मानव इतिहासको महान् व्यक्तित्वहरूमध्ये एक हुन्, लियोनार्डो डा भिन्ची। हामीले उनका बारेमा पढेका छौँ, सुनेका पनि छौँ। उनी असाधारण व्यक्ति थिए। विविध विषयमा रुचि राख्थे, विशेषज्ञता विकास गरेका थिए। विविध क्षेत्रमा महारथ प्राप्त गरेका थिए, आफ्नो प्रभाव जमाएका थिए। उनलाई एउटा सीमित ओहदामा परिभाषित गर्न सकिँदैन। उनी चित्रकार थिए। उनले बनाएको ‘मोनालिसा’ विश्वविख्यात छ। त्यसैगरी उनी मूर्तिकार थिए, आविष्कारक थिए, इन्जिनियर थिए। त्यसैगरी उनी लेखक थिए, विचारक थिए। त्यसैगरी उनी वैज्ञानिक पनि थिए। विज्ञान क्षेत्रको कुरा गर्दा, उनी कुनै एक विभाग वा शाखामा मात्र केन्द्रित थिएनन्। उनी शरीरशास्त्र, जैविक शास्त्र, भूविज्ञान, खगोल विज्ञान लगायतका शाखाहरूमा निपुण थिए, विशेषज्ञ थिए। यी सम्पूर्ण व्याख्यानबाट एउटा कुराको पुष्टि हुन्छ, उनी अद्भुत थिए, असीमित प्रतिभाका धनी थिए, जे पनि गर्न सक्थे।
आखिर लियोनार्डोले कसरी असङ्ख्य विषयहरूबारे सिकेका थिए? उनी कसरी जुन विषय पनि जानेको, बुझेको र जुन कार्य पनि गर्न सक्ने हैसियतका भएका थिए? उनको अध्ययन र अनुसन्धानको क्षेत्र कसरी निकै फराकिलो, बृहत् र गहिरो हुन पुगेको थियो? यसका पछाडि एउटै मुख्य रहस्य थियो, उनमा वास्तविकताको सूक्ष्म अवलोकन गर्न सक्ने असाधारण क्षमता हुनु। उनी कुनै पनि विषयवस्तुबारे ज्ञान लिन, नयाँ सीप विकास गर्न अथवा आफ्नो समग्र बुझाइ एवं सिकाइको स्तर बढाउन हरेक कुरालाई उत्सुकताका साथ अवलोकन गर्ने गर्थे। त्यस समय दौरान हठात् निष्कर्षमा पुग्नु उनको प्रमुख उद्देश्य हुँदैन थियो। लामो समयसम्म केवल अवलोकन गर्नु उनको प्राथमिकतामा पर्थ्यो। यही रणनीति उनी प्रत्येक कार्यमा प्रयोग गर्थे।
अवलोकन के हो? के होइन?
कुनै एक कुरा, चीज, वस्तुलाई मिहिनेतपूर्वक, स्थिर अवस्थामा रहेर तथा पूर्ण ध्यान केन्द्रित गरेर लामो समयसम्म हेर्नुलाई अवलोकन गरेको भन्ने बुझिन्छ। अवलोकन गर्ने क्रममा कुनै एजेन्डा (कार्यसूची) बिना एक चीज, वस्तु हेरिन्छ। यसलाई सिकाइको गहिराइ बढाउने सशक्त विधिहरू मध्ये एक रूपमा पनि व्याख्या गर्न सकिन्छ।
हामीले अवलोकनबारे सङ्क्षिप्त रूपमा बुझ्यौँ। यसबारे हामीमा गलत बुझाइ विकास नहोला भन्न सकिँदैन। यस गलत बुझाइको प्रभावबाट सुरक्षित रहन के-के कुराहरू अवलोकनको परिभाषामा अटाउन सक्दैनन्, त्यसबारे सचेत हुनु आवश्यक छ। निम्नानुसारको कुराहरू, गतिविधिहरू अवलोकनका रूपमा परिभाषित गर्न सकिँदैन-
- सोच्नु, पढ्नु, प्राध्यापकको व्याख्यान सुन्नु
- भिडियोहरू हेर्नु, चलचित्र हेर्नु
- तथ्याङ्क कण्ठ गर्नु, केही कुरा याद गर्नु
- कुनै कार्यमा सक्रिय हुनु, केही समस्या सुल्झाउन खोज्नु
- कुशलतापूर्वक व्यक्तिलाई आफ्नो फाइदाका लागि प्रयोग गर्नु
- दिवास्वप्न देख्नु, आफ्नै संसारमा हराउनु
- सोधखोज गर्नु, केही चीज पत्ता लगाउन तल्लिन हुनु
- विभिन्न तालिमहरूमा सहभागी हुनु
- फोटो, पुस्तक, जुत्ता लगायतका अन्य सामानहरूको प्रदर्शनीमा सहभागी हुनु
- कुनै प्रतिस्पर्धात्मक खेल, कार्यक्रम तथा रियालिटी शो कार्यक्रममा मूल्याङ्कनकर्ताको भूमिका खेल्नु
- व्यवहार परिवर्तन गर्नु आदि।
यी सम्पूर्ण कुराहरू अवलोकन होइनन्। यद्यपि तपाईँ हामी यिनै कुराहरूप्रति अति नै आकर्षित हुन्छौँ। सामाजिक र जन्मजात पनि तपाईँ हामी सो किसिमका कुराहरू, गतिविधिहरूमा संलग्न हुन इच्छा व्यक्त गर्छौँ।
सूक्ष्म अवलोकनको महत्त्व
सूक्ष्म अवलोकनको धेरै महत्त्व रहेका छन्। असीमित शक्ति रहेका छन्। तीनैबारे सङ्क्षेपमा चर्चा गरौँ। कुनै पनि कुराको सूक्ष्म अवलोकन गरेर गहन सिकाइ गर्न सकिन्छ। वास्तविकता बुझ्न सकिन्छ। मानौँ तपाईँले गुलाब फूल एक घण्टा बढी समय लगातार अवलोकन गर्नुभयो। अचानक तपाईँमा गुलाब फूलबारे फरक दृष्टिकोण विकास हुन सक्छ। तपाईँले गुलाब फूलबारे पुरानो अवधारणा, परिभाषा, प्रतिविम्ब, प्रतीकहरू, शब्दहरू त्याग्नुहुन्छ। गुलाबलाई फरक तरिकाले हेर्न र ग्रहण गर्नुहुन्छ। गुलाब नै प्रेम हो, वास्तविकता हो, सच्चाइ हो, भगवान् हो भन्ने सचेतना तपाईँमा विकास हुन्छ।
सम्पूर्ण धारणाहरू पक्षपाती हुन्छन्। त्यसैले कुनै पनि धारणा राख्नु भनेको स्व-पक्षपातीको जालोमा पर्नु हो। सूक्ष्म अवलोकन कुनै पनि कोणबाट पक्षपाती छैन। सही तरिकाले सूक्ष्म अवलोकन गरियो भने स्व-पक्षपातीको जालोबाट उन्मुक्त रहन सकिन्छ। परिणामस्वरूप जीवन बाँच्न सहज हुन्छ।
सूक्ष्म अवलोकनले तर्क, गणित, भाषा, अवधारणा र मस्तिष्कको सीमा तोड्न विशेष भूमिका खेल्छ। विज्ञान मोडेल (प्रतिरूप), तर्क, गणित र मस्तिष्कमा आधारित हुन्छ। वैज्ञानिकहरू मोडेल विकास गरेर, तर्क गरेर, गणितीय सूत्र र सिद्धान्त प्रतिपादन गरेर, मस्तिष्कको प्रयोग गरेर वास्तविकता बुझ्न सकिनेमा विश्वास राख्छन् जुन असम्भव कुरा हो। एउटा उदाहरण लिऊँ; क्वानटम मेकानिक्सको एक ठूलो उपलब्धि ‘हिग्स बोजोन’ जसलाई गड पार्टिकल पनि भनिन्छ। यो पार्टिकल ‘लार्ज ह्याड्रोन कोलाइडर’ मार्फत पत्ता लगाउन सम्भव भएको थियो। यही उपलब्धिका लागि सन् २०१३ मा पिटर हिग्स र फ्रानकोइज इङ्लर्टलाई नोबेल पुरस्कार दिइएको थियो। वास्तवमा ह्याड्रोन कोलाइडर के हो त? यो एउटा सूक्ष्म अवलोकन गर्ने यन्त्र न हो। त्यसकारण यदि तपाईँ महान् वैज्ञानिक बन्न चाहनुहुन्छ भने सूक्ष्म अवलोकन गर्ने कार्यलाई गम्भीरतापूर्वक लिनुहोस्।
त्यसै गरी सूक्ष्म अवलोकनको व्यक्तिगत जीवनमा विशेष महत्त्व रहन्छ। सूक्ष्म अवलोकन गरेर जीवन, व्यक्तिगत विकास, सम्बन्ध, व्यवसाय, अध्यात्म आदिबारे सिक्न सकिन्छ। फलस्वरूप जीवनमा असाधारण परिणाम प्राप्त गर्न सकिन्छ। जीवन सहज, आनन्ददायी र सन्तुष्ट रूपमा बाँच्न सकिन्छ। त्यसैले हरेक कुराको सूक्ष्म अवलोकन गर्नोस्। सिकाइको अनुक्रम निरन्तर जारी राख्नोस्।
यो किन दुर्लभ?
हामीले सूक्ष्म अवलोकनको महत्त्व र शक्ति बुझ्यौँ। अवलोकनमार्फत कसरी सिकाइ बढाउन सकिन्छ भन्ने बुझ्यौँ। यतिमात्र होइन, जीवनमा सिकाइको अनुक्रम रोकिनु हुँदैन। सिकाइ बन्द गर्नुको अर्थ हो, जीवन बाँच्न छोड्नु। हामीले यसबारे पनि स्पष्ट रूपमा बुझ्यौँ। यद्यपि समाजमा सूक्ष्म अवलोकनका अभ्यासहरू दुर्लभ छन् अर्थात् अवलोकनकर्ताहरू अति न्यून छन्। यसका पछाडि निम्न कारणहरू रहेका छन्-
कारण एक, विद्यालयमा अध्ययन अध्यापन नहुनु। वास्तविकताको सूक्ष्म अवलोकन शैक्षिक पाठ्यक्रमभित्र समावेश गरिएको हुँदैन। प्रत्येक विद्यालयले अनुशासित रहने, कक्षामा सचेत रहने, सोच्ने, गृहकार्य गर्ने, पुस्तक अध्ययन गर्ने, विभिन्न विषयवस्तु तथा तथ्याङ्क याद गर्ने, परीक्षामा सहभागी हुने, आकर्षक ग्रेड ल्याउन सङ्घर्षरत हुने जस्ता कुराहरूलाई मात्र वढावा दिन्छ। कनै पनि चीज, वस्तुको सूक्ष्म अवलोकन गरेर सिकाइ हुन सक्नेबारे विद्यालय सञ्चालक, प्रधानाध्यापक साथसाथै शिक्षक शिक्षिकाहरू अनभिज्ञ रहन्छन्। उनीहरूलाई यस विषयबारे कोही कसैले सजग गराएका हुँदैनन्। यही कारणले गर्दा विद्यालयतहदेखि नै सूक्ष्म अवलोकनको जग विकास गर्न सकिँदैन। जसको प्रत्यक्ष प्रभाव समाजमा स्पष्ट देख्न सकिन्छ।
कारण दुई, काउन्टर इन्टुअटिभ प्रकृति। अवलोकन गर्ने कार्य काउन्टर इन्टुअटिभ प्रकृतिको छ। भनाइको तात्पर्य, यो कार्य सामान्य बोध, सोचअनुसार सम्पन्न गर्न सकिँदैन। परम्परागत दृष्टिकोण र कार्यप्रणाली अनुसरण गरेर तत्काल अपेक्षित परिणाम प्राप्त गर्न सकिँदैन। उदाहरणका लागि, सालको पात अवलोकन कार्य। धेरैलाई लगातार एक घण्टासम्म सालको पात हेरेर उपलब्धि हासिल गर्न सकिन्छ, वास्तविकता बुझ्न सकिन्छ भन्ने भ्रम हुन्छ। तर लगातार पाँच घण्टासम्म सालको पात हेर्दा समेत केही उपलब्धि हासिल नहुन सक्छ। अब त्यही सालको पात पाँचसयघण्टा हेरियो भने केही उपलब्धि हासिल हुन सक्छ। वास्तविकता देख्ने, बुझ्ने अवसर प्राप्त हुन सक्छ। सिकाइको नयाँ अध्याय सुरुवात हुन सक्छ। कतिपय अवस्थामा यति धेरै समय र ऊर्जा लगानी गर्दा पनि सिकाइ, उपलब्धिको सुनिश्चितता गर्न सकिँदैन। वास्तविकता देख्न, बुझ्न सकिँदैन। यसर्थ मानिसहरू वास्तविकताको सूक्ष्म अवलोकन गर्ने कार्यमा कत्तिपनि आकर्षित हुन सक्दैनन्।
कारण तीन, सरलता। जुन कार्य बढी सरल देखिन्छ वा रहन्छ, त्यो कार्यमा आवद्ध हुन रुचि हुँदैन, ऊर्जा पनि हुँदैन र सो कार्यलाई बेवास्ता गरिन्छ। अधिकांश मानिसहरू कुनै चीज, वस्तुलाई अवलोकन गर्नु एक सरल कार्यको रूपमा लिने गर्छन्। त्यसैले सूक्ष्म अवलोकन गर्ने कार्यलाई प्राथमिकतामा राख्दैनन्, बेवास्ता गरिदिन्छन्।
कारण चार, संस्कृति। हाम्रो समाजमा निष्पक्ष अवलोकन गर्ने व्यक्तिलाई होइन, विशेषज्ञता रहेको, सोच्ने, धेरै कुराहरूको जानकारी राख्ने, क्रियाशील रहने, चुनौतीपूर्ण कार्य गर्न सक्नेलाई बढी मूल्य मान्यता दिने संस्कृति रहेको छ। समाजमा तीनै व्यक्तिलाई पुरस्कृत गर्ने र बढी पारिश्रमिक दिने गरिन्छ। यसको ठीक विपरीत सच्चा, गम्भीर अवलोकनकर्ताको भने खिसिट्युरी गर्ने, उढाउने, होच्याउने र आलोचना गर्ने गरिन्छ। यही कारण मानिसहरू सूक्ष्म अवलोकन गर्न उत्सुक, इच्छुक रहँदैनन्।
कारण पाँच, अधिक ध्यान र धीरताको आवश्यकता। वास्तविकताको सूक्ष्म अवलोकन गर्ने क्रममा एकाग्र, सचेत रहन सक्नुपर्छ। अवलोकन गरिएको कुरामा पूर्ण ध्यान केन्द्रित गर्न सक्नुपर्छ। धैर्यवान् हुनुपर्छ। त्यसैगरी अवलोकन गर्दाको क्षणमा अपेक्षित परिणाम प्राप्त नहुँदा स्वभाविक रूपमा बोर, दिक्क लाग्न सक्छ। यस्तोमा अवलोकन थप प्रभावकारी बनाउन बोरडम हटाउन सक्नुपर्छ। तर प्रायः मानिसहरू सतप्रतिशत ध्यान केन्द्रित गर्न सक्दैनन्। धैर्य कायम राख्न सक्दैनन्। बोरडमलाई हटाउन जान्दैनन्। जसकारण उनीहरू अवलोकनमार्फत सिक्ने, ज्ञान आर्जन गर्ने कार्यमा संलग्न हुँदैनन्।
अवलोकन कसरी गर्ने?
जीवनमा धेरै कुराहरू सूक्ष्म अवलोकन गर्न सकिन्छ। जस्तै- सेल्फ डिसेप्सन (स्व-छलछाम), सेल्फ बायस (स्व- पक्षपाती), सेल्फ जस्टिफिकेशन (आत्म औचित्य), भावनाहरू, भौतिक चीज, प्रकृति, झरना, फाँट, मानिसहरू, समाज, संस्कृति, विचारधारा, विश्वास प्रणाली, जातिवाद आदि। अब यी कुराहरू कसरी अवलोकन गर्ने? यसबारे जान्न, बुझ्न निम्न चरणहरू ख्याल गर्नुपर्ने हुन्छ-
सबैभन्दा पहिलो चरण, अवलोकन गर्ने कुरा छनोट गर्ने। मानौँ तपाईँ प्रकृति वा प्राकृतिक सुन्दरताको सूक्ष्म अवलोकन गर्न चाहनुहुन्छ। त्यही प्रकृतिको सूक्ष्म अवलोकन गरेरै वास्तविकता निकट रहन चाहनुहुन्छ।
दोस्रो चरण, आरामदायी अवस्थामा रहने। यसका लागि एउटा उपयुक्त स्थान रोज्नुहोस्। शरीर र मस्तिष्कलाई आराम दिनुहोस्। तनावमुक्त रहनुहोस्। सचेत रहनुहोस्।
तेस्रो चरण, उत्सुक रहने। यस चरणमा कुनै कार्यसूची तय नगर्नोस्। केवल प्रकृतिको अवलोकन गर्ने कार्यप्रति उत्सुक रहनुहोस्। सोही अवलोकन कार्यबाट वास्तविकता बुझ्न, सच्चाइ बुझ्न उत्साहित रहनुहोस्।
चौथो चरण अवलोकन गर्ने। यस चरणमा कुनै पनि किसिमको पूर्वधारणा, पूर्वानुमान राख्ने नगर्नोस्। गोटिचालमा सक्रिय नहुनुहोस्। सकेसम्म मस्तिष्कमा उत्पन्न भएका सम्पूर्ण सोचहरू त्याग्ने कोसिस गर्नोस्। आफ्नो स्थानमा रहेर, पूर्ण ध्यान केन्द्रित गरेर लामो समयसम्म प्रकृति अवलोकन गर्नोस्।
यही चरणहरू, कार्यविधिहरू अरू कुराहरू अवलोकन गर्ने क्रममा उत्तिकै लागु गर्न सक्नुहुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।