दोसी देखिएँ । मलाई मधुराले नै वेश्या हुनुको संज्ञा दिए । म उनको नजरमा अपराधिनी सिद्ध भएँ । महामहिम ! यस पापीले आफ्नो रक्षाका लागि मधुरालाई आफ्नो पक्षमा समेट्यो र अन्तमा मधुराले नै मलाई जगल्टाई त्यो अर्धरात्रीमा अर्धवस्त्रमा राखी यो कुण्डनीको नगरबाट निकाला गर्ने यी दम्भ देखाए ।”
राजपालको मन्त्रीले उनलाई भने, “कुण्डनीको महासभा हजुरका अगाडि लज्जित छ देवी, जुन घटना यही राष्ट्रको दरबारमा घट्यो, त्यही राष्ट्रको दरबारले हजुरलाई तत्काल न्याय दिन सकेन । राजसेनापति कार्तिकेयका अनुयायी र मधुराले हजुरमाथि जुन व्यवहार गरे त्यो अति नै निर्लज्जताको कुरा हो । देवीको उजुरीमा जुन वेशवनिताको कुरा उठेको छ त्यो कुरा कुण्डनीले सहन गर्न नसक्ने कुरा हो । यो राष्ट्रले पल्ललाको अखण्डतालाई अहिलेसम्म लत्याएको छैन र आगामी दिनहरूमा पनि लत्याउने कुचेष्टा उठाउने छैन । जुन दाग राजसेनापति कार्तिकेयको अनुयायी वैष्णव्य र मधुराले देवीमाथि लगाइदिएका छन् त्यस दागलाई यो राष्ट्रको सर्वोपरीले पनि मेटाउन सक्ने छैन । यो राष्ट्रले देवीलाई अब पवित्रता स्वरूप स्विकार गर्न सक्दैन । देवीको चरित्रमा अब यो राष्ट्रले पनि चरित्रहीन भएको ठहर गरिसकेको छ र अबको न्यायविधान लगत्तै हजुरले पनि देवी सीताले झैँ यो राष्ट्र त्याग गर्नुपर्नेछ ।
यदि देवीमाथि यो हुकुम चलाइएन भने भोलि यही सभाको त्यही अग्रभागमा उभिइ हामीमाथि प्रश्न आउनेछ रैती दुनियाँको । जुन स्त्रीलाई उसको अभिसारले नै अस्वीकार गरी देश निकाला गर्न तत्पर देखिइसक्यो भने त्यसको फैसला अरू के नै हुन सक्छ र ? तर हामी पल्लला राष्ट्रको न्यायविधानले बाँधिएका छौँ र त्यसैको सहयोगमा दोषीहरूलाई पीडितको हुकुमअनुसार नै दण्ड दिनेछौँ । यस विषयमा श्री राजपाल मौन हुनुहुनेछ र यो नै उहाँको हुकुम हो ।”
राजपालको सभाले यति कटु निन्दा गरेलगत्तै ससिरा बघिनीको रूपमा उत्रिइन् । उनको शरीर ज्वार भवरझैँ काँप्न थाल्यो । खुलिएको केशमा अपमानका फूलहरू काँडा बनी उनलाई नै ठुँग्न लागे । उनी राजपालतर्फ फर्की थु:थुः गर्दै पूरा जनमानस तथा सभाकै चरित्रलाई उजागर गर्न लागिन्, ” हे पितृसत्तात्मक समाजमा जन्मिएका पापीहरूको सभामा विराजमान गणहरू हो ! तिमीहरूमा स-सम्मान स्त्रीको करुणा सुन्ने साहस पनि रहेनछ भने के नै न्यायलाई बुझ्न सक्छौ र ? जो एक स्त्रीकै कोखबाट जन्किएर त्यहीँ स्त्रीलाई नै चरित्रहीनको संज्ञा दिन सक्छौ भने म तिमीहरूमाथि कुन शब्दको प्रयोग गर्न सक्छु र ? कुण्डनीको इज्जत पल्लला राष्ट्रले बचाइराख्दा पनि आज मेरै राष्ट्रको भिखमा बाँचिरहेका हे नरपशुहरू हो । सदियौँदेखि तिमीहरू पुरूषहरूले हामी स्त्रीहरूलाई कहिले इन्द्र बनी भोग गऱ्यौ, कहिले कृष्ण बनी । जब भोग्यालाई अयोग्य ठान्यौ तब रामचन्द्रको दुष्ट्याइँ तिमीहरूमा पनि चढ्यो ।
यो समाज र कुण्डनीको विधानामा तिमीहरू भगवान् बुद्ध हौँ, यदि त्यो स्त्रीले पनि आफ्नो सुतिरहेको पति र सन्तानलाई छोडेर जान्छे भने उसका लागि पहिले नै यो समाजले तय गरिएको जवाफ दिइन्छ, ” अलच्छिना थिई, आफ्नो प्रेमीसँग भागी ।” यो समाज किन बुझ्न चाहँदैनन् कि त्यो स्त्री पनि आफू हुनुको तलासमा निक्लिएकी हो भनेर ? मैले त झन् एउटै शय्यामा सुतिरहेको आफ्नै पुरूषबाट निरुत्तर हुनुपर्दा आफ्नो रक्षा गरेकी हुँ । अझ मलाई नै यो सभाले कलङ्किनी हुनुको छाप लगाउन सङ्कोच मान्दैन भने के आफ्नो रक्षाका लागि नाङ्गो पुरूषलाई देख्नु मेरो पाप हो ? के इज्जत बचाउन उसको लिङ्गमा खन्जर प्रहार गर्नु मेरो अपराध हो ? त्यसो हो भने तिमी पुरूषहरू सदियौँदेखिका अपराधी हौ । मध्यरातमा परस्त्रीको कक्षमा आउने पुरूष महात्मा बने अनि म चरित्रहीन ! “
उनको नयनबाट बलिन्द्रधारा आँसु चुहिन थाल्यो उनी भन्दै गइन्,” दुष्ट रामचन्द्रको कारण आज मेरो अपमान गरेको छ यो सभाले । बुद्ध जङ्गलबाट फर्किए महात्माको उपाधि लिएर, सीता फर्किइन कलङ्किनी बनेर । अझ मलाई त मेरै पुरूषले अग्निपरीक्षाको लायक पनि ठानेनन्, छि: !”
उनले आफ्ना दुवै आँखा चिम्ली आकाशतर्फ हेर्दै आफ्नो अन्तिम निर्णय सुनाइन्, मेघ गर्जन समान भएर, “हे कुण्डनीको मल्हारमा विराजमान देवी ! यदि यो सभाले साँच्चिकै ममाथि न्याय दिन चाहन्छ भने जुन तरवारले म वैष्णव्य र मधुराको गर्धन छिनाउन चाहन्छु, त्यहीँ तरबारको धारले महाराज चित्राश्वको घाँटी वारपार गर्न पाउने हुकुम पाऊँ । यो सभा एक स्त्रीको चरित्रमा दाग लागिरहँदा पनि मौन छ । हे कुण्डनीकि देवी ! तिमी साक्षात् स्त्री रूपमा नै विराजमान भएकी छ्यौ भने पल्लला राष्ट्रका मेरा पिता सम्राट् विदूरथको कर्णमा यो खबर पुऱ्याइदेऊ । उसकी प्रिय पुत्री ससिराको अपमान गरिसकेको छ यो राष्ट्रले । अब म माधवीसरह आफ्नो रूप प्रदर्शन गरिरहन सक्दिनँ ।” उनको मुखबाट यति कुरा निस्कँदासम्ममा उनको आङबाट साडीको उपल्लो भाग खसिसकेको थियो । उनी भुईँमा थुचुक्क परी घोप्टिइन ।
ससिराको यो निर्णयले राजपालको मन्त्रीको होसहवास उठ्यो । मौन भएका महाराज चित्राश्वको आँखामा मृत्युको महाकाललाई साक्षात् बनी आउँदै गरेको देख्न सकिन्थ्यो भने पुरै दरबारका दरबारिया गण र सभामण्डलको नजर भुईँमा घोप्टिरहेकी ससिरामाथि पुग्यो । उनीहरूले ठान्न पुगे सायद उनी नै त्यो साक्षात् देवी हुन् जुन कुण्डनीमा विराजमान भएकी छिन् ।
त्यतिबेलासम्ममा न्यायको द्विभागमा उभिएको न्यायमण्डल मौन थियो जतिबेला पल्लला राष्ट्रको राजदण्ड नगरको बिचभागसम्म आइपुगेको थियो । कुण्डनीको चारैतिरका सीमा घेराबाट मडारिँदै आइरहेको पल्लला राष्ट्रको कालो मेघले सभाको द्वारमा आई आवाज दियो, ” महाराज चित्राश्व ! सम्राट् विदूरथले हजुरको दरबारमा आफ्नो राजदण्ड टेकाउनुभएको छ । द्वार खोली स्वागत गर्नुहोस् …..।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।