भुवन सिंह कार्की

लेख्ने मानिस कहिल्यै हार्दैन, हार्ने मानिसले कहिल्यै लेख्दैन । मलाई अझै पनि कक्षामा सरले पढाउँदा भन्नुभएको यो कुरा स्मरण छ । सायद साहित्यप्रति मेरो लगाव बढाउनमा यही सूक्तिले अहम् भूमिका खेलेको छ ।

सुरुमा कविताका केही पङ्क्तिहरूबाट साहित्य यात्रामा प्रवेश गरेको हुँ मैले । म उपन्यास नै लेखिहाल्छु भन्ने मलाई कति पनि थिएन । तर सरको हौसला र केही आफ्नो मिहिनेतले म लेख्न सक्छु भन्ने बोध हुन पुग्यो । फलस्वरूप मबाट सम्मोहन नामक कृति तयार भयो ।

‘सम्मोहन’को पृष्ठभूमिमा सौता र सौताको पृष्ठभूमिमा एक शीर्षकविहीन, कुमार र अतृप्त लेख पर्दछ । अतृप्त यसकारण कि त्यो अपूरो थियो, र कुमार यसकारण कि मेरो पहिलो प्रयासको परिणाम हो यो । आकारमा ठूलो त्यो लेख आज मसँग सुरक्षित छैन, तर त्यस लेखको संरचना र त्यसले मेरो साहित्ययात्रामा चालेको प्रथम पाइला अझ मस्तिष्कमा ताजै छ ।

यो कक्षा ९ तिरको घटना थियो । अँ, सत्य बोल्नु पर्दा आफैँलाई त्यो लेख अलि काँचो र बडी प्रेमिल लागेको थियो । आफैँलाई चित्त नबुझेपछि कसैलाई देखाउने कुरा पनि भएन नि । देखाइनँ ।

साहित्यमा, विशेषत कविता र निबन्धमा रूचि दिलाउने काममा आदरणीय गुरू श्यामकृष्ण पुडासैनी सरको विशेष योगदान छ । पछि एउटै होस्टलमा बस्नुभएका गुरू केशव भट्टराईले आफ्नो छत्रछायामा मलाई राखेर मान्छे बनाइदिनुभयो । छन्दको ज्ञान दिनुभयो, तर्कशास्त्रका केही ज्ञान, पूर्वीय दर्शनका केही मननयोग्य र अत्यन्त कठिन शिक्षा पनि दिनुभयो । त्योबेला बुझ्न बहुत गाह्रो भएको थियो । यो क्रम म सैनिक महाविद्यालय पढुञ्जेल निरन्तर चली नै रह्यो ।

कक्षा ९ सकिनै लाग्दा भने उपन्यास लेख्ने जाँगर चल्यो । किन चल्यो ? कसका लागि चल्यो? केका लागि चल्यो? थाहा छैन । दिमागमा केवल उपन्यास लेख्नु छ, र त्यो पनि सौताको विषयमा लेख्नु छ भन्ने मात्र भइरह्ये ।

समाजमा भेटिएका र देखिएका मानिसहरूलाई पात्रहरूको रूपमा उतारेँ । नभन्दै १ महिनाभित्र एउटा औपन्यासिक स्वरूप तयार भयो । कविता, गजल र निबन्धहरू लेख्ने बित्तिकै दौडेर गएर सधैँ देखाउने केशव सरलाई यसपटक भने ‘सौता’को उपहार दिन सकिनँ । यसमा मेरो डर त पक्कै थिएन । यति थियो, म उपन्यास लेख्दै छु भन्ने उहाँलाई पछिमात्र थाहा होस् भनेर मनले भन्यो | र मैले मानेँ ।

दशैँपछि त्यो उपन्याससमान कृति श्याम सरलाई पढ्न दिएँ । परीक्षा नजिक आइरहेको थियोे र विशिष्ट अङ्क पाउन सक्ने सम्भावित विद्यार्थीको रूपमा उभिएको मलाई उहाँले मैले दिएको कृति पढ्नुअघि नै औपचारिक पढाइमा नै विशेष ध्यान दिन अनुरोध गर्नुभयो । पछि पढेर आवश्यक सल्ला र सुझाव पनि दिनुभयो । जस्तैM पात्र चयन, मनोविज्ञानको आँकलन, घटनाको क्रम, परिवेश चयन आदि इत्यादि । त्यही मितिबाट अवश्य पनि अब छिटै एउटा उपन्यास जरूर लेखेर छाप्छु भन्ने दृढसङ्कल्प मनमा बसि नै रह्यो ।

मसँग परिवेश र पात्र त थिए, तर घटना र मनोविज्ञानको अध्ययन र भोगाइ थिएन । तसर्थ त्यसपछिको तीन महिना बिदामा यसको अध्ययन गर्ने निश्चयका साथ अघि बढ्न थालेँ ।

कक्षामा बेलाबखतमा नेपाली पढाउने शिक्षकहरूसँग साहित्यका अनेकानेक दर्शनको बारेमा सोध्दथेँ तर मेरो बालसुलभ मस्तिष्कले कति ग्रहण गर्यो त्यो समयको गर्भमै कैद छ । जे होस्, महाविद्यालयको प्राङ्गण, विभिन्न प्रतियोगिताहरूको उपज र गुरूहरूको बेबाक साथ र सहयोगले उपन्यास लेख्ने पृष्ठभूमि तयार भइसकेको थियो। अब खाँचो थियो त घटनाको र विशेषत मेरो जाँगरको ।

परीक्षा सकियो | लाग्यो- हामी अब सबै भवबन्धनबाट मुक्त भइसकेका छौँ । यसैबिच एउटा औपन्यासिक कृतिका लागि घटना तयार गर्नुपर्ने छ भन्ने तारान्तार मेरो मनमा लागिरह्यो । होस्टलको बसाइले काठमाडौँका सडक र गल्लीसँग मेरो पहिचान न्यून थियो । मौका ठानेर घुम्न थालियो साथीभाइसँग । असनका गल्लीहरू, पुतलीसडकका पसलहरू र ठमेलका क्याफेहरू । आनन्द एक ठाउँमा थियो र अध्ययन अर्को ठाउँमा । परिवेशको बुझाइमा यस घुमाइले धेरै नै सहयोग पुराएको रहेछ भन्ने महसुस अहिले भइरहेको छ ।

भर्खर यौवनावस्थामा प्रवेश गरेको एउटा सानो केटोले आफ्नै उमेरजन्य पात्रहरू र घटनाहरू नछानेर किन एउटा बौद्धिक पात्रलाई नायक बनाएर उसकै बुझाइको परिधिमा कथा निर्माण गरेको होला भन्ने जिज्ञासा पक्कै लाग्नसक्छ । यसको उत्तर पनि त्यही बिदामा लुकेको छ । बिदामा म दाइको अनलाइन न्यूजमा कहिलेकाहीँ लेखहरू लेख्ने र न्यूजहरू लेख्ने गर्दथे । यसैबिच मेरो सम्पादकसँग चिनाजानी भयो । उनी कामको बाबजुद पनि दिउँसै रक्सी र चुरोट औधी पिउँदथे | तर उपन्यासमा भने मैले उनैको स्वैरकल्पना गरेर पात्रलाई अझ विकृत बनाएँ । आफ्नै भोगाइको परिणाम नभए तापनि पात्र र घटनामा सम्बन्ध छ । यसरी वास्तविक जीवनको एक सम्पादकलाई बोकेर तदानुरूप कथा रचना गर्दै गएँ, उपकथाहरू थप्दै गएँ । अन्ततः एउटा उपन्यास तयार भयो । नाम राखेँ, धूमावर्त ।

मङ्सिर महिनाको कुरो हो, उपन्यासको पाण्डुलिपि बोकेर प्रथमपटक केशव सरकहाँ पुगेँ | मनमा थोरै डर, थोरै आश्चर्य बोकेर । उहाँले १ हप्ता जति पढेपछि ठिक छ, आवश्यक परिमार्जन गरेर छाप्नुपर्छ भन्नुभयो । म प्रफुल्लित भएँ । केही समयपछि त्यही पाण्डुलिपि बोकेर हेम सरकहाँ पनि पुगेँ । रेडियोमा कार्यक्रम चलाउनुभएको उहाँसँग साहित्यको धेरै ज्ञान थियो । उहाँले पनि नायक पात्रको चरित्र, व्यवहार र विविध घटनाक्रममा देखिएको उसको प्रस्तुतिबारे प्रश्न गर्नुभयो, र आवश्यक सुझाव दिनुभयो । यही क्रममा पुस-फाल्गुन महिना बित्यो । पाण्डुलिपि परिष्कृत एवं परिमार्जित पनि भयो । घटनाक्रम थप परिमार्जन गर्नुपर्ने आवश्यक्ता दखियो ।

चैत महिनातिरको समयमा हेम सरले मलाई महेश पौड्याल सरसँग परिचय गराउनुभयो । उपन्यास त धेरैले लेख्छन्, तर सम्बन्ध थोरैले मात्र मजबुत बनाउँछन् । महेश सरसँग मेरो सम्बन्ध अटुट बन्यो । उहाँले पनि केहीहप्ताभित्रै आफ्नो व्यस्तताको बाबजुद उपन्यास पढेर सल्लाह दिनुभयो । उहाँको सल्लाह व्यवहारिक र सैद्धान्तिक थियो । उहाँको सल्लाह पाएपश्चात् घटनाक्रममा अनेक परिवर्तन ल्याइयो । नायकको भूमिकामा पनि परिवर्तन आयो, दृष्टिकोणमा परिवर्तन आयो ।

एकातिर आफ्नो औपचारिक पढाइलाई पनि निरन्तरता दिनुपर्ने बाध्यता र अर्कोतिर उपन्यास सच्याउनु पर्ने, मलाई पुग नपुग दशैँसम्म लाग्यो । अनि पुनश्चः केशव सरलाई भाषिक र व्याकरणात्मक त्रुटिहरू सच्याउनका लागि पाण्डुलिपि दिएँ । उहाँले निःस्वार्थ भाषिक शुद्धतामा काम गरिदिनुभयो । उहाँको म सदैव ऋणी छु | अन्ततः शीर्षक पनि परिवर्तन गरियो, र ‘सम्मोहन’ राखियो । किनकि बजारको मर्म अनुसार धूमावर्त क्लिष्ठ थियो ।

लेख्ने मानिस कहिल्यै हार्दैन, हार्ने मानिसले कहिल्यै लेख्दैन ।

आवरण चित्र मित्र सागर आचार्यले बनाइदिनुभयो, र क्रमैसँग मङ्सिर ७ गते डा. नवराज लम्सालको आथिथ्यतामा सैनिक महाविद्यालयकै प्राङ्गणमा पुस्तक विमोचन पनि भयो ।

‘सम्मोहन’ पुग नपुग ४० वर्ष टेकेको बौद्धिक, तर कर्तव्यच्युत सम्पादकको विसङ्गत जीवन दृष्टि हो । अन्य व्यवहार सामान्य मानिसको जस्तो भए पनि जीवन हेर्ने तरिका भने उसको भिन्न छ । उसको जीवनमा घटना पनि त्यस्ता आइदिन्छन्, ऊ उपन्यासको अन्ततिर चुरोटलाई छातीमा पोलेर पनि सन्तुष्ट बन्छ । अँध्यारोबाट सुरू भए पनि उपन्यासले पृथक् उज्यालोको सम्भावना देखाएको छ । दुःखबाट भाग्नु उज्यालोको स्वरूप नभएको र कर्तव्यबोधले मानिस सुखी बन्न सकिने कुरा पनि उपन्यासबाट प्राप्त गर्न सकिन्छ ।

उपन्यास प्रकाशनको क्रममा केही अप्ठ्याराहरू नआएका हैनन्, तर परिवारको साथ र गुरूहरूको आशीर्वादका सामु ती अप्ठ्याराहरू धुलीट्याम भए । नवआगन्तुकलाई जुनै क्षेत्रमा प्रवेश गर्न पनि समस्या त हुन्छ नै, तर महेश सरको छाया परेर होला मलाई भने त्यति समस्या भएन ।

भनिन्छ, उपन्यास र जीवन फरक हैनन् । यसर्थ उपन्यास लेखनको क्रममा मेरो सोच्ने क्षमतामा आएको परिवर्तन पनि उल्लेख्य छ । साँच्चै, ‘सम्मोहन’ले मेरो जीवन दृष्टिलाई पनि सम्मोहित गरेको छ ।

हजुरहरूले कृति पढेर आवश्यक सुझाव दिँदा कृतिले जीवन र मेरो मिहिनेतले आत्मसन्तुष्टि पाउने थियो ।