अधिकांश हामी जीवनको कुनै पनि क्षण बोरडम अर्थात् बोरियत अनुभूत गर्न सक्छौँ । यसको अर्थ हो, हामीलाई कुनै पनि बेला विरक्त लाग्न सक्छ, उराठ अथवा दिक्क लाग्न सक्छ । यसको पछाडि केही मूख्य कारणहरू रहेका छन्:
एक, नवीनताको खडेरी । सधैँ एउटै किसिमको कार्यमा आवद्ध हुनुपर्दा, उही पुरानै अनुभव लिनुपर्दा, उत्साह र विविधता नहुँदा स्वभाविक रुपमा बोरियत महसुस हुन्छ । उदाहरणको लागि कोरोना महामारीको समयमा लकडाउन हुँदा घरभित्रै बस्नुको विकल्प थिएन। त्यस समयावधिमा सधैँ एउटै कार्य तालिकामा चल्नुपर्ने बाध्यता थियो । जसकारण हामी सबैले अधिक बोरियत अनुभूत गर्यौँ।
दुई, प्रवाह अवस्थामा जान नसक्नु। प्रवाह अवस्थामा जानु भनेको यस्तो अवस्थामा प्रवेश गर्नु हो, जुन अवस्थामा काम गर्दा समय बितेको पत्तै हुँदैन। यस्तो अवस्थामा जानका लागि छनोट गरिएको चुनौतीपूर्ण कार्य र व्यक्तिगत क्षमताबीच मिलान हुनु आवश्यक छ। कार्य साह्रै सजिलो भयो भने बोरियत विकास हुन्छ। कार्य साह्रै जटिल भयो भने दुष्चिन्ता बढेर जान्छ।
तीन, स्वायत्तता वा स्वतन्त्रता नहुनु। सीमित नियमकानुन पालना गर्नुपर्दा, कसैको नियन्त्रणमा रहनुपर्दा, आफूले चाहेका कुराहरु स्वतन्त्र रुपमा गर्न नपाउँदा, चाहेको ठाउँमा जान नपाउँदा हामी विरक्तिन सक्छौँ। उदाहरणको लागि किशोरावस्थामा बोरियतको स्तर चरम विन्दुमा रहन्छ। किशोर किशोरीहरुलाई पूर्ण स्वतन्त्रता दिइएको हुँदैन। उनीहरुको नियन्त्रणमा केही कुरा हुँदैन। जसकारण उनीहरु चाँडै नै उराठ, दिक्क मान्ने गर्छन्।
क्रोनिक (दीर्घकालीन) बोरियत कारण लागूपदार्थ, मादक-पदार्थ र जुवातासको लतमा फँस्ने सम्भावना उच्च रहन्छ। जीवन यो दिशामा नजाओस् भन्ने सुनिश्चित गराउन, बोरियत हटाउन के गर्ने? यसको लागि ब्रिटिस साइकोलजीकल सोसाइटीको ‘रिसर्च डाइजेस्ट’ ब्लगमा प्रकाशित तथा वैज्ञानिक रुपमा प्रमाणित केही विधिहरू अवलम्बन गर्न सकिन्छ:
फोन प्रयोग नगर्ने
हामीले विरक्त लाग्दा गर्ने पहिलो काम हो, फोनको प्रयोग। अनि विरक्त नहुन्जेल फोन चलाउने गर्छौँ। फोन चलाएर विरक्त भएपछि मात्र अर्को कार्यमा सक्रिय हुन्छौँ। विभिन्न सोध अनुसन्धानले काम गर्दाको समयमा फोन चलाएर बोरियत कम गर्न नसकिने, पहिलेको भन्दा झन् बढी बोरियत अनुभूत हुने देखाएको छ। यसको पछाडि केही कारणहरू हुन सक्छन्:
कारण एक, कामबाट फोन चलाउने क्रियाकलापमा संलग्न हुँदा मानसिक उर्जा घट्नु अनि फोन चलाएर प्राप्त हुने परिणामले संज्ञानात्मक भार थेग्न नसक्नु। कारण दुई, फोन चलाएर जुन कामबाट छुटकारा पाउन चाहेका हौँ, त्यही कार्यको जटिलता सतहमा आउनु। यसबाट फोन चलाउनु बोरियत हटाउने वैज्ञानिक विधि हुन सक्दैन भन्ने सिद्ध हुन्छ। यसर्थ बोरियत हटाउन अत्याधिक फोनको प्रयोग कम गर्नोस्। यसको ठीक विपरीत रचनात्मक सोच राख्ने, रचनात्मक कार्यमा सक्रिय हुने गर्नोस्।
सकारात्मक पक्षमा केन्द्रित रहने
बोरियत अवस्थामा रहन कोही चाहँदैन। प्रायः जसोले नकारात्मक पक्ष मात्र देखेको हुन्छ। सकारात्मक पक्ष केलाउन सक्दैन। के-के छन् त सकारात्मक पक्षहरू? विभिन्न अनुसन्धानले बोरियत अवस्थालाई पूर्ण रुपमा आत्मसात गर्न सके त्यसले ध्यानको स्वरुप लिने पुष्टि गरेको छ। त्यसैगरी सन् २०१६ मा ‘युनिभर्सिटी अफ इस्ट लण्डन’ का टिम लोमाशको अध्ययनले बोरियत अवस्थालाई ध्यानको अनुभूतिमा परिणत गर्न सके बोरियत नकारात्मक नरहने, बोरियत अनुभूत नहुने प्रमाणीत गरेको छ। त्यसैगरी विभिन्न सोध अनुसन्धानले बोरियत अवस्थामा रहँदा व्यक्तिगत चाहना, सम्भाव्यता र उद्देश्य पत्ता लगाउने अवसर प्राप्त हुने पनि पुष्टि गरेको छ। त्यसैले बोरियत हटाउन सोच बदल्ने कोसिस गर्नोस्। बोरियतबारे पुनर्विचार गर्नोस्। बोरियत अवस्थालाई नकारात्मक क्षणको रुपमा व्याख्या गर्नुभन्दा आत्मपरीक्षण गर्ने ठूलो अवसरको रुपमा लिनुस्। संक्षेपमा भन्नुपर्दा, सकारात्मक पक्षमा बढी केन्द्रित रहनोस्।
पुराना दिनहरु याद गर्ने
सन् २०१३ मा ‘इमोसन’ मा एउटा अनुसन्धान छापिएको थियो। सोहीबारे छोटो वर्णन गरौँ। अनुसन्धानको विवरणअनुसार सहभागीहरुलाई बोरियत अवस्थाको उच्च वा सामान्य तहमा लगिएको थियो। यसको लागि उनीहरुलाई कंक्रिट मिक्सरबारे दुई वा दशवटा टेक्स्ट (व्याख्यान) उद्धरण गर्न भनिएको थियो। त्यसपछि उनीहरुको न्युट्रल (तटस्थ) वा नोस्ट्याल्जिक मेमोरी रिट्राइभ (पुनः प्राप्ति) गरियो। यसबाट बोरियत अवस्थाको सामान्य तहमा रहने सहभागीहरु भन्दा उच्च तहमा रहने सहभागीहरुले नोस्ट्याल्जिक अनुभूत गरेको पाइयो। त्यसपछि गरिएका फलोअप परिक्षणले समेत पुराना एवं रमाइला दिनहरु याद गर्दा बोरियतको प्रभाव कम हुने, जीवनको अर्थ र उद्देश्य बुझिने देखाएको छ। त्यसैले बोरियत हटाउन पुराना दिनहरु याद गर्नोस्। सहजीकरणको लागि पुराना फोटो हेर्न, भिडियो हेर्न, साथीहरुसँग विगतबारे संवाद गर्न र आफ्नो पुरानो थातथलो भ्रमण गर्न सकिन्छ।
दिवासपना देख्ने
दिवासपना देख्नु वा दश ठाउँमा मन डुलाउनु वा ध्यान विकेन्द्रित गराउनु कुनैपनि कोणबाट सकारात्मक गतिविधि होइन। विशेषतः कुनै महत्वपूर्ण कार्य गर्दा वा असफलता व्यहोर्नु पर्दा दिवासपना मस्त रहनु, ध्यान विकेन्द्रित गर्नु त झन् हुँदै हुँदैन। ध्यान विकेन्द्रित गर्दा प्राप्त हुने केही नकारात्मक परिणामहरु चर्चा गरौँ। जस्तैः गहन अध्ययन गर्न सकिँदैन, मेरोरी विकास गर्न सकिँदैन, अध्ययन गरेका कुराहरु सहजै याद गर्न सकिँदैन, आदि। त्यसैगरी ध्यान विकेन्द्रित गर्दा प्राप्त हुने केही सकारात्मक परिणामहरु चर्चा गरौँ। जस्तैः दिक्कलाग्दो कामलाई रोचक र छोटो रहेको अनुभूत गराउँछ, विरक्तलाग्दो वातावरणबाट अलग रहन मद्दत गर्छ, जटिल काम गर्ने क्रममा मुड उत्थान गर्छ, समस्या समाधान कौशलमा निखारता ल्याउन सक्छ, रचनात्मकता बढाउन सक्छ, आदि। त्यसैले बोरियत हटाउन दिवासपना देख्ने गर्नोस्। ध्यान विकेन्द्रीकरणको लागि मस्तिष्क खुला राख्नोस्। त्यसको लागि तयार रहनोस्।
दृढताका साथ सामना गर्ने
विध्यालयका हरेक कक्षा रमाइलो सँग सञ्चालन हुन्छ भन्ने छैन। सबै शिक्षक शिक्षिकाहरुको पढाउने शैली उत्तिकै उत्कृष्ट र मनोरञ्जनात्मक हुन्छ भन्ने पनि छैन। एउटा निरस, मन नपर्ने कक्षामा बसेर पढ्नुपर्दा जो कोहीलाई उराठ, पट्यार लाग्न सक्छ। कक्षामा दिइने कार्य गर्नका लागि कुनै रुची उत्पन्न नहुन सक्छ। यस्तोमा सबैको ध्यान शिक्षक शिक्षिकाहरु तर्फ होइन, घडीको सुईमा रहन्छ। कहिले कक्षा सकिएको जनाउ घण्टी बज्ने हो भन्नेमा नै रहन्छ। यही कारणले गर्दा विध्यालय बोरियतबारे अध्ययन गर्नका निम्ति एक उपयुक्त ठाउँ हो।
सन् २०११ मा अनुसन्धानकर्ताको एउटा समूहले बोरियतबारे अध्ययन सञ्चालन गरेको थियो। त्यस अध्ययनमा सहभागी विध्यार्थीहरुलाई विरक्तलाग्दो गणित कक्षामा राखियो र उनीहरुको प्रतिक्रिया हेरियो। सोही प्रतिक्रियाको आधारमा उनीहरुलाई तीन समूहमा विभाजन गरियो। पहिलो समूह, पुनर्मूल्यांकनकर्ता। यस समूहका विध्यार्थीहरुले गणित अध्ययन गर्नुको फाइदाहरु पुनर्मूल्यांकन गरेका थिए। यसैलाई बोरियत सामना गर्ने सूत्रको रुपमा प्रयोग गरेका थिए। जसकारण उनीहरुले त्यस्तो विरक्तलाग्दो परिस्थिति प्रतिको दृष्टिकोण परिवर्तन गर्न सकेका थिए। दोस्रो समूह, आलोचक। यस समूहका विध्यार्थीहरुले परिस्थितिमा सुधार ल्याउन शिक्षकलाई परिवर्तन गर्नुपर्ने विचार व्यक्त गरेका थिए। तेस्रो समूह, परहेजकर्ता। यस समूहका विध्यार्थीहरुले कुनै नयाँ कार्यमा संलग्न भएर बोरियत बेवास्ता गर्ने कोसिस गरेका थिए। यी तीन समूहहरु मध्ये पहिलो समूहका विध्यार्थीहरुले तुलनात्मक रुपमा कम बोरियत अनुभूत गरेको पाइयो। उनीहरुमा प्रेरणा र सकारात्मक भावनाको स्तर उच्च रहेको पाइयो। यतिमात्र होइन, उनिहरुमा गणितप्रति रुची बढ्नुका साथै दुष्चिन्ताको स्तर न्यून रहेको पनि पाइयो। त्यसैले बोरियत हटाउन बेवास्ताको रणनीति प्रयोग गर्नुभन्दा त्यसलाई दृढता साथ सामना गर्नु बुद्धिमानी रहन्छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।