आजकल म उदास बनेर सोच्ने गर्छु, तिमी गएसी के के भए ?
तिमी गएपछि पनि उति साह्राे केही भएको छैन । फूलहरु फुलेकै छन्, घाम उदाएकै छ, जून देखिएकै छ । केही अनाैठाे भएकाे छैन । केही अचम्म भएकाे छैन । बस् यति हो, आजकल फूलहरुमा म बास्ना भेटाउँदिनँ । जून प्रिय लाग्दैनन ।मोबाइलकाे प्ले-लिस्टमा भएका गीतहरु फेरिएका छन्; “प्यार दिवाना होता हे “को ठाउँ “जाने वो कैसे लोग थे”ले लिएकाे छ । अरुणा लामा र नारायण गोपालहरु झन् प्रिय भएका छन् । म एक र एक जोँडिदा एकै हुने तर त्यही एक र एक मिलेर बनेकाे एकबाट एक घट्दा केही बाँकी नरहने हिसाबको चपेटामा परेको छु । भित्रैबाट केही छुटिएर गए जस्तो, आफैँ खालि भए जस्तो लाग्छ अचेल । हुन त भित्तामा टासिएका पानाहरु उप्किदा भित्ताकाे रङ पनि लिएर उप्किन्छन् । धेरथोरको बात हो, दुखेको त तिमीलाई पनि होला ।
तिमी मसँग हुँदा मसँग सबै कुरा थिए ।सहर, समय, इन्द्रेणीका रङ जस्ता खुसी, सबै सबै मेरा थिए । तिमीसँगै गए ती सारा खुसीहरु । आजकल यो सहर मलाई आफूजस्तै उदास लाग्छन्, जिन्दगी नै रङ्गहीन लाग्छ । पहिले प्रेमिल जोडी मात्र देख्थेँ यो सहरमा, आजकल सबै दिल टुटेका र आफैँसँग हारेकाहरुसँग मात्र ठोक्किन पुग्छु । मानिसहरु आफू अनुकूल हिँड्दा रहेछन् । म भ्रममा हिँड्दो रहेछु । जस्तो कि तिमीले मलाई प्रेम गर्छौ भन्ने भ्रम । सत्य थाहा पाएर पनि भ्रममा बाँच्नुको मज्जा पनि अलग्गै हुन्छ । अँ, यो सहर सबैको रहेछ । सबैलाई सुनेर र सहेर बसिरहेको छ, बाँचिरहेकाे छ याे सहर ।
म तिमीलाई अजै पनि मनैबाट सम्झिरहेको छु । मनको कुरा गरिरहँदा मसँग दुख्नलाई एउटा मन मात्र मन छ । दुखाइरहन तिमीसँग पनि त एउटै मात्र मन छ ! हेर त, मनले पनि एकै काम नगर्ने रहेछ ! भैगो, मनको कुरा नगरुम् मनमाया, मन मारेर मनबाटै गएसी !
‘धेरै दिन भैसक्यो अब त !’, मनलाई मनमनै भनेँ । फेरि लाग्यो, भुलिहाल्नलाई यत्रो हत्तार किन गर्ने, त्यो पनि आफूले प्रेम गरेको मान्छेलाई ? लामो समयसम्म गरेको प्रेम हो, आदत बनिसक्यो । आदतहरु त्यति सजिलै कहाँ जान्छन् र ? चाहेर हाेस् या नचाहेर, मानिस आफ्नो आदतको दास बनिरहन्छ । त्यसैले त म अहिले उदास छु ।
तिमी गैसक्यौ । जान्छु भनेको भए बिदाई गर्न पाउथेँ । अनायासै भेटिनु, प्रेममा पर्नु अनि छुटिनु ! सायद भेटिनु र छुटिनुबीचको यात्रा जीवन हो । यस अर्थमा मैले तिमीसँग एक फूल जिन्दगी बाचेँ । तिमीसँग मलाई कुनै गुनासो छैन । मैले तिमीबाटै प्रेम गर्न सिकेको हुँ । तिमीले मलाई कहिल्यै भनिनाैँ, याे राम्राे र त्याे नराम्राे, याे बदल र त्याे बदल ।
आफू भएर बाँच्नुको मज्जा अलग छ, तिमीले छोडेसी अझ बढी अनुभव गरिरहेको छु । तिमीलाई गरे जति प्रेम सायदै अरु कसैलाई गर्न सकूँला । तिमीलाई मैले एक दिन कुरैकुरामा भनेकाे थिएँ, “कहिल्यै फर्किन मन भयो भने सम्झनु । एउटा गुँड  बनाएको छौँ तिमीले याे मनभित्र, जुन कहिल्यै भत्कने छैन ।” तर समय बद्लियो । अब म तिमीलाई मेराे जीवनमा पुन: चाहान्नँ । यद्यपि उत्तिकै प्रेम गर्छु ।
प्रेम गर्नु र चाहनु अलग कुरा रहेछन् । प्राप्ति नै सबैथोक हैन रहेछ । कुनै कुनै अधुरा रहरहरुले पनि मानिसलाई कर्म गर्ने उत्प्रेरणा दिँदाेरहेछ । सोच्छु !, ‘अब तिम्राे ‘हजुर’ भनेर म्यासेज नआए पनि कहिलेकाहीँ यतैबाट म्यासेज गरुम्’ । तर मलाई थाहा छ, मेरो म्यासेज कुरेर बस्ने, रिसाएसी मैले फकाउन पर्ने, मलाई हौसला दिरहने, प्रेम गर्ने मान्छे उतापट्टि छैन भन्ने भएसी मलाई अब त्यता पुग्नु छैन ।
अचेल म तिम्रो यादहरु बोकेर हिँडिरहेको छु । तर तिमीले भुलिसकेका यादहरु बोकिहिँड्नुको औचित्य छैन । सायद मैले पनि भुलाउनपर्ने हुन्छ । भारीहरु बिसाउन चौताराको आवश्यक हुन्छ, तर म तिम्रो याद बिसाउन अर्को चौतराचाहिँ चाहान्न । भरियालाई काहीँ भारी पुर्याउन परेजस्तो मलाई तिम्रो यादहरुलाई काहीँ पुर्याउनु छैन । बोक्न सकिन्जेल बोक्छु, नसकेकाे दिन फ्याकिदिन्छु । जति नै निःस्वार्थी भए पनि मानिसले आफूलाई काम नलाग्ने कुरा धेरै समय नजिक राख्दैन भन्ने पनि तिमीले नै सिकाएकी हौ ।
अन्तिममा, शुभकामना छ तिमीलाई । चाहेका कुरा गर्नु । आकाशमा उड्ने चरा मात्र धेरै माथि जानसक्छ, पिँजडामा बस्ने होइन । तिमी उड्नू, हेर्नू र बुझ्नु- जीवन के हो ? सम्बन्ध के हो ? सत्य के हो ? भ्रम के हो ? सुख केलाई भन्ने ? दुख केलाई मान्ने ?, र बनाउनु आफ्नै धारणा । जीवनबारेमा प्रस्ट हुनु । आफूले हिँड्ने मार्गको बारेमा सोच्नु- के यी चिजले सुख दिनेछन् मलाई  ? चाहेको गन्तव्यमा पुर्याउने छन् मलाई  ?