झराम्म आवाज आयो । लौ, के फुटाली फेरि सुमीले ? दगुरेर पुगेँ, माथि कौसीमा । उफ् ! गमला खसालिछ । कसो टाउको फुटालिन । एक चड्कन लगाइदिएँ । कहालिएर रुच थाली सुमी । आत्तिएँ, सुमीको कंकलाहटले । च्याप्प समातेँ । गाला मुसारिदिएँ । त्यति जोडले हानेको थिइनँ । तर गालामा डाम देखिई नै पो हालेछ । छोरीलाई कति दुख्यो होला भन्ने मनमा आयो । मन आत्तियो । लौ, यसको बाउ आएर मार्ने भयो मलाई, गालाको डाम देख्यो भने ? छोरीको पीडाबोधको चेतलाई पतिको क्रोधको भयले छोपिदियो । आइमाई हुनुको बिडम्वना !
सुमी करिब ५ वर्षकी थिई । हाम्रो बिहेको नौ महिनामै जन्मिएकी । योजना बनाउन नपाई जन्मिएकी । म आफैँले विवाहित युवतीको जीवन अनुभव गर्नुअघि नै आमा बन्न पुगेकी । मस्त तरुनी हुनुअघि नै, १६ वर्ष नपुग्दै विवाहित बन्न पुगेकी म । नवदम्पत्ति नभई आमा बनेकी म । झ्याउ लागे पनि हेर्दाहेर्दै आमामा रुपान्तरण हुँदै गएको महसुस छ । तर सुमीको चकचके र अनियन्त्रित व्यवहारले आजित छु । त्यसैले हात घरि घरि उठिरहन्छ मेरो पनि ।
एक मित्रका घरमा पुग्दा कुकुर ब्याएको रहेछ । एउटा बच्चा घर लाने भनेर जिद्धी गर्न थाली । फेरि मेरो हात उठ्नु स्वभाविकै थियो । मित्रले, “लौजाऊ न त ! पाल यो आप्सो जात असाध्य गुनी हुन्छ ।” भने । म तयार थिइनँ । छोरीकै गु–मुत स्याहार्दा–स्याहार्दा थकित र वाक्क भइसकेकी म अर्को गु–मुतका लागि रत्ती पनि तयार भइनँ । पतिले पनि सुमीकै साथ दिए । बाउ–छोरीले गु–मुत स्याहार्ने हो भने लगे हुन्छ भन्नैपर्ने स्थितिमा पुग्न म विवश हुनैपर्यो ।
मित्र घरकी पत्नीले कसरी ट्वाइलेट ट्रेनिङ गरेर घरबाहिर आदत लगाउन सकिन्छ, तरिका सिकाइदिइन्, मेरा पतिलाई । मैले सिक्ने चासो नै लिइनँ ।
त्यस दिनदेखि सुमीमा परिवर्तन आउन थाल्यो । छाउराकै साथ समय बिताउन थाली । छाउरीका साथ खेल्न थाली । छाउरालाई काखमा आमाले जस्तै राखेर कुरा गर्ने, सुताउने, झुलाउने गर्न थाली । ठीक समयमा दूध खुवाउने, बिस्कुट खुवाउने गर्न थाली । नखाएमा फकाउने, तैपनि खाएन भने मुखमै कोच्याउन आदि इत्यादि कार्य ठीक मैले सुमीलाई जसरी गर्थेँ त्यसरी नै पो गर्न थाली । म छक्क परेँ । यसले मबाट सिकेकी ? कि स्वभाविक मातृत्वको नारी गुण आफैँ प्रादुर्भाव भएको ?
तीन महिना बित्यो । पप्पी ठूलो हुँदै गयो । पहिलेको बालजिद्धीपन हराएर गयो । गैर–जिम्मेवारपन पनि घट्यो । पप्पीका हर आवश्यकतामा सदैव संवेदनशील हुन्थी । म सुमीप्रति हुने संवेदनशीलताभन्दा पनि बढी । पप्पीले पनि सुमीले सिकाएअनुसार नै पहिले ढोकाछेउ अखबारमा सुसु गर्न सिक्यो । विस्तारै अखबार सार्दै सार्दै ढोकाबाहिर लगी, त्यो पनि सिक्यो । ढोका खुल्लै हुनेहुनाले सजिलै भयो । विस्तारै तल चौरमा गएर सुसु गर्न पनि जानेपछि मेरो चिन्ता दूर भयो । गज्जब गरी सुमीले त । म भए सक्ने थिइनँ, पप्पीलाई ट्वाइलेट ट्रेनिङ दिन ।
दशैँको आगमनको वेला भएको थियो । आकाश खुला हुन थाले । घाममा पनि बसिरहूँजस्तो हुन थाल्यो । काँक्रो काटेर सुकाउँदै थिएँ, मासुसित काँक्राको अचार ! उफ्, मलाई पनि औधी मन पर्ने । पतिलाई पनि त्यतिकै । सुमीलाई भने पिरो खान दिएकै छैन मैले अहिलेसम्म । असाध्यै डर लाग्छ । आमा हुनुभनेको कमजोर हुनु नै हो, मलाई थाहा छ । सुमी पनि पप्पीलाई अलिकति पनि मसला भएको तरकारी दिँदैदिन्न । पप्पीका लागि मसला नहाली पहिले नै तरकारी आफैँ बसेर झिक्न लगाउँछे । अझ विशेष गरी शनिबार मासु पकाउँदाको वेलामा त उसको पप्पीलाई चाहिने जति नझिकेसम्म मलाई कुनै कामै गर्न दिन्न ।
अचानक सुमी चिच्याएर रोएको आवाज आयो | म दगुरेँ । कोठामा सुमी रोइरहेकी रहिछ । पप्पी ऊ रोएको देखेर उसैलाई भुकिरहेको रहेछ । उसको मनपर्ने पुतलीका टाउका र हातहरू टुक्रिएर छरिएका छन् | कुरो बुझ्न गाह्रो
भएन । पप्पीले भ्याइदिएछ |
मैले सुमीलाई सुमसुम्याएर फकाउन खोजेँ । ‘पप्पीको दाँत चिलाउँछ यसबेला’ भन्दै काखमा राखेँ । पप्पीले कुरो बुझेजस्तो गरी सुमीको काखमा गएर बस्यो र सुमीको मुख चाट्न थाल्यो । तर सुमी बम पो भएकी रहिछे । रीसले पप्पीलाई हुत्याइदिई । पप्पी गएर मेचमा ठोक्कियो । क्वाँक् गर्यो एकचोटि र क्वायँ-क्वायँ गर्दै ढोकाबाट बाहिरियो । कराउँदै भरेङ ओर्लियो । शायद चउरमा सुसु गर्न गयो होला, मैले सोचेँ ।
तत्कालै सुमीलाई पछुताउ लागेछ । ‘पप्पी !’ भन्दै तल ओर्ली । तर पप्पी घरबाट बाहिरिइसकेछ । भेटिएन । रुन थाली ‘पप्पी !’ भनेर । सम्माल्न गाह्रो भयो । सुमीलाई साथ लिएर घरबाहिर खोजियो । फेला परेन । आसपासका पसलहरू हरेकमा सोध्यौँ । भेटिएन । अलि पर मोडको एक पसलेकी छोरीले यौटा बच्चाकुकुर देखेकी रहिछ । ठ्याक्कै कस्तो भनेर चाहिँ भन्न सकिन । टोलमा जत्ति पनि छन् भुस्याहाका बच्चाहरू । क्वायँ-क्वायँँ कराउँदै, अड्दै, पछाडि घरतिर हेर्दै,
फेरि क्वायँ-क्वायँ कराउँदै उता मन्दिरतिर दगुरेको भने भनी उसले | मन्दिरमा पुग्यौँ । कतै भेटिएन ।
पसलेकी छोरीलाई ‘पाँच रुप्याँ दिन्छु, खोजेर ल्याओ’ भनेँ । पाँच रुप्याँको कुरा सुनेर पत्याइन । भैले पाँच रुप्याँ हातमै हालिदिएँ र ‘साथीहरू बटुलेर खोज’ भनी पठाएँ । साउनी कराई, ‘ए दुल्हीसाप, यत्रो विधि पैसा दिएर हाम्रो केटकेटीलाई बिगार्न त पाइन्न नि !’ भन्दै । तर आफूलाई भने पप्पीका लागि पाँच त के, बीस-पच्चीस पनि खर्च गर्न सकिने सोच थियो । एक शनिबार मासु नखाऊँला ।
घर फर्किन सुमी नमाने पनि ‘साउनीकी छोरी दिदीले खोजेर ल्याइहाल्छे’ भन्दै फकाउँदै ल्याएँ ।
सारा टोल खोज्दा पनि पप्पी नभेटिएको खबर ल्याई केटीले ।
‘कसैले पक्रेर घरमा थुन्यो कि, दुल्हीसाप’ भनी केटीले । होला, शायद नत्र त्यत्रो बच्चो कहाँ जान सक्छ र ! आजसम्म ढोकाबाटै बाहिर ननिक्लेको पप्पी अलमलियो होला । नत्र गएको बाटो फर्केर आउनुपर्ने हो । सुमीलाई सम्झाएँ, ‘स्विट छ पप्पी । कसैले मायाले राख्यो होला । भोलि फेला पर्छ । हामी हरेक घर गएर खोज्नेछौं ।’
साँझ परिसकेकोले अब खोज्नु सम्भव थिएन | केटीलाई ‘भोलि टोलका सब केटाकेटी बटुलेर घर-घर खोज्नू, पायौ भने पूरै चार रुप्याँको एक धार्नी जेरी ख्वाउँछु’ भनें ।
“एक धार्नी जेरीले त टोलभरि पुग्छ, सबलाई बटुल्छु’ भन्दै केटी गई । आश लाग्यो मलाई ।
जति फकाए पनि सुमीले रुन छाडिन | “पप्पी ! भनेर कराएको कराई गर्न थाली । उसको भाँडा समातेर ‘भोकायो होला पप्पी’ भन्दै रुन थाली । पप्पीको ओछ्यान समातेर ‘कहाँ सुत्यो होला मेरो बाबा ?’ भन्दै चिच्याउन थाली । छिनछिनमा ‘ऊ आयो’ भन्दै झ्यालमा पुग्ने, भरेङमा कुनै आवाज आयो कि ‘पप्पी आयो’ भनेर विक्षिप्तजस्तो हुन थाली । बाउ चाहिने घर आएपछि त उसको रोदन र प्रलाप झन् बढ्न थाल्यो । खाना खान मानिन । फकाएँ, मानिन । जबर्जस्ती खुवाउन खोजेँ । फालिदिई । झोँक चल्यो । चड्काइदिएँ । बाउ कराए, ‘सुमी हराउँदा आफ्नो हालत के भएको थियो ? यो त बच्ची । तिमी त बूढी थियौ ।’
झल्याँस्स सम्झेँ, सुमी तीन वर्षकी हुँदा एक रातभर हराएकी थिई | रिसाएर एक चड्कन दिएकी केटी रुँदै थिई | कुन सड्को कता गइछ | टोलभरि खोज्दा कतै भेटिनँ । पुलिसले पनि थानकोटमा चेक प्वाइन्टमा फोटो पठाइहालेका थियो । बच्चाचोरहरूले लान्छन् कि भन्ने शङ्काले । इण्डियामा लगेर बच्चाहरूको हात-पयर काटेर माग्ने बनाउँछन् भन्ने सुनेकी थिएँ । आफ्नी छोरी कतै चोरले त लगेन ? भयभीत थिएँ । मैले पनि ठीक यसै गरी कराएकी थिएँ, रोएकी थिएँ, खाना पालेकी थिएँ ।
म सुमीकी आमा थिएँ, छोरी हराउँदा रोएकी थिएँ । आज पप्पी हराएको छ । जसलाई तीन महिनादेखि पाँच वर्षकी सुमीले आमा बनेर स्याहारेकी थिई । मेराे बच्चा सुमी । सुमीका लागि पप्पी बच्चा ।
ज्वरो आउन थाल्यो | आस्प्रो खुवाएँ हत्तपत्त । निदाई । बिहानै घर-घर खाेज्ने सहमति पतिले गरे ।
हामी पनि सुत्यौँ । मध्यरातमा अचानक कुरा गरेको आवाजले मेरो निद्रा खुल्यो । सुमी ‘पप्पी, मेरो पप्पी, खा खा, दूदु खाउ !’ भनेर कराइरहेकी रहेछी । निद्रामा भने निद्रामै थिई । शायद निद्रामा पप्पी भेटी होली । पति पनि उठे । र, भने- ‘तिमीहरू आइमाई किन सबै समान हुन्छौ हँ ? सुमी हराउँदा तिमीले पनि राति निद्रामा यसै गरी सुमीलाई खाना खाऊ खाऊ भन्दै कराइरहेकी थियौ ।’
मैले सोचेँ, के साँच्चीकै हरेक आइमाई जन्मँदै आमाको रूप बोकेरै आउँछन् त ?
पति सुते । सुमी कराई नै रहेकी थिई | अचानक घरभित्रै कतै कुकरले एकपटक भोकाएर कराए जस्तो कुङँ…को आवाज आयो | घरभित्रै कतै लुकेर बसेको पो छ कि पप्पी !
झल्याँस्स सम्झेँ, त्यसबेला पनि रातभर हराएकी सुमी तलको भण्डार-कोठामा लुकेर बसेकी भेटिएको थियो । ढोका आफैँ लक भएछ । भित्र लुक्दालुक्दै भुसुक्कै निदाएकी रहिछ ।
तर पप्पी कराएको आवाज दोहोर्याएर आएन | पतिलाई उठाएँ, आवाज सुनेको कुरा गरेँ | तल कोठामा हेर्न जाउँ भनेँ । तर पतिले हप्काए । ताल्चा मारेको भण्डारमा ताल्चा खोलेर कुकुर जान सक्दैन । सुमीलाई निद्रामा भ्रम परेजस्तै मलाई पनि खुला आँखामै भ्रम परेको ठम्याइ पतिको रह्यो । हो जस्तो लाग्यो ।
फेरि अर्कोचोटि कुइय… सुन्न प्रतीक्षा गरिरहेँ । सुमी भने हाँस्दै पप्पीसित खेली नै रही । कुनबेला निदाएँ, थाहा भएन । सपनामा सुमी, म र पप्पी खेलिरहेको देखेँ ।
(करिब २८/२९सालतिर लेखेको, रमझममा छापिएको ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।