चिसो न चिसो बिरसिलो साँझको धमिलिँदै गएको उज्यालोमा पछिल्तिर केही बढी नै उछिट्टिएको आकारले मात्र मैले मिस तुलाचनलाई चिन्न सकेँ ।
म क्वार्टरको ढोकामा उभिएर आँखाअगाडिका खैरो चट्टानी पहाडहरूको अत्यन्त उजाड भू-दृश्यलाई एकटक लगाएर हेरिरहेको थिएँ । उदास रङमा पृष्ठभूमि मात्र उभारिएको एउटा विशाल चित्र फलकजस्तो लाग्ने त्यो भूदृश्यबाट तिलिचो ताल र नीलगिरिको छेडोदेखि हुत्तिएर पछारिन
पुगेको हिमाली भेगको मलीन सूर्यले विस्तारै-विस्तारै आफ्नो डोब मेट्दै गरेको पनि देख्न सकिन्थ्यो । म एक घन्टादेखि त्यहाँ उभिएको थिएँ । कुनबेला, साँझकी देवी गाढा नीलो रङको रेशमी बर्को ओढेर सुदूरपश्चिमको धौलागिरि सिखरदेखि हलुका पाइला चाल्दै थाकखोला उपत्यकामा ओर्लिएकी थिइन्, मलाई थाहा नै भएन ।
“ए मिस । कता ?” मिस तुलातन मेरो क्वार्टरको ढोकाबाट दश कदम पनि अगाडि बढ्न नपाउँदै एक्लोपनले थङ्थिलो पारेको मेरो मन, वीणाको तार झैँ आफैँ बजिहाल्यो ।
मिस तुलाचन मपट्टि फरक्क फर्की, चनाखो आँखाले गल्लीको यो छेउदेखि ऊ छेउसम्म हेरी, कसैलाई देखिन, आश्वास्त भई, अडिई र जीउलाई एक प्रकारको अद्भुत लोचका साथ हल्लाउँदै उसले भनी – “आ, यो साब पनि सधैँ मिस तुलाचन, मिस तुलाचन मात्रै भन्छ, मेरो नाम छैन र ?” अनि ऊ खुतुखुत्त हाँसी । हाँस्दा उसका नीला गिजाहरू उदाङ्ग भए । उसलाई आफ्नो रौसमा हाँसेको हेर्नु एउटा विद्रुपसँग सामना गर्नु झैँ हुने गर्दथ्यो । मैले थाहा नपाउने किसिमले, अनुहारमा देखापरेको विकर्षणको भावलाई रोके र भनेँ- “मलाई तिम्रो नाम कहाँ थाहा छ र ? अस्ति खेलेको नाटकमा भएको तिम्रो मिस तुलाचनको पार्टीलाई सम्झेर पो भनेको त !”
“आफ्नो त्यो जाबो नाटक पनि ! दाइ आम्चीले खेले हुन्छ भनेर पो खेलेकी त । कस्तो भा’थ्यो होला मेरो पाठ ? तपाईंले हेर्नुभो साब ?” उसको स्वरमा एकपटक निराशाको अवरोह र अर्कोपटक उत्साहको आरोह देखापर्यो ।
मैले सम्झिएँ, स्थानीय हाइस्कूलमा केही दिन अगाडि खेलिएको नाटक, “लाहुरेको जिन्दगीका केही दृश्यलाई । त्यसमा सौरु माइलाकी यो परित्यक्त छोरीले पनि काम गरेकी थिई । उसको भूमिका थियो, काठमाडौँतिर बसेको एउटा नवकुबेर थकाली परिवारको आधुनिक छोरी मिस तुलाचनको । आफ्ना थामिनसक्दा नितम्बलाई एउटा स्कूले केटाको पाइन्टभित्र कोचेर, घाँटीमा स्कार्फ, आँखामा कालो चश्मा र टाउकोमा अग्लो काउब्वाय ह्याट लगाएर ऊ जतिबेला मञ्चमा आएकी थिई र अनौठो लयमा अङ्ग्रेजीमा कुरा गर्न थालेकी थिई, थिएटरमा हाँसोको कालीगण्डकी बगेको थियो । उसको भूमिका सफल थियो कि उसको बेढङ्गी शरीरको कम्पन, केही निश्चित भन्न सकिँदैन । तर त्यो नाटकको दिनदेखि जोमसोमवरपर मात्र होइन, तल लेते-घाँससम्म नै उसको नाम ‘मिस तुलाचन’ रहन गएको थियो ।
“गजब भ’को थियो नि, त्यो नाटकको प्राण नै तिम्रो भूमिका थियो ।” मैले किञ्चित हाँस्दै भनेँ ।
तर मैले देखेँ, मिस तुलाचनलाई मेरो भनाइ, मेरो हाँसो केहीले पनि छोएको छैन । ऊ लगत्तै आफूभित्र कैद भइसकेकी थिई | उसको अनुहारमा विषादको जुन अँध्यारो छाया स्थायीजस्तै भइसकेको थियो, अहिले पनि त्यसले हाँसो र उत्साहको पातलो जालोलाई च्यातेर मिस तुलाचनलाई आफ्नो कब्जामा पारिसकेको थियो ।
एकछिनको मौनतापछि उसले सोधी- “भोलि मकहाँ मोमो खान आउनु हुन्छ ? म ठिनी साम्देकहाँ मासु भन्न जान लागेकी |”
यो निम्तो थियो कि हाँक, मैले खुट्याउन सकिनँ | साँच्चै भन्ने हो भने मिस तुलाचनको सानो भट्टी-पसल जोमसोम बजारको एउटा अप्रचलित कुनामा कतै छ भन्ने मात्र मैले सुनेको थिएँ, त्यसबाहेक उसका बारेमा त्यति धेरै कुरा मलाई थाहा थिएन । ऊ कसकी छोरी थिई र अहिले कुन परिस्थितिमा छ भन्नेसम्म कुरैकुरामा मैले थाहा पाएको थिएँ । यस भेगका अरू कतिपय छोरीहरूजस्तै उसले पनि आफ्नो बाबुको दैलो पोत्न, उसको लागि रक्सी बनाउन, उसका बारीका लागि मलपातको जोहो गर्न र बिहानको जोमसोमको कलेजोसम्म चिस्याउने जाडोमा बड्कौँला र खच्चरको लिदी जम्मा गर्नमा आफ्नो आधा जीवन बिताइसकेकी थिई भन्ने कुराको अनुमान सहजै गर्न सकिन्थ्यो । मैले सुनेको थिएँ, उसको बुबाले कान्छी स्वास्नीको कुरा सुनेर एक दिन उसलाई घरबाट निकालिदिएको थियो । र, आफ्ना बाबुआमाले त्यागिदिएपछि उसले मुटु दह्रो पारेर बाँच्नका लागि एउटा गोरेटो बनाउन खोजेकी थिई, जुन उसको नितान्त निजी थियो । त्यसमा कसैको हस्तक्षेप थिएन र त्यो गोरेटो उसको भट्टी-पसलबाट सुरू हुन्थ्यो | जेहोस्, मचाहिँ उसको भट्टी-पसलमा चिया-खाजा खान कहिल्यै पनि गएको थिइनँ | जोमसोमका साँझहरूलाई रमाइलो बनाउन ऊभन्दा आकर्षक र सिपालु अरू मिसहरू धेरैलाई म चिन्दथेँ।
“हुन्छ म आउँला । बरु रक्सी अलि मीठो बनाउनु नि !” मैले उसकहाँ एकपटक गएर हेरिदिने अठोटका साथ भनेँ |
“ल है त नढाँट्नु नि !” भन्दै ऊ विपरीत दिशाबाट प्रचण्ड गति र लयमा बगिरहेको हावासँग लाप्पा खेल्दै अँधेरोमा हराई ।
भोलिपल्ट शनिबार थियो । त्यसताकाका प्रत्येक बिहानीमा जस्तै म ढिलो उठेँ । नीलगिरिबाट बामे सर्दै-सर्दै पश्चिमतिर घिस्रिरहेको शिशु सूर्यले मेरो कोठाको ढोकाबाट चियाइसकेको थियो । त्यसको न्यानो प्रकाशले सुमसुम्याइएका आँखा मिच्दै उठेँ । उठिसकेपछि पो थाहा भयो, शनिबार हो आज । मनको आलस्य विनाअर्थ बाक्लिएर आयो । एकपटक सुदूर हिमालपारि दक्षिण तराईको उराठलाग्दो मैदानको कुनै एउटा कुनामा रहेको आफ्नो गाउँलाई सम्झिएँ, हल्का तुवाँलोको पत्रबाट चियाइरहेको एउटा अज्ञात अनाम गाउँ, खबडाले छाएका घरहरूका छाना, सुक्दै गएको एउटा पोखरी, फाँटहरूको अन्तहीन झैँ लाग्दो विस्तार | त्यसका हराए झैँ लाग्ने नाङ्गा-अर्धनाङ्गा किसानहरू । एकै प्रकारको अनुहार भएका अनाम मान्छेहरूको हूल, त्यही हूलबाट उछिट्टिएको आफू । सम्झनालाई धेरै पर लैजाने इच्छा भएन | उठेँ, हातमुख धोएर निकैबेर त्यसै बसिरहेँ र अन्त्यमा निस्प्रयोजन झैँ कालीपारिको बजारको अर्कोतर्फ लागेँ ।
जोमसोमलाई दुई फ्याक पार्ने कालीगण्डकीको पुलछेउछाउ एक हूल केटाकेटीहरू स-साना छाली र ढक्की लिएर बड्कौँला र घोडा-खच्चरको लिदी बटुलिरहेका थिए । अलि गहिरो ठाउँ भएकोले त्यतिबेलासम्म पनि त्यहाँ घाम छिर्न सकेको थिएन । त्यो जाडोमा स-साना अभ्यस्त हातहरू कालीगण्डकीको बगरका गेग्रिनहरूबाट बाख्राका बड्कौँला सहजताका साथ छुट्याउँदै, टप्प टिप्दै, आ-आफ्ना काखीमा च्यापेका भाँडाहरूमा हालिरहेका थिए | ती केही जोडा हातहरूमध्ये एक जोडीकी मालिक थिई, एउटी ताङ्वेतेन केटी; पन्ध्र-सोह्रकी खूबै राम्री, सुकोमल र चञ्चल यौवना । काखीमुनि हात घुसारेर एकसुरमा हिँडिरहेको मलाई देखेर ऊ मरीमरी हाँसी र भनी पनि हाली- “साहब त खच्चर मरेको स्याङ्तेनजस्तो पो देखियो ए ! किन झ्याउरे देखिएको, हँ !”
म झस्किएँ अनि उसको कुरा बुझेपछि अलिअलि हाँस्दै, “हो, आज मेरो पनि खच्चर मरेको छ, भोज खान आऊ है !” भनेर जिस्किँदै अघि बढेँ । सधैँ भेटिइरहेका उनै अनुहारहरू, कुराका उनै प्रसङ्गहरू र मनमा लगातार घोचिरहने एकाकीपनको सिउँडी ! अरू बिदाको दिनजस्तै त्यो दिन पनि एक रूपैयाँ प्वाइन्ट पप्लुमा बित्यो । एकाकीपन र कडा चिसो वातावरणले ल्याएको गहिरो उदासीको कारण हामी साथीहरूमध्ये प्रायः सबैले दिउँसै दुई-चार गिलास उवाको रक्सी खाइसकेका थियौँ । पप्लुको बीचमा अस्ति खेलिएको नाटकको कुरा चल्न जाँदा पो मलाई हिजो मिस तुलाचनलाई आउँछु भनेर दिएको वचनको झट्ट सम्झना भयो | खेल बीचैमा छोडेर अनि साथीहरूलाई विस्मयको तुवाँलोमा रुमलिन पनि छोडेर म उठेँ अनि हिँडिहालेँ ।
म बाहिर निस्कँदा जोमसोम बजार अँध्यारोको मायावी खोलभित्र थुपुक्क निदाइसकेको थियो | हावाको एकोहोरो सुइँसुइँ र त्यसले फरफर पारिरहेको लामा हप्केको घरको छानामा ठड्याएको मङ्गल पताकाको आवाजबाहेक कुनै प्रकारको चालचुल थिएन कतै । अँधेरोको पर्दालाई मानौँ पन्छाउँदै र हावाको तीव्र ज्वारसँग लड्दै म चुपचाप अगाडि बढिरहेको थिएँ ।
मिस तुलाचनको भट्टी-पसल साँच्चै नै बजारको एउट अज्ञात कुनामा रहेछ ! ताक्वेतेनको टोलभन्दा पर कैसाङक्याम्प जाने बाटोको छेउमा | म त्यहाँ पुग्दा मिस तुलाचन अन्यमनस्क ढोकामा उभिरहेकी थिई । मलाई लाग्यो, ऊ मलाई नै पर्खिरहेकी थिई । उसको भट्टी एउटा घाँस थुपार्ने छाप्रोको सफा-सुग्घर पारिएको मटान मात्र थियो । होचो कोठाबाट पस्नेबित्तिकै आँखा ठोक्किन पुग्ने भित्ता, त्यहाँ रहेको तीन तह परेको किताब राख्ने र्याकजस्तो दराजमा दुईचार थान कसौँडी र तसला, स्टिलका थालहरू, कचौरा र चिया हाल्ने भाँडो, रक्सीका धेरैजसो रित्ता बोतलहरू, चाइनिज पाउडर दूधका लार्ज साइजका टिनका बट्टाहरू आदि सजाएर राखिएका थिए । मटानलाई कठबारद्वारा चिरेर एकचौथाइ भाग अलग्याइएको थियो र त्यही भागमा अलि कुना पारेर बनाइएको थियो, थकाली शैलीको एउटा दुईमुखे चुल्हो । त्यही चुल्हामाथि बसालिएको थियो, मोम्तो र एउटा केट्ली | कोठाको अर्को भागमा एउटा सानो खाटमाथि ओछ्यान लगाइएको थियो र त्यहाँ राखिएको सिरानीको खोलमा बुनिएका ‘स्वीट ड्रीम’ भन्ने अङ्ग्रेजी शब्दहरू ‘स्वीट’ र ‘ड्रीम’ दुइटैको हिज्जे अशुद्ध लेखिएको थाहा पाउने मान्छे त्यो देखेपछि नहाँसी रहन सक्दैनथ्यो । खाटको सिरानीपट्टि छेउमा सिँगार टेबुलजस्तै पारेर एउटा काठको स्टुल राखिएको थियो र त्यसमाथि थियो अफगान स्नोको एउटा रित्तो सिसी, क्युटिकुरा पाउडरको पूरानो डब्बा थियो | रौँ अल्झिएको मैलो न मैलो, दुई प्रकारका दाँत भएको ठूलो काँगियो । मझौला खाले एउटा सानो ऐना र मिस तुलाचनको किशोर हुँदाको आकर्षक फोटाहरू भने कोठाको बीचमा रहेको थाममा लहरै झुण्ड्याइएका थिए |
मिस तुलाचनले निकै उत्साहका साथ मेरो स्वागत गरी । चुल्हाको छेउमा दरी ओछ्याइएको थियो । त्यहाँ गएर म बसेपछि उसले अगाडिपट्टि च्योक्चे लेराएर राखिदिई र मोमो तताउन लागी । नजिकै बलिरहेको आगोको उज्यालोमा ऊ मैले देखेका अरू कुनै पनि दिनमा भन्दा बढी प्रष्ट रूपमा मेरा अगाडि प्रस्तुत भई ।
उमेर अठ्ठाईस-तीस, निकै होची, छाती सप्रिएको र पृष्ठ भाग घचेटिएकोले शरीरको बनौट विचित्र लाग्ने, पुक्क परेका गाला, साना चम्किला आँखा र नाक थेप्चो, मिस तुलाचन यस्तै थिई |
निस्तब्ध रात, कोठामा मिस तुलाचन र म मात्रै । चुल्होमा दन्किएको आगो र त्यसको रापमा कुनै पनि अरू दिनको भन्दा बढी प्रष्ट र अर्थपूर्ण
प्रस्तुत भएकी मिस तुलाचन निहुरिएर मोमो तताउँदै थिई । मलाई भने त्यो परिस्थितिको आँचले विस्तारै छुन थाल्यो । भित्र कतै केही बलेर त्यसको धुवाँ उठ्न लागे झैँ भएपछि मैले आफ्नो आसनी उसको नजिक पुर्याएँ र भनेँ- “केही खान दिन्नौ ?”
निहुरिएकी, उसले मुन्टो उठाई र दुइटा गहिरा आँखाहरूमा आवेगका ससाना तरङ्गहरू बोकेर मलाई हेरी अनि आत्तिए झैँ भनी- “किन नदिने ? लौ बिर्सिराखेकी मैले त, ल लिनुस् !”
अनि मेरा अगाडि एउटा च्योक्चे आयो र त्यसमाथि राखियो एक गिलास आरूको रक्सी र एक प्लेट मोमो । म खाँदै गर्न थालेँ र कोठामा व्याप्त असजिलोको कुहिरोमा हराउँदै पनि जान थालेँ ।
रात गर्भिणी माउसुली झैँ विस्तारै-विस्तारै बाक्लिँदै जान थाल्यो र त्यसको साथसाथै मेरो मनभित्रको छटपटी पनि । म एकनाससित मिस तुलाचनलाई हेर्न थालेँ । मुटुको ढुकढुकी बढेर मेरो आत्मा छाती फोरेर बाहिर निस्कूँलाजस्तो भएर आयो | मेरा उत्तप्त हात एक्कासि अगाडि बढे र मैले मिस तुलाचनलाई चिलले कुखुराको चल्लालाई गाँजे झैँ आफ्नो अँगालोभित्र कैद गरेँ ।
उसले सकभर प्रतिरोध गरी । ‘ए साब, नगर्नुस् न ! ए साब, के गर्या ? ए साब, छोडनोस् न ।’ जस्ता वाक्य खण्डहरू विस्तारै-विस्तारै धमिलिँदै गएको आवाजको अवरोहमा गएर टुङ्गिए । केहीबेरपछि कोठामा भयानक निःस्तब्धता फैलिसकेको थियो ।
बिहान चार बजे नै मिस तुलाचनले मलाई उठाई, एउटा अम्लेट र चिया बनाएर खान दिई र ढोकासम्म छोड्न आई | मैले देखेँ, उसको अनुहारमा उही पुरानो विषादको मैलो खोल लागिसकेको थियो । ढोकामा अडिएर मैले सोधेँ – “ए मिस, किन फेरि रूञ्चे अनुहार ?”
ऊ बोलिन |
मैले फेरि सोधेँ- “हैन, तिमी कहिल्यै प्रसन्न हुन सक्दिनौ कि क्या हो ? के कारण छ त्यस्तो, भन न !”
ऊ, तैपनि चुप लागिरही ।
“तिमी केही भन्दिनौ भने म जाँदै जान्नँ लौ ।’ भन्दै म भित्र पस्ने जमर्को गरे झैँ अगाडि बढेँ ।
त्यतिबेला हठात् मिस तुलाचनको अनुहार विकृत भएर आयो ।
उसका स-साना आँखाहरू एकपटक धपक्क बले अनि थरथर काँप्दै उसले झण्डै चिच्याएर भनी- “तिमी लोग्नेमान्छेहरू गिद्ध हौ ! तिमी साब पनि गइहाल यहाँबाट ! मलाई तिमीहरू देखेर घिन लाग्छ | यहाँबाट हिँडिहाल !” मलाई धक्का दिएर उसले ढोकाबाट पूरै बाहिर पुर्याइदिई र ढोका लगाएर भित्र पसी ।
म मानसिक रूपले अर्धमृत भएर क्वार्टरमा फर्किएँ र ओछ्यानमा गएर पल्टिएँ । आँखा बन्द गरेर आफूलाई, जोमसोलाई, मिस तुलाचनलाई र कति परिचित अरू आइमाईहरूलाई बिर्सने चेष्टा गर्न थालेँ । तर, मिस तुलाचनको त्यो सम्पूर्ण लोग्नेमान्छेको जातिप्रति नै घृणाले धपक्क बलिरहेको अनुहार मेरो मन-मस्तिष्कमा व्याप्त भई नै रह्यो । म धेरैबेरसम्म त्यही दशामा सुतिरहेँ । तर पटक्कै निदाउन सकिनँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।