दुख्यो भनेर अरु रुन्छन्,
तर ऊ हाँस्छ,
लाग्छ, उसलाई ठुलो खुसी मिलेको छ ।
उसको शरीर रक्ताम्य हुन्छ,
शरीरबाट पसिनाको कर्णाली बग्छ,
र पनि ऊ विश्राम गर्दैन,
“मैले चोटसँग जित्न मात्रै जानेको छु
हार्न जानेको छैन”,
जोसिलो पारामा भन्छ ।
उसको शरीर पनि तिम्रो जस्तै हो,
चोट लाग्दा दुख्दैन होला र ?
ऊ वर्षौँ घर जाँदैन
घरबारविहीन जस्तो
तर, उसको पनि घर छ
बुबाआमा, जहान, छोराछोरी छन्
तर ऊ कसैको बारेमा सोच्दैन
लाग्छ, बहुत निर्दयी छ ।
उसलाई प्रेम गर्न आउँदैन
तर जब उसले
देशलाई प्रेम गरेको देखिन्छ,
लाग्छ,
प्रेम गरोस् त कसैले उसले जस्तो ।
उसले घामलाई घाम भन्दैन,
पानीलाई पानी भन्दैन ।
उसले आगोलाई आगो भन्दैन,
उसले स्वार्थ देख्दैन,
किनकि उसले मात्रै, “मेरो देश”
भन्न जानेको छ ।
आफ्नो स्वार्थबाट पर राखेर
आफ्नो घरपरिवारबाट पर राखेर
आफ्नो देशलाई प्रेम गरिरहन्छ
तिमी पैसालाई प्रेम गर्दै अमेरिका पुगेर
ए साथी ! आफ्नो पैसालाई ऊसँग तुलना नगर
जसले आफूलाई बिर्सेर
देश सम्झेको छ ।
ऊ असली सपूत हो ।
ऊ नेपाल आमाको सच्चा सन्तान हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।