तिर्यक् कारक र यसको प्रयोग

  • नेपाली भाषा-व्याकरणमा कारकको विशिष्ट स्थान रहेको छ ।
  • कारकलाई सामान्यतया सरल कारक र तिर्यक् कारक गरी दुई भागमा विभाजन गर्न सकिन्छ ।
  • नेपाली भाषामा तिर्यक् कारकको आफ्नै महत्त्व छ । जानेर वा नजानेर धेरैले यसको प्रयोग गर्दै आएको देखिन्छ तर तिर्यक् कारकबारे धेरै अनभिज्ञ छन् ।
  • कुनै शब्दको मूल रूप विकृत भएको अथवा मूल रूपमा परिवर्तन आई बनेको नयाँ रूप नै तिर्यक् कारक
    हो ।
  • तिर्यक् कारकले ओकारान्त (शब्दका अन्तमा ओ हुने) शब्दलाई आकारान्त (शब्दका अन्तमा आ हुने)
    बनाइदिन्छ ।
  • उदाहरणका लागि : ‘छोरो’को छोरा, ‘डोको’को डोका, ‘मेरो’को मेरा, ‘हाम्रो’को हाम्रा आदि ।
  • तिर्यक् कारकको प्रयोगसम्बन्धी सामान्य जानकारी तल दिइएको छ ।

१. मूल शब्दमा विभक्ति वा नामयोगी जोडिँदा अन्तमा ओकार (ओ) भएका स्थानमा आकार (आ) को प्रयोग
गरिन्छ ।

–          छोरो झुट बोल्दैन । (‘छोरो’ शब्दमा विभक्ति वा नामयोगी जोडिएको छैन, त्यसैले छोरो नै भयो । सरल कारक )

–          छोराले झुट बोलेन । (‘ले’ विभक्ति, तिर्यक् कारक, छोरोले हुँदैन)

–          मातापिताले भनेको कुन छोराले मान्दैन र ! (छोरोले हुँदैन)

–          डोको कसको हो ? (‘डोको’ शब्द मूल रूपमा नै छ)

–          डोकामा घाँस छ । (डोकोमा हुँदैन)

–          हाम्रो देश नेपाल हो ।

–          हाम्रामा नैतिकता र सदाचारको खडेरी लागेको छ । (हाम्रोमा हुँदैन)

–          यो बाटो सहज छैन । (विभक्ति वा नामयोगी नलागेकाले बाटो नै भयो ।)

–          बाटामा काँडा नै काँडा रहेछन् । (बाटोमा हुँदैन)

–          म कठिन बाटामा यात्रा गर्दै छु । (बाटोमा हुँदैन)

–          डाँडामाथि घाम झुल्कियो । (डाँडोमाथि हुँदैन)

–          कोदालाले बाँझो खन । (कोदालोले हुँदैन)

 २. विशेषण वा धातुका अन्तमा उकार भएका शब्दमा विभक्ति वा नामयोगी जोडिएमा उक्त उकार आकारमा परिणत हुन्छ ।

–          यस घरको छानु कति राम्रो !

–          घरका छानामा परेवा बसेका छन् । (छानु+मा= छानामा, छानो+मा ‍= छानामा)

–          सानामा हरेक बच्चा उद्दण्ड हुन्छन् । (सानु+मा=सानामा)

–          लोकसेवा उत्तीर्ण गर्नासाथ म गाउँ गएँ । (गर्नु+साथ = गर्नासाथ)

–          त्यस्तै लेख्‍नासाथ, भन्नासाथ, देख्‍नासाथ आदि ।

 ३. ध्यान दिनुपर्ने विषय

–          ओकारान्त शब्दलाई बहुवचन बनाउँदा आकारान्त बनाइने भएकाले एकवचनमा “बाटोमा” र बहुवचनमा “बाटामा” हुने कतिपयको बुझाइ हुन सक्छ तर वास्तविकता त्यस्तो हुँदैन ।

–          मूल शब्द (ओकारान्त शब्दका सन्दर्भ) मा विभक्ति वा नामयोगी जोडिँदा अन्तिममा भएको ओकार सदैव आकारमा परिणत हुन्छ । यसमा एकवचनमा र बहुवचनमा फरक हुन्छ कि भनी चिन्ता गर्नुपर्ने देखिँदैन ।

–          छोरोले, छोरोलाई, छोरोको आदि अशुद्ध हुन् । छोराले, छोरालाई, छोराको आदि हुनुपर्छ ।

–          त्यसै गरी भएको+ले = भएकाले, गरेकाले, दिएकाले, भएकामा, गरेकामा, देखिएकामा, आएकाले, देखिएकामा आदि शुद्ध रूप हुन् ।

–          भएकोले, गरेकोले, देखिएकोले, गएकोले, भएकोमा, सकेकोमा आदि सबै अवस्थामा अशुद्ध हुन् ।

 ४. “ओ”कार “छोरो” शब्दको शब्दरूप

विभक्ति एकवचन बहुवचन
प्रथमा छोरो, छोराले छोराहरू, छोराहरूले
द्वितीया छोरालाई छोराहरूलाई
तृतीया छोराले, छोराद्वारा, छोराबाट छोराहरूले, छोराहरूद्वारा, छोराहरूबाट
चतुर्थी छोरालाई (छोराका लागि) छोराहरूलाई (छोराहरूका लागि)
पञ्‍चमी छोरादेखि, छोराबाट छोराहरूदेखि, छोराहरूबाट
षष्ठी छोराको, छोराका, छोराकी छोराहरूको, छोराहरूका, छोराहरूकी
सप्तमी छोरामा छोराहरूमा
सम्बोधन ए छोरा ए छोराहरू (हो)

 

५. ओकारलाई आकार बनाउने अन्य सन्दर्भ

क.     लागि, निम्ति, निमित्त शब्दका अगाडि

–          यी शब्दले आफूभन्दा अगाडि आउने ओकारलाई आकार बनाइदिन्छन् ।

–          यिनलाई छुट्याएर लेख्नुपर्छ ।

–          एकवचन र बहुवचन सबैमा एकै रूप हुन्छ ।

–          उदाहरणका लागि :- (उहादरणको लागि हुँदैन)

देशको स्वतन्त्रताका लागि आफ्नो प्राण उत्सर्ग गर्ने मानिसलाई के भनिन्छ ? (‘स्वतन्त्रताको लागि’ नहुने)

मेरा निम्ति/लागि देश प्राणभन्दा प्रिय छ । (‘मेरो लागि’ नहुने)

 ख.     सप्तमी विभक्ति लागेका अधिकतर शब्दका अगाडि (केही उदाहरण)

–          आधारमा : गोप्य सूचनाका आधारमा अपराधी समातियो ।

–          विषयमा : नेपालका विषयमा निर्णय गर्ने सार्वभौम अधिकार नेपाललाई मात्र छ ।

–          सन्दर्भमा : नेपालका सन्दर्भमा सङ्‍घीयताको उपादेयता कसरी सिद्ध गर्नुहुन्छ ?

–          सम्बन्धमा : फौजदारी मुद्दाका सम्बन्धमा निर्णय गर्ने अधिकार न्यायालयलाई मात्र हुन्छ ।

–          बारेमा : तिर्यक् कारकका बारेमा केही सिक्नुभयो त ?

–          रूपमा : व्यापारीका रूपमा प्रवेश गरेका अङ्ग्रेजले लामो समयसम्म भारतमा शासन गरे ।

ग.      सम्बोधनमा

–          छोरा ! तिमी ठूलो मान्छेभन्दा पनि असल मान्छे बन्नू है । (यहाँ छोरो हुँदैन)

–          ए छोरा ! मातापिताका लागि केही गर । (ए छोरो हुँदैन)

–          ए मोरा ! छड्के आँखा नतर है । (ए मोरो हुँदैन)

अन्तमा,

तिर्यक् कारकका बारेमा नेपाली भाषा तथा व्याकरणमा त्यति धेरै चर्चा भएको पाइँदैन । विद्यालय तहमा त लगभग चर्चा नै हुँदैन । पढ्दै जाँदा जब यस्ता विषयका बारेमा जानकारी पाउन थालिन्छ, तब प्रश्न उठाइन्छ, “नेपाली भाषालाई सरलतातिर लैजानाका सट्टा किन जटिलतातिर लगिँदै छ ?” भाषालाई जटिल बनाइएको होइन अपितु भाषा र व्याकरणसँग सम्बन्धित विषयलाई छलफलको विषय बनाई भाषामा शुद्धता कायम गर्ने, गराउने प्रयास गरिएको हो । यस लेखको अध्ययनपश्चात् भएकोले, गरेकोले, बाटोमा, छोरोले, छानोमा जस्ता रूप अशुद्ध हुन् भन्ने ज्ञानका साथै भएकाले, गरेकाले, बाटामा, छोराले, छानामा जस्ता शुद्ध रूप उपयोग गर्न प्रेरणा मिल्नेछ भन्ने आशा गर्न सकिन्छ ।