खलासीले ‘बागबजार, बागबजार’ भनेपछि रमेशले आफ्नो झोला भिर्यो र भीडमा ठेलमेलिँदै गाडीबाट बाहिरियो । कक्षा १२ को पढाइ सकाएपछि रमेश पहिलोपटक काठमाडौँ टेक्दै थियो । गाउँका प्रायःजसो मान्छे कि त विदेश जान, कि त विदेशबाट आउनेलाई लिन काठमाडौँ आउने गर्थे तर रमेश ती दुइटै कामका लागि आएको थिएन । बरु ऊ त पाठ्यपुस्तकमा पढेको अनि रेडियोमा सुनेको देशकै ठूलो र सम्पन्न सहर घुम्न आएको थियो । राजधानीलाई चुम्न आएको थियो ।
गाडीबाट उत्रिएपछि बागबजारकै मुखमा रहेको आकाशे पुल चढ्यो । नजिकै देखिने घण्टाघरलाई धित मरुञ्जेल हेर्यो । आँखाले भ्याएसम्म रत्नपार्कका कुनाकुना च्याहायो । परपर देखिने गगनचुम्बी भवनहरु हेर्यो । अहा ! साँच्चीकै भव्य रहेछ काठमाडौँ, मनमनै दङ्ग पर्यो । यदि ऊ लामो समय बस्न पाउँथ्यो भने रत्नपार्कभित्र पसेरै घुम्ने थियो तर ऊ मात्र २ दिनका लागि आएको थियो । त्यही भएर सकेसम्म थोरै समयमा धेरैभन्दा धेरै कुराहरु हेरिसक्ने ध्याउन्नमा थियो ऊ ।
आकाशे पुलमै समय गुजारिरहेको एक जना मान्छेलाई उसले सहिदगेट जाने बाटो सोध्यो र त्यतैतिर लखरलखर लाग्यो । जाँदाजाँदै बाटोछेउमै भृकुटीमण्डप पर्ने रैछ, त्यतातिर पनि एक नजर फ्याँकिपठायो । अब भने सहिदगेट प्रष्टै देखिन थालेको थियो । आकाशे पुलबाट झर्दैगर्दा पो बल्ल चाल पायो, उसलाई पिसाबले च्यापिसकेको रैछ । सडकपारिपट्टि भद्रकाली मन्दिर देखियो । मन्दिरमा गएर ट्वाइलेट सोध्ने कुरा पनि भएन । यसो पारिपट्टिबाटै दर्शन गरेर सरासर सहिदगेटतिर लाग्यो ।
सहिदगेट पुगेर उसले सहिदहरुको शालिक मज्जाले हेर्यो । मनमनै सहिदहरुलाइ सम्झियो । आत्माको शान्तिको लागि प्रार्थना गर्यो । आजकल त सहिदहरुको सङ्ख्या धेरै पुगिसक्यो तर रमेशलाई सहिद भन्नेबित्तिकै फ्याट्ट दिमागमा आउनेचाहिँ यिनै ४ जना सहिदहरु थिए ।

विवेक धिमाल

शहीदगेटबाट दुई पाइला अगाडि बढ्नेबित्तिकै उसले सहिदहरुलाई बिर्सियो र पिसाबथैली फुट्न लागेको कुरा सम्झियो । अनि हतारहतार अगाडि बढ्यो । अलि पर पुगेपछि एक जना बटुवालाई सार्वजनिक शौचालय सोध्यो । बटुवाले अलि पर औँल्याइदियो । रमेशले धन्यवाद भन्यो, तर मनमनै निराश भइगयो । त्यति पर कसरी पुग्ने होला ? एक मनले त सोच्यो, यहाँ कसैले चिन्ने होइनन्, कि पाइन्टमै तुर्काइदिम् ? तर त्यस्तो गरेन । बरु खुट्टो खोच्याउँदै अगाडि बढ्यो ।
धरहरा निक्कै अग्लो बन्दै रैछ । उसले सडकवारिबाटै एक नजर त्यतातिर फाल्यो तर पाइलाचाहिँ चालु नै राख्यो । मोबाइलमा व्यस्त रहेको एक जना मान्छेसँग ड्याम्म ठोक्कियो । “सार्वजनिक शौचालय खोज्दै थिएँ, तपाईँसँग ठोक्किन पुगेछु” भन्यो र माफ माग्यो । ठोक्किने मान्छे रिसले आगो भयो र भन्यो– “रोडमा भुत्राको शौचालय हुन्छ र हेरेको त ? ऊ त्यहा पर छ ।”
भित्तामा बडेमानका अक्षरमा लेखिएको थियो ‘सार्वजनिक शौचालय ।’ त्यो देखेर रमेश यति खुसी भयो कि, त्यति खुसी त १० कक्षा पास हुँदा पनि भएको थिएन । हतारहतार ‘पुरुष’ लेखेको ढोकामध्येको एक ढोका खोल्यो र भित्र छिर्यो । पिसाबथैली लगभग आधा खाली गरेपछि मात्र बल्ल लामो श्वास तान्यो अनि पो चाल पायो, उसले त भित्तामा पिसाब गर्दै रैछ । बल्ल ट्वाइलेटतिर सोझियो । उसले आजैमात्र चाल पायो, जाबो गेट्टिस त के तन्किदो रैछ र ? जति पिसाबथैली तन्किन्छ ।
पिसाब गरिसकेपछि उसले यति हल्का महशुस गर्यो कि त्यति हल्का त कोही पनि छैन होला, केही पनि छैन होला । ऊ ट्वाइलेटबाट बडो शानदार तरिकाले बाहिरिदै थियो, पछाडिबाट एउटा आवाज आयो– “भाइ पैसा ?”
रमेशले पछाडी फर्केर हेर्यो । एउटा भुसतिघ्रे मान्छे उसैलाई ताकेर भन्दै रैछ ।
“पैसा ? कस्तो पैसा ?” रमेशले मरन्च्याँसे प्रतिउत्तर दियो ।
“पिसाब गरेको पैसा ।” भुसतिघ्रे च्याँठ्ठियो ।
“पिसाब गरेको पनि कहीँ पैसा तिर्नुपर्छ ? नचाहिँदो कुरा ।”
मरनच्याँसे झन् च्याँठ्ठियो, “तेरा बाउको ट्वाइलेट हो र फ्रीमा पिसाब गर्न ?”
‘तेरै बाउको हो भने मेरा बाउको ट्वाइलेट नलेखेर किन सार्वजनिक शौचालय लेखेको त ?’
“अझ ठूला कुरा गर्छस् ?”
‘अझै ठूला गर्छु । जे गर्छस् गर् तर पिसाब गरेको पैसाचाहिँ कुनै हालतमा तिर्दिनँ । बरु हाम्रो गाउँमा आइज्, तेरा सात पुस्तासम्मलाई फ्रीमै  शौचालय प्रयोग गर्न दिउँला ।’
रमेश पनि आवेशमा आयो । भुसतिघ्रे झन् आवेशमा नआउने कुरै भएन । उसले प्रधानमन्त्रीलाई फोन गर्ने भयो ।  लगभग फोन कट्नै लाग्दा प्रधानमन्त्रीले फोन उठाउनुभयो । उहाँ भेडीगोठ उद्घाटन गर्न संखुवासभा जानुभएको रैछ ।
भुसतिघ्रेले पिसाब गरेको पैसा तिर्न नमान्ने केटासँगको घटनालाई जस्ताको तस्तै सुनायो । त्यो सुनेपछि प्रधानमन्त्री रिसले चूर हुनुभयो । त्यसपछि उहाँले प्रहरीलाई तत्काल फोन गरेर आदेश दिनुभयो– “देशकै राजधानी जस्तो ठाउँमा आएर पनि फ्रीमै पिसाब गर्न खोज्ने, अझ पिसाब गरेको पैसा नतिर्ने एउटा अटेरी केटो काठमाडौँ आएको छ रे । त्यसलाई पक्रेर थुनामा राख्नु ।”