म नेपालमा जन्मेकी हुँ । तर बाबा कामले जापानमा हुनुभएकाले म छ महिना हुँदैको बेलामा मलाई जापान लिएर जानुभएछ । जापानको टोकियो शहरमा हुर्किएर मेरो बाल्यकाल बित्यो । शुरुमा आमाले घरमै नेपाली बोल्न सिकाउनु भयो। बाबा कामले धेरै ब्यस्त हुनुहुन्थ्यो । आमा, बाबा गएर मलाई शिशु कक्षामा राख्नु भयो। त्यहाँ सबै जापानी साथीहरु थिए। म मात्रै विदेशी थिएँ। मलाई त्यहाँ जापानी भाषा सिकाउनु भयो।
५ वर्षको पुगेपछि मलाई “लिटल लर्निङ” डे केयरमा सार्नु भयो। जापानमा छ वर्ष पुगेपछि सबै केटाकेटीहरु १ कक्षामा भर्ना हुनुपर्ने रहेछ। मलाई पनि अप्रिल १ तरिखमा ‘इन्डियन इन्टरन्यासनल स्कुल इन जापान” मा सार्नु भयो। नयाँ स्कुलमा जाँदा, पुरानो शिक्षक र साथीहरुलाई सम्झेर रुन आयो। त्यो देखेर एक जना साथीले मलाई जिस्क्याउन थाल्यो । झनै त्यो नयाँ स्कुल नजाउँ – नजाउँ लाग्थ्यो । घरमा पनि पुरानो स्कुल जान्छु भनेर जिद्दी गर्थें । तर मामुको काममा जाने बेलामा मलाई नयाँ स्कुलमा लगेर कहिले प्रिन्सिपल म्याडमसँग, कहिले क्लास टिचरसँग त कहिले लाइब्रेरीको मिससँग छोडेर जानुहुन्थ्यो । किन स्कुल नजाने भनेर बाबाले सोध्नुहुँदा, हजुरहरु नभएकोले भनेर भनेँ । वहाँले मामु, बाबा र म बसेको चित्र बनाएर झोलामा राख्दै भन्नु भयो, त्यस्तो बेलामा यो चित्र हेर, हामी सँगै हुनेछौँ । पहिला-पहिला त घुल्मिल हुन निकै गाह्रो भयो। त्यो स्कुलमा ३ कक्षा र आधा सम्म पढेँ । बीचैमा नेपालमा हजुरआमा बिरामी हुनु भएकोले मामु र म नेपाल फर्कियौँ ।
सुरुमा जाँदा सानै भएकोले नेपालको बारेमा थाहा थिएन। बाबा, आमा, साथीहरु, शिक्षकहरु र अरुले नेपालको बारेमा भनेको कुरा सुनेर रमाइलो लाग्थ्यो । नेपालमा बुवा (हजुरबा), आमा (हजुरआमा)ले छिट्टो आउ भन्नु भएको सम्झिएँ । हवाइजहाज पनि पहिला कति पटक चढिसकेको थिएँ। अमेरिका जाँदा १६ घण्टा उडाउँदै गरेको सम्झिएँ। कार्टून चित्र, फिल्म हेरेर पनि समय बिताउन धेरै नै गाह्रो भएको थियो। नेपालको बारेमा देखेको भिडियोहरु सम्झेर कहिले पुग्ने होला जस्तो हतार लाग्यो। हवाइजहाज चढ्दा पनि बोरिङ्ग लागेन ! यस पटक त्यस्तो भएन। ओर्लिनु अगाडि झ्यालबाट हेर्दै थिएँ । हिमाल, पहाड र तल खोला, जङ्गल देखेर रमाइलो लागेको थियो। अनि त काठमाडौं आइहाल्यो।
मलाई जापानमा बस्दा-पढ्दा राम्रो लागेको कुरा भन्छु है!
राष्ट्रिय पोशाक (किमोनो) लगाएर जात्रा पर्वमा जाँदा खुब रमाइलो हुन्थ्यो । हाट बजार जस्तो पसल हुन्थ्यो । खेलौना, चक्लेट – मिठाइ पनि पाइन्थ्यो । मन पर्ने खानेकुरामा सुशी एउटा हो । अरु देशमा पनि प्रख्यात छ माछाको यो जापानी खानेकुरा। अर्को हो ओनिगिरी। भित्र माछा – सागपात राखेर बाहिर पट्टी खान मिल्ने हरियो कुराले बेरेको भातको डल्लोलाई ओनिगिरी भन्छन् । मिसोसिरो सुप र चपस्टिकले खाने जापानी चामलको भात पनि साह्रै मन पर्छ । घुम्ने ठाउँ त थुप्रै छन् ! तर मन परेको मध्येमा टोकियो डिज्ने ल्यान्ड, फुजी हिमालको बेस क्याम्प, शिन्जुकु ग्योएन पार्क, टोक्यो डोम, ओसाका आदि छन्। बुलेट ट्रेन चड्दा सबैले भन्दथे कि, “बुलेट ट्रेन असाध्यै छिटो गूड्छ!” तर म चढ्दा भने पत्तै पाइनँ ! छिटो त छिट्टै थियो भन्नु भयो बबा – मामुले पनि ।
एउटा रमाइलो सम्झना पनि छ नि !
एक दिन म र मेरो बाबा पार्कमा खेल्न गएका थियौँ । म पिङ, चिप्लेटी खेल्दै म जस्तै साना साथीहरु सँग भुलिएँ । बाबा त्यहीं छेउमा भएको कुर्सीमा बसेर फोन हेरिरहिसेको थियो। फोन खल्तीबाट निकाल्दा बाबाले थाहा नपाइकनै पैसा राख्ने वालेट पनि निस्केर कुर्सीमै झरेछ। मलाई खेल्न पुगेपछि भनें, “बाबा, अब जाउँ घर!” बाबाले भन्नु भयो, “ल – ल, हुन्छ जाउँ ।” त्यस पछि हामी घर घर गयौं । खाना खाइवरी गरेपछि मेरो मामुले भन्नुभयो, “केही सामान किन्न जाउँ न बाबा र छोरी”।
बाबाले यता उता केही खोज्दै भनुभयो, ‘हस’। तर मेरो बाबाले वालेट नै पाउनु भएन । हामी डरायौं । अब के गर्ने भनेर । बाबा र म बिहान गएको ठाउँ सम्झिदै पार्क गयौँ । यही सोच्दै कि, वालेट त्यहीँ खसेको हुनुपर्छ। एक जना बुढी हजुरआमाले हामी आएको देखेपछि जापानी भाषामा सोध्नु भयो, ” के खोजेको ?”
बाबाले बताउनु भएपछि “यो वालेट तपाईंको हो त ?” मेरो बाबाले आफ्नो वालेट देखेपछि चिनिहाल्नु भयो । “हो” भन्दै त्यसभित्र भएको कुराहरु पनि बताउनु भयो । बाबाको नाम देखेपछि सामान फिर्ता पाउनु भयो । बाबाले र मैले खुशी हुँदै धन्यवाद दियौं । यो खुशीको कुरा सुनेर मामु पनि दंग पर्नु भयो ।
कस्तो लाग्यो त असल मान्छेहरुको यति राम्रो व्यवहार ? यस्ता धेरै असल र राम्रा कुराहरु देख्न पाइन्छ जापानमा।
धन्यवाद।
अरुणिमा सेकेन्डरी स्कुल, बौद्ध, कुमारीगाल काठमाडौं (कक्षा: ६)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।