” कतिबेर गर्नु भा’को नि, कम्ति कुरेँ मैले ?”

कुचुक्क मुख पार्दै छोरो च्यापेर गुनासो गर्दै ऊ गाडीभित्र पसेपछि मैले भित्रबाट ढप्काएँ । गाडी गुड्यो । पृष्ठभूमिमा रामकृष्ण ढकालको गीत बजिरहेको थियो ……

गोम विक्रम

“जिन्दगीले यसरी धोका दियो कि…?”

“सबै कुरा चाहेजस्तो हुने भए तँ पनि त मेरै हुन्थिस् ।”
“मैले नमान्या हो र ?”, उसले पुराना कुरा उक्काई ।
“उतिखेर मैले भागुम् भन्दा हाम्रो संस्कारमा छैन भनिस् अहिले खुब …..”
हामी दुवै दोषी थियौँ सायद । बाआमाको सहमति खोज्दा कता भात मिलेन कता के मिलेन । खानदान र इज्जतले आफूखुसी गरिएन ।
गाडीलाई मोड कटाउँदै थिएँ, जिन्दगीले थुप्रै मोडहरू काटिसकेको थियो । दुवैको । ‌ऊ कसैकी म कसैको भए पनि हामी पहिलेजस्तै जिस्कन्थ्यौँ । फोनमा वा भेटमा उसले मेरो परिवारको नालीबेली सोध्थी । निकै सरोकारी ।
“भाउजूलाई ठिकै छ नि ?”
“के ठिक भन्नु त्यो रोगीको ? सधैँ अस्पताल लग्नुपर्छ । त्यताको कुरै नगरौं, रसिलो भएको मन पनि खिन्न हुन थाल्छ । तैँले बरू सही बूढो पाइस् !” ऊ चुपचाप थिई ।
“कहाँ जाने आज ?”  प्रसङ्ग मोडिदिएँ ।
“के जान्नूँ ! तपाईँले कहाँ लैजान बोलाउनुभएको हो ?”
“छोरा निदायो ?”
पछाडि फर्केर हेर्दा निकै आकर्षक, मादक नजरले मुस्काउँदै थिई । मान्छे नि साँच्चीकै अप्सरै छे । शून्य समयको फाइदा उठाइयो । भरपुर ठाउँहरू घुमियो । फोन, भिडियो कलमा जति जिस्किए पनि सामुन्नेमा व्यवहारिक कुराहरू भए  ।
“उहाँसित नभएका सब चीज तपाईँसित छ  ।”, यसो भनिरहँदा उसको अनुहार निकै चम्किलो देखिन्थ्यो ।
” मतलब ?”
“घर, गाडी अनि यस्तो रसिक स्वभाव ….. ।”
जिन्दगीको खेल कल्ले जान्यो र ? मान्छे परिस्थितिको दास पनि हो आखिर । उसको लोग्ने, घर अनि काखभरिको छोरो मेरै सुझबुझको उपज थियो ।
विगतमा जे भए पनि प्रायश्चितमा म उसलाई सदैव तन, मन र धनले सहयोग गरिरहन्थेँ । केही उसका, केही मेरा कारणले हामी एक अर्काप्रति सधैँ समर्पित र जिम्मेवार पनि थियौँ । ऊ झर्ने मोड आइपुग्यो । झरी ।
छोरो निद्रामै थियो । दुबैका गालामा चिमोटी दिएँ । कसले, कहाँ र कसरी धोका दियो भन्नू ? म अलमल छु अझैसम्म ।
ट्रयाकमा उहीँ गीत बज्दै थियो …