माघ महिनाको कुरा हुनुपर्छ । बाक्लो कुहिरो र चिसो उस्तै उस्तै थियो । कृष्ण सर्वहारी कलिङ भन्दै मोबाइलको घन्टी बज्दा म चिया पिउदै थिएँ । कृष्ण सर्वहारी कोहलपुर आउनु भएको रहेछ ।
“कहाँ हुनुहुन्छ तपाईँलाई भेट्न आउदै छु है ?”, सर्वहारी कोहलपुर नै हुनुहुँदो रहेछ ।
“युआर हर्टली वेलकम सर्वहारीजी”, मैले खुसी हुँदै फोन राखेको थिएँ ।
केहीबेरमै आइपुग्नु भयो सर्वहारीजी, साथमा हुनुहुन्थ्यो अर्को एक जना युवक पनि । हामीले परिचय गर्यौँ एकआपसमा । “म सागर गैरे”
“म शेखर दहित” उनले भने ।
हामीले सँगसँगै बसेर चिया पियौँ र निकैबेर कुराकानी गर्यौँ । छुट्टिने बेलामा दुबै जनालाई एक एकवटा “लकडाउन” पुस्तक दिएको थिएँ ।
झन्डै एक महिनापछि तिनै शेखर दहितसँग फेरि भेट भयो, मेरो पसलमा । उनले सुरुमै “लकडाउन”को लेखनीको बारेमा कुरा निकाले । हामीले थारु साहित्यका बारेमा पनि कुराकानी गर्यौँ । चिया पियौँ र छुट्टियौँ ।
तेस्रो भेटमा उनी आफैँले थारु भाषामा लेखिएको “गयर्वा बुडु” भन्ने कथा सङ्ग्रह र थारु भाषाको साहित्यिक पत्रिका “लावा डगर”का चारवटा अंक ल्याएर छोडे । दुई तीनपटकको भेटमा शेखरसँग बसेर एकाध घन्टाको समय बिताउन सक्ने साथी बनिसकेको थिएँ म । फेरि कुनै दिन भेटघाट गर्ने बाचाका साथ हामी छुट्टियौँ । उनी बर्दिया आफ्नो कर्मक्षेत्रतिर लागे म भने उनको पुस्तकका पाना पल्टाउन लागेँ । आवरण चित्र नै मलाई आफ्नो बाल्यकालतिर फर्काउन पर्याप्त थियो ।
पाल्पामा जन्मिएको भए पनि मेरो बाल्यकाल तराईको थारु बहुल्य रहेको ककौरा गाँउमा बित्यो । ककौरामा आएपछि थारु समुदायका केटाहरु नै मेरा साथीहरु बने । मैले नचाहेरै वा नजानेरै पनि उनीहरुबाटै थारु भाषा सिकेँ । उनीहरुको घरमा पाकेका चिजबिज खाएर हुर्किँएँ । उनीहरुको भाषा , रीतिरिवाज , संस्कृती , लवजबाट सानैदेखि प्रभावित भएँ । जब म कोहलपुर आएँ , यहाँ पनि जताततै थारु गाउँ थिए । यहाँ पनि मेरा साथीसँगी थारुहरु नै भए । जब मैले पत्रपत्रिकामा लेखन कर्म सुरु गरेँ, त्यतिबेलैदेखि मैले थारु समुदायसँग जोडिएको आफ्नो रुचि र ज्ञानलाई अनेक लेखबाट जाहेर गरिरहेँ । गहिरो लगाव र भावनात्मक सम्बन्ध बन्नुको पछाडि यिनै बाल्यकालीन स्मृतिहरुले काम गरेका त होलान ?
“गयर्वा बुडु” मेरो निम्ति महत्त्वपूर्ण उपहार थियो । हातमा परेपछि मैले सरसरती नियालेँ । शुद्व थारु भाषामा लेखिएको किताब रहेछ । मैले बोल्ने र यो किताबमा प्रस्तुत थारु भाषामा धेरै नै फरक भेटेँ । नेपालको पूर्वदेखि पश्चिमि सिमानासम्म थारु समुदायको बसोबास रहेको छ । नेपालको सवालमा कुरा गर्दा चौथो बढी बोलिने भाषा हो थारु भाषा । तर पूर्वी नेपालमा बोलिने थारु भाषा र सुदूरपश्चिममा बोलिने भाषामा भौगोलिक र भाषिक प्रभावले होला आकाश जमिनको अन्तर छ । म बसेको क्षेत्रमा दंगाली र देशौरी गरी दुई भाषिका बोल्ने थारुहरुको बाहुल्यता रहेको छ । हामीले सामान्य बसउठको संगतबाट सिकेको भाषामा त दंगाली, देशौरी मात्रै नभएर हिन्दी भाषासमेत मिसिएको रहेको छ । मैले मिसमास थारु भाषा बोल्दो रहेछु भन्ने कुरा यही पुस्तक पढेपछि महसुस भयो । मेरा कैयौँ पहाडी साथीहरुको तुलनामा म बढी नै थारु भाषा बोल्न र बुझ्न सक्दछु भन्ने घमण्ड ममा सधैँभर थियो । मेरो धरातल कस्तो छ भन्ने कुरा गयर्वा बुडु किताबले छर्लङ्ग्याइदिएको छ ।
नियालेर हेरेँ दहितलाई , थारु समाजले एउटा लेखक पाएको छ । यो प्रतीभालाई हामीले लामो यात्रा हिँड्न प्रेरित गर्नु पर्दछ ।
तर जसै म गयर्वा बुडु पढ्न बसेँ, मलाई निकै कठिन भयो । नढाँटेर भन्नू पर्दा सुरुमा त मैले पहिलो प्याराग्राफ नै राम्ररी बुझ्न सकिनँ । एउटै वाक्यलाई पनि दुई तीनपटक दोहोर्याई-तेहर्याई पढेपछि मात्र मैले पुस्तकभित्रको खास गुलियो महसुस गर्न सकेँ । अनि त के थियो र मैले रफ्तारमा पढिसिध्याएँ । पुस्तक पढिरहँदा चलचित्रका दृश्यजस्तै गाउँबस्तीका अनेक दृश्यहरु सम्झनामा आउनेजाने क्रम चल्यो । पुस्तक पढिसिध्याएपछि पनि त्यो ह्याङ्गओभर मनबाट उत्रिएन । लेखक दहितलाई बोलाएर सँगै बसेर दुई दुईपटक चिया पियौँ र पुस्तक लेखनगर्भको बारेमा कुराकानी गर्यौं । नियालेर हेरेँ दहितलाई , थारु समाजले एउटा लेखक पाएको छ । यो प्रतीभालाई हामीले लामो यात्रा हिँड्न प्रेरित गर्नु पर्दछ ।
मैले थारु समुदायमा नाम कमाएका संचारकर्मी तथा साहित्यकार कृष्ण सर्वहारीका थारु भाषाका फेसबुक स्टाटसहरु हेरिरहन्थेँ । छविलाल कोपिला, सुशील चौधरी तथा कृष्ण सर्वहारीलगायतको टोलीले दंगाली भाषिकालाई नै थारु जातिको आधिकारिक र अर्गानिक भाषा भनेको पनि पढेको थिएँ । गयर्वा बुडु त्यही भाषिकामा लेखिएको कृति रहेछ ।
गयर्वा बुडु मैले एकै दिनमा पढिसिध्याएँ । हेर्दा सानो र चिटिक्कको छ किताब । जम्माजम्मी एक सय पेजको । आवरणमा चरिरहेका तीन चारवटा गाई र बाच्छाबाच्छीका छायाचित्र छन् । तिनको पछाडि काँधमा दाउराको भारी बोकेका मानिसको चित्र छ । जसले भेग्वा (लगौँटी) र कमिज लगाएका छन् । नाङ्गा खुट्टा हातमा काठको छडी र टाउकोमा गाउँ घरमा सिलाएको कपडाको टोपी छ । काँधमा झोला भिरेका छन् । एउटा गयर्वाको झल्को दिन पुस्तकको बाहिरी आवरण शतप्रतिशत सफल छ ।
आवरणले मलाई एकैपटक मेरो बाल्यकालमा पुर्याइदियो । ककौरा गाउँमा मैले देखेको गाईहरुको लर्को सम्झिएँ । अनि तिनका पछि हिँड्ने गोठालाहरु सम्झिएँ ।
कृतिमा ८ वटा कथा समेटिएका छन् । अन्तिममा लेखकले आफ्नै कुरा लेखेका छन् । पुस्तकको बारेमा प्रकाशकदेखि थारु साहित्यका हस्तीसम्मले मन्तव्य राखेका छन् । प्रथमपटक २०७३ सालमा छापिएको यो पुस्तकलाई जङ्ग्रार साहित्यिक बखेरीले प्रकाशन गरेको रहेछ । कृतिको मूल्य सय रुपियाँ राखिएको छ ।
थारु भाषामा कथालाई खिस्सा या बटकोही भनिँदो रहेछ । लेखकले सबै कथाहरु आत्मपरक शैलीमा लेखेका छन् । यी कथाहरुको परिवेश एक दुई दशक पहिलेको थारु गाउँको अवस्थाको हो । हरेक कथाहरुले तत्कालीन थारु गाउँहरु र त्यो बेलाको सामाजिक, आर्थिक र राजनीतिक परिवेशको जीवन्त चित्रण गर्न सफल देखिन्छन् ।
सुरुको कथाको शीर्षक छारा रहेको छ । छारा कथामा भेडाबाख्रा चराउने बालकहरुको बाल्यस्मृति उधिनिएको छ । टोलका केटाहरु आआफ्ना घरका भेडाबाख्रा चराउन जङ्गल जान्छन् । साथीहरुसँगै दिनभर हाँसखेल र उठबस हुन्छ । केही साथीहरु मात्र हृदयको नजिक हुन्छन् । उनीहरुले आफूले घरबाट ल्याएका खानेकुराहरु बाँडेर खान्छन् । तिनैमध्येको भुख्लिया एक दिन आफ्ना बाबुआमासँगै मालिकको सिरुवा छोडेर अन्तै बसाइँ सर्छ । उसको सबैभन्दा मिल्ने साथी आफ्नो साथी आफूलाई छोडेर गैइरहेको दृश्यले मर्माहत हुन्छन् लेखक । बाल्यकालका साथीहरु जिन्दगीमा कति महत्त्वपूर्ण हुन्छन् भन्ने कुरा यस कथामा दर्साइएको छ ।
अर्को कथा छ सिरुवा । थारु समुदायमा जमिन्दारले आफूकहाँ काम गर्ने कृषि मजदुरका लागि बनाइदिएको झुपडीलाई सिरुवा भनिन्छ । कृषि मजदुरहरु आफूलाई जहाँ काम गर्ने हो, तिनै मालिकको खेतबारीमा बनाइएका तिनै झुप्रामा आफूले काम गरुन्जेल आफ्नो बसेरा बनाउछन् । कमैया प्रथा थारु समुदायबाहेक अरु कुनै पनि समुदायमा देखिँदैन । नेपालको सन्दर्भमा कमैया प्रथा उन्मुलन भैइसकेको छ । कुनै बेला तराई क्षेत्रमा अपरिहार्य मानिन्थ्यो यो प्रथालाई । यो कथा त्यतिबेलाको हो जतिबेला पश्चिम तराईमा कमैया प्रथा विकराल रुपमा विद्यमान थियो । कमजोर आर्थिक धरातल भएका थारु समुदायका लोग्ने मानिसहरु वर्ष दिनको लागि निश्चित परिमाणमा धान, गहुँ या अनाज पाउने शर्तमा जमिन हुनेकहाँ काममा बस्दथे । कतिपय मालिकसँग लिएको ऋण (सौखी) तिर्न नसकेर त्यसैको भरपाईस्वरुप पुस्ता दरपुस्ता कमैया बस्नु परेको दारुणिक व्यथालाई यस कथाले उठाएको छ । कथाकारले यस्ता कलंकित प्रथाहरुको पर्दा च्यातेर समाजलाई उज्यालो दिशामा अगाडि बढाउनु पर्छ भन्ने चोटिलो सन्देश दिएका छन् ।
मैले थाहा पाएको भनेको जल, जमिन र जङ्गलसँग आफ्ना सारा कर्महरुलाई जोडेको अत्यन्त मिहिनेती, लगनशील, इमान्दार र सहयोगी जातिमा पर्दछ थारु जाति । उनीहरुले आफूलाई चाहिने नुन, फलाम र तेलबाहेक प्रायः सम्पूर्ण चिजबिज प्रकृतिबाटै जुटाउँदै आएका छन् । तिनैमध्येको एक चिज, जुन हेर्दा सामान्य देखिए पनि हरेक काममा अति महत्त्वपूर्ण मानिन्छ, खर (वनकस), जो पहाडमा मात्रै पाइन्छ । थारुहरु पूरै गाउँमा सल्लाह गरेर बन्दोबस्तीका सामानसहित पहाड जाने तयारी गर्दछन् । खानपिनदेखि ओढ्ने ओछ्याउने बिस्तारासम्मका बन्दोबस्तीका सामान जुटाउने क्रमको थारु गाउँ निकै गुल्जार र चलायमान देखिन्छ । ससाना भन्ट्याङ्भुन्टुङहरु आआफ्ना बाउहरुलाई टाटा फलफूल लाठी तथा बाँदरको बच्चो ल्याइदिन गरेका आग्रहहरु, गाउँबाट निक्लिएको लडियाको लर्को हेर्दा अलग्गै रौनक देखिन्छ । गाउँमा कति धेरै उल्लास थियो भन्ने महसुस गर्न सकिन्छ । “बटिया” कथामा पहाड गएका सबैका बाउ फर्किँदा पनि एउटा बालक आफ्नो बाबुलाई देख्दैन । देखोस् पनि कसरी ? उसको बाबु खर काट्ने बेलामा पहाडको गहिरो खोँचमा खसेर मर्दछ । बाबुले ल्याइदिने उपहारको प्रतीक्षामा बसेको बालकका आकाँक्षाहरु चकनाचुर हुन्छन् । लोग्नेको प्रतीक्षामा बसेकी श्रीमतीको भविष्य अन्धकार हुन्छ । नियतिको कथा चुपचाप सहनुको विकल्प छैन ।
पैसा हुनेले किनेर खान्थे नहुनेहरु मसुरो गहुँसँग साटेर भए पनि बरफ खाने आफ्नो रहर पूरा गरिछाड्थे । बाकसबाट चुहिएको पानी हत्केलामा थापेर हात चाट्थे कैयौं बच्चाहरु ।
अर्को कथा छ “ठण्डीबरफ” । हिजोआज सहरबजारमा अनेक स्वाद र आकारका आइस्क्रीम पाइन्छन । कुनै बेला बाँसको छेस्कामा गाडिएका बरफहरु लाख थिए बच्चाबच्चीका लागि । यो त्यो समयको कथा हो जतिबेला काठको डब्बामा बरफ राखेर रबरको डल्लो दबाएर भोँपु भोँपु आवाज निकाल्दै बरफ व्यापारीहरु तराईका गाउँ गाउँ पुगेका हुन्थे । केटाकेटीहरुका लागि बरफ निकै महत्त्वपूर्ण चिज थियो । पैसा हुनेले किनेर खान्थे नहुनेहरु मसुरो गहुँसँग साटेर भए पनि बरफ खाने आफ्नो रहर पूरा गरिछाड्थे । बाकसबाट चुहिएको पानी हत्केलामा थापेर हात चाट्थे कैयौं बच्चाहरु । यस कथामा बाल्यकालीन रहर र प्यासलाई सजीव तरिकाले खोतल्न सफल देखिन्छन् कथाकार ।
“काला” मतलब जादु । विगतमा भारततिरबाट जादु देखाउन, भालु नचाउन अथवा सर्प देखाउँदै हिँड्नेहरु, सडकमा विभिन्न पन्छीहरुको अखोटोपहार तेलमा डुबाएर जीउ मर्केको दुखेको निको पार्ने भन्दै तेल बेच्नेहरु, लडियाभर खुर्सानी, आलु ,काउली लगेर धानसँग साट्नेहरु, टिकुली, लाहाका चुरी बेच्नेहरु गाउँ गाउँ डुलिरहन्थे । थारु गाउँहरुमा आफ्ना जादु, चटक वा जनावरका अनेकन् चर्तिकला देखाएर वा आफ्ना उत्पादनहरु अनाजसँग साटेर आफ्नो जीविका चलाउने सिमावर्ती भारतीय गाउँका मानिसहरुको दैनिकी मैले पनि आफू हुर्किएको गाउँमा देखेको छु । काला कथा पढ्दै गर्दा मेरा आफ्नै अतितहरु पनि ताजा बनेर सम्झनामा उदाए ।
गयर्वा बुडु यस संग्रहको आवरण कथा हो । थारु जातिमा बाख्रा चराउनेलाई छेग्रहवा, भैँसी चराउनेलाई भैँसवार, लडिया हाँक्नेलाई लडियावान भने जस्तै गाईगोरु चराउने मानिसलाई गैयर्वा भनिन्छ । केही दशकअघिसम्म थारु समुदायमा ठूलो संख्यामा गाईगोरु पाल्ने चलन थियो । गाईगोरु पाल्नुको पछाडिको एकमात्र कारण खेतबारीको लागि मल र जोत्नको लागि बहरको उत्पादन थियो । पशुपालनको सम्बन्ध कृषि पेसासँग जोडिएको थियो । कृषि भोकसँग जोडिएको अनिवार्य कर्म थियो । त्यसैले गाई पालन त्यतिबेलाको सामाजिक आवश्यकता थियो । गाईगोरुको व्यवस्थापन र तिनको रेखदेखको लागि गयर्वाहरुको व्यवस्थापन गरेको थियो थारु समाजले । निश्चित ज्यालादारीमा घरबाहिरका गाईगोरु पनि चराइदिन्थे गयर्वाहरु । उनीहरुको जिन्दगीमा क्रमभङ्गता वा छुट्टी भन्ने नै हुँदैन थियो । चाहे बर्खा होस् या हावा हुरी चलोस् । गर्मी होस् या ठिहिर्याउने जाडो नै किन नहोस् ।दैनिक रुपमा गाईको हुल खेद्दै जङ्गल जानै पर्थ्यो । बिनागुनासो उनीहरु सधैँ आफ्नो काममा जोतिइरहन्थे । उनीहरुले सुनाएका घतलाग्दा कथा सुनेर कलिला गयर्वाहरु छक्क पर्छन् । रातदिनको कामको सक्रियता, बुढ्यौलीतिर ढल्किएको जिन्दगी, एक दिन सर्पको टोकाइबाट गयर्वा बुडुको देहान्त हुन्छ । नमज्जा लाग्छ मलाई, पढ्दापढ्दै आँखाबाट आँसु झरेको पनि थाहा पाउँदिनँ ।
“डलडल” कथामा राजदरबारमा भएको हत्या, देशमा लागेको संकटकाल र माओवादी जनयुद्वले थारु समुदायमा पारेका बाछिटाहरु केलाएका छन् कथाकार । जिन्दगीको यात्रा अनिश्चयले घेरिएको हुन्छ । बेपत्ता पारिएका रध्वा काकुको जिउँदो या मरेको कुनै खबर पाइँदैन । उनी मरेको केही वर्षपछि उनकी श्रीमतीले पनि यो संसार त्याग्छिन् । त्यसपछि उनीहरुका सन्तान टुहुरा हुन्छन् । तिनैमध्येको परसड्वा भारत पुग्छ र निकै वर्षपछि फर्किन्छ । भारतबाट फर्किँदा उसको खल्ती भरिएको हुन्छ । उसले आफ्ना बाल्यकालीन साथिहरुलाई भट्टीमा लैजान्छ र बेस्सरी खुवाउँदै आफ्नो धाक र प्रभाव देखाउँछ । नेपालका दूरदराजमा अनेक जाति समुदायमा अनेकन् प्रसड्वाहरु छन् जो जिन्दगीमा आफ्नो अस्तिव खोजिरहेका छन् ।
कथाका हरेक पात्रका जिजीविषाहरूले म मर्माहत हुन्छु । “म्वर भाग ” नेपाली समाजमा वैदेशिक रोजगारीले जन्माएको साइडइफेक्टको आवर्तन अथवा ऐना हो । हजारौँ युवाहरु सुखी जिन्दगीको सपना बोकेर दैनिक उडिरहेछन् देशको भूगोल छोडेर । जीवनका अनेकन् सपनाहरु विदेशका कठिन र जटिल काममा शिथिल हुँदै जान्छन् । सबैका सपनाहरु साकार हुँदैनन् भन्ने होइन । केहीले आफ्नो सपना भेट्टाए पनि धेरै जना जिन्दगीदेखि थाक्छन् । “डलडल” का पात्र विदेशबाट घर फर्किँदा उनीहरुसँग न आफूले कमाएको कमाई हुन्छ न त श्रीमती नै घरमा हुन्छिन् ।
पढाइलेखाइ यति खर्चिलो हुने कुरा पहिल्यै थाहा भएको भए सायद छोरालाई पढ्न पठाउथेनन् होला ।
“बाबक चिठी”ले बाटो बिराएको एउटा विद्यार्थीको कथा बोलेको छ । गाउँका अनपढ् र सोझा दम्पत्तिले आफ्नो छोराको पढाइमा आफ्नो सपना सजाउँछन् । उनीहरुले खाई नखाई गरेर जोगाएको पैसा सहर पठाउँछन् । सुरुमा राम्रो सम्भावना देखाएको छोरा पछिल्ला दिनमा सहरको रसातलमा भाँसिएको कुरा उनीहरुले थाहा पाउँदैनन् । छोराले जति पैसा माग्छ उनीहरुले घरमा भएका अन्नपात र पछि गएर आफू बसिरहेको जमिनसमेत बेचेर पैसा पठाउँछन् र अन्तिममा बाबुले छोरालाई सम्बोधन गरेर अब आफूहरुसँग पठाउनको लागि फुटेको कौडीसमेत नरेहेको पीडा जताउँदै पत्र पठाउँछन् । पढाइलेखाइ यति खर्चिलो हुने कुरा पहिल्यै थाहा भएको भए सायद छोरालाई पढ्न पठाउथेनन् होला । तिम्रो पढाइलाई बीचमै अलपत्र पारेकोमा आफूहरुलाई माफी दिन आग्रह गरेको बाबुको चिट्ठी निकै मार्मिक छ ।
पुस्तकको अन्तिम लेख लेखकको परिचयसहित टुङ्गिएको छ । नितान्त नौलो र मीठो शैलीमा लेखिएको गयर्वा बुडु थारु समाजलाई नियाल्न मिल्ने साहित्यिक आँखीझ्याल मान्दा अतिशयोक्ती हुँदैन जस्तो लाग्छ । थारु समाजका मिहीन परम्परा , सामाजिक अवस्था , रीतिरिवाज र अन्धविश्वासलाई जति सरल ढङ्गले उठाइएको छ, त्यसभन्दा कम बदलिँदो परिवेश अनि राष्ट्रिय अन्तराष्ट्रिय घटनाहरुले ल्याएका परिवर्तनहरुबाट थारु गाउँहरु पनि अछुत बसेका छैनन् भन्ने शक्तिशाली सन्देश पनि दिन कथाकार सफल छन् ।
शेखर दहित नेपाली साहित्यमा अथाह सम्भावनाहरु लिएर आएका छन् । उनको पहिलो कृति “गयर्वा बुडु” को महत्त्व यसकारण पनि विशिष्ठ रहनेछ कि यत्तिको शक्तिशाली साहित्यिक कृति यसअघि थारु साहित्यमा लेखिएको थियो भन्ने कुरा कमसेकम मलाई थाहा छैन ।
“गयर्वा बुडु” नपढ्नु भनेको थारु समाजको एउटा कालखण्ड पढ्न छुटाउनु हो । हिजोका दिनमा महेशविक्रम शाह, रामलाल जोशीहरुले थारुका कथा लेखे । ती कथाहरु गैरथारु समुदायका कलमले लेखिएका थिए । थारु समाजलाई थारु नजरबाट अर्गानिक स्वादमा हेर्नको लागि त शेखर दहित नै चाहिन्छन् । कमसेकम मलाई त त्यस्तै लाग्यो । त्यसैले पनि यो कृति सबैको लागि पठनीय छ । “गयर्वा बुडु” नेपाली र अङ्ग्रेजी भाषामा पनि अनुदित होस् । म लेखक शेखर दहित बधाई दिन्छु यति मीठो कृति तयार पारेकोमा र शुभकामना पनि दिन्छु आउँदा दिनमा योभन्दा पनि अझै राम्रा र परिस्कृत कृतिहरु पस्किन सक्नूस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।