नमस्कार नमस्कार नमस्कार…  आरामै हुनुन्छ ?

संसद बौरियो, जताततै जयजयकार सुरु भा’छ । सडक गल्लीतिर कुर्लनेहरुको मुहारमा सूर्य उदा’छ । भन्नेहरु त के पनि भन्दैछन् भने प्रतिगमनको अन्त्य भ यो रे ! देश ठूलो दुर्घटनाबाट जोगियो रे ! अब देश बन्छ रे ! इsस् भनेर लोपारिदिनु जस्तो नि ।

तपाईंलाई के लाग्छ ? देश झ्याप्पै बन्छ त अब ! उडण्ड कामरेड फेरि स्वीजरल्याण्ड बनाउन आउने होलान् होइन ?

हा हा ।

हो हो ।

उम् उम् ।

बन्छ बन्छ, नेताको घर चैँ धुमधाम बन्छ । अँ साँच्ची, घर बनाउन कुन कुन नेता पो बाँकी छन्, कसैलाई थाहा छ ? घरबार जेजस्तो भए पनि दरबार मोह त हाम्रो राजनीतिको पुरानै रोग हो नि । खैर, जोसुकैको जेसुकै बनोस् तर एउटन कुराचैँ निश्चित नै छ; देश चैँ अस्थिर नै बन्ने भयो । पेण्डुलम नै बन्ने भयो ।

यता फर्कियो ठोक्किन्छ, उता फर्कियो ठोक्किन्छ । पेन्डुलम भएर बाँच्न एकदमै गाह्रो हुदोरहेछ हेर्नुस् पानी बसाएर ।

एक समय देशमा राणाहरुको बिगबिगी थियो, त्यसै समयमा जन्मेहुर्केका मेरा बाले मर्नुभन्दा अघिसम्म पनि भनिरहन्थे, ‘तिमीहरुको तन्त्रमन्त्रभन्दा राणाकाल धेरै राम्रो थियो ।’

अचम्म, बा किन यसो भन्छन् ? उःबेला धेरै समयसम्म पनि मैले बाका कुरा बुझेको थिइनँ । देशमा भर्खर भर्खर प्रजातन्त्र आएको थियो । जनताको सरकार बनेको थियो । विद्यालयहरु भकाभक खुल्दै थिए । जनताका लागि भनेर धेरै नवीन कामहरु भैरहेका थिए । शिर निउर्याएर हिँड्नेहरु शिर उँचो पारेर हिँड्न थालेका थिए । निमुखाहरूको बोली फुट्दै थियो । त्यही पनि मेरा बा भन्दै थिए, ‘तिमीहरुको तन्त्रमन्त्रको काम छैन ।’

बा’ले आफ्नो जिन्दगी अवतरण गराउनु भएको धेरै भैसक्यो, अब त मैँ बूढाको पनि अवतरण गर्ने समय आइसक्यो । बल्ल म बाका कुराहरु केही बुझ्न थाल्दैछु ।

अधिक स्वतन्त्रताले जिन्दगी नरक बनाउँदो रहेछ दूध मिसाएर ।

स्वतन्त्रताले कसरी जिन्दगी नरक बनाउँछ ? पक्कै तपाईंले भन्नुहोला । मसँग एउटै जवाफ छ; तुलना गर्नुस् तो हाम्रो जिन्दगी र नरकमा के फरक छ ? के तपाईंलाई लाग्दैन तपाईंले जिइरहेको जिन्दगी नरक हो ? हामी नरकमै बाँचिरहेका छैनौँ र ? राजनैतिक कुसंस्कारले हामीलाई नरकमै पुर्याएको छैन र ?

हाम्रो त परिवारिक भाइचारा पनि डामाडोल छ । अब मलाई नै हेर्नुस्न, बा कन्दरामा अल्झिए, म सहरमा कुँजिएँ, छोरो विदेशमा सडिन्छ । तपाईंलाई लाग्दैन, देश पेण्डुलम भए पारिवारिक एकता पनि खलबलिन्छ ?

हजुर हजुर, नलाग्न सक्छ । सहरमै हुर्केबढेकालाई नलाग्नु फरक कुरा हो । किनकि उनीहरुले सहरभन्दा केही देखेका छैनन् । मोटरमा चढ्नेहरुलाई के थाहा हातको बलले दाबिलो चलाएर नदी तर्नुको दुःख !

अवश्य सहरमा केही सेवा सुविधाहरु छन् । भोगविलासका केही फरक माध्यमहरु छन् । यशआरामका लागि विकल्पहरु छन् । केही जोरजाम गर्नसके देश विदेशको पनि चक्कर लगाउन पाइन्छ । सिधा औँलाले घिउ आएपछि तपाईं सहरियाहरुलाई तन्त्रमन्त्रहरु लाभदायक हुनु सामान्य नै हो । तपाईं पहुँचवालालाई तन्त्रमन्त्र लाभदायक कसरी पनि भयो भने तपाईंले राष्ट्रको सेवा सुविधा कहीँकतै कुनै न कुनै माध्यमले डकार्न पाइराख्नु भएको छ । नत्र खै यो तन्त्रमन्त्रले धेरैलाई सुख दिएजस्तो मलाई चैँ लाग्दैन ।

सहर मात्र राष्ट्र होइन । हाम्रो देशको लागि त गाउँबस्तीहरु नै राष्ट्र हो । सहर त अपवाद भन्दा पनि हुन्छ ! आधाभन्दा धेरैको जीवन कुनाकन्धरामै गुज्रिरहेको छ । अझै गिठ्ठाभ्याकुरमै प्राण अल्झिरहेको छ ।

जहानियाँ राणाहरुको समयमा एउटा भय थियो जसले जनतामा अनुशासन कायम गर्थ्यो । मान्छेहरु आफ्नो रोजीरोटीभन्दा खासै दायाँबायाँ गर्दैन थिए । मेहनतमा विश्वास गर्थे । आफ्ना लागि श्रम गर्थे । छरछिमेकमा औँचोपैँचो चल्थ्यो । खन-खाचो काम लाग्थे । स्वार्थ कम र सहयोग ज्यादा हुन्थ्यो ।

आजकल समयले उल्टाटाङ लगाएको छ, चिनी मिसाएर ।

यिनिहरुलाई स्खलनको पीडा थाहा छैन । यिनीहरुलाई त यो पनि थाहा छैन, उत्तेजित हुनु भनेको स्खलित हुनु पनि हो ।

यौनको आनन्द क्षणिक छ । त्यही पनि मान्छे यौनकै खातिर मतिभ्रष्ट हुन पछि पर्दैन । यी तन्त्रमन्त्र भनेका यौन जस्तै जस्तै हुन् चरमोत्कर्षको लोभले मैथुन गराइहन्छन् । उत्तेजित भैरहन चहान्छन् । तर, यिनिहरुलाई स्खलनको पीडा थाहा छैन । यिनीहरुलाई त यो पनि थाहा छैन, उत्तेजित हुनु भनेको स्खलित हुनु पनि हो ।

मेरा बाले यस मानेमा पनि राणाहरु गलत थिएनन् भनेको हुनुपर्छ कि उनको समयमा जिन्दगी एउटै लयमा थियो । समय एउटै हार्मोनियममा थियो । सम्झनूस् त, उतिबेला कसैले छिमेकीलाई ‘ए केटा, हिँड हौ आज मेरा दाउरा चिरौँ’ भन्दा ‘लौ लौ’ भन्नेहरु प्रशस्तै थिए नि । ‘आइजन मेरो खेत जोतिदे’ भन्दा नाइँ भन्नेहरु थिएनन् । ‘लु लु मिलीजुली बाँढीचुँढी खाम्’ भन्दा सबै अघि सर्थे । परिवारका सबै सदस्यहरु आसपासमै रहन्थे ।

आजकल, आजकल कहाँ छ र त्यस्तो ? तपाईं आफैँ भन्नूस् त, कहाँ छ त्यस्तो ? छैन । छँदै छैन । आजकल त सबैलाई आफैँ मात्र खाने हतारो छ । अधिक स्वतन्त्रता छ त्यसैले केही पनि छैन ।

तपाईं विश्वास गर्नूस् या नगर्नूस्, फरक कुरा भयो तर अधिक स्वतन्त्र हुनु भनेको मान्छे एक्लो हुनु पनि हो । आजकल मान्छे एक्लो छ । बिल्कुलै एक्लो । असलमा मान्छेको साथमा कोही पनि हुँदैन स्वःबाहेक । अहंबाहेक । घमण्डबाहेक ।

हामी गलत चेतनाको साइड इफेक्ट हौँ जस्तो पो लाग्छ मलाई त । गलत चेत हाम्रो मस्तिष्कमा छ्यालब्याल छ ।

तपाईं आफैँ होइन, तपाईंको पेसा के हो भन्दा कृषि भन्ने ? तर तपाईंको गुजाराका निम्ति तपाईंको पेसाले कत्ति पनि सहयोग गर्दैन । गरेको छैन । तपाईंले आफ्नो भनेको कृषि पेसा उतै गाउँमा बाँझो पल्टिएको छ । सुनका बाला फल्ने फाँटहरुमा तितेपाती फुलेको छ । असलमा भन्ने हो भने तपाईं हाम्रो पेसा चाकरी भएको छ आजकल । हामी चाकरीमा लिप्त भएका छौँ । हामी श्रम गर्न चहाँदैनौँ तर स्तरीय जिन्दगी चाहान्छौँ । यो चेतको गलत प्रयोग नै त हो ।

हुन त हाम्रा बाका बेलामा पनि चाकरी चल्थ्यो । राणाहरुले भाइभारदार, नोकरचाकरकै भरमा देश चलाएका थिए । तर, मुख्य कुरा के भने नोकरचाकरमा पनि एउटा मर्यादा थियो । नियम थियो । लय थियो । चाकरी गर्नेहरु थोरै थिए र उनीहरुको लयमा समाज चल्थ्यो । जो पायो त्यहीले चाकरी गर्न सक्दैन थियो । पहुँच हुँदैन थियो । आजकल जोकोही जोसुकैको पहुँचमा पुग्न सक्छ । जोसुकैले आफ्नो दिमागले भनेको गर्दिन सक्छ । उःबेला मान्छेको दिमाग प्रदुषित थिएन, सफा थियो । आजकलका मान्छेहरुको दिमाग प्रदुषित भएको छ । आजकलका मान्छेहरुको दिमाग फोहर छ । चुति.. छ । र, त्यही फोहर दिमागका कारण हो हामीले पेन्डुलम जिन्दगी जिइरहेको । यही तन्त्रमन्त्रले हो हामीलाई बागमतीको पानीजस्तो बनाएको । हामी बग्न त बगिरहेका छौँ, तर फोहरसरि । सबैले हामीलाई देखेर थुक्छन् ।

मेरा घरमा एउटन घडी छ । भित्तेघडी । त्यो भित्तेघडीको मुनि एउटा पेण्डुलम छ । धेरैजसो समय म त्यही पेण्डुलम हल्लिएको हेरेर बिताउने गर्छु । फुर्सदको सारथि हो त्यो पेण्डुलम ।

हामी चाकरीको निम्ती इतिहास भजाएर विद्रोह गरिरहेछौँ । इतिहास भनेको विगत हो । बितिसकेको हो । विगतबाट पाठ सिक्ने हो । सुधार्ने हो ।

दायाँ बायाँ, बायाँ दायाँ, दायाँ बायाँ, बायाँ दायाँ गरिरहन्छ त्यो । यता आउन खोज्यो ठोकिन्छ, उता जान खोजो ठोकिन्छ । वर्षौँदेखि त्यो उसरी नै हल्लिरहेको छ । उसको हल्लाइको फाइदा उठाएर घुम्ने सुइराहरुले हजार, लाखौँ पाइला अगाडि बढाइसके, हजार फन्का लगाइसके तर त्यो पेन्डुलमा ठक्कर खादैमा व्यस्त छ । मलाई लाग्छ, ती घडीका सुइराहरु राजनैतिक शक्ति र समिकरणहरु हुन् । अनि पेण्डुलम चैँ हामी जनता । किनकि हामीले आफ्नै लयसँग विद्रोह गर्न सकिरहेका छैनौँ । बरु हामी चाकरीको निम्ती इतिहास भजाएर विद्रोह गरिरहेछौँ । इतिहास भनेको विगत हो । बितिसकेको हो । विगतबाट पाठ सिक्ने हो । सुधार्ने हो । भत्काउने होइन । हाम्रा तन्त्रमन्त्रहरु गलत छन् ।

अँ, हाम्रो यही तन्त्रमन्त्रले हामीलाई पेण्डुलम बनाएको हो । च्यापत्ती मिसाएर ।

मेरा बाका पालामा शासकहरुको नियम थियो हाम्रो पालामा हाम्रो आफ्नै नियम छ । उःबेला हाम्रा बाहरु अर्काको नियममा बाँच्थे आजकल हामी आफ्नो नियममा बाँच्छौँ । आफ्नो हुनुभनेको अरुको मन नपर्नु पनि हो । आफ्नो हुनु भनेको आफ्नै आवश्यकता अनुसार टोडमोड गर्न पाइरहनु पनि हो ।

उःबेला कानुन थिएन नियम थियो । आजकल कानुन छ नियम छैन । कानुन त त्यसै पनि अन्धो हुन्छ नियम नभएसी मान्छे छाडा बन्छ । छाडा भएपछि बिग्रन्छ । नासिन्छ । मासिन्छ । हामी मास्सिरहेका छौँ ।

एउटा उदाहरण दिउँ, म आफैँ कुनै समय बाको कडा नियममा बाँचिरहेको थिएँ । बिहान सबेरै उठ्थेँ । नुहाइधुवाई गर्थेँ । काँचो कचिलो केही खाएर मेला पातमा लाग्थेँ । मलाई चोक चौतारातिर गएर हल्लिन बाको नियमले दिँदैन थियो । त्यसैले मैले बालापनमै मेहनत सिकेँ । जीवन जिउने लय सिकेँ । हुन त जवानीको उन्मादले म पनि मात्तिएँ तैपनि बाको नियमले आत्तिइन् । आज पनि आत्तिएको छैन ।

अहिले मेरा छोराछोरी ममाथि नियम लाद्धछन् । उनीहरू मेरो होइन उनीहरुको नियममा मलाई चलाउँछन् । म यस मानेमा लाचार छु मैले मेरा बाको सिद्धान्तलाई नकार्न सकिनँ । न म मेरा छोराछोरीलाई नै नकार्न सक्छु । असलमा म एक पेण्डुलम हुँ । समयले, अवस्थाले, परिबन्धले बनाएको ठ्याक्कै त्यही घडीको डल्लो जस्तो ।

देशमा दशकौँको अन्तरमा भिन्न तन्त्रमन्त्र र वादहरु आए तर तपाईं हाम्रो जीवनमा कुनै उछाल आएन । आयो त ? घुमीफिरी हामी समय र राजनैतिक प्रयोगहरुको पेण्डुलम भइरह्यौँ । घरि प्रजातन्त्रले दायाँ ठोक्कायो घरि गणतन्त्रले बायाँ ।

दिन्छ त केवल बाले सिकाएको मेहनतले । धीरताले । श्रमले । यो कुरा त सत्य हो,  मान्नुहुन्छ नि ?

आजभन्दा बिसौँ वर्ष पहिले खोलेको च्याभट्टी आज पनि मेरो रोजीरोटीको श्रोत हो । च्या नबेचे मेरो गुजारा चल्दैन । वाद र तन्त्रमन्त्रले मलाई खान दिँदैन । न छोराछोरीलाई नै दिन्छ । दिन्छ त केवल बाले सिकाएको मेहनतले । धीरताले । श्रमले । यो कुरा त सत्य हो,  मान्नुहुन्छ नि ?

बेला बेला टिभीमा विदेशी जीवनशैली हेर्छु र दङ्ग पर्छु । विदेशीहरू बल्ल मेरा बाको लयमा जीवन गुजार्न थालिरहेछन् । उनीहरु एउटा नियममा बाँचिरहेका छन् । मेरा बाको पालामा लाज थियो, भय थियो । विदेशी जीवनशैलीमा लाज र भय छ । अनि हामीहरु चैँ त्यही विदेशीहरुको पुरातन (फेल भैसकेको) वादमा अल्झिरहेका छौँ । विदेशीहरुको भन्दा हाम्रोमा अधिक स्वतन्त्र छ त्यसैले हामी उनीहरुभन्दा अव्यवस्थित छौँ । त्यसैले हाम्रो जिन्दगी डामाडोल छ । भविष्य अन्धकार छ । हामी अझै पनि लिङ्ग लिङ्गबीचको भेद छुट्याउन सक्दैनौँ । धर्म, भाषा संस्कृति कसैको निजी हुँदैन । जसले सिक्छ, जसले चाहान्छ, जसले अनुशरण गर्छ, उसैको हुन्छ । हामी आफ्नो भनेर कुर्लिरहेका छौं । हामीले बुझ्नै छ —दुनियाँमा जे जति छन् ती सबै हामी सबैका हुन् । गलत पनि हाम्रा हुन्, सही पनि । राम्रा पनि हाम्रा हुन नराम्रा पनि हाम्रै ।

सन्तान मोह पनि एक किसिमको तगारो हो । हामीलाई आफ्नो वंश जोगाउनै पर्ने अहम् छ । हाम्रा लागि स्वःका अलवा सन्तान सर्वश्व हुन् । हेर्नु त, विदेशीहरु आफ्ना लागि कमाउँछन् । हामी सन्तानका लागि कमाउँछौँ । विदेशीहरु आफ्ना लागि बाँच्छन् । हामी सन्तानका लागि बाँच्छौँ । हामीलाई विश्वास छैन, हामीले नगरिदिए पनि हाम्रा सन्तानले केही गर्न सक्छन् । हामीलाई लाग्छ, हामीले केही नगरिदिए हाम्रा सन्तानले हामीलाई सराप्ने छन् । विदेशीहरुलाई विश्वास छ जति उनीहरु सक्षम छन् त्योभन्दा धेरै उनीहरुका सन्तानहरु सक्षम हुनेछन् । हामीलाई त्यो लाग्दैन । हामी बनाउने बाहानामा बिगारिरहेछौँ । त्यही भएर त म छोराछोरीको नियमलाई चुपचाप अङ्गिकार गरिरहेछु । त्यसैले म भन्छु म पेण्डुलम हुँ ।

आफूबाहेक सबैभन्दा धेरै हामीलाई राज्य र सासनसत्ताले पेण्डुलम बनाएको छ । विभिन्न वाद र दर्शनले हामीलाई छेकिरहेको छ । जीवन जिउन कला चाहिन्छ, वाद होइन । घरिघरि हुने थरिथरिका प्रयोगले हामीलाई थिचिरहेको छ ।

हाम्रोजस्तो अल्पविकशित राष्ट्रहरुमा राजनीतिले सधैँ प्रयोग मात्र गरिरहन्छ । किनभने घडीका सुइराहरुलाई थाहा छ पेण्डुलम नभए उनीहरु घुम्न पाउँदैनन् ।

साधन प्रयोगपश्चात् खिइन्छ, बिग्रन्छ, नास्सिन्छ । साध्य झन् झन् तिखारिन्छ । हो यही विन्दुमा हामी असफल भैरहेका छौँ ।

हिजो प्रजातन्त्रका लागि लड्यौँ । प्रजातन्त्र पाउन नपाउँदै पन्चायत आयो लड्नै पर्यो । बहुदल आयो ठीकै थियो, राजा फाल्ने हुटहुटी चल्यो । लोकतन्त्र आयो गणतन्त्र आयो राजा फालियो तर खै ? जीवन पद्धती जहाँको त्यहीँ छ । राजा त फाल्यौँ तर हामीले बनाएको नयाँ राजा हिजोको राजाभन्दा खराब निस्कियो । अब आफैँले बनाएको राजा फाल्ल फेरि आफैँ कुर्लनु पर्ने भएको छ । यसैले पुष्टि गर्दैन र हामीले बारबार गलत प्रयोग गरिरहेका छौँ भनेर ? यसैले पुष्टि गर्दैन र हामी बारबार गलत प्रयोगको सिकार भैरहेका छौँ भनेर ? असलमा हामीले अवलम्बन गरिरहेका राजनैतिक प्रयोगहरुले हामी स्वयंलाई साधन बनाइरहेछ साध्य होइन । साधन प्रयोगपश्चात् खिइन्छ, बिग्रन्छ, नास्सिन्छ । साध्य झन् झन् तिखारिन्छ । हो यही विन्दुमा हामी असफल भैरहेका छौँ ।

हामी आफैँले आफैँलाई साध्य कहिले बनाउने ? सुकमेल मिसाएर ।

हामीले संविधान/कानुन त बनायौँ तर हामीले निर्माण गरेको व्यवस्थाले त्यही आफैँले बनाएको कानुनको सबैभन्दा कोमल/कमजोर पक्षमा हमला गरिरहेछ । इमान्दार भएर भन्नुपर्दा आफैँले तुनेको स्वीटर धागो गाँठो परेको भाग तानेर उधारिरहेछौँ ।

मपाईंको लडाइँमा हार्न नसकेर सनकको भरमा हिजो बोली महाराजले संसद विघठन गरे । जनतासमक्ष परिपरिका तर्क र चाप्लुसी घसे पनि ओलीजम अरु केही थिएन, मै हुँ भन्ने घमण्ड थियो । सदन र सडकमा जुँगाको लडाइँ थियो । कुर्सीको लालचा थियो । ओलीतन्त्र जनताको अभिमतमाथिको बुर्कुसी मात्र थियो । पदको दुरुपयोग मात्र थियो ।

आज सर्वोच्चले बोलीको सनक गलत हो भनिदियो । त्यही पनि बोलीलाई ठाँगेले छोएको छैन । भन्दैछन्, म सामना गर्छु । केको सामना हो र ! आफैँले खाल्डो खनेर हामफाल्न खोज्नु मुर्ख्याइँबाहेक केही पनि होइन ।

तपाईंलाई थाहा छ मान्छेमा लाज हराएपछि के हुन्छ ? स्पष्टै छ ओली हुन्छ । बोली महाराजमा त लाज मात्र हराएको होइन नैतिकता पनि छैन । घिन सरम केही पनि छैन । घमन्डले मान्छेको लाज, सरम, घिन सबै हराइदिँदो रहेछ । दुनियाँमा यौटा सानो बाचा पूरा गर्न नसक्दा शासकहरुले सत्ता छाड्नुपरेका अनेकौँ इतिहास छन् । तर हाम्रोमा उल्टै हर्कबढाई गरिन्छ । रातारात पक्षमा नारा लाग्छन् । नैतिकताकै आधारमा भए पनि बोली र राष्ट्रपतिले राजीनामा दिनुपर्ने हैन र ?

हामी जनता पनि त कम छैनौँ नि । सत्ताको दुरुप्रयोग गरेर एउटा नालायक सनकीले आफ्नो हुँकार फैलाउँदा जयजयकार गरिदिन्छौँ ।

बोलीले संसद विगठन गरे । सर्वोच्चले पुनर्स्थापना गरिदियो । यी दुवै घटनाक्रमले हामीलाई के दियो ? सिर्फ धोका ।

हामीले लामो समयदेखि देशमा स्थिर सरकार भएन,  विकास निर्माण अस्थिर भयो भनिरह्यौँ । अब हामी बनाउँछौँ भन्दै उनीहरु हल बाँधेर आए हामीले पत्याइदियौँ । तर, उनीहरुको हल त कुर्सीको लागि मात्र रहेछ । हिजो एउटै आन्द्रो जोडिएका जस्ताहरु आज सत्रु भएका छन् । यतिबेला उनीहरुको हल टुटेको मात्र होइन हामी जनताको सपना र विश्वास टुटेको पनि हो ।

हेर्दै गर्नूस्, अब एउटा ओली सत्ताबाट बाहिरिन्छ । र, अर्को कुरा फेरि त्यही पुरानै खेल दोहरिन्छ प्रधानमन्त्रीका लागि । अब खुलेआमा संसदहरुमा मोलमोलाई चल्छ । किनबेच सुरु हुन्छ । तानातना खोसाखोस, कुटाकुट जे पनि हुन्छ । बाँकी रहेको २ वर्ष त्यसै गर्दागर्दै सकिन्छ । बीचमा सत्ता समिकरण मिलाएर दुईचार महिना अर्को ओली आउला । अन्त्यमा हिजो तिनै हल बाँध्नेहरु फेरि हल बाँधेर हाम्रा आँखामा छारो हान्न आइपुग्छन् । भन्नेछन् ‘हामी सुद्रिसक्यौं । अब धोका हुँदैन । विगतलाई पाठ मानेर अघि बढ्ने छौँ ।’

होला त नि भनेर हामी हिजो बिर्सने छौँ । र हुनेछ फेरि उही पुरानै खेल । उही उन्माद र उही हुँकार । हामी जहाँको त्यहीँ । उही पेण्डुलम । यता ठोकियो उता ठोकियो, जस्ताको तस्तै ।

आजसम्म मैले यो च्याभट्टी छाडेर कहीँकतै जाने फुर्सद पाएको छैन । श्रीमतीसँग कतै घुमेको छैन । अझै मसँग धेरै सपनाहरु छन् । जिन्दगीभर मेहनत गर्दा पनि यो खाल्डामा एउटा कुटी जोड्न सकिएन । हुँदाहुँदा आफ्नै सन्तानका नजरमा असल पिता पनि भइएन । उनीहरुलाई उनीहरुको सर्कलमा हामीलाई परिचय गराउन लाज लाग्छ रे । हामी उनीहरुको समयका होइनौँ रे ।

हाम्रो पुस्ता त पेन्डुलम भएरै जाने भयो । हामी राम्रा लुगा लगाउन, एक गाँस मीठो खान, अलिकति स्तरीय जिन्दगीको सपना देख्दादेख्दै सकिने भयौँ ।

अनि हाम्रा सन्तानहरु ? हाम्रा सन्तानको लागि एउटै विकल्प छ— पलायन । हरियो रहादानीमा राष्ट्रियता बेच्नुसिवाय अरु केही विकल्प हुनेछैन ।

अहो ! ला ला ला …

उम्ली त हालेछ ।

ढक ढक ढक ….

फु फु फु …

खै ग्लास लेउ लेउ …

ल ल लिनूस लिनूस् ।

सुरुप्प ….

हस त, आजलाई पेण्डुलम च्या यत्ति नै जिब्रो पड्काएर ।