अधिकांश मानिसले वास्तविक व्यक्तित्व देखाउँदैनन् । घरमा देखाउने रुप, स्वभाव र व्यक्तित्व सार्वजनिक स्थलमा देखाउने भन्दा निकै फरक हुन्छ। उनीहरु  एक प्रकारको मुकुण्डो लगाउँछन् । त्यही मुकुण्डोमा आफ्नो वास्तविक व्यक्तित्व लुकाउँछन् । आफू जे हो, त्यो रुप प्रस्तुत गर्दैनन् । आफू जे होइन, त्यो रुप प्रस्तुत गर्छन् । यसो गर्नुको अनेक उद्देश्य हुन सक्छन् । संक्षेपमा, आफूलाई अचेत अवस्थामै विविध भूमिकामा समाहित गर्छन् ।

भूमिका के हो?

हर कोहीले बाल्यकाल, किशोरलगायत वयस्क जीवनको सुरुवाती चरणमा एक खाले पात्रको रुपमा आफूलाई उभ्याउँछ। त्यहीअनुरुप अरुसामू प्रस्तुत हुन्छ। यति मात्र होइन, त्यस अवस्थामा विकसित नयाँ व्यक्तित्व, चरित्र, व्यवहार, स्वभाव र आचरणअनुसार अन्तरक्रिया बढाउँछ। यही नयाँ पात्र, व्यक्तित्व, चरित्र, व्यवहार, स्वभाव र आचरणलाई नै भूमिका भनिन्छ। उसले यस भूमिकालाई आफ्नो वास्तविक व्यक्तित्व ठान्ने गर्छ। जसकारण विभिन्न जटिलताको बिउ रोपिन्छन्।

भूमिका व्यक्तिगतदेखि सांस्कृतिक पनि हुन सक्छ। व्यवसाय वा करिअरदेखि परिवारिक जीवन सम्बद्ध पनि हुन सक्छ। भूमिकाबारे थप स्पष्ट हुन सामान्यतः हामीले खेल्ने केही भूमिकाको उदाहरणहरू टिपोट गरौँ।

  • पूर्णतावादी, आदर्शवादी
  • क्रान्तिकारी, विद्रोही
  • संप्रदायवादी
  • विजेता, हरुवा
  • खेलाडी, टोली खेलाडी
  • पीडित, कमजोर, अपमानित
  • असल केटा, असल केटी
  • नायक, खलनायक
  • अल्फा पुरुष, मिस्टर जेम्स बोन्ड
  • वुद्धिमान, जिम्मेवार, व्यवसायी, सम्मानित
  • लजालु, शंकालु, मूर्ख, भर्जिन, जोकर, देखावटी
  • वैज्ञानिक, दार्शनिक, मास्टरमाइन्ड, तर्कवादी, पर्यावरणविद् आदि।

भूमिकाले निम्त्याउने द्विविधा

मदन पुरस्कार विजेता लेखक विजय कुमारले आफ्नो पुस्तक ‘खुसी’मा अमिताभ बच्चनसँगको प्रसङ्ग खुलाएका छन् । २०४४ तिर हिन्दी चलचित्र ‘खुदा गवाह’को सुटिङका लागि अमिताभ नेपाल आएका थिए । सुटिङ जोमसोममा हुँदै थियो । विजय कुमार अन्तरवार्ता लिन सकिन्छ कि भनेर जोमसोम पुगेका थिए । दुई दिन कुरेपछि समय पाए । उनले अन्तरवार्ता दौरान सोधेका प्रश्नहरूमध्ये एउटा प्रश्नको चर्चा गर्नु उपयुक्त रहन्छ । प्रश्न थियो, ‘तपाईं विश्व इतिहासकै एक महान् अभिनेता हुनुहुन्छ। म जान्न चाहन्छु, आफू अमिताभ बच्चन हुनुको सबैभन्दा ठूलो बेफाइदा के महसुस गर्नुहुन्छ?’ यस जिज्ञासाको प्रतिक्रियामा अमिताभले गम्भीरतापूर्वक आफ्ना भाव विस्तारमा व्यक्त गरेका थिए जुन यस प्रकारको थियो:

‘म आफूलाई एक सक्षम कलाकार ठान्दछु। सक्षम कलाकार भएको नाताले म जुन भूमिका गर्छु, त्यसमा स्वभाविकता ल्याउने पुरापुर यत्न गर्छु। फिल्म खेल्दा मैले केही सिन यस्तो गरेको छु, जहाँ मेरा मातापिताको देहान्त हुन्छ। एक सक्षम कलाकारको नाताले म ती सिन गर्ने बेला पनि आफ्ना भावभङ्गिमामा स्वभाविकता ल्याउने पूरा कोसिस गर्छु। त्यसबेला मलाई साँच्चिकै मेरा पिता या मातासँग वियोग भएको अनुभव हुन्छ। कहिलेकाहीँ म यो सोचेर धेरै बेचैन हुन्छु, भगवान् नगरुन् बाबुजी वा मेरो माताको देहान्त मभन्दा अघि होस्। यदि त्यसो भयो भने, त्यस दिन मेरा आँखाबाट जुन आँसु निस्किएलान्, मेरो मनमा जुन भाव जाग्लान्, के ती शोकका वास्तविक आँसु होलान् वा कुनै यस्ता आँसु होलान् जो कुनै सिनेमाको निम्ति मेले पहिल्यै बगाइसकेको छु! कसैका निम्ति यो भन्दा ठूलो दुर्भाग्य के हुन सक्छ! जब आफ्नै मातापिताको मृत्युमा बगाउने आँसुको विश्वसनियताप्रति पनि मनमा द्विविधा उत्पन्न होस् !’

यो प्रसंगबाट बुझ्न अमिताभको द्विविधा बुझ्न सकिन्छ। चलचित्रमा निर्वाहा गरिने भूमिकाले त यति भयानक द्विविधा सिर्जना गर्छ भने जीवनमा निर्वाहा गरिने अरु भूमिकाले कुन स्तरको द्विविधा या नि समस्या खडा गर्ला! मानौँ तपाईं आफूलाई पूर्णतावादी मान्नु हुन्छ र जुनसुकै कार्यमा पनि शतप्रतिशत खोज्न थाल्नुहुन्छ। यस्तो अवस्थामा साना कमीकमजोरीलाई पनि ठूलो विषय बनाउन थाल्नुहुन्छ र अनावश्यक रुपमा चिन्तित बन्न थाल्नुहुन्छ। यसले तपाईँलाई बेफाइदा गर्छ। निर्धारित समयमा परिणाम दिन सक्नुहुन्न। त्यसैगरी मानौँ तपाईंले आफूलाई विजेता मान्नु भयो! तपाईं हरेक पटक सफलता चाहनुहुन्छ। असफलता स्वीकार्ने हिम्मत हुँदैन। असफलता नै सफलताको शिखरमा पुग्ने भर्याङ हो भन्ने महसुस गर्न सक्नुहुन्न। केही काममा असफलता भोग्नेबित्तिकै तपाईंको आत्मविश्वास गडबडाउँछ। यसबाट के बुझिन्छ भने जुनकुनै भूमिकामा रहनु भनेको द्विविधा निम्त्याउनु हो। जटिल समस्याको गहिरो खाडल खन्नु हो।

केही कार्य चरणहरु

व्यक्तित्व विकासको मुख्य उद्देश्य भनेकै वास्तविक मुल्य मान्यता, उद्देश्य, व्यक्तित्व आदि पहिचान गर्नु हो। हामीले लगाउने मुकुण्डो उतार्नु हो। अर्थात् असली स्वरुप संसारलाई उजागर गर्नु हो। कुनै भूमिका अथवा कसैको भूमिकामा रहेर जीवन जिउने आधार मजबुत हुन सक्दैन। जीवन अर्थपूर्ण हुने त झन् सम्भावना नै रहेन। जीवन जिउने आधार मजबुत  बनाउन, अर्थपूर्ण जीवन जिउन आफ्नो वास्तविक परिचय पत्ता लगाउनु पर्छ। र, त्यही वास्तविक परिचय अरुलाई देखाउन सक्नुपर्छ। भनाइको मतलब आफ्नो वास्तविक स्वभाव के हो? चरित्र के हो? आचरण के हो? व्यवहार के हो? व्यक्तित्व के हो? ती सबै कुरामा स्पष्ट भइ अरुलाई देखाउनु पर्छ। त्यसमा मिसावट हुनु हुँदैन। कृत्रिमताले केही समय ध्यान आकर्षित गर्न सकिएला, उद्देश्य प्राप्तिको लागि ठूलो सहयोग मिल्ला, अपेक्षित परिणाम ल्याउन सजिलो होला यद्यपि ती सबै आकर्षण, उद्देश्य र परिणाम क्षणिक साबित हुन्छन्। दीर्घकालीन आकर्षण, उद्देश्य र परिणामका लागि वास्तविकतालाई आत्मसाथ गर्न सक्नुपर्छ। यसको लागि निम्न कार्य चरणहरु अनुशरण गर्न सकिन्छ।

  • सजग रहने:

कतिपयलाई त आफूले खेल्ने भूमिका पनि थाहा हुँदैन जसको परिणाम नकारात्मक हुन्छ। यसर्थ आफूले खेल्ने भूमिकाप्रति सजग रहनु अत्यावश्यक छ। जीवनमा नायकको भूमिकामा हुनुहुन्छ कि खलनायकको? विजेताको भूमिकामा हुनुहुन्छ कि हरुवाको? असल केटाको भूमिकामा हुनुहुन्छ कि असल केटीको? वैज्ञानिकको भूमिकामा हुनुहुन्छ कि दार्शनिक? भूमिका जे होस्, त्यसलाई कसरी र कुन अवस्थामा अङ्गीकार गर्नुभएको छ? त्यसप्रति सचेत रहनुहोस्। कुनै पनि भूमिकालाई अन्धाधुन्ध अपनाउनु बुद्धिमानी होइन। चेतना प्रयोग गर्नु फलप्रद मानिन्छ। आफूले निर्वाह गर्ने प्रत्येक भूमिकाबाट कसरी सकारात्मक र नकारात्मक नतिजा आइरहेका छन्, त्यसको सूझ्म अध्ययन गर्नोस्। यदि त्यसो हुन सकेन भने जीवनमा ग्रहण लाग्न धेरै समय लाग्दैन।

  • वास्तविक व्यक्तित्वको खोजी गर्ने:

वास्तविक व्यक्तित्व पत्ता लगाउन त्यति सजिलो छैन। केही प्रक्रियामा जानुपर्ने हुन्छ। केही क्षण आँखा बन्द गरेर विगतमा पुनः प्रवेश गर्नोस्। आफूले निर्वाह गर्दै आएको कुनै एक भूमिका छनोट गर्नोस्। मानौँ तपाईंले असल केटाको भूमिका छनोट गर्नुभयो! अब त्यो भूमिका अङ्गीकार गर्नु अगाडिको समय स्मरण गर्नोस्। त्यसबेला तपाईंको जीवन कस्तो थियो, त्यो याद गर्ने कोसिस गर्नोस्। पुरानो यादहरु स्वतस्फूर्त बाहिर आउन दिनुहोस्। असल केटो बन्ने भूमिका अङ्गीकार गर्दाको सही समय सम्झने प्रयास गर्नोस्। यो अभ्यास अरु भूमिकामा पनि लागू गर्न सकिन्छ। कुनै पनि भूमिकामा आफूलाई ढाल्नु पहिले तपाईं जे जस्तो हुनु हुन्थ्यो त्यो नै तपाईंको वास्तविक व्यक्तित्व हो।

  • अप्राकृतिक भूमिका प्रतिको आशक्ति त्याग्ने:

भूमिका बेगर बस्नु कठिन काम हो। यस्तो परिस्थितिबाट उम्कन प्रायः मानिस अप्राकृतिक भूमिकामा पनि संलग्न हुन्छन्। वास्तविक व्यक्तित्व र भूमिकाबीच कुनै तालमेल देखिँदैन। कुनै भूमिकाप्रति अत्याधिक आशक्ति भए स्वयं आफूलाई केही प्रश्न गर्नोस्। जस्तै के यो भूमिका मेरा लागि आवश्यक छ? यसका फाइदा के-के हुन्? के म यसलाई त्याग्न सक्छु? त्यागे मेरो जीवन कस्तो हुनेछ? म के बन्ने छु? यी यावत् प्रश्नहरुमाथि मन्थन गर्नोस्। निष्कर्ष जे आउँछ, त्यसलाई उचित सम्मान गर्नोस्। अप्राकृतिक भूमिका प्रतिको आशक्ति पूर्ण रुपमा हटाउनोस्।