
भागीरथी श्रेष्ठ
सधैँको जस्तो आज राति पनि डाक्टर छटपटिरहेछ आफ्नै सुनसान कोठामा । उसको वास्तविक चेतना सुकेको हुन्छ । उसको कल्पनाका लहराहरू रीताको जीवनभित्र पौडेको हुन्छ । रीता गरीब बाबुकी एउटी अविवाहिता छोरी हुन्छे । उनले डाक्टरलाई बिहान दूध ल्याइदिन्छिन् । त्यसैबाट रीता र उनको बूढो बाबुले जीविकाको बाटो बनाएका छन् । रीताकी आमा पहिले नै मरिसकेकी थिइन् |
डाक्टर आफ्नो गुम्सिएको अँध्यारो कोठामा मैलो सिरकभित्र मुख छोपेर आफूलाई हराउँछ, तर उसले आफ्नो सिरकभित्र सन्तुष्टि प्राप्त गर्न सक्दैन । ऊ अरू बितेका रातमा पनि कैयन् नारीमाथि कृदृष्टि लगाएर कल्पनासागरमा व्यस्त हुन्थ्यो । आज पनि रीतामाथि नराम्रो भावना प्रस्फूटित गर्दै छ |
डाक्टर लालटेनको बत्तीलाई बढाएर अँध्यारोभित्र विलीन भइसकेको कोठालाई उज्यालोतिर तान्छ । एकिछनसम्म कोठाको दलिनमाथि र चारैतर्फ दृष्टि लगाउँछ । उसले भोलि अवश्य नै रीताको अस्तित्व लुट्ने प्रतिज्ञा गरिरहेको हुन्छ | त्यहीबेला डाक्टरलाई कसैले आफूलाई बोलाएभझैँ भान हुन्छ । नजीकको भरेङतिर ध्यान दिँदा आफ्नो अगाडि सुतेका साना छोरा र छोरीको आवाजबाहेक उसले केही सुन्दैन । उसको स्वास्नी माइत गएकी हुन्छे । उसलाई छोराछोरीको धुराइसँग रीस उठ्छ । दौडेर रीताकहाँ गएर उनलाई जबर्जस्ती ल्याउने कल्पना छ । त्यहिबेला उसको सानो छोरीको रुवाइले उसको तरङ्ग र कोठाको सुनसान वातावरणलाई भङ्ग गरिदिन्छ | छोरीलाई सुताउँदै आफू पनि निदाएको डाक्टरले चाल पाउँदैन ।
भोलिपल्ट सात बज्दासम्म पनि डाक्टरलाई निद्रादेवीले छाडिसकेको हुँदैन । आज उसलाई निद्रादेवीले निकै स्वागत गरेजस्तो देखिन्छ । त्यतिबेला ‘डाक्टरसाहेब ! डाक्टरसाहेब !’ भन्ने एउटा मसिनो आवाज ढोकाबाट आउँछ | आवाजले डाक्टरको निद्रा खलबलाउँछ । जुरमुराउँदै उठेर घडी हेर्दा साढे सात बजिसकेको हुन्छ | ‘डाक्टरसाहेब ! डाक्टरसाहेब ! साढे सात बजिसक्यो, ढोका उघार्नुस् ! भन्ने शब्दबाट डाक्टरको हृदयमा कालो मुस्लो बल्न थाल्यो | साँझ गरेको प्रतिज्ञा कण्ठ याद गर्छ । डाक्टर चाँडै ढोका उघार्न अघि बढ्छ । उसका शरीरका लुगाहरू पनि तितरबितर भएका हुन्छ |
आज महिनाको अन्तिम दिनमा रीताले डाक्टरसँग पैसा मा आफ्नो र वृद्ध पिताको भोकलाई मेटाउनुपरेको छ |
रीता दूधको भाँडा लिएर आज अन्तिम महिनाको पैसा बुझ्न मायालु भावले उभिएकी छिन् । रीताको दर्शनबाट डाक्टरको राक्षसी भावना कुर्लेर आउन थाल्छ । रीता आज साँच्चै नै डाक्टरदेखि निकै डराएकी हुन्छे | किनभने आज डाक्टरको सर्वाङ्ग शरीरमा डरलाग्दो छायाँ प्रष्ट झल्केको हुन्छ । डाक्टरको हेराइमा कामुकता र विर्दयीमा देखिएको हुन्छ । हुन त रीताले सोच्छिन्, दूध भाँडामा खन्याएर सरासर जाउँ | तर उनी विवश हुन्छिन्, आज उनलाई सर्वप्रथम बिहानको खाना जुटाउनुपरेको हुन्छ । वृद्ध पिताको वचन र आज्ञालाई पालन गर्नुपरेको हुन्छ । आज महिनाको अन्तिम दिनमा रीताले डाक्टरसँग पैसा मा आफ्नो र वृद्ध पिताको भोकलाई मेटाउनुपरेको छ | त्यसैले रीता आज चाँडै दुध
लिएर डाक्टरकहाँ आएकी हुन्छे |
रीता भाँडामा दूध खन्याइसकेपछि डाक्टरको मुखतिर बल्ल-बल्ल दृष्टि दिदैँ भन्छिन् डाक्टरसाहेब ! आज महिना पुगेको दिन पैसा दिन सक्नुहुन्छ कि! बिहानको लागि पनि घरमा अन्न छैन ।’
डाक्टर आफ्नो एकहोरो हेराइ रीतामाथि पार्दै हाँसेर भन्छ- ‘रीता ! पैसाको के हर्जा? यो महिनाको मात्र हैन पछिको महिनाको एडभान्सको रूपमा पैसा दिन्छु । म छउञ्जेल तिमीलाई दुःख हुने छैन ।
तर सिधी रीतालाई डाक्टरप्रति शङका । डर जागेर आउँछ , डाक्टरको कुरा पुरा नहुँदै बीचैमा भन्छिन डाक्टरसाहेब मलाई बढी पैसा र बढी कुरा चाहपन्न । यो महिनाको पैसा दिए पूग्छ ।
तर डाक्टरले रीताको कुरामा ध्यान दिएको हुँदैन । उसले भन्दै जान्छ, रीता तिमीलाई जति पनि पैसा दिन तयार छु, आउ कोठामा ! भन्दै डाक्टर भित्र जान्छन |
यतिबेलासम्म रीता र डाक्टर ढोकाभित्र र बाहिर बसेर कुरा गर्दै हुन्छन्। । डाक्टरको कुराले रीताको शरीरमा कम्प छुट्छ । उसको होशहवास गुम भएजस्तो हुन्छ | रीताले भन्छिन्- ‘डाक्टरसाहेब, मलाई बाहिरै पैसा ल्यादिनुस् ! म छिट्टै घर जान्छु |
डाक्टरले अलि कडा स्वरमा भन्छन्- ‘मलाई विश्वास गर्दिनौ ? डाक्टरको हैसियतले म बाहिर आएर तिमीलाई पैसा दिन सक्तिनँ | डाक्टरको आज्ञा तिमीले मान्नै पर्छ ।’
रीता सीधी र साधारण केटी थिइन् । परिस्थितिको कमजोर दास बनेकीले उनले पढन पाउँदिनन् । जटिल ससस्याको भुँमरीभित्र रुमल्लिएकी थिइन् । एउटा गाई पालेर बाबु र छोरीले जीविका चलाएका | डाक्टरको कुरा काट्न सकिनन् । काट्न पनि किन सक्थिन् र ! आज डाक्टर नै रीता र उनको बाबुको प्राण धान्ने साधन बनेको थियो |
थरथर काँप्दै रीता डाक्टरको कोठाभित्र पस्छिन् । डाक्टरको अगाडि बडो मुस्किलले दुई हात पसार्छिन् । डाक्टरले रीताको हातमा उनको प्राण धान्ने साधन राखिदिनुको सट्टा आफ्नो एउटा हातले रीताको हातलाई कडासँग समात्छ । मुखको आवाजलाई रोक्न डाक्टरको अर्को हात रीताको मुखमा पुगिसकेको हुन्छ । खुट्टाको सहायताबाट कोठाको ढोका लाइदिन्छ तर छेस्किनी लगाइदिन सक्तैन ।
रीताले डाक्टरको प्रत्यक्ष रूप देख्छिन् । रीताको आँखाबाट अबला नारीको अस्तित्व डाक्टरले लुट्न लागिरहेछ । आज उसले एउटी नारी मात्र हैन सम्पूर्ण नारीको मर्यादालाई हावामा उडाइरहेछ । डाक्टर आज एउटी सोझी नारीको जीवनलाई ठट्टा र आफ्नो दानवी भावनामा हराउँदै छ |
योभन्दा पहिले पनि डाक्टरले अरू नारीलाई पनि यस्तै गर्न चाहन्थ्यो, तर मौका समात्न पाएको थिएन । आज रीतासँग आफ्नो कामुक तृष्णा मेट्न लागेको । देखिन्छ | उसले आफ्नो कर्तव्यमा र समाजका आँखामा छारो हाल्दै छ । डाक्टर भन्दै छ, आफ्नो सम्पूर्ण कुहेको पुरुषार्थ बटुलेर- रीता ! तिमीलाई जान दिन्नँ । तिमीलाई प्रेम गर्छु । मेरो हातबाट फुस्कन व्यर्थ बल नगर ! तीन सय रुपियाँ तिमीलाई दिँदै छु, लेउ !’ डाक्टरले पैसा रीताको हातमा राखिदिन्छ ।
उनीहरूको नारीत्व गुमाइदिन सक्छौ । डाक्टर, तिमीले विचार गर ! नारीको जीवनलाई हाँसो नसम्झ !
यद्यपि रीता सीधी केटी भए पनि बेलामा उनको सच्चा नारीमूर्ति प्रत्यक्ष देखिँदो रहेछ । भएभरको बलबाट डाक्टरको हात आफ्नो हातबाट फुस्काउँदै र पैसा डाक्टरको अगाडि फाल्दै भन्छिन्- ‘डाक्टर ! तिम्रो अब तपाईं भन्ने शब्दबाट मानिता हुन सक्दैन । तिम्रो दानवी-रूपसित बल्ल परिचित भएँ । डाक्टर ! तिम्रो पदप्रति, तिम्रो योग्यता, बुद्धि र तिम्रो निर्दयी र जबर्जस्ती प्रेमसित मेरो अघोर घृणा छ । तिम्रो तीन सय रुपियाँ मेरो जीवनको किल्ला हो । मेरो जीवनलाई जीवन भन्ने उपाधि दिने साधन हो | तिम्रो पैसा मेरो लागि धूलोबराबर छ । तिमीले मेरो बेइज्जत गर्न तम्सियौ, तर यो मेरो मात्र अपमान नठान्नू ! यो सबै दिदीबहिनी साथै तिम्रो आमा र स्वास्नीको पनि हो । तिमीलाई यस्तो काम गर्न शरम लाग्दैन ? तिमीलाई के नैतिकताको परिभाषा थाहा छैन ? म एउटा गरीब र दुःखी नारीको अस्तित्व लुटेर तिमीले के पाउन खोजेका छौ ? हुन सक्छ, यो तिम्रो ममाथिको अभद्र व्यवहारको खबर महिला सङ्गठनलाई पनि दिएर तिमीलाई माफी मगाउन सक्छु । तर तिम्रो जस्तो असभ्य र बुद्धिहीन विचारलाई दृष्टि दिन चाहन्न । डाक्टर ! मेरो तिमीसँग बिन्ती छ | तिमीले नारीप्रति जुन दृष्टिले हेर्छौ र जुन व्यवहार मसँग गर्दै छौ यस्तो नीच काम छोड ! आज तिमीले मेरो यत्रो अपमान गर्यौ, भोलि अरू दिदीबहिनीहरूको पनि तिमीले बेइज्जत गर्न सक्छौ । उनीहरूको नारीत्व गुमाइदिन सक्छौ । डाक्टर, तिमीले विचार गर ! नारीको जीवनलाई हाँसो नसम्झ ! नारी जीवन काँचको चुडीजस्तै हो । एकपल्ट फुट्यो भने फेरि जोड्न सकिन्न ।’ यति भन्दै रीता छुट्टिएर ढोकामा पुग्छिन् । तर पशुजस्तो विचारले ओतप्रोत भएको डाक्टरको दिमागले रीताको कुरामा ध्यान दिएनन् | फेरि रीताको हात पक्रन पुगिहाल्छ ।
‘रीता ! तिम्रो भाषण र उपदेशले मेरो जीवनमा परिवर्तन गर्न र जित्न सक्तिनौ । मलाई के ठानेकी छौ ? यदि चाहेँ भने तिम्रो जीवन म यहीँ बर्बाद गरिदिन सक्छु ।… नारी त पुरुषको खेलौना हो । भाषणबाट तिमीले आफ्नो महानता नदर्शा ! महिला सङ्गठनमा उजुर गरी मलाई माफी मगाएर जित्छौ भन्ने कुरा सपनामा पनि नचिताउ !’ भन्दै डाक्टरले रीतालाई तानिरहेको हुन्छ ।
अचानक बाहिर कसैको आवाजले डाक्टरलाई ढोका खोल्न बाध्य बनाउँछ ।
डाक्टर आकाशबाट खसेजस्तो हुन्छ । उसको बुद्धि र विवक हराएजस्तै हुन्छ । उसको सम्पूर्ण शरीर र मुख कालोनीलो हुन्छ । त्यस शहरकी महिला सङ्गठनकी सभापतिको प्रत्यक्ष आगमनले डाक्टरको मुटुमा ढ्याङ्ग्रो ठोक्छ ।
महिला सङ्गठनकी सभापति आफ्नो सानो बिरामी छोरा लिएर प्रत्येक बिहान जाँच्न आउँछिन् भन्ने कुरा डाक्टरले भुसुक्कै बिर्सेको हुन्छ । सभापतिको मुख रातोपीरो रङ्गमा परिणत भएको डाक्टरले देख्छ । रीता नजीकै उभिइरहेकी हुन्छे । उसको मुखबाट वाक्य फुटेको हुँदैन ।
सभापतिले बडो घृणित दृष्टिले डाक्टरको अनुहार हेर्दे भन्छिन्- ‘डाक्टरसाहेब ! मैले सब कुरा सुनिसकें । तपाईंमाथि जुन श्रद्धा र विश्वास थियो, आज सबै चकनाचुर भयो । आज यो तपाईंको पतीत कार्यबाट दुःखी दिदीबहिनीहरूलाई डर र त्रास पैदा गरिदिनु भयो । एउटा उच्च र योग्य व्यक्तिको एउटी दुःखी नारीप्रति यही हो कर्तव्य ? तपाईंले नारीलाई र महिला सङ्गठनलाई के सम्झनुभएको ? एउटी अनाथ रीताको जीवन बर्बाद गर्न यदि तपाईं डराउनुहुन्न भने भोलि तपाईंले सीधै नारीको जिउँदै निर्मम हत्या गर्न सक्नुहुन्छ । आफूले जानाजानी गरेको कुकार्य र अनैतिक काम र तपाईंका कठोर शब्दलाई रीताले र महिला सङ्गठनले साथै दाजुभाइले पनि सहन सक्तैनन् र माफी पनि दिन सक्तैनन् । तपाईंको मात्र एकहोरो पुरुषको बलले नारी समाजलाई जित्न सक्नुहुन्न । यसको कारवाही महिला सङ्गठनले जरुर उठाउनेछ । नारीमाथिको तपाईंको नीच भावनाले अवश्य । तपाईं अपमानित हुनुहुने छ । तपाईंले रीतासित साथै हामी सबैसित दुई हात जोडर माफी माग्नुपर्छ । आफ्नो पापको जरुर प्रायश्चित गर्नुपर्छ ।’
त्यतिबेला डाक्टरको हारेको शिर जमीनतिर निहुरिएको हुन्छ । रीताले सभापतिको बच्चालाई खेलाउँदै हुन्छिन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

