मैले उसलाई अन्तिमपटक सोधेँ, “साँच्चै नगर्ने ?”
ऊ केही बोलिन । टाउको मपट्टि फर्काई । मेरा आँखाहरु उसका आँखाहरुमा पुगेर अडिए । उसले पनि मेरै आँखालाई हेरिरही । केहीबेर कुराकानी आँखैबाट भएजस्तै भयो । मैले नबोली “बाई” भनेँ, आँखाको इसाराले हातको इसाराले । उसको उत्तर केही आएन । सायद मैले बाई भने पनि जादिनँ भन्ने सोचिकी थिई होला उसले । मेरा पाइलाहरु अगाडि बढे । ठिमी बसस्टपको ओत लाग्ने ठाँउमा बसेर म मेरा सोचहरुसँग ओत लाग्न खोज्दै थिएँ ।
म बिचरो ! पानीबाट ओत लाग्ने ठाँउमा बसेर कहाँबाट पाउनु सोचको ओत ।
मोबाइल चिच्यायो । म सहन नसक्ने भएँ । गोजीबाट झिकेर उठाएँ ।
“ह्या रिसाको ?”, मोबाइलभित्रको कुन्नि कुन कुनाबाट आवाज निस्क्यो । म केही बोलिनँ । घाँटीलाई पेटले ध्वनि नै दिएन, घाँटीले जिब्रोलाई अनि जिब्रोले मोबाइललाई । पक्कै उसका कानका प्वालले पनि रित्तै अनुभव गरे होलान् ।
ठिमी चोकमा लगभग साँढे एक बजेको घाममा रिसको भारी बोकेर थकित अनुभवमा उभिरहेको थिएँ म । कहाँ जान्छु भनेर निस्केका हुन् कुन्नि यी पैताला । न पैतालालाई नै थाहा थियो न पैताला नियन्त्रण गर्ने मलाई नै । रिसको झोँकले झोक्रिएर निस्किएका यी पैताला अब कहाँ जाने गाडी टेक्लान् ? आफैँभित्र प्रश्न गरिरहेको थिएँ म । गाडी चढेँ ।
दिमागको भित्री पाटोमा रिसले विष उत्पादन गरिसकेको थियो, मात्र पोखिन बाँकी थियो । हैट् ! पोखिएको भए मैले यो कलम अहिले कसरी चलाइरहेको हुन्थेँ होला ?
गाडी कौशल्टार पुगेको रहेछ । बल्ल पो सुने खलासीजीले ‘गौशला चावाहिल, नयाँ बसपार्क……’ भनेर चिच्याएको । गन्तव्य बोकेर हिँडेका होइनन् यी पैताला अनि यी पाइला । मैले पशुपति लाने निर्णय गरे यी पैतालालाई । जयवागेश्वरी चोकमा ओर्लिएँ । पशुपतिमा आरती गर्ने भन्दा माथि डाँडामा पुगेर म झोक्रिरहेँ । यी आँखाका नानीहरुले आर्यघाटमा लडाइरहेको लासको चाङ्लाई नियालिरहे । अनि कोट्याइरहे यी मस्तिष्कले मरेपछि के होला ? लछारिरहे यी मन । अनि तर्सिरह्यो यो तन ।
पाइन्टको गोजीमा मोबाइल पनि थररर… कामिरहेको रहेछ । उसैले गरेकी रहिछे । फोन उठाएर कानलाई नै टक्राएँ । अनि यी स्वरलाई मौन बस्न आग्रह गरेँ । उताबाट पनि आवाजको झिल्का पनि आएन । आवाजबिना मोबाइललाई कानमा मैले पौने तीन मिनेट राखेछु । काट्न भनेर हातमा ल्याइसकेको थिएँ, उताबाट आवाज आयो । हत्तपत्त कानमा पुर्याएँ ।
“साँच्चै रिसाको ? ल आऊ, म जे भन्छौ त्यही गर्छु ।”, ती आवाजहरुले मेरो मुटुलाई जुरुक्क उचाले । मैले मेरो पैतालालाई उचालेर तिलगङ्गा पुर्याएँ ।
भक्तपुरको गाडी चढेर ठिमी, ठिमी चोकबाट लमकलमक लम्किदै कोठाको ढोका ढक्ढकाँए । ढोकाको चुकुल त खुल्यो, तर डरले ती सम्पूर्ण जोशलाई चुकुल लगाएर बन्देज पो पार्न थालेँ त !
खाटमा आफैँ आफैँलाई बिसाएर, म फेरि झोक्रिरहेँ । अघि ऊछेउ आइन भनेर झोँक्किएको म, अहिले ऊ अगाडि आउँदा जिउ तर्सियो । किन लजाइरहेका छन् यी आँखाहरु उसका आँखामा हेर्न ?
उसका हातले मेरा तिघ्रालाई छोए । कस्तो झसङ्ग भको म हैट् ! ऊ पनि तर्सी । अनि बिग्रेर चौपट् भएको दाँत देखाउँदै खिस्स हाँसी । मैले पनि कनेरै हाँसो निकालेँ । उसले आवाज निकाली, “खोइ त ! अघि भन्या काम सुरु गरुम् न !”, मेरो आँखा उसको आँखामा पुगेर अनौठो तरिकाले अडिरहे ।
शरीरको पाइपमा डरले डामेको तातो रगत बगिरहेछ । तातेको पाइपले हाने झैँ दुखिरहेको छ यो शरीर, यो मस्तिष्क अनि यो चेतना ।
कोठामै एट्याज थियो बाथरुम । म बाथरुम छिरेँ । फ्रेस भएँ अनि निसकिएँ । आबुई ! आँखाले उसको आँखालाई मात्र होइन, उसका स्तनका टुप्पा अनि नितम्बदेखि खुट्टा सबै छर्लङ्गै देखे । एक धर्साे धागो पनि नबेरी उभिरहेकी ऊ ! अनि बाथरुमको ढोकामा अक्कनबक्क परेर उभिरहेको म !
ऊ र म बीचमा उभिरहेको थियो मात्र एउटा विश्वास ।
ऊ गई । मलाई खाना पकाउन जोश नै चलेन । नपकाई नखाई खाटमा लडिरहेँ । कहिले दिउँसोको कुराले घच्घचाउँछ कहिले पढाइले, कहिले आमाबुबाको सपनाले । कतै पढेको थिएँ, “निद्रा आएन भने खुट्टादेखि सम्झदै आउनु शिरमा पुग्दा निद्राले ढोका खोल्नेछ” । अनि बिनाप्रश्न छिरिहाल्नु । मैले उसै गरेँ, तर निद्राले ढोका खोल्नै सकेन । खुट्टादेखि माथि तिघ्रा अनि तिघ्रादेखि शिरसम्म पुग्दा उहीँ दिउँसोको कुराले झसङ्ग बनायो । ढोका खोल्न तम्तयार भएको निद्रा पनि जराकजुरुक उठेर भागिहाल्यो । शरीरको पाइपमा डरले डामेको तातो रगत बगिरहेछ । तातेको पाइपले हाने झैँ दुखिरहेको छ यो शरीर, यो मस्तिष्क अनि यो चेतना ।
निद्राले झुक्किएर ढोका खोलेछ, आँखाहरु थकानलाई समातेर मलाई खबरै नगरी पसिहालेछन् । बिहान साढे सात भएको थियो । म बिउझिएँ । सिरानीमा भएको मोबाइल समातेर सरासर फेसबुकको भित्ता कोट्याउन थालेँ ।
फेसबुकको तलदेखि माथि, माथिदेखि तल । ओल्टाईकोल्टाई मजाले नियालिरहेँ । मेसेन्जरको घण्टी बज्यो । उसैको मेसेज । खोलेर हेरेँ ।
प्रिय निश्चल ! घरमा आमा सिकिस्तै हुनुहुन्छ रे । अब रहनुहुन्न भन्ने खबर आयो । तुरुन्तै गाउँ जाँदैछु । अब महिना दिन आउँदिनँ होला । मलाई फोन नगर्नु । उठाउन नसक्ने हुन सक्छु । मलाई मेसेज नगर्नु, नेट हुँदैन । मेसेज आइपुग्दैन । म फर्केपछि सीधै तिमीलाई नै फोन गर्छु ।
तिम्री माया कृपा !
मेसेज पढिसक्दा पसिनाले मोबाइल निथ्रुकै पार्यो अनि मोबाइल हातबाट खसेर सिरकमाथि पर्यो । म हराएँ, टोलाइरहेँ । मेसेज रिप्लाई गर्न भनेर आधा पाना जति भावना मिसाएर शब्दहरु कोरिसक्या थिएँ । तर हुर्याइदिएँ । नपठाइकन ।
उसैलाई कुरिरहेँँ । सात दिन कुरेँ, न फोन आयो न मेसेज । कुरिरहेको एक महिनै पुगिसकेछ । अब त फोन आउँला नि भनेर आशा बोकेर उभिरहेको थिए । न एक महिनामै फोन आयो न तीन महिनामा नै । चार महिना तिन दिन भएको रहेछ, म ब्लक भएँ उसको फेसबुकबाट, उसको मेसेन्जरबाट बाँकी सबै सामाजिक सञ्जालबाट । फोन गरेँ ।
मोबाइभित्र कि दिदीले बोल्नुभयो, “तपाईले सम्पर्क गर्नुभएको मोबाइलको स्विज अफ गरेको छ ।”, छट्पटीले उल्कै सतायो । म दिनानुदिन हराउँदै गएँ ।
मेरो चिन्ता र मेरो एक्लोपनले साथीहरु सोधिरहन्थे, “के भाछ तँलाई, अर्कै भाछस् त ?” मेरो उत्तर रहन्थ्यो मात्र मौन ।
वर्ष दिन पनि कटेछ । उसले एकै महिनामा फर्कन्छु भनेर मबाट टाढिएँ कि, तर एक वर्ष पुग्दासम्म पनि अत्तोपत्तो छैन उसको । मलाई आँसुले निथ्रुकै भिजाएर कहाँ गएकी होला है कृपा ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।