आनुवांशिक कारण महिला र पुरुष एकअर्काप्रति आकर्षित हुन्छन् नै । आकर्षण हुन्छ भन्दैमा उनीहरुबीच सम्बन्ध स्थापित भइहाल्छ भन्नु मूर्खता हो । पुरुष महिलाप्रति आकर्षित भए पनि महिला त्यस पुरुषप्रति आकर्षित नहुन सक्छिन् । जसकारण पुरुष फ्रेन्ड जोनमा पर्न पुग्छन् । यसैगरी महिला पुरुषप्रति आकर्षित भए पनि पुरुष त्यस महिलाप्रति आकर्षित नहुन सक्छ । जसकारण महिला पनि फ्रेन्ड जोनमा पर्न पुग्छिन् । समग्रमा भन्नुपर्दा, महिला वा पुरुष साथीभन्दा माथिको सम्बन्ध राख्न असक्षम हुन्छन् ।
फ्रेन्ड जोन
फ्रेन्ड जोन परिभाषित गर्नु पहिले सामाजिक आदान-प्रदानको सिद्धान्तबारे छोटो जानकारी लिनु आवश्यक छ । यो सिद्धान्तअनुसार सम्बन्धलाई सामाजिक आदान-प्रदान प्रक्रियाको रुपमा व्याख्या गरिन्छ । सम्बन्धमा रहँदा प्राप्त हुने फाइदा र बेफाइदाको अनुपात हेरिन्छ । त्यसैगरी सन्तुष्टि र निर्भरताको स्तर पनि हेरिन्छ । यिनै कुराहरुले सम्बन्धको स्थिरता निर्धारण गर्छ । कुनै पनि व्यक्ति फ्रेन्ड जोनमा छ भन्नुको मतलब ऊ असमान आदानप्रदान प्रक्रियामा प्रवेश गरेको छ भन्ने बुझिन्छ ।
अर्को शब्दमा भन्नुपर्दा, फ्रेन्ड जोन यस्तो अवस्था हो जसमा दुवै व्यक्तिको भावनात्मक आवश्यकताहरु परिपूर्ति हुँदैनन् । यस अवस्थामा दुवै व्यक्तिको रोमान्टिक भावना मिलान हुन सक्दैनन् । उदाहरणार्थ आकर्षण बेमेल । यस परिस्थितिमा एउटा व्यक्ति प्रेमलीलामा इच्छुक हुन्छ भने अर्को केवल साथी बन्नुमा । त्यसैगरी प्रतिबद्धता बेमेल । यस परिस्थितिमा दुवै जना बीच शारीरिक घनिष्ठता भए पनि कुनै एक व्यक्तिले प्रतिबद्ध प्रेमी वा प्रेमिका हुन अस्वीकृति जनाउँछ ।
फ्रेन्ड जोन निर्माणका कारण
फ्रेन्ड जोन अर्थात् साथीको क्षेत्राधिकारभित्र नरहने सायदै होलान् । आखिर किन प्रेममा मित्रताको ताला लाग्ने गर्छ ? किन साथीको क्षेत्राधिकार निर्माण हुन्छ ? यस्तो अवस्था सिर्जना हुनुमा यी विविध कारणहरू हुन सक्छन्:
- आकर्षणको कमी:
हेलेन फिसरको पुस्तक ‘ह्वाइ वी लभ’ भन्ने पुस्तकमा तीन प्रकारको प्रेमबारे वर्णन गरिएको छ । ती हुन्: लस्ट (हवस), आकर्षण र आशक्ति । त्यसैगरी पिकअप समुदायका मानिस आकर्षण, सुख सुविधा र सिडक्सन (प्रलोभन) मा विश्वास राख्छन् । प्रायः मानिस असल साथीले जस्तो ममता र सुख सुविधाको भाव उत्पन्न गराउन सक्छन् तर त्यहाँ आकर्षण, हवस, सम्मोहन र कामोत्तेजक भाव उत्पन्न हुँदैन । त्यसैले साथीमा सीमित हुन पुग्छन् ।
- एकअर्काबीचको व्यक्तित्व मिलान नहुनु:
मिलानको अवधारणाअनुसार एउटै प्रवृत्ति र व्यक्तित्वका मानिस एकअर्काप्रति आकर्षित हुने र अन्ततः जीवनसाथी हुने प्रस्ट हुन्छ । यद्यपि अधिकांश मानिस आफूभन्दा ठीकविपरीत व्यक्तित्वका मानिससँग सम्बन्ध जोड्न लालायित हुन्छन् तर साथीको सम्बन्धभन्दा माथि जान सक्दैनन् । त्यसैले गलत व्यक्तिसँग सम्बन्ध जोड्ने प्रयास गर्नु पनि साथीको क्षेत्राधिकारभित्र बस्न बाध्य हुनु हो ।
- आत्मविश्वासी नहुनु, अनिश्चित र निष्क्रिय हुनु:
धमेरैजसो मानिस आफ्नो चाहना व्यक्त गर्न सक्दैनन् । उनीहरुमा लजालुपना हुनुका साथै अस्वीकृत हुने डर हुन्छ । उनीहरुका लागि मन परेको व्यक्तिलाई प्रस्ताव राख्नु चुनौतीपूर्ण हुन्छ । त्यसैले प्रस्ताव राख्न सजिलो र चुनौतीरहित बाटो रोज्ने गर्छन् । उदाहरणार्थ कुनै आकर्षित महिला वा पुरुष भेटे उनीहरु केवल साथीको रुपमा रहने भनेर घुलमिल बढाउँछन् । त्यसैगरी कहिलेकाहीँ उनीहरु कुनै महिला वा पुरुषबाट दीर्घकालीन एवं प्रतिबद्ध सम्बन्ध चाहन्छन् तर सुरुवात वान नाइट स्ट्यान्ड अथवा सेक्स पार्टनर हुनुबाट गर्छन् । कारण ? यस्तो प्रस्ताव राख्नु सजिलो हुन्छ । जसकारण उनीहरु केवल साथीमा सीमित हुन पुग्छन् ।
- धेरै असल हुनु:
धेरै असल भएर साथीसँग प्रेम सम्बन्ध जोड्न सकिँदैन। मानौँ तपाईं एउटी महिलाप्रति अत्याधिक आकर्षित हुनुहुन्छ। उसलाई प्रभावित गर्न उसको धेरै ख्याल गर्ने, घुमाउन लैजाने, महँङ्गो क्याफेमा खुवाउने, आकर्षक उपहार दिने, समस्या सुनिदिनेदेखि समस्या समाधानमा सहयोग गर्नुभयो रे ! यद्यपि यत्तिका मिहिनेत गरे पनि ती महिला तपाईंप्रति आकर्षित हुन्छिन् भन्ने ग्यारेन्टी हुँदैन र तपाईंको प्रेमिका हुन सक्दिनन् । किन ? ती महिलाले आफ्नो प्रेमीबाट पाउनुपर्ने सम्पूर्ण आवश्यकता तपाईंबाट पाउँछिन् र यसका लागि उसलाई तपाईंको आवश्यकता पूर्ति गर्नुपर्ने बाध्यता हुँदैन । भनाइको मतलब, उसलाई तपाईंको प्रेमिका बन्नु कुनै जरुरी, रुची छैन । यही कारण तपाईं साथीमा सीमित हुनहुन्छ ।
साथीको क्षेत्राधिकार कसरी तोड्ने ?
आफूलाई मनपर्ने व्यक्तिसँग साथीमा सीमित हुनुपर्दा पीडा हुनु स्वाभाविक हो । यही पीडाबाट मुक्त रहन, साथीको क्षेत्राधिकार भत्काएर साथीभन्दा माथिको सम्बन्ध स्थापित गर्न निम्न सिद्धान्त तथा विधि अवलम्बन गर्न सकिन्छ:
- अनिच्छुक रहने:
जो व्यक्ति सम्बन्धलाई निरन्तरता दिने मामिलामा कम इच्छुक हुन्छ, उसैमा सम्बन्धलाई गाइड गर्ने सम्पूर्ण शक्ति र नियन्त्रण हुन्छ । यसलाई समाजशास्त्र विषयमा ‘कमसेकम चासोको सिद्धान्त’ भनिन्छ । मानौँ कुनै महिला वा पुरुष तपाईंप्रति आकर्षित छ र तपाईं पनि उत्तिकै आकर्षित हुनुहुन्छ तर प्रेम सम्बन्ध सुरु भएको छैन । यस परिस्थितिमा ती महिला वा पुरुषप्रति अनिच्छुक हुनोस् । प्रेममा कुनै चासो व्यक्त नगर्नोस् । बेवास्ता गरिदिनुस् । यसले ती महिला वा पुरुषमा असुरक्षा र ईर्ष्याको भाव बढाउँछ । जसकारण ती महिला वा पुरुष तपाईंसँग साथीभन्दा माथिको सम्बन्ध स्थापित गर्न हतारिन्छन् ।
- अनुपलब्ध रहने:
रोवर्ट सिएलडिनीको पुस्तक ‘इन्फ्लुएन्स’मा अभावको सिद्धान्त बारेमा चर्चा गरिएको छ । बजारमा जुन चिजवस्तुको अत्याधिक अभाव हुन्छ, मानिसहरु त्यही चिजवस्तुलाई अत्याधिक मूल्य दिने गर्छन् । यसैलाई सामाजिक मनोविज्ञान विषयमा ‘अभावको सिद्धान्त’ भनिन्छ । यो सिद्धान्त सम्बन्ध निर्माणमा पनि प्रयोग गर्न सकिन्छ । कसरी ?
साथीका लागि हरक्षण उपलब्ध नहुनुस् । हरेक समय उपलब्ध भएर सम्बन्धमा कुनै उपलब्धि हुँदैन । साथीको अनुपस्थितिमा समय बिताउने गर्नोस् । साथीबाट टाढा हुनोस् । उसका लागि न्यूनतम सहयोग गर्नोस् । यदि उसले तपाईंको मान्यता राख्छ भने उसले तपाईंको अनुपस्थितिमा तपाईंलाई निकै याद गर्छ र साथीभन्दा माथिको सम्बन्ध स्थापित गर्न इच्छुक रहन्छ ।
- प्रतिस्पर्धाको स्थिति सिर्जना गराउने:
जो महिला वा पुरुष साथीप्रति आकर्षित हुनुहुन्छ उसले तपाईंलाई केवल साथीको रुपमा हेरे उसप्रति लिप्त हुनु बुद्धिमानी होइन । यस्तोमा अरु नयाँ महिला वा पुरुषसँग संवाद बढाउनुपर्ने हुन्छ । अनि त्यसपछि सोही महिला वा पुरुषबारेमा आफ्नो महिला वा पुरुष साथीसँग कुरा गर्नोस् । यसो गर्नाले तपाईंको महिला वा पुरुष साथीमा प्रतिस्पर्धा र ईर्ष्या भाव उत्पन्न गराउँछ । फलस्वरुप तपाईं र तपाईंको महिला वा पुरुष साथीबीच प्रेम सम्बन्ध बस्ने सम्भाव्यता बढेर जान्छ ।
- विपरीत लिङ्गीको सहयोग लिने:
मानिसलाई सहायता, सहयोग गर्नोस् । उनीहरु तपाईंप्रति आकर्षित नहुन सक्छन् । अब तपाईंले उनीहरुबाट सहायता लिनुभयो भने उनीहरु तपाईंप्रति ज्यादा आकर्षित हुन्छन् । तपाईंलाई धेरै मन पराउन थाल्छन् । यसलाई मनोविज्ञानमा ‘बेन फ्र्याङ्कलिनको प्रभाव’ भनिन्छ । सन् २०१० को एउटा अध्ययनले दानदाता पाउने व्यक्तिप्रति प्रतिबद्ध रहने देखाएको छ । त्यसैले जो साथीसँग प्रेम सम्बन्ध जोड्न चाहेको हो उसबाट सहायता लिने गर्नोस् । सधैँ तपाईंले मात्र सहायता दिनुपर्छ भन्ने छैन ।
- कृतज्ञता प्रकट गर्ने:
जब साथीहरूप्रति कृतज्ञता प्रकट गरिन्छ, उनीहरुले निकट भविष्यमा हामीप्रति राम्रो व्यवहार गर्ने सम्भावना बढेर जान्छ । जब हामीले उनीहरुमार्फत् कृतज्ञताको भाव अनुभूत गर्छौँ, उनीहरुलाई हामीले राम्रो व्यवहार गर्ने सम्भावना बढेर जान्छ । यस्तोमा सबै जना कृतज्ञ रहन्छौँ र सबैले एकअर्कालाई प्रेमिल व्यवहार गरिन्छ । जसकारण सम्बन्ध साथीको रुपमा मात्र सीमित रहँदैन । त्यसकारण यदि कोही व्यक्तिले तपाईंलाई राम्रो व्यवहार गर्छ भने उसप्रति कृतज्ञ रहनुस् । एकअर्काप्रति कृतज्ञता भाव प्रवाह हुने वातावरण सिर्जना गर्नोस् ।
- स्पष्ट धारणा राख्ने:
सम्बन्धमा स्पष्ट धारणाले ठूलो महत्व राख्छ । कोही व्यक्तिप्रति आकर्षित हुनुहुन्छ र उसैसँग सम्बन्ध स्थापित गर्न चाहनुहुन्छ भने, उसले जे भन्छ त्यही कुराको समर्थन गर्नु, जे भन्छ त्यही विश्वास गर्नु राम्रो होइन । हरेक कुरामा समर्थन जनाउनु भनेको अनावश्यक रुपमा असल हुनु हो । अति नै असल भएर सम्बन्ध स्थापित हुने होइन । त्यसैले आफ्नो स्पष्ट धारणा राख्ने गर्नोस् । यसले तपाईंको आत्मविश्वासको स्तर झल्काउँछ । यसैकारण तपाईंप्रति हरेक व्यक्ति आकर्षित हुन्छन् र सम्बन्ध स्थापित हुने सम्भावना उच्च रहन्छ ।
- फ्लर्ट गर्ने, फुरुक्क बनाउने:
फ्लर्ट गर्नु अथवा फुरुक्क बनाउनुका अनेकन उद्देश्य हुन्छन् । अध्ययनअनुसार यौनकार्यमा संलग्न हुन, रमाइलो गर्न, सम्बन्धमा हुँदाको अनुभूति लिन, सम्बन्धमा घनिष्ठता बढाउन, आत्मविश्वासको स्तर बढाउन तथा अरु व्यक्तिबाट सहयोग लिन फ्लर्ट गरिन्छ । पुरुषहरु विशेषतः यौनका लागि फ्लर्ट गर्छन् भने महिला सम्बन्धमा आत्मीयता र घनिष्ठता बढाउन ।
विकासवादी मनोवैज्ञानिक स्टिभन डब्ल्यू. गेन्जस्ट्याडअनुसार फ्लर्ट गर्दा एकअर्कामा थप आकर्षण बढ्ने स्पष्ट हुन्छ । त्यसैले साथीको घेराबाट मुक्त रहन फ्लर्ट गर्नोस् । तपाईं जुन महिला वा पुरुषप्रति आकर्षित हुनुहुन्छ, उसलाई फुरुक्क बनाउने कोसिस गर्नोस् । फ्लर्ट गर्ने तरिका भने प्राकृतिक हुनु आवश्यक छ । यति मात्र होइन, तपाईंले फ्लर्ट गरेको, फुरुक्क बनाउने कोसिस गरेको कुरा लुकाउने कोसिस नगर्नोस् । त्यसलाई पूर्णतः स्वीकार गर्दै फ्लर्ट गर्नुको आफ्नो प्रमुख उद्देश्य प्रस्ट बताउनुस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।