“ए दिदै, जान्छौ कि क्या हो आज ?’ हस्तेकी आमा (प्याउली) को स्वर सुन्नासाथ कालेकी आमा हातमा भएको सानो थैलो छिट्छिटो कम्मरमा घुसार्छे र पटुकाले कम्मर कसिलो पारेर बाँच्छे | प्याउली भित्र पस्छे र भन्छे- ‘ए, बल्ल यो पटुका बाँध्दैछ्यौ ! यतिबेलासम्म सुतिरहेकोथ्यो कि क्या हो ?
“काँ सुत्ने हो, पटुका खुकुलो भएछ र … ‘ भन्दै बाहिर निस्किएर दैलोमा ताल्चा मार्दै लेघ्रो तानेर ‘ए काले, काले हो !’ भन्दै छोरालाई डाक्छे । नाकभरि सिँगान र काती परेको ठाउँ-ठाउँमा टालेको र मैलो धूलैधूलो भएको कपाल र जीउ लिएर काले दगुर्दै आमाको छेउ आइपुग्छ । ‘लौ म हिँडे, तँ राम्ररी बसेस् !’ भन्दै गोफ्ली हिँड्न तम्सन्छे ।
“मैले दिउँसो भोक्लाग्दा के खाने नि ?” भन्दै काले आमाको गुन्यो समात्न पुग्छ |
‘हैन, यसको भुँडीमा कतिको जाकिन सकेको हो | हँ, म त आइपुग्छु नि धन्दा मिलाएर” भन्दै छोराको हातबाट गुन्यो छुटाउन खोज्छे । कालेले ‘नाइँ ! चाबी दिएर जाउ, भोक लाग्यो भने म चामल भिजाएर खान्छु ।’ मात्र के भनेको थियो “लौ ले चाबी !” भनेर कालेको कलिलो-कलिलो गालामा चड्कन लगाएर गोफ्ली थाल्छे फलाक्न, ‘साहू ! कुन जनममा ऋण खाएकी रैछु ? जत्तिकै कोचाए पनि नहुने, दिनरातको पिरलो मलाई ।’

माया ठकुरी
यतिबेलासम्म रमिता हेरिरहेकी प्याउली मुख खोल्छे, ‘केटाकेटीको जात न हो, खेल्छन्, दगुर्छन् र भोक लाग्छ नै, दिए पनि त हुन्थ्यो चाबी ।’
‘यसलाई चाबी दिएँ भने त भरे भोकै सुत्नुपर्ला नि !’ भन्दै रुँदै गरेको कालेलाई त्यस्तै अवस्थामा छोडेर गोफ्ली बाटो लाग्छे । पछि-पछि प्याउली पनि हिँड्दै भन्छे- ‘के गर्नु ! हामी त खुवाऊँ भन्छौं नि आफ्ना छोराछोरीलाई पेटभरि, तर एकछाक पेटभरि खान दिएर के गर्नु ! अर्को छाक पनि त टार्नुपर्यो ! पहाड घर भए पो जति नै काम गर्न परे पनि खानकी छुट्दैन, ढिँडै भए पनि पेटभरि खान पाइन्छ, यहाँ त खै दशघर भाँडा माझ्दा पनि अनिकालै छ ।’
गोफ्ली उत्तर दिन्छे- ‘त्यै त लाहुर-लाहुर भनेर आइयो, यहाँ भने दशजातको जूठो भाँडा माझ्नुपरेको छ ।’ र, लामो निःश्वास लिँदै ‘तिम्रो त तै हस्तेको बाउ छन् नै, भारी बोकेर पनि खुवाउन सक्छन्, मलाई पो यो अर्काको ठाउँमा; त्यो पंचेकी आमालाई ट्याप्प टिपेर हिँड्यो र अलपत्र पारेर गयो त्यो हैजाले लानेले ।’
‘ए घर त आइपुग्यो, लौ जाउँ है दिदै !’ भन्दै प्याउली छेउको ठूलै बङ्गलातिर लागी | गोफ्ली पनि अलि पर पुगेपछि त्यस्तै ठूलो बङ्गलाको फाटक खोलेर घरभित्र पसी |
उसलाई देख्नासाथ ‘आज क्याँ इतना देरी किया ?’ भन्दै मालिक्नीले हातमा एक डङ्गुर लुगा लिएर पानीको कलमन्तिर राखेको टबमा लुगा राखी | चुपचापसाथ गोफ्ली जुठेल्नामा गएर त्यहाँ भएको भाँडा माझ्न थाल्छे । ‘भाँडा पनि कत्तिका हुन् को नि !’ ऊ सोच्छे, ‘मान्छे छन् चारवटा, भाँडा भने भत्यार खुवाएका झैँ । हैन, लुगा पनि कति दिनदिनै फेर्न परेको होला ?’
‘ए कान्छी ! जल्दी करो कपडा भी धोना हैं ।’ मालिक्नीको चर्को स्वर सुनिन्छ । गोफ्लीलाई झनक्क रीस उठेर आउँछ, ‘केको कान्छी, कान्छी ? नाउँ काढेर बोलाउन सक्तैनस् राँडी’ भन्नलाई तर बल्ल-बल्ल पाएको काम हातबाट जाने डरले खुम्चिएर बस्छे |
धन्दा भियाएपछि मालिक्नीले दश रुपियाँको एउटा र अरू दुई-एक गरे जम्मा अठार रुपियाँ दाम उसको हातमा ‘महिनाका वेतन’ भन्दै दिन्छे । गोफ्लीले ‘दुई रुपियाँ त कम्ती है त ।’ भन्दा ‘उस दिन काँचका गिलास तोडा ना, उसका दाम दुई रुपियाँ काटा ।’ भन्दै भित्र पस्छे । गोफ्ली अल्लमल्ल पर्छे । त्यस दिन त गिलास उसकै (मालिक्नीका) छोराले गोला खेल्दै गर्दा भाँडा माझ्दै गरेकी गोफ्लीको छेउमा माझ्न राखिएको गिलासमा लागेर ठोक्किएर फुटेको थियो, फेरि त्यसको दाम काट्नु मसँग, त्यै पनि दुई रुपियाँ… । ऊ विस्तार-विस्तार पाइलो सार्दै फाटकबाहिर निस्किन्छे र अर्को बङ्गलातिर लाग्छे ।
राति छोरो सुतिसकेपछि घरमा बाँधेको थैलो झिक्छे र गन्छे छ-बीस भएछ । ‘भोलि अरू दुईका घरबाट पन्ध्र र बीस आउँछ ।’ र सोच्छे, ‘योचाहिँ घरखर्च राखेर यो छ-बीस लिएर सुनारकाँ गएर यतिको दिनको ढुङ्ग्री लाउने धोको एक-एक जोड ढुङ्ग्री कमाउन दिन पर्ला ।’ यसै नारी जाति गहनाभन्दा भुतुक्कै हुने, त्यसमाथि अझ धोको बसेको गहना । गोफ्लीले पनि आजसम्म आधापेट खाएर र छोरालाई आधापेट खुवाएर यति पैसाको जोगार गर्न सकेकी छे । ढुङ्ग्री लाउने धोको उसको माइत छँदैदेखिको । बिहा त भएर पनि उसको धोको धोकै भएर रह्यो, भएन लोग्नेले अर्की आइमाई लिएर हिँडेपछि त उसलाई दुई जनाको जीउ पाल्न नै घौ-धौ छ । ढुङ्ग्रीको कल्पना गर्दागर्दै ऊ कतिबेला निदाउँछे, पत्तै पाउँदिन ।
बिहान घाम भित्र छिरिसकेपछि पो बिउँझन्छे । काले कतिबेला दैलो खुल्लै पारेर हिँडिसकेको रहेछ खेल्नलाई ।
चाँड-चाँडो हातमुख धोएर हाँडीमा चामल बसाल्छे र खोले पकाएर छोरालाई बोलाई खुवाएर आफूले पनि खाई कामतिर जान हिँड्छे ।
‘अहो ! आज त प्याउली पनि आइन, के भएछ ? ऊ सोच्दै जान्छे । तीनघरको धन्दा भियाएर फर्कदा दिउँसोको झण्डै एक बज्न आटेको हुन्छ र ऊ सोझै प्याउलीको घरतिर लाग्छे । उसलाई देखेर प्याउली हँसिलो मुख पारेर भन्छे- ‘आऊ, आज त तिमी एक्लै जान पर्यो होला, हैन ?’
‘अँ त तिमी त राम्री छ्यौ त, किन नगएकी आज काममा ?’
प्याउलीले बस्न दिएको पिरामा बस्दै भन्छे गोफ्ली, ‘आ गरून् न बाबूनानीहरू पनि एक दिन त घरधन्दा, कति हामी मात्रै जोतिनु हो’ भन्दै चुलोमा भएको अगुल्टोमा दियालो बालेर फेरि दुईवटा जति दाउरा थप्छे र भाँडामा चियाको पानी बसाल्दै भन्छे, ‘म आज पाठशाला जान परेकोले काममा गइनँ ।’
“पाठशाला ! किन ?’ गोफ्लीको प्रश्नमा उज्यालो अनुहार पारेर प्याउली भन्छे- ‘हैन हामी त जे भयौं-भयौं, छोराछोरीलाई त हामीझैँ भारी बोक्ने र अर्काका भाँडा माझ्ने नबनाउँ भनेर नि स्कूलमा नाम लेखाइदिन गएकी ।’
‘आ… हाम्रा छोराछोरी पढेर पो के गर्लान् र ! आखिर जति नै पढे पनि अर्काको भारी नबोकी वा अरूको जूठा भाँडा नमाझी हुने हैन ।’ भन्दै प्याउलीले बनाएर दिएको फिक्का चिया सुरूप्-सुरूप् पिउन थाल्छे गोफ्ली ।
“होइन दिदै, म पनि पैले त्यस्तै सोच्यँ, तर हिजो मास्टरबाबूलाई भेटे उहाँले यहीँ नजिकै स्कूल खोलेर पढाउन थाल्नुभएको र हामीले पनि हाम्रा छोराछोरीलाई पढाएर हामीजस्तै अर्काको आशामा बाँच्नु पर्दैन भनेर सम्झाउनुभो र’पो मेरा आँखा खुलेको, नत्र ता मेरो मगजमा के उब्जन्थ्यो र यी कुरा ! म ता लाटै लाट बाठै बाठ भने झैँ छोराछोरीलाई अलि काम गर्ने जत्रा भएछन् भने कमाउन लगेर गहना पो बनाएर लाऊँला भन्ने सोचेकी थिएँ, तर मास्टरबाबूले धेरै कुरो सम्झाएर यो बुझेँ । गहना त सुनचाँदी होइन, बरू बुचै भए पनि पढेकी भए सबैले मान गर्ने थिए र अर्काको वचन सुनेर पेट पाल्न पर्दैनथ्यो, आफू जे भयौँ-भयौँ, अब यी छोराछोरीलाई, सन्तानलाई, आँखा खोलिदिनु पर्ने पो त्यही नै गहना हुनेछ, न चोरले चोर्न सको, न राजाले हर्न सक्ने ।’
‘आमा ! आमा ! ! मैले आज क, ख पढेर आएँ नि !’ भन्दै प्याउलीका दुई छोराछोरी स्कूलबाट किताब-पाटी लिएर आउँछन् ।
‘मेरो बा, धेलै पढे’ भन्दै छोराछोरीलाई काखमा राखेर पालैसित दुवैको गालामा म्वाइँ खान्छे । गोफ्लीलाई झट्ट कालेको सम्झना हुन्छ, सिँगान र काती परेको लुगा लाएको, धूलो-धूलो भएर बाटोमा खेलिरहेको अनि काले पढ्दै जान्छ, त्यही धूलो र माटोमा ऊ तन्नेरी हुन्छ, तर उसको भेषभूषा उस्तै मैलो, झुत्रो हुन्छ | अब ऊ कसैको भारी उचाल्न बल गर्दै गरेको हुन्छ, फु मालिकको पछि पछि निधारमा चट्चटी पसिना चुहाउँदै हिँड्छ, हठात् उसको निधारबाट नाम्लो खुस्किन्छ अनि भारी भुइँमा पछारिन पुग्छ । काठको बाकसमा भएको काँचका सामानहरू झुरुम्म फुटेको आवाजको साथसाथै मालिकको हातको चड्कन कालेको गालामा पर्नासाथ ऊ कहालिन्छे, ‘नाइँ… ‘
‘के भो ! भन्दै प्याउली गोफ्लीलाई आश्चर्यको आँखाले हेर्छे । गोफ्ली “केही पनि होइन, म पनि भोलि मास्टरबाबूकोमा जान्छु’ भन्दै त्यहाँबाट हिँड्छे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

