झिलिमिलीकाे सहर  मुम्बई,  माया नगरीको उपमाले पनि सुसज्जित छ । तर झिलिमिलीले मात्र मुम्बई माया नगरीको रूपमा स्थापित पक्कै भएको होइन । प्रकृतिले पनि छुट्टै सुन्दरता प्रदान पनि गरेको छ मुम्बईलाई । भारतको दक्षिणी भाग, समुन्द्र किनारासँग जोडिएर बसेको नगरीका आफ्नै विशेषताहरू छन् । यहाँका मुलबासीहरूभन्दा पनि बाहिरबाट रोजगारी खोज्दै आउनेहरूको घुइँचोले नगरिलाई विशेष बनाएको छ ।

म त्यही घुइँचोको बीचमा मिसिएर हिँडेको एउटा बटुवा हुँ । गाउमा हुँदा मुम्बईको बारेमा धेरै नै राम्रा कुराहरू सुनेको थिएँ, मनमा उत्सुकता थियो । म एकपटक यो नगरीमा आउन चाहान्थेँ । आएपछि मात्र थाहा भयो, यो माया नगरी मात्र नभएर एउटा स्वार्थी नगरी पनि रहेछ । बिल्डिङको छत हेर्दा टाउकोको टोपी खसेको कहानी धेरै सुनेको थिएँ; तर सिधा उभिँदा मजस्तो साढे पाच फुट अग्लो मान्छेको टाउको ठोकिने कोठा भएका दुईतले झुपडपट्टीहरूले माया नगरीलाई गिज्याएजस्तो आभाष हुन्छ ।

एकैपटकमा दुई जना हिँड्न पनि नमिल्ने ससाना गल्लीहरू, हप्तामा दुई दिन मात्र पानी आउने बस्तीहरू, ट्राफिक जाम, सडकछेउमा पार्किङ गरेर राखिएका गाडीहरू, हिउँदमा धुलो उड्ने अनि बर्खामा पानी भरिने सडकहरूले पनि माया नगरीको वास्तविक अवस्था देखाइरहन्छन् ।
यहाँ जति धेरै धनीहरूको बसोवास छ त्योभन्दा दोब्बर गरिबहरूका बस्तीले हाईवेभन्दा अलि पर बसेर आफ्नो कुरूपतालाई छोप्न खोजेजस्तो देखिन्छ । अतः बन्दै गरेका बिल्डिङ तथा बनिसकेका बिल्डिङहरूले ती बस्तीको रूप छोप्नको लागि प्रशस्तै मद्दत गरिरहेका छन् ।
एकातिर जुहु बिच, मरिन लाइन, हाजिअली, गेटवे इन्डिया जस्ता सम्पदाले माया नगरीलाई  सुरूप प्रदान गरिरहेकाे छ भने भने अर्कोतिर धारावी, माडा चाली, भारत नगर जस्ता सानाठूला बस्तीहरूले यसको सुन्दरतामाथि प्रश्नचिन्ह ठड्याइरहेका छन् । एकातिर मर्सडिजमा चढेर आफ्नो गन्तव्यमा पुग्नेहरूको लाइन हुँदा अर्कोतिर हतारमा खचाखच भरिएको ट्रेनमा ठेल्दै र धकेल्दै आफ्नो गन्तव्य पूरा गर्नेहरूको भीड हुन्छ यहाँ ।
नारी अधिकारका कुरा उठ्दा प्रायः विदेशलाई नै उदाहरण मानिन्छ, तर यस नगरीमा पनि नारी स्वतन्त्रता के हो ? भन्ने पाठ सजिलै पढ्न सकिन्छ । सडकमा कसैमाथि अन्याय भइरहेको छ भने पनि नदेखे झैँ गरी सरासर आफ्नो बाटो हिँड्ने मानिसहरूको जमातले पनि माया नगरीमाथि प्रश्न उठाइरहेका हुन्छन् । कहीँ लडाइँझगडा भइरहेको छ भने बाटो हिँड्ने जमात नै गएर लडाइँलाई बढावा दिने, बल्झाउने, अल्झाउनेहरूको जमात पनि अलग्गै देिखन्छ यहाँ । एकातिर दश रूपियाँको बडापाव (मुम्बईको प्रचलित फास्टफुड) खाएर छाक टार्नेहरू भेटिन्छन् भने अर्कोतिर त्यही बडापाव फाइभस्टार होटलमा  दुई सयमाथि तिरेर खानेहरू पनि भेटिन्छन् । मैले पनि दुई चार दिन त्यही बडापावमा दिन गुजारेका यादहरू अझै ताजै छन् । त्यसैले यहाँ एउटा उखान प्रचलित छ – मुम्बईमा कोही भोकै मर्नु पर्दैन
साँच्चीकै यहाँ सबैका लागि उपयुक्त मूल्यमा खाना, कपडा, बसोवास इत्यादि विभिन्न ठाउँमा विभिन्न तरिकाले उपलब्ध हुन्छन् । गार्डन तथा पार्कमा कृष्णलीला गरिरहेका जोडीहरू खुलम्खुल्ला देख्दा माया नगरी नै आफैँ आश्चर्यचकित भएको आभाष हुन्छ । यहाँ दैनिक उत्पदन हुने फोहोर व्यवस्थापन हुन नसक्नुले स्थानीय सरकारको भूमिका स्पष्ट हुन्छ ।
इलिफेन्टा, बी-टी, सन्जय गान्धी नेशनल पार्क जस्ता पुरातात्त्विक स्थानहरूले पर्यटकीय आकर्षण बढाइरहेका छन भने चोरबजार, घाटकोपर, भिन्डीबजार जस्ता रेडलाइट एरियाहरूले पनि मुम्बईकाे आकर्षणलाई मजबुत बनाएका छन् ।एक दिन अँधेरीदेखि महालक्ष्मीसम्मको यात्रा गर्दै थिएँ, अलि अगाडि समुद्र किनारामा मस्जिद छ । अन्य धर्मावलम्बीले पनि भ्रमण गर्ने गर्छन् उक्त मस्तिज । म पनि त्यहीँसम्मकाे गन्तव्य बनाएर निस्केको थिएँ ।
ट्रेनको भीडभाड ओहो ! अर्को ट्रेन खालि आउँछ कि भन्यो, त्यसमा झन् धेरै भीड हुन्थ्यो । जसोतसो धकेल्दै भए पनि भित्र छिरेँ । सबै आफ्नै धुनमा मस्त देखिन्थे । प्रेमीजोडीहरूको रङ्गीचङ्गी क्रियाकलापले मनोरन्जनात्मक वातावरण बनाइरहेको थियो । तर पनि कसैलाई कसैको वास्ता थिएन, सबै आफ्नै गन्तव्यको पर्खाइमा देखिन्थे । बीचबीचमा किन्नरहरू ताली बजाउदै ‘दे रे बाबा, दे’ भन्दै आउथे । मन हुनेले गोजीबाट पैसा निकालेर दिइरहेका थिए भने धेरै सुनेकाे नसुने झैँ गरेर आफ्नै धुनमा व्यस्त देखिन्थे । एउटा किन्नर मेरो नजिक आयो । ‘ए कान्चा, दे रे बाबा दे, दुवा लगेगी’, ओहो ! कस्तो चिनेको । यहाँ नेपालीलाई कान्छा बनेर बोलाउछन् । त्यही कुराबाट प्रभावित भएर पैसा दिनको लागि पछाडि गोजीमा छामछुम पारेँ, तर पर्स नै गायव भइसकेछ । म झसङ्ग भएँ ।
त्यो भीडभाडमा भनौँ कसलाई ? खोजौँ कता ? साइडमा उभिएको एउटा बङ्गाली जस्ता देखिने युवकले सोधिहाल्यो, ‘क्या भाइ, पर्स गायव होगया क्या ? यहाँ एसाही होगा । गाउँसे नया आएहो लगता हे । कभी भी जेभ मे पर्स मत राख्ना, कौन कभी पकेट मारेगा पता नही चलता ।’
म चुपचाप उभिएको थिएँ । किन्नर पनि चुपचाप गयो । मनमनै सोच्न लागेँ, ‘यो हेर्दै चोर झैँ देखिन्छ । कही यसैले त लगेन !’
त्यो युवक बान्द्राबाट चढेको थियो । त्यहाँ आइपुग्दा डब्बा अलि खालि भइसकेको थियो । सायद पहिल्यै कसैले लगेको होला !’
पर्समा हजार जति भारु र नेपाली पाँच सय थियो । चोरले चोरेको पनि बेकार गयो, सायद । त्यो पाँच सय अब कहाँ लगेर चलाओस्, बिचरा ! हजार नै त हो, दान भयो ।
महालक्ष्मी त पुगेँ तर त्यहाँबाट अगाडि जानको लागि बस भाडा पनि थिएन । न अगाडि जान सक्ने अवस्था रह्यो न त फर्किने नै । मन दोधारमै थियो, स्टेसनमा यताउता गरिरहेको थिएँ । यत्तिकैमा एउटा किन्नर आएर पैसा माग्न लाग्यो । वास्ता नगरे झैँ गरेँ । पछि पछि लाग्यो । उसको क्रियाकलापले हैरान भएपछि सबै वृतान्त सुनाएँ र भनेँ, ‘मेरे हि लाले पडेहुए हे तुम को क्या दु ?’
उसले आफूसँग भएको पैसाबाट अलिकति निकालेर मलाई दियो । म अचम्मित भएँ । किन्नरको मन कति दयालु ?
त्यो पैसा लिनेबाहेक अरू उपाय थिएन मसँग । पैसा लिँदै भने, ‘थ्यान्क्यु ।’
‘अरे, तु भी इन्सान हाम भि इन्सान, इन्सान इन्सानका मद्दत नहि करेगा तो कौन करेगा ।’, यति भन्दै ऊ गयो । म हतारहतार गएर टिकट काउन्टरमा लाइन बसेँ, अँधेरीको लागि टिकट लिएँ ।
हाजिअली घुम्ने सपना पछिलाई थाँती राख्दै उही भीडभाड र उही कोचाकोच ट्रेनमा चढेर किन्नरलाई धन्यवाद दिँदै फर्किएँ ।